साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साइबर बुलिङको दुश्चक्र

‘फोर्ब्स थर्टी अन्डर थर्टी’ सम्मेलनमा पहिलो पटक म सार्वजनिक रुपमा बोल्न उभिएँ। त्यहाँ ३० वर्षभन्दा कम उमेरका १५ सय प्रतिभासम्पन्न युवायुवती थिए। अन्दाज गर्नुस्, १९९८ मा तिनीहरुमध्ये सबैभन्दा उमेरदार १४ वर्षको थियो होला र सबैभन्दा सानो चाहिँ चार वर्षको। मैले ठट्टा गर्दै भनेँ, ‘तपाईंहरुमध्ये निकै कमले मेरो नाउँ सुन्नु भएको होला, धेरैले चाहिँ र्‍याप गीतमा मात्रै सम्झनु भएको होला।’

अचम्ममा नपर्नुस्, मेराबारेमा र्‍याप गीत पनि गाइएका छन्। गनेर ल्याउँदा ४० वटा गीत पुग्लान्! त्यो रात बडो अचम्म भयो, एउटा २७ वर्षे ठिटो नजिकिन खोज्यो। ऊ आकर्षक थियो तर मैले ऊसित केही क्षण कुरा गरेपछि टक्टकिन खोजेँ। त्यो बेला उसले के भन्यो थाहा छ? ‘मसँग संगत गर्नुस्, तपाईंलाई म पुनः २२ वर्षे महसुस गराउनेछु।’

त्यो रात मैले सोचेँ, यो संसारमा म मात्रै एउटी यस्ती ४० वर्षे महिला हुँली, जो अब पुनः २२ वर्षकी हुन चाहन्नँ।

२२ वर्षकै उमेरमा मैले मेरो बोसलाई प्रेम गरेँ अनि २४ वर्षको उमेरमा मैले त्यसको भयानक परिणाम झेलेँ पनि। संसारमा को यस्तो व्यक्ति नहोला जो २२ वर्षको उमेरमा गल्ती गरोस् र त्यसको पछुताउ नहोस्! तपाईंहरुमध्ये कतिपय मैले जस्तै २२ वर्षे जोवनमा गलत मोडमा गलत व्यक्तिको प्रेममा पर्नुभयो होला। मैजस्तो आफ्नो बोससँग प्रेममा पर्नुभयो होला तर त्यो व्यक्ति अमेरिकाको राष्ट्रपति थिएन होला!

मेरो गल्तीबारे नसम्झाइएको एक दिन पनि छैन र प्रत्येक दिन त्यसको पश्चाताप पनि छ।

१९९८ मा पहिलो पटक यस्तो रोमान्सको भूमरीमा फँसे, त्यसको कुनै अन्त्य थिएन। म यस्तो भयानक राजनीतिक, कानुनी र मिडियाको भूमरीमा फँसे कि त्यो मैले न कहिल्यै देखेकी थिएँ न कहिल्यै सोचेकी नै!

सन् १९८८ सम्म समाचारका तीन वटा मात्र ठेगाना थिए, अखबार–रेडियो–टेलिभिजन।

मेरो भाग्य त्यति बलियो थिएन। मेरो काण्डको खबर डिजिटल क्रान्तिमार्फत् सार्वजनिक भयो। अनलाइनमार्फत् आयो। पहिलो पटक पारम्परिक मिडियालाई इन्टरनेटले एउटा ठूलो खबर छाप्यो। एउटा क्लिकले सारा संसारले थाहा पायो। मेरा लागि यसको अर्थ थियो, रातारात गुमनाम व्यक्तिबाट संसारकै बदनाम व्यक्तिमा बद्लिनु। आफ्नो सारा प्रतिष्ठा संसाभरमै क्षणमै गुमाउने नयाँ रोगको पहिलो शिकार म नै थिएँ। फैसला सुनाउने यस दौडलाई टेक्नोलजीले अझै बढी बहकायो। भर्चुअल ढुंगामुढा गर्नेको त मानौँ पूरै भिड जम्मा भयो। त्यो बेलासम्म सोसल मिडिया थिएन तापनि मानिसहरु अनलाइनमा टिप्पणी गर्न सक्थे। इमेलमा टिप्पणी र भद्दा–तिखो मुख छाड्न सक्थे। समाचार मिडियाले मेरा तस्बिरलाई हरेक ठाउँ टाँसिदिए।

मेराबारेमा नराम्रा टिप्पणी गरिए। म आवारा, बेस्या, बेकुप, चरित्र नभएकी, ‘त्यो खालकी आइमाई’ भएँ। धेरै मानिसले मलाई देखे तर धेरै कमले मात्र मलाई चिने। मलाई थाहा छः ‘त्यो खाले आइमाइ’को पनि अस्तित्व छ, त्यसको पनि आत्मा छ भन्ने बिर्सन निकै सजिलो हुन्छ। कुनै बेला ऊ यस्तो टुक्राटुक्रा भएर निराश थिइन।

जुन बेला यो घटना मसित भयो, यसका लागि कुनै नाम थिएन। यसलाई त यतिबेला साइबर बुलिङ वा अनलाइन उत्पीडन भनी नामाकरण गरिएको छ।

त्यो बेलाका अनुभवको प्रकाशमा म केही टिप्पणी गर्न चाहन्छु र आशा गर्छु, ममाथि भएको त्यो उत्पीडनबाट अरुले पाठ सिकून् र उनीहरुको जीवनमा कम तनाव होस्।

१९९८ मा मैले आरुनो प्रतिष्ठा र आत्मसम्मान गुमाएँ। मेरो लगभग सबै कुरा लुटियो। मैले आरुनो जीवन गुमाएँ।

मेरो अवस्था के थियो भन्ने बुझाउन म एउटा दृश्य रच्छु। १९९८ को सेप्टेम्बर महिना छ। म कुनै र्याल भएको कार्यालयमा बसिरहेकी छु। इन्डिपेन्डेन्ट काउन्सिलको कार्यालयमा। त्यहाँ चर्को उज्यालोमा म आरुनै आवाज सुनिरहेकी छु। त्यहाँ फोन कलमा मेरै आवाज गोप्य रुपमा टेप गरिएको थियो, एक वर्षअघि।

मैले त्यो सुन्नु नै पर्छ किनभने कानुन नै त्यस्तै छ। निजी कुराकानी गरिएका २० घ48टा लामो ती टेपका कुराकानी आठ महिनादेखि रेकर्ड गरिएको थियो। त्यो टेप रेकर्ड मेरालागि नाङ्गो तरबार थियो।

एक वर्षअघि भएका कुराकानी म चुपचाप सुनिरहेकी छु। म त्यहाँ राष्ट्रपतिप्रति प्रेम अभिव्यक्त गरिरहेकी छु र मेरो मन दुखाएको गुनासो गरिरहेकी छु। कहिलेकाहीँ म दुर्व्यवहार, छिटोछिटो, गुनासोपूर्ण कुरा गर्छु, कहिले निकै नराम्रो व्यवहार गर्छु र कहिले ज्यादै असभ्य।
सुरिरहेकी छु… भित्रसम्मै लाज लागिरहेको छ। मेरो सबैभन्दा खराब स्वरुप यस्तो पनि रहेछ भन्ने देखिरहेकी छु। त्यो स्वरुप मैले कहिल्यै देखेकी थिइन्।

सम्बन्धित पोस्टहरु

केही दिनपछि यही कुरा अनलाइनमा छापिन्छ… अब सबैले पढ्न सक्ने भए ती कुरा। अडियो टेप टेलिभिजनमा पनि प्रसारण गरिन्छ। यस्तो बेलामा सर्वसाधारणले जे जति अपमान गर्छन् त्यो खप्न निकै गाह्रो हुन्छ। त्यो बेला जीवन जिइँदैन, घिसारिन्छ। १९९८ ताका यस्ता घटना हरेक दिन घट्दैन थिए। कसैको निजी कुराकानी र क्रियाकलाप चोरी हुँदैनथ्यो। न त नसोधी त्यसलाई सार्वजनिक गरिन्थ्यो, बिना कुनै स्वीकृति, बिना कुनै सन्दर्भ, बिना कुनै संवेदना नै सार्वजनिक हुन्थ्यो।

यसपछिको एक दशकपछि सन् २०१० मा एउटा नयाँ सोसल मिडिया जन्मिइसकेको थियो। दुर्भाग्य, मेराबारेमा जे भयो त्यो एउटा सामान्य भइसकेको छ। भलै कसैले कुनै गल्ती गरेको होस् या नहोस्, भलै त्यो व्यक्ति कुनै चर्चित होस् या सर्वसाधारण। केही मानिसका लागि यसको परिणाम ज्यादै ज्यादै नराम्रो साबित भएको छ।

मैले मेरी आमासँग फोनमा कुरा गरिरहेकी थिएँ, सेप्टेम्बर २०१० मा। कुराकानीमा रुटगर युनिभर्सिटीको पहिलो वर्षको छात्रा टाइलर क्लेमेन्टी थिए। उनी प्यारी, संवेदनशील, रचनात्मक थिइन्। उनी अर्का एक पुरुषसँग अन्तरङ्ग सम्बन्ध गाँसिरहेको भिडियो कसैले खिच्यो। अनलाइन संसारले यस घटनाको खबर सार्वजनिक गर्नेबित्तिकै भद्दा बेइज्जती र साइबर बुलिङ विष्फोट भयो। केही दिनपछि टाइलरले जर्ज वासिङ्टन पुलबाट हाम्फाली आत्महत्या गरिन्। उनी १८ वर्षकी मात्र थिइन्। मेरी आमा टाइलर र उसको परिवारका बारेमा सोचेर निकै दुःखी हुनुभयो। मैले सुरुमा त बुझनँ तर पछि बिस्तारै महसुस गरेँ, मैले जे कुरा १९९८ मा भागेकी थिएँ, टाइलरले पनि २०१० मा त्यही भागेकी थिई।

मेरी आमा त्यो बेला मेरो सिरानीमा बसिरहनु हुन्थ्यो। मलाई बाथरुमको ढोका बन्दसमेत गर्न दिनु हुन्नथ्यो। यस्तो बेला मेरा आमाबुवालाई सधैँ डर लागिरहन्थ्यो, यो बद्नामीले मेरो ज्यान कतिबेला लैजाने हो! मेरा बा–आमाजस्ता निकै कम भाग्यमानी अभिभावक छन्, जसले यस्तो पीडा भोगेका सन्तान उनीहरुसँगै बाँचेका होऊन्। धेरैजसोले त आरुना सन्तानको पीडा निकै ढिला भइसकेपछि मात्र चाल पाउँछन्। टाइलरको दुःखद्, बेमतलब मृत्यु मेरा लागि ठूलो क्षण बन्न पुग्यो। त्यस घटनाले मेरो अनुभवलाई एउटा नयाँ सन्दर्भ दियो र मैले आरुना वरिपरि फैलिएको शोषण र जोरजबर्जस्तीलाई महसुस गरेँ अनि त्यसलाई नयाँ कोणबाट हेर्न थालेँ।

१९९८ मा इन्टरनेटले हामीलाई कहाँसम्म पुर्‍याउला भन्ने बुझेका थिएनौँ। त्यसपछिका दिनमा इन्टरनेटले मानिसलाई नयाँ तरिकाले जोडेको छ। हराएका दिदीभाइ भेट भएका छन्, ज्यान बचाएको छ, कैयौँ आन्दोलन गराएको छ। तर एउटा अँध्यारो पाटो पनि छ, साइबर बुलिङ। कसैलाई बिना कारण बेश्या बनाएको छ र त्यसको लज्जाबोधलाई कैयौँ गुणाले बढाएको पनि छ।

हरेक दिन अनलाइनमा विशेष गरी कम उमेरका युवायुवती यस्ता समस्यासँग जुझ्न तयार नभएकै बेला शोषित त प्रताडित भएका छन्। त्यसपछि त उनीहरु एक दिन पनि ज्यूँदो हुन चाहँदैनन्। केही त बाँच्लान् र ज्यूँदो हुँदैनन्। अनि यो अनलाइनमा मात्र होइन, वास्तविक संसारमा हुन्छ।

बेलायतको चाइल्ड लाइन नामक संस्थाले गएको वर्ष एउटा तथ्य जारी गरेको थियो, २०१२ देखि २०१३ का बीचमा साइबर बुलिङसँग जोडिएका इमेल र फोन कलमा ८७ प्रतिशत बढोत्तरी भएको छ। नेदरल्यान्डमा पहिलो पटक अफलाइन बुलिङका तुलनामा साइबर बुलिङ आत्महत्याको सबैभन्दा ठूलो कारण बनिरहेको छ। मलाई अचम्म त के लाग्छ भने संसारभरि नै खुसीभन्दा बढी प्रताडनाको भावनालाई बढी महसुस गर्ने गर्छन्।
अन्य व्यक्तिप्रति निष्ठुरता कुनै नयाँ कुरा होइन तर अनलाइन, प्रविधिका मार्फत् हुने निष्ठुरताले यसको प्रतिशत निकै गुणा बढ्न जान्छ र कहिलेकाहीँ त यो नियन्त्रणबाहिर पुग्छ र हरेक समय घटिनैरहन्छ। सुरुमा लज्जाबोध वरिपरिका क्षेत्र, गाउँ वा विद्यालय, नजिकैको समाजसम्म मात्र हुन्थ्यो, अब त यो अनलाइनमा पनि हुन्छ। चिनजान बिनाका लाखौँ मानिसले तपाईंलाई शब्दले छियाछिया पार्छन् र नचिनेकाले पनि तपाईंलाई त्यस्तो गर्दा ज्यादै पीडादायी महसुस हुन्छ। अनलाइन बुलिङमा कुनै पर्खाल छैन, कति मानिसले तपाईंलाई हेर्न सक्छन्, टिप्पणी गर्न सक्छन् र यसको परिणाम चाहिँ निजी रुपमा चुकाउनुपर्ने हुन्छ। इन्टरनेटले दिने लज्जाको त कति गुणा बढी हुन्छ, त्यो भनिसाध्य छैन।

दुई दशकदेखि हामी बिस्तारैबिस्तारै लज्जा र सार्वजनिक बेइज्जतीको बिऊ रोप्दै आइरहेका छौँ। गसिप वेबसाइट, पापाराजी क्यामेरा, रियालिटी टिभी, राजनीति समाचार भिडिया र कहिलेकाहीँ ह्याकर पनि प्रताडनाको अंशियार बन्ने गर्छन्। संवेदनहीनताको पराकाष्ठाका कारण दादागिरी, निजत्वको हनन, साइबर बुलिङजस्ता कुरालाई बढावा दिइँदैछ। यस किसिमको संस्कृतिलाई प्राध्यापक निकोलस मिल्स ‘प्रताडनाको संस्कृति’ भन्न रुचाउँछन्। गएका छ महिनामा घटेका केही ठूला उदाहरण हेर्नुस्, स्नाप च्याट अनलाइन सेवा धेरैजसो युवाहरुले प्रयोग गर्छन्। उसले सन्देश मेटाउने दाबी गर्छ, केही क्षणमै। अब तपाईं आफैँ कल्पना गर्नुस्, त्यहाँ कस्ता किसिमका सन्देश आदानप्रदान भइरहेका होलान्। एक पटक यो वेबसाइट ह्याक भयो र एक लाख निजी कुराकानी, फोटो, भिडियो लिक हुन पुग्यो। ती लिक भएका सामग्री सधैँका लागि सार्वजनिक भइसके। जेनिफर लरेन्स लगायतका कैयौँ लोकप्रिय फिल्म कलाकारका आइ–क्लाउड ह्याक भयो। उनका निजी, नाङ्गा फोटा संसारभर इन्टरनेटमा हेर्न सकिने भयो। यो उनको स्वीकृति बेगर नै भएको थियो। यो खबर सार्वजनिक गर्ने गसिप वेबसाइट खबर सार्वजनिक भएका दिन ५० लाख पटक हेरियो।

सोनी पिक्चरको वेबसाइट ह्याकिङ? त्यहाँ पनि निजी इमेल सबैभन्दा शरम मान्नुपर्ने किसिमको थियो।

तर प्रताडनाको यो संस्कृतिमा सार्वजनिक लज्जाको पनि प्राइस ट्याग (मोल) झुण्डिएको छ। यो मोल पीडितले चुकाएको मूल्यसँग कहिल्यै नापिँदैन। टाइलर र अन्यले खासगरी महिला र अल्पसंख्यकले जसरी चुकाउनु पर्छ, त्यसको त कहिल्यै हिसाब गरिँदैन। हिजोआज प्रताडना एउटा बजार बनाएको छ, उद्योग बनेको छ। जति बढी लज्जा, उति बढी क्लिक र जति बढी क्लिक उति बढी विज्ञापनबाट आउने पैसा।

हामी यस्तो भूमरीको जालमा छौँ। हामी जति बढी क्लिक गर्छौं, उति बढी संवेदनाहीन बन्छौँ, त्यस खबरका पछाडि लुकेको व्यक्तिप्रति। यसबीचमा पूरै समय कसैले चाहिँ पैसा कमाइरहेको हुन्छ, कसैको दुःख, पीडा र उत्पीडनबाट। हरेक क्लिक गर्दा हामी विकल्प चुनिरहेका हुन्छौँ, कति बढी लज्जाहीन हुने। जति बढी लज्जाहीन हुन्छौँ, उति बढी साइबर बुलिङ भइरहन्छन्, त्यस्ता चिज हेरिरहन्छौँ। त्यति नै बढी ह्याकिङ र धम्की बढाइरहेका हुन्छौँ।

हामीले लज्जाबोध नै त्यागिसकेपछि यही संस्कृति बढ्नु स्वाभाविक पनि हो। हामी सुसंस्कृत छौँ त्यसैले आज कतिपय रेसिज्म, होमोफोयिबा इतिहास बनिसकेका छन्। समलैंगिक बिहेलाई लिएर हाम्रा दृष्टिकोण परिवर्तन हुनाले बढीभन्दा बढी मानिसले चैनको श्वास फेर्न पाएका छन्। हामीले रिसाइकल गरिएका सामग्री प्रयोग गर्न थालेका छौँ। अब हामीले अर्को एउटा सांस्कृतिक आन्दोलन थाल्नुपर्ने बेला भएको छ र सार्वजनिक लज्जाबोधको यो खुनी खेल बन्द गर्नुपर्ने बेला आएको छ। हामीले इन्टरनेट कल्चरमा हस्तक्षेप गर्ने बेला आएको छ। सुरुवात कुनै सानो कुराबाट हुन सक्छ र यो सजिलो हुने छैन। हामीले संवेदनशीलता र सहानुभूतिलाई पुनः हासिल गर्नुपर्ने बेला आएको छ। अनलाइन संसारमा सहानुभूति र संवेदनाको गहिराई निकै कम छ। म त भन्छु, खडेरी नै छ। शोधकर्ता ब्रेन क्तैन।

मैले मेरो जीवनमा धेरै अँध्यारो दिन गुजारेकी छु। मेरो परिवार, साथी र आफन्त अनि कहिलेकाहीँ नचिनिने अञ्जान व्यक्तिको सहानुभूति र संवेदनाले नै मलाई जोगायो, मर्नबाट म बाँचेँ। मानिसलाई उसमाथि व्यक्त गरिने सहानुभूतिले निकै ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण म स्वयं छु।
समाज विज्ञानी सेर्गेइ मोस्कोविस्कीको ‘माइनोरोटी इन्फ्लुएन्स’को सिद्धान्तले भन्छ, लामो समयसम्म ज्यादै सानो संख्याले केही कुरा अँगाले भने संसारमा ठूलो परिवर्तन ल्याइदिन सक्छ। अनलाइनको संसारमा हामी यही माइनोरिटी इन्फ्लुएन्स ल्याउन सक्छौँ।
कुनै कुराको विरोध गर्नुको अर्थ चुपचाप उभिनु होइन। हामी कसैप्रति सकारात्मक कमेन्ट गर्न सक्छौँ, साइबर बुलिङ भइरहेको देखेर गुनासो दर्ता गर्न सक्छौँ। सकारात्मक कमेन्टले नकारात्मकता पूरै बद्लिन्छ। बुलिङविरुद्धको एउटा संस्कृति उभ्याउन सक्छौँ हामीले र त्यस्ता संस्थालाई सहारा दिन सक्छौँ।

अमेरिकाकी टाइलर क्लेमेन्टी फाउन्डेसनले साइबर बुलिङविरुद्ध काम गरिरहेको छ, बेलायतमा एन्टि बुलिङ प्रोग्राम छ, अस्ट्रेलियामा प्रोजेक्ट रोकिट छ। हामी फ्रिडम अफ एक्स्प्रेसनका बारेमा सचेत भएर कुरा गर्छौं तर हामीले के पनि कुरा गर्नु जरुरी छ भने फ्रिडम अफ एक्स्प्रेसनप्रति हाम्रो कर्तव्य चाहिँ के छ? हामी चाहन्छौँ, हाम्रा कुरा सबैले सुनून् तर उद्देश्यपूर्ण तरिकाले बोल्नु र अर्काको ध्यान आकर्षित गर्न बोल्नुमा फरक छ।
अनलाइन सम्वेदनशीलताले हामी सबैको भलो नै हुन्छ, एउटा उम्दा, सुरक्षित संसार बन्छ। हामीले अनलाइन व्यवहारमा सहानुभूति ल्याउनु पर्छ। समाचारहरुलाई सम्वेदनाका साथ ग्रहण गर्नुपर्छ। कुनै समाचार क्लिक गर्दा विचार पुर्‍याएर क्लिक गर्नुपर्छ।

यो अभियान सुरु भएका नौ महिनायता मलाई सबैभन्दा बढी सोधिएको प्रश्न नै ‘किन?’ हो। म यत्तिका वर्षपछि मैले टाउको उठाएर किन हिँड्न थालेँ? राजनीतिसँग मेरो कुनै लेनदेन छैन तर मेरो एउटै उत्तर छ कि अब समय आइसक्यो। समय आइसक्यो कि विगतका घटनाबाट लजाएर लुकीलुकी हिँड्न बन्द गरुँ, अपमानित भएर बाँच्ने समय अब गइसक्यो, मेरा घटना इन्टरनेटले नियन्त्रण गर्ने होइन, आफैँले नियन्त्रण गर्ने अधिकार पाउँ। यो मेरो एक्लैका बारेमा होइन। जो कोही पनि शरम र सार्वजनिक रुपले उत्पीडित छ, उनीहरुले बुझून्ः तिमीहरु त्यसविरुद्ध लड्न सक्छौँ र अघि बढ्न सक्छौँ। मलाई थाहा छ, यसो गर्नु निकै कठिन छ। ज्यादै पीडायुक्त हुन्छ, सजिलो पक्कै छैन र छ लामो यात्रा पनि। तर तपाईंले आफैँप्रति सहानुभूति र संवेदना राखेर आफ्नो कथालाई बेग्लै अन्त्य दिन सक्नुहुन्छ।

(मोनिका लेवेन्स्कीले टेड टकमा दिएको व्याख्यानको सम्पादित अंश ।)

प्रतिक्रिया
Loading...