म एउटा कथावाचिका हुँ । आज म तपाईंलाई मेरो निजी कथा सुनाउन चाहन्छु र यस कथालाई म ‘एकलकाँटे कथाको खतरा’ भन्ने गर्छु । म पूर्वी नाइजेरियाको एउटा युनिभर्सिटी क्याम्पसमा हुर्किएँ । मेरी आमाले मलाई भन्नुहुन्थ्यो, तँ त दुई वर्षकै उमेरदेखि पढ्न थालेकी होस् । तर त्यो अलि अतिशयोक्ति होला ! तर मलाई लाग्छ, मैले चार वर्षको वरिपरि पढ्न थालेँ हुँली । यसरी मैले चाँडै नै पढ्न थालेँ । मेरा वरिपरि बेलायती वा अमेरिकी बाल साहित्य हुन्थे र म त्यही पढ्थेँ ।

मैले लेख्न पनि चाँडै नै थालेँ । लगभग सात वर्षको उमेरमा पेन्सिल र क्रेयोनबाट चित्र बनाउँथेँ र त्यस चित्रमा आधारित कनीकुथी केही लेख्थेँ । विचरी मेरी आमाले जबरजस्ती पढ्नै पर्थ्यो । मैले ठीक त्यस्तै कथा लेख्थेँ, जस्तो त्यो बेला मैले पढिरहेकी थिएँ । मेरा कथाका सारा पात्रहरू गोरा अनुहारका हुन्थे । तिनका आँखा नीला हुन्थे । उनीहरू हिउँमा खेल्थे । उनीहरू स्याउ खान्थे र मौसमका बारेमा खुब कुरा गर्थे । जस्तो कि, घाम मस्तसँग लाग्दा, ओहो कति प्यारो घाम भन्थे ! हुन त म नाइजेरियामा नै जन्मिएँ, म कहिल्यै पनि नाइजेरियाबाहिर निस्किन र पनि किताबको असर यस्तो थियो कि मैले लेख्दा किताबकै जस्ता चिजबिज म लेख्थेँ । मैले कहिल्यै नदेखेका हिउँका बारेमा लेख्थेँ । कहिल्यै नखाएका स्याउका बारेमा लेख्थेँ । बरू हाम्रातिर आँप खाइन्थ्यो, त्यो लेखिनँ । हामीले कहिल्यै पनि मौसमका बारेमा कुरा गरेनौँ र घाम कति प्यारो छ भनेनौँ । तर मैले मौसम प्यारो भएको लेखेँ, घमाइलोबारे लेखेँ ।

मेरा कथाका पात्रहरू अदुवाका बियर पिउँथे किनभने मैले पढ्ने गरेका बेलायती कथाका पात्रहरू पनि अदुवाका बियर पिउँथे । जबकि त्यो बेला मलाई यो बियर के हो भन्ने पनि थाहा थिएन । अदुवाको बियर मेरो दिमागमा यस्तो घुसेको थियो कि कयौँ वर्षसम्म मभित्र अदुवाको बियर चाख्ने निकै गहिरो इच्छा थियो ।

यी सबै कुराले के देखाउँछ त भन्दा जुन कुरा हामी पढ्छौँ, तिनले हामीलाई गहिरो छाप छोड्दा रहेछन् । खासगरी बच्चा बेलामा पढेका कुराले त हामीलाई जीवनपर्यन्त छाप छोड्छन् । हामीले तिनै पुस्तक पढ्थ्यौँ, जसका चरित्र विदेशी थिए । त्यसैले मलाई सधैँ लागिरह्यो, किताब लेख्नु भनेकै विदेशीका बारेमा हो । तर त्यस्ता कुरामा मैले आफ्नोपन भने भेट्दिन थिएँ । तादात्म्य अनुभव गर्दिन थिएँ । जब मैले अफ्रिकी पुस्तकहरू पढ्न थालेँ, त्यसपछि भने मेरो संसारै बद्लियो । त्यो बेला अफ्रिकी पुस्तक निकै कम पाइन्थे र ती विदेशी पुस्तकजस्तो सहजै पाइँदैन थियो ।

तर चिनुआ अचेबे र कमारा लाएजस्ता लेखकहरूलाई पढ्दा मभित्र साहित्यबोध सहसा हुन थाल्यो । मजस्तै मानिस, चकलेटजस्ता अनुहार भएका युवती, घुम्रिएका कपाल भएका मान्छेका कहिल्यै पनि पोनीटेल (कपाल सजाउने एक तरिका) बन्दैन र पनि ती साहित्यका अङ्ग बन्न सक्छन् भन्ने बोध गरेँ । त्यसपछि मैले महसुस गरेका ती कुराहरूका बारेमा लेख्न थालेँ, जुन मलाई पहिल्यै थाहा थियो । किताब पढेर जानिराख्नु पर्दैनथ्यो ।

त्यसो त मलाई अमेरिकी र बेलायती पुस्तकहरूसँग प्रेम थियो । तिनले मलाई कल्पनाशील बनाए । मेरा लागि नयाँ संसारको ढोका खोले । तर यसको परिणाम के भयो भने मलाई कहिल्यै पनि आफूजस्तै मानिसहरू, काला छालाका मानिसहरू साहित्यका पात्र हुनसक्छन् भन्ने महसुस गराएनन् । र, तिनको साहित्यमा कुनै स्थान हुनसक्छ कि सक्दैन भन्ने पनि बोध गराएनन् । जब मैले अफ्रिकी लेखकहरू भेटेँ, तिनीहरूलाई पढ्न थालेँ, मलाई बल्ल ज्ञान भयो- वास्तवमा पुस्तकहरू भनेका सबै एकै किसिमका हुँदारहेनछन्, त्यहाँ काला मान्छे पनि पात्र हुन सक्दारहेछन्, तिनका पनि दुःखसुख हुँदारहेछन् भन्ने बोध गराए ।

मेरो जन्म एउटा पारम्परिक मध्यमवर्गीय नाइजेरियाली परिवारमा भयो । मेरा पिता प्रोफेसर हुनुहुन्थ्यो। मेरी आमा सरकारी जागिरे हुनुहुन्थ्यो । जस्तो कि हरेक मध्यमवर्गीय घरमा हुने गर्छ, हामीकहाँ पनि नोकरचाकर थिए, जो नजिकैका गाउँबाट आएका हुन्थे । म आठ वर्षकी छँदा घरमा काम सघाउने एउटा केटो आयो । उसको नाउँ फिडे थियो । मेरी आमाले उसका बारेमा भन्नुभयो, ‘यो फिडो हो । उसको परिवार निकै गरिब छ ।’ त्यसपछि आमाले उसको घरमा चामल र हाम्रा पुराना कपडा पठाइदिनुभयो । कहिलेकाहीँ जब म भात आधा खाएर छाडिदिन्थेँ, मेरी आमाले भन्नुहुन्थ्यो, ‘यसरी खाना छोड्नु हुँदैन । तिमीलाई थाहा छ ? फिडोजस्ता मानिसहरू यही भात खान पनि विशेष दिन कुर्नुपर्छ ।’

त्यो बेला मलाई फिडेको परिवारप्रति मेरो हृदयमा कति धेरै दया पलाउँथ्यो !

एक शनिबारको दिन म फिडेको गाउँमा गएँ । उसकी आमाले मलाई सुन्दर तरिकाले बनाइएको ताडको रूखबाट बनेको बास्केट देखाइन् । यो बास्केट यति सुन्दर तरिकाले रङ्ग्याइएको थियो कि म त मोहित भएँ । उसको परिवारमा कसैले यस्तो सुन्दर केही बनाउन सक्छ भन्ने मैले सोच्न पनि सक्थिनँ । मैले त सधैँ उनीहरू गरिब छन्, उनीहरू केही गर्न सक्दैनन् भन्ने मात्रै सुन्दै आइरहेकी थिएँ । मसँग सुन्नका लागि उनीहरूको एकोहोरो कथा मात्र थियो, गरिबीको कथा ।

वर्षौंपछि म संयुक्त राज्य अमेरिकामा विश्वविद्यालयमा पढ्न गएँ । त्यो बेला म १९ वर्षकी थिएँ । मेरी अमेरिकी साथी, जो एउटै कोठामा बस्थ्यौँ, मलाई भेट्दा अचम्म मानेकी थिई । मेरो अङ्ग्रेजी साह्रै राम्रो थियो रे ! उसले सोधी पनि, तिमीले अङ्ग्रेजी कहाँ सिक्यौ ? मैले जब उनलाई अङ्ग्रेजी नाइजेरियाको राजकीय भाषा भएको बताएँ, ऊ चकित परेकी थिई किनभने उसलाई त हाम्रो गरिबीका बारेमा मात्र थाहा थियो । अनि, एक दिन उसले मेरो आदिवासी सङ्गीत सुन्ने इच्छा गरी । मैले भनेँ, ‘मलाई हाम्रा आदिवासी गीतका बारेमा थाहा छैन । म त मरिया करीका गीत सुनेर हुर्किएकी हुँ ।’ उसलाई लाग्थ्यो, अमेरिकी चुलो चलाउन मलाई आउँदैन होला ।

उसलाई भेट्दा यस्तो लाग्थ्यो, मानौँ मप्रति उसलाई पहिल्यै दया लागेको होस् । ऊ अमेरिकी भएकी र म अफ्रिकी भएका कारण उसले सधैँ मप्रति कृपा गर्नुपर्छ भन्ने उसलाई लाग्थ्यो । मेरी कोठा साथीले जीवनभर एउटै कथा सुनेकी थिई- अफ्रिकीहरू प्रति दया गर्नुपर्छ, यिनीहरू गरिब हुन्छन् । उसले हाम्रो घनघोर दुर्गतिका कथाहरू सुनेकी थिई । उसले सुनेको एकलकाँटे कथामा अफ्रिकीबासीहरू ऊ जत्तिकै समान प्राणी हुन् भन्ने कहिल्यै सिकाइएको थिएन । त्यसैले उसले दयाभावभन्दा बाहिरको अनुभूति गर्ने सम्भावना पनि थिएन । जब तपाईं समानबोध गर्नुहुन्न, त्यो बेला समानताको सम्बन्धको सम्भावना पनि रहँदैन ।

म अमेरिका जानुभन्दा पहिले म आफैँलाई सचेत रूपमा एक अफ्रिकीका रूपमा मान्दिनँ थिएँ तर जब अमेरिकामा अफ्रिकाको चर्चा चल्थ्यो र साराका आँखा ममाथि ट्वाल्ल परेर हेर्न थाल्थे । अफ्रिका भनेको महादेश हो, त्यहाँभित्र अनेकन् देश छन् भन्ने मेरा साथीहरूलाई थाहा थिएन । केही समयअघि हामी भर्जिन एजरवेजको प्लेनमा चढ्न लाग्दा विमानमा तिनले गरेका सहयोगका कार्यबारे बखान गरिरहेका थिए र उनीहरू भारत, अफ्रिका र अन्य देशहरूमा गरेको परोपकारी कार्य गर्दा कति आनन्द आयो भन्ने बताइरहेका थिए ।

एक अफ्रिकीका रूपमा अमेरिकामा केही वर्ष बिताइसकेपछि मप्रति मेरी रूम मेटले दिने प्रतिक्रियालाई केही बुझ्न थालेकी थिएँ । म नाइजेरियामा नहुर्किएकी भए मेरो मनमा पनि अफ्रिकाका प्रति प्रचलित छवि नै मनमा गढेर बसेको हुने थियो । मलाई पनि लाग्थ्यो, अफ्रिका भनेको एउटा ठाउँ हो, जहाँ रमणीय दृश्य छन्, सुन्दर जनावर छन्, अबुझ मान्छे बस्छन्, जो वाहियात कुरामा झगडा गर्छन्, गरिबी र एड्सका कारण मरिरहेका छन्, आफ्नो अधिकारप्रति ती केही गर्न सक्दैनन् र कुनै दयालु गोरा विदेशी आएर समस्याबाट मुक्ति दिलाउँछन् । अफ्रिकाका बारेमा मैले त्यसरी नै देख्ने थिएँ, जसरी मैले बालापनमा फिडेको परिवारलाई देख्थेँ ।

मेरो विचारमा अफ्रिकाको विचारापनको यो एकाङ्गी कथा पश्चिमी साहित्यबाट आएको हो । सन् १५६१ मा पश्चिमी अफ्रिका आएका लन्डनका एक व्यापारी जोन लकले आफ्नो यात्राको रोचक विवरण लेखेका थिए । अश्वेत अफ्रिकाबासीका बारेमा उनको लेखोट थियो, यहाँका मान्छे जंगली जनावरझैँ छन्, जो घरमा बस्दैनन् । यहाँका केही यस्ता मानिस पनि छन्, जसका टाउको छैन, जसको मुख र आँखा तिनको वक्षस्थलमा छन् ।

जोन लकको त्यो लेखोट पढ्दा हरेक पटक म हाँस्छु । जोन लकको कल्पनाशक्तिलाई त स्याब्बासी दिनै पर्छ । त्यस्तै कवि रूडयार्ड किप्लिङका शब्दमा अफ्रिका आधा दैत्य र आधा शिशु थियो ।

जब प्रख्यात साहित्यकारहरूले यस्तो लेख्छन्, त्यो बेला मेरी अमेरिकी रूम मेट किन हाम्राबारेमा चकित नहोस् ? उसको पूरै जीवनकाल नै त्यस्ता एकतर्फी कहानी सुनेर हुर्किएकी थिई । एक पटक उसको प्राध्यापकले भनेका थिए रे, मेरो उपन्यास प्रामाणिक रूपमा अफ्रिकीजस्तो देखिँदैन । हेर्नुस्, मेरो उपनयासमा केही गडबडी त अवश्य नै भएको हुँदो हो, त्यो म स्वीकार गर्छु । केही ठाउँमा मैले गल्ती पनि गरेकै हुँ । तर अफ्रिकी उपन्यास नभएको जुन प्रमाण उनले दिइरहेका थिए, त्यो चाहिँ म अस्वीकार गर्छु । खासमा त म अफ्रिकी प्रामाणिकताको अर्थ नै बुझ्न चाहन्नँ । मेरो प्रोफेसरले मलाई पछि भनेका थिए, तिम्रा चरित्र धेरै हदसम्म उनीजस्तै पढेलेखेका र मध्यमवर्गीय चरित्रका छन् । मेरा पात्र कार चलाउँछन्, ती भोकले मरेका छैनन् । त्यसैले प्रामाणिक रूपमा ती अफ्रिकी हुँदै होइनन् ।

त्यसो त मैले ती प्राध्यापकलाई एकलकाँटे कथाको शिकार भएको दोष म लगाउन चाहन्नँ किनभने म स्वयं पनि त्यस्तो एकलकाँटे कथाको शिकार भएकी छु । त्यो मलाई त्यतिबेला महसुस भयो, जब म मेक्सिकोको यात्रामा गएकी थिएँ । त्यो बेला अमेरिकी राजनीतिको वातावरण निकै तनावपूर्ण थियो । आप्रवासनमा निकै वादविवाद भइरहेको थियो । जस्तो कि अमेरिकामा प्रायः हुने गर्छ, आप्रवासन भन्नु नै मेक्सिकोबासीले ल्याएको समस्या हो । तिनले नै अमेरिकाको स्वास्थ्य सुविधा चौपट बनाइरहेका छन् । उनीहरूको बेवकुफीका कारण सीमामा पर्खाल लगाउन परिरहेको छ । तिनलाई गिरफ्तार गरिरहनु परेको छ । तिनैका कारण लागु औषधको समस्या बढिरहेको छ आदि ।

म मेक्सिको जाँदा पहिलो दिन गुआडालाहारामा पैदल यात्रामा थिएँ । त्यहाँ मैले खेतमा काम गरिरहेका मानिस, चुरोट पिउँदै गरेका, हाँस्दै गरेका मेक्सिकाली देख्दा मलाई आश्चर्य लागिरहेको थियो । फेरि मैले आफैँप्रति लज्जा महसुस गरेँ । मिडियाले मेक्सिकोबासीका बारेमा रचेका छविलाई नै वास्तविक उनीहरू ठानिरहेकी रहेछु भन्ने तत्काल बोध गरिहालेँ । मैले पनि उनीहरूलाई अधम आप्रवासी मानेकी थिएँ । मैले आफूभित्र मेक्सिकोबासीका बारेमा एकतर्फी र एकलकाँटे कहानी बनाइसकेकी रहेछु । यस्तो महसुस गर्दा म निकै लज्जित भएँ । एकलकाँटे कथाको समस्या नै यही हो, तपाईंले मानिसलाई मानिसजस्तो देख्नु हुन्न, वस्तुजस्तो देख्नुहुन्छ । तिनलाई पटक पटक दोहर्याइएको खण्डमा मानिसको दिल-दिमागमा त्यो छवि गहिरो गरी बस्छ । र, त्यसको असर हामीमा जीवनपर्यन्त परिरहन्छ ।

शक्तिको चर्चा नगरी एकलकाँटे कथाको कहानी टुङ्गिदैन । इग्बो (पश्चिमी अफ्रिकी भाषा)मा एउटा शब्द छ र जब म शक्तिको स्वरूपका बारेमा सोच्छु, त्यो बेला मलाई त्यो शब्द ‘नकाली’ नसम्झिरहन सक्दिनँ । नकाली नाम हो । यसको अनुवाद केही यस्तो हुन्छ– अरूभन्दा ठूलो वा महत्त्वपूर्ण हुनु । हाम्रो आर्थिक वा राजनीतिक जगतको व्याख्या पनि नकालीको सिद्धान्तद्वारा गरिन्छ । उनीहरू कहाँ जान्छन्, कसरी जान्छन्, उनीहरूलाई कसले के भन्छ, उनीहरू जहाँ जान्छन् त्यो ठाउँमा कति पटक जान्छन्, यी सबैको निर्धारण शक्तिद्वारा नै हुने गर्छ ।

शक्तिसम्पन्न हुनु कुनै व्यक्तिको कथा भन्ने क्षमतासम्म मात्र सीमित हुँदैन बरू उसलाई त्यस व्यक्तिको निर्णायक कहानी बनाउनु पनि हो । प्यालेस्टाइनी कवि मुरिद बरघुतीले लेखेका छन्, यदि तिमी कुनै व्यक्तिको सत्व हरण गर्न चाहन्छौ भने त्यसको सबैभन्दा सरल तरिका भनेको तिनीहरूको कथा बनाउनु र अर्कै पार्टीको बनाएर भन्न थाल्नु । अमेरिकी मूल निवासीका तीरबाट कथा सुरू गर्नु, बेलायती दस्ताहरूको आगमनबाट होइन । त्यो बेला तपाईंसँग एउटा बिल्कुलै बेग्लै कथा हुनेछ । कथाको शुरूवात अफ्रिकी राज्यहरूको विफलताबाट, अफ्रिकी राज्यको औपनिवेशीकरणबाट कथा भन्न शुरू गर्नु, त्यसपछि तपाईंसँग बिल्कुलै फरक कथा हुनेछ ।

मैले हालै एउटा विश्वविद्यालयमा व्याख्यान दिएकी थिएँ, जहाँ एक जना विद्यार्थीले भने, नाइजेरियाली पुरूषले स्त्रीको चरम शोषण गर्दा रहेछन् भनेर तपाईंको उपन्यास पढेर थाहा पाएँ र मलाई ज्यादै लज्जा महसुस भयो । जवाफमा मैले भनेँ, हालै मैले अमेरिकन साइको पढेँ र त्यो पढ्दा मलाई त्यस्तै महसुस भएको थियो । एउटा युवा अमेरकी सिरियल किलर भएको देख्दा मलाई ज्यादै सरम लागेको थियो । त्यसपछि ती विद्यार्थीको अनुहार हेर्न लायकको थियो ।

मैले अमेरिकन साइको पढ्दा सारा अमेरिकीहरू त्यस्तै सिरियल किलर हुन्छन् भनेर सोच्न पनि सक्दिनँ । म ती विद्यार्थीभन्दा उम्दा व्यक्ति हुँ भनेर होइन बरू अमेरिकाको सांस्कृतिक र आर्थिक शक्तिका यति धेरै कथा सुनिसकेकी थिएँ कि मेरो नजरमा अमेरिका भनेको कुनै एउटा मात्र कथा होइन भन्नेमा म विश्वस्त थिएँ । ती विद्यार्थीले अफ्रिका भनेको ग्वाँचहरूको देश हो भन्ने एकै किसिमको कथा पढेका कारण उनलाई त्यस्तो लागेको थियो ।

वर्षौं पहिले मैले सुनेकी थिएँ, तिनै मान्छे सफल लेखक हुन्छन्, जसको बालापन ज्यादै दुःख पाएर बितेको थियो । म ज्यादै सफल लेखिका बन्न चाहन्थेँ । त्यसैले ममाथि मेरा बा-आमाले के के खराब व्यवहार गरे भनेर खोज्दाखोज्दा म हैरान भएकी थिएँ । मेरो बालापन यति सुखद् थियो, हाम्रो परिवारमा यति प्रेम र आनन्द थियो कि म दुःखी भएँ- सफल लेखिका बन्न सक्दिनँ भनेर ।

मेरा हजुरबाको मृत्यु शरणार्थी क्याम्पमा भएको थियो । मेरो नजिकको आफन्त भाइ पलले समुचित स्वास्थ्य सुविधा नपाएका कारण चाँडै मर्यो । मेरो नजिकको साथी ओकोलामा विमान दुर्घटनामा परी मरेकी थिई । यदि चाँडै दमकल आएको भए वा हामीसँग दमकल भएको भए उसको मृत्यु हुँदैनथ्यो । दमनकारी सैनिक शासनका बीच म हुर्किदै गर्दा म स्कुल पढ्थेँ र त्यो सरकारले शिक्षालाई कुनै महत्त्व दिँदैनथ्यो । जसका कारण मेरा बाले कयौँ महिनासम्म तलब पाउनु हुन्थेन । बालापनमा मेरो प्रिय खानेकुरा जाम देखिन छोड्यो, त्यसपछि ब्रेडको मूल्य पनि महँगत्र हुन थाल्यो । दुध किन्न लाइन लाग्नु पर्थ्यो । र, त्योभन्दा पनि बढी राजनीतिक कारणले हाम्रो जीवन भयमा बित्ने गर्थ्यो ।

ती सबै कथाले नै मलाई बनाएको हो, जुन म आज चिनिने गर्छु । तर ती नकारात्मक कथालाई महत्त्व दिनु मेरो अनुभवहरूलाई कम आँक्नु नै हुनेछ र मलाई आकार दिने अन्य कथाहरूलाई बेवास्ता गर्नु पनि भुल नै हुनेछ । एकाङ्गी कथाले रूढी निर्माण गर्छन् । रूढीको समस्या सत्य नहुनु मात्र होइन, रूढीको समस्या त ती अपूर्ण पनि हुन्छन् । तिनले कथालाई एउटा कथा मात्र बनाइदिन्छन् ।

यसको अर्थ अफ्रिकामा दुःख र दुर्गति छैन भन्ने होइन । अवश्य पनि अफ्रिका दुःख र दुर्गतिको महागाथा हो । केही अत्यन्त भयङ्कर छन्, जस्तो कङ्गोको विभत्स बलात्कार काण्ड । केही अवसादपूर्ण पनि छन् जस्तो कि कुनै जागिरका लागि यत्रो ठूलो लाइन लाग्छ कि के भन्नु !

तर त्यहाँका कथा त्यति दुःखद् र दर्दनाक पनि छैनन् तर यहाँ भन्न जरूरी छ ।

कुनै परिवेश या व्यक्ति कहीँ नजोडिइकन त्यस ठाउँको कथाकहानी भन्नु असम्भव नै हुन्छ । जब भनिन्छ, त्यहाँ एकलकाँटे बयान बन्न पुग्छ र त्यसले मनुष्यलाई त्यसको गरिमाबाट वञ्चित गरिदिन्छ । यसले हामी मानव जातिको समानताको पहिचानलाई नै कठिन बनाइदिन्छ । हामी कति समान छौँ भनेर बुझाउनुको साटो त्यस्ता एकलकाँटे कथाले हामी कति अलग छौँ भन्ने बुझाउन थाल्छ ।

मेक्सिको जानुभन्दा पहिले मैले आप्रवासनमा भएका बादविवादहरूमा मैले अमेरिका र मेक्सिको दुवै पक्षका बारेमा सुनेको भए के हुन्थ्यो होला ? मेरी आमाले फिडेको परिवारका बारेमा बताउँदा तिनीहरू गरिब छन् तर मिहिनेती पनि छन् भनेर बताइदिनु भएको भए के हुन्थ्यो होला ? हामीसँग यदि अफ्रिकी टिभी नेटवर्क भएको भए र हाम्रा विविध कथाकहानी संसारभर प्रसारित गरिदिएको भए के हुन्थ्यो होला ? त्यही हुन्थ्यो, जुन चिनुआ अचेबेले ‘कहानीहरूको सन्तुलन’ भनी बताएका थिए ।

मेरी अमेरिकी कलेजको रूम मेटलाई नाइजेरियाली प्रकाशक मुक्ता बकारेका बारेमा थाहा भएको भए ? एउटा असाधारण मानिस, जसले बैंकको जागिर छाडेर आफ्नो सपनाको बाटोमा हिँडेर प्रकाशनगृह स्थापित गरेको थियो भन्ने जान्दा के हुन्थ्यो होला । तर आम धारणा त यही छ कि नाइजेरियालीहरू साहित्य पढ्दैनन् । तिनले पढ्नुको विरोध गरे । मुक्ता बकारेलाई लाग्यो, मानिसहरू पढ्न चाहन्छन् तर उनीहरूले किन्न सकने मूल्यमा पुस्तक बजारमा पठाउनु पर्छ । नभन्दै उनले त्यही गरे ।

उनी मेरो पहिलो उपन्यासको प्रकाशक थिए । उपन्यास छापिएकत्र केही समयपछि राजधानी लागोसको एउटा टेलिभिजन स्टेसनमा अन्तरवार्ताका लागि म गएँ । त्यहाँ काम गर्ने एक जना महिला मसँग बोल्न आइन् । उनले मेरो उपन्यास राम्रो लागेको बताइन् तर अन्त्य मन नपरेको भन्दै यस उपन्यासको अर्को भाग लेख्नुपर्ने सुझाव दिइन् । उनले यो उपन्यासको दोस्रो भाग किन लेख्ने र के के लेख्ने भन्ने कुरा सुझाउँदै थिइन् । उनको कुरा सुनेर मलाई उदेक लाग्यो । ऊ एउटी साधारण महिला थिई । ती महिलालाई हामीले कहिल्यै पनि पाठकको एउटा अङ्श ठानेनौँ । उसले किताब पढेकी मात्र थिइन, किताबको कमजोरी पनि थाहा थियो । उसले जे सुझाव दिएकी थिई, त्यो मलाई तर्कसङ्गत पनि लाग्यो र मलाई यसको अर्को भाग लेख्न घच्घच्याई ।

यदि मेरी रूममेटलाई मेरी निडर साथी फुमी ओनडाका बारेमा थाहा भएको भए के हुन्थ्यो होला ? लागोसको टिभी कार्यक्रममा उनी निम्तालु थिइन् । उनी ती कथाहरूलाई बाहिर ल्याउन चाहन्थिन्, जसलाई हामी बिर्सनु नै उचित हुन्छ भनी ठानिरहेका छौँ । मेरी रूम मेटलाई लागोसमा हुने मुटुको अपरेसनका बारेमा थाहा भएको भए ? समकालीन नाइजेरियाली सङ्गीतका बारेमा मेरी रूममेटलाई थाहा भएको भए ? मेरी रूममेटलाई ती महिलाका बारेमा थाहा भएको भए, जसले आफ्नो पासपोर्ट नवीकरणका लागि पतिबाट स्वीकृति लिनुपर्छ भन्ने कानुनलाई चुनौती दिएका थिए र तिनले आफ्नो शक्तिको परिचय दिएका थिए । उनलाई हाम्रो देशको नलिउडका बारेमा थाहा भएको भए, जहाँ प्रविधिको कठिनाई भए पनि मौलिक फिल्म उद्योग चलाइरहेका छन् । यस्ता अनेकन् उदाहरणहरू छन्, नाइजेरियाका, नाइजेरियालीहरूका । तर ती कथाहरू उनीहरूले सुनेका छैनन् ।

हरेक पटक जब म घर जान्छु, त्यो बेला मलाई नाइजेरियाली आम जनताका गुनासाहरू सुन्छु । हाम्रो आधारभूत ढाँचा नै खराब छ, हाम्रो सरकार नालायक छ । तर त्यसका बाबजुद पनि उनीहरूले छक्कै पार्ने काम गरेर देखाएका छन् । अभावका बाबजुद उनीहरूले कयौँ राम्रा काम गरेर देखाएका छन् । म हरेक गर्मीयाममा राजधानी लागोसमा लेखन कार्यशाला चलाउँछु । त्यहाँ कत्ति धेरैले पढ्नका लागि निवेदन दिइरहेका हुन्छन् । उनीहरू आफ्नो कथाकहानी सुनाउन व्यग्र रहेको पाउँछु ।

हालै मैले मेरो प्रकाशकसँग मिलेर एउटा ननप्रफिट ट्रस्ट बनाएकी छु, फाराफिना ट्रस्ट । यो ट्रस्टको ठूलो सपना छ, एउटा ठूलो पुस्तकालय बनाउँ र पुराना पुस्तकालयहरूलाई पुनर्उद्धार गर्न सकौँ । विद्यालयहरूका पुस्तकालयमा पुस्तकहरू उपलब्ध गराउन सकौँ । पठनपाठनसम्बन्धी अनेक कार्यशाला आयोजन गरौँ ताकि आफ्ना कथा सुनाउन भन्न वा लेख्न चाहनेहरूले अवसर पाऊन् । कथा निकै महत्त्वपूर्ण कुरा हो । बढीभन्दा बढी कथा हुनुको महत्त्व छ । कथाहरूको उपयोग अरूलाई वञ्चित गर्न र धूमिल पार्न हुँदै आएको छ । तर कथाले सामर्थ्यवान बनाउँछ, मानवीकरण गर्छ । कथाले मानिसको गरिमा भङ्ग पनि पारिदिन्छ । तर तिनले खण्डित गरिमालाई उपचार पनि गर्न सक्छन् ।

जब हामीले एकालकाँटे कहानीलाई अस्वीकार गर्छौं, जब हामीलाई कुनै स्थानविशेषको कुनै एकलकाँटे कथा हुँदेन भन्ने बुझ्छौँ, त्यो बेला हामीले हाम्रो स्वर्गलाई पुनः प्राप्त गर्छौं ।