जुलिया गलेफ

एक्कैछिनलाई मान्नुस्… तपाईं सैनिक हुनुहुन्छ, जो अहिले घमासान युद्ध लडिरहेको छ । त्यो रोमन पैदल सैनिक होस् वा प्राचीन कालको धनुर्धर होस् अथवा चर्चित जुलू योद्धा अथवा गोर्खा सेना होस्, तपाईं जे पनि हुनसक्नु हुन्छ । छनोट तपाईंकै ! समय या ठाउँ जे सुकै भए पनि सेनाका केही कुरा भने कहिल्यै बद्लिदैनन् । सेनाहरू सतर्क हुन्छन् । सेनाको सतर्कता र चेतनाले उत्पन्न भइरहेका तपाईंका कर्म- यी दुई कुरा सधैँ साथमा हुन्छन् । तपाईंको सजगता, सतर्कताका दुई उद्देश्य हुन्छन् । आफ्नो रक्षा गर्नु वा आफ्नो पक्षको रक्षा गर्नु अनि अर्को चाहिँ दुस्मनलाई हराउनु ।

अब फेरि एक्कैछिनलाई मान्नुस्, तपाईं एउटा बेग्लै भूमिकामा हुनुहुन्छ र त्यो भूमिका भनेको स्काउटको हो । स्काउटको काम आक्रमण गर्नु या कसैलाई सुरक्षा दिनु होइन । स्काउटको काम चाहिँ केही कुरा जान्नु, बुझ्नु हो । स्काउट आफ्नो शिविरबाट बाहिर निस्कन्छ । वरिपरिको इलाकाको नक्सा बनाउँछ । सम्भावित बाधाका बारेमा जानकारी राख्छ । केही सिक्ने उसको उद्देश्य हुन्छ । जस्तो, नदी किनाराको कुन ठाउँमा पुल बन्नुपर्छ, कस्तो बन्नुपर्छ आदि । ऊ त्यस ठाउँका बारेमा बढीभन्दा बढी जान्न चाहन्छ ।

यदि तपाईं साँचो सेना हो भने तपाईंमा सेनाका गुणसँगै एउटा स्काउट हृदय पनि हुनुपर्छ । तर अधिकांशतः मानिसमा कि त सैनिक हृदय हुन्छ कि त स्काउट हृदय हुन्छ । यी दुवै हृदय भएको व्यक्ति विरलै हुन्छ ।

हामी आफ्नो दैनिक जीवनमा जानकारी तथा विचारहरुलाई कसरी बुझ्छौँ भन्ने कुरा बुझाउन मैले सेना र स्काउटबीचको फरक तपाईंलाई बताउन खोजेकी हुँ । विवेकपूर्ण भावना हुनु, सही कुराको अनुमान गर्नु, उचित निर्णय लिनु जस्ता कुरामा तपाईंको मानसिकताले भूमिका खेलिरहेको हुन्छ ।

सन् १८९४ मा फ्रान्सको इतिहासमा एउटा महत्त्वहीन देखिने कागजको टुक्राले निकै ठूलो राजनीतिक काण्ड घटाएको थियो । फ्रान्सेली सेनाका एक अधिकारीले एउटा कागजलाई एउटा टिनको डब्बामा च्यातचुत भएको अवस्थामा फेला पारे । जब उनले ती टुक्रालाई जोडे, आफ्नो सेनाका बारेका गोप्य जानकारी कसैले जर्मनीलाई बेचिरहेको छ भन्ने चाल पाए । त्यसैले यो द्रोही को हो भन्नेबारे जान्नु जरुरी थियो । यसका लागि एउटा ठूलो खोजी अभियान चलाइयो । खोजीले शंकाको सुई एउटै व्यक्तितिर सोझिएको थियो र ती व्यक्ति थिए, अल्फ्रेड ड्रेफस ।

अल्फ्रेडका बारेमा खोजी हेर्दा निकै राम्रा कुरा लेखिएको पाइयो । उनका बारेमा कुनै नराम्रा कुरा कतै लेखिएका वा सुनिएका थिएनन् । उनले कुनै अपराध गरेक थिएनन् । दुर्भाग्य के थियो भने, अल्फ्रेड यहुदी थिए । त्यो बेलाको फ्रान्स यहुदीप्रति निकै दुर्भावना राख्थ्यो । सेनाका अधिकारीहरुले अल्फ्रेडका हस्ताक्षर र त्यो कागजको लेखाई जाँच गरे । ती दुवै लेखोट मिल्ने निष्कर्ष अध्ययन समितिको थियो । हस्ताक्षरका विशेषज्ञहरु भने सो निष्कर्षमा सहमत थिएनन् ।

तापनि अल्फ्रेडको घरमा छापा मारियो । उनले जासुसी गरेको प्रमाण खोजखाज गरियो । अल्फ्रेडका हरेक फाइललाई गहन तरिकाले अध्ययन गरियो तापनि केही पनि पत्ता लाग्न सकेन । यसबाट त उनका बारेमा अझ शंका गहिरिन थाल्यो । अल्फ्रेड अपराधी मात्र होइनन्, ज्यादै चलाख पनि रहेछन् भन्ने विश्वास गहिरिँदै गयो । सारा कुराको सबुत नै गायब गर्ने यो मान्छे कस्तो चलाख होला त ! अधिकारीहरुले चाल पाउनुअघि नै उसले सारा प्रमाण नष्ट गरेको विश्वास चुलियो ।

यसपछि अल्फ्रेडको विगत के कस्तो थियो भनी बालापनसमेत जाँचियो ताकि उनका बारेमा खास कुरा पत्ता लगाउन सकियोस् । अल्फ्रेडका शिक्षकहरुसँग कुरा गर्दा थाहा भयो, उनले स्कुले जीवनमै विदेशी भाषा सिकेका थिए । यसबाट पक्का ठानियो, विदेशी सरकारसँग षडयन्त्र र साँठगाँठ गर्नेबारे पहिल्यैदेखि सोचेका रहेछन् । शिक्षकहरूले सुनाए, ऊ त बच्चैदेखि तीखो स्मरणशक्तिका लागि प्रख्यात थियो । यसपछि त सन्देह अझ बढ्यो । हुन पनि जासुसहरूले त नलेखीकनै धेरै कुरा स्मरण गर्नुपर्ने हुन्छ ।

अन्ततः अदालतसम्म कुरा पुग्यो र उनीमाथि देशद्रोहको मुद्दा चल्यो । अदालतले अल्फ्रेड ड्रेफस दोषी साबित भएको निर्णय सुनायो । उनलाई बीच शहरमा लगियो । उनको सैन्य बर्दी निकालियो । उनले बोकेको तरबारलाई भाँचेर दुई टुक्रा बनाइयो । टुक्रित तरबारलाई ‘ड्रेफसको पतन’ नामकरण गरियो । बेइज्जतीको यो चरणले पनि पुगेन । त्यसपछि उनलाई डेभिल्स आयल्यान्ड (राक्षसको टापु) भन्ने ठाउँमा आजीवन काराबासको सजाय सुनाइयो । यो दक्षिण अमेरिकाको समुद्री तटको एउटा चट्टानयुक्त ठाउँ थियो । अल्फ्रेडले त्यहाँ अनेकन् दिन एक्लै बिताए । उनले फ्रान्सेली सरकारलाई आफू निर्दोष भएको कयौँ चिठ्ठी लेखे । उनले आफू पुनः यो मुद्दा लड्ने र आफ्ना कुरा राख्ने तथा निर्दोषिताको प्रमाण पेश गर्ने बताए तर फ्रान्सेली सरकारका लागि यो मुद्दा सधैँका लागि बन्द भइसकेको थियो । उसले दोषी फेला पारिसकेपछि गाढेको मुर्दा किन उखेलोस् !

अल्फ्रेड ड्रेफसको यो मुद्दाको सबैभन्दा रोचक पक्ष के थियो भने जसले अनुसन्धान अघि बढाएका थिए, अल्फ्रेड पक्का दोषी हुन् भन्ने कुरामा कति निश्चित थिए ! कति बढी आत्मविश्वासमा थिए ! यो घटनालाई अहिलेको चस्माले हेर्दा जानीजानी कसैले अल्फ्रेडलाई फँसाएको, षडयन्त्रको शिकार बनाएको जस्तो देखिन्छ । तपाईंलाई आश्चर्य लाग्ला, यति आधारहीन प्रमाणमाथि कसैलाई हामी कसरी दोषी साबित गर्न सक्छौँ ? वैज्ञानिकहरुले भने यसका बारेमा प्रस्ट्याउन सक्छन् । वैज्ञानिकहरुले यस्ता कुरालाई ‘प्रेरित तर्क’ (मोटिभेटेड रिजनिङ) भन्ने गर्छन् । यस्तो मामिलामा हाम्रो अचेतन प्रेरणाहरू, हाम्रा कामना र आशंकाहरू, सूचना बुझ्ने हाम्रा तरिकाहरूलाई हाम्रा निर्णयलाई नराम्रोसँग प्रभावित तुल्याउँछ भन्नेमा वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।

केही जानकारी, केही विचार हामीलाई आफ्नैजस्तै लाग्छ । त्यसलाई हामी आफ्नै जसरी तर्क गर्छौं । इतर विचार विचार हामीलाई अर्काको लाग्छ, ती दुस्मनझैँ लाग्छ र ती विचारलाई हामी ध्वस्त पार्न चाहन्छौँ । त्यसैले प्रेरित तर्कलाई म सैन्य मानसिकता भनी नामकरण गर्ने गर्छु । शायद तपाईंमध्ये कसैले पनि कुनै फ्रान्सेली युहदी सैनिकमाथि राजद्रोहीको आरोप लगाएर त्यसमाथि अत्याचार नगर्नु भएको हुनसक्छ तर तपाईंभित्रको प्रेरित तर्कले खेलकुद प्रतियोगिता चलिरहेका बेला, राजनीतिक चुनावका बेला पक्कै पनि काम गरिरहेको हुन्छ । तपाईंको मनपर्ने फुटबल टोलीले खेल्दै गर्दा रेफ्रीले फउल भन्यो भने, त्यो रेफ्रीलाई एक किक हानेर उछिट्याउन मन लाग्ला । अर्को टोलीले फउल पायो भने त तपाईंलाई ज्यादै मज्जा आउँदो हो ।

तपाईं मृत्युदण्डको पक्षधर हुनुहुन्छ तर कुनै अखबारमा मृत्युदण्डविरोधी लेख पढ्नुभयो भने तपाईंले त्यो लेखकलाई अनेक फतुर लगाउनु हुन्छ । अनेक गाली गर्नेहुन्छ । अर्को एक जना मानिसले लुते तर्कका साथ मृत्युदण्डको पक्ष लियो भने त्यो मानिस तपाईंलाई आफन्तै हो कि झैँ लाग्छ ।

हाम्रा अनेकन् निर्णयहरू अञ्जानमै प्रभावित भइरहेका हुन्छन् । हरेक ठाउँमा यस्तो भइरहेको हुन्छ । हाम्रो स्वास्थ्य, हाम्रा सम्बन्धहरू, हामीले गर्ने मतदान, कसैले गरेको अनैतिक सम्बन्धजस्ता सारा कुरामा हामी आफ्नो पक्ष लिइहाल्छौँ । तिनले हाम्रो विचारलाई प्रभावित तुल्याइहाल्छन् । प्रेरित तर्क अथवा सैन्य मानसिकताको सबैभन्दा खतरनाक पक्ष चाहिँ त्यसको अचेत स्वाभाविकता हो । हामीलाई थाहै नभई हामी स्वाभाविक रुपमा त्यसको पछि लाग्छौँ । हामीलाई निष्पक्ष छौँ जस्तो लाग्छ । हामी न्यायको कुरा गरिरहेका छौँ भन्ने लाग्छ तर पनि त्यहाँ हामीले एक जना बेकसुर मानिसको जीवनलाई बर्बाद गरिरहेका हुन्छौँ । के थाहा, त्यो बेला हामीले अल्फ्रेड ड्रेफसको नियति भोग्न मानिसलाई बाध्य पारिरहेका पो छौँ कि ?

त्यो बेला, अल्फ्रेडको मुद्दा अघि बढ्दै जाँदा यसलाई नजिकबाट नियालिरहेका एक जना फ्रान्सेली अधिकारी थिए । उनको नाउँ थियो, कर्णेल पिकार्ट । पिकार्ट पनि अन्य मानिसझैँ अल्फ्रेडलाई अपराधी नै मान्थे । अन्य सेनाले झैँ उनी पनि अल्फ्रेडलाई तत्कालै मार्नुपर्ने धारणा राख्थे । एक समयपछि उनलाई शंका लाग्न थाल्यो, अल्फ्रेड निर्दोष पो छ कि ? कतै हामी उनका बारेमा गलत त छैनौँ ?

के भयो भने, अल्फ्रेडलाई सजाय दिइसकेपछि पनि जर्मनीका लागि गरिने जासुसीमा कुनै कमी आएको थिएन । सेनामा एक अर्का जवानको लेखोट पनि त्यो कागजसँग दुरुस्त मेल खान्थ्यो । अल्फ्रेडको भन्दा पनि त्यो अक्षर बढी मिलिरहेको थियो । उनले सो कुरा आफूभन्दा वरिष्ठ अधिकारीहरुलाई देखाए । पिकार्टलाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् । उल्टै ती खोजका बारेमा अनेक कुरा निकालियो, जस्तो किः अल्फ्रेडको नक्कल गर्ने नयाँ व्यक्ति उसको ठाउँ लिन आइपुग्यो । अल्फ्रेड दोषी त थियो, उसले सजाय पाएपछि उसको ठाउँमा नयाँ कोही आयो भन्ने शङ्का सेनाका उच्च अधिकारीले गरे ।

यस घटनाको १० वर्षपछि पिकार्टले अल्फ्रेड ड्रेफसलाई पुरानो आरोपबाट मुक्त गरे । त्यत्तिका समय उनले हुनसम्मको बेइज्जती खेप्नु पर्यो ।

साँच्चिकै भन्ने हो भने मलाई पिकार्ट मनपर्छ किनभने ऊ पनि यहुदी विरोधी थियो तर विरोधी हुनुका बाबजुद पनि उसले कतै अल्फ्रेड निर्दोष पो छ कि भनी खोतली हेर्यो । ऊ अल्फ्रेडका बारेमा जिज्ञासु बन्यो । यही जिज्ञासुपनाले उसलाइ स्काउट मानसिकताको बनायो । पिकार्ट स्काउट मानसिकताका प्रतीक हुन् । अल्फ्रेडमाथि अनुसन्धान गर्ने र निर्णय सुनाउनेहरू चाहिँ सैन्य मानसिकताका प्रतीक हुन् ।

मानिस स्काउट बन्ने कि सैन्य मानसिकताको बन्ने, उसको छनोट हो । कसैलाई हराउने वा जिताउने चाहनाले मानिस अघि बढ्ने भन्दा पनि सत्य जान्ने, वास्तविकता बुझ्ने चाह नै जीवन जिउने सही तरिका हो । यस्तो तथ्य खोज्न निस्कँदा मानिसले घृणा गर्लान्, अनेक फतुर लगाउलान्, त्यसबाट माथि उठ्नु वास्तवमा प्रशंसनीय कार्य हो ।

कुनै खास किसिमको मानसिकताको घेरामा रहेर बस्नुभन्दा वास्तविकता बुझ्नु मलाई उचित लागेर म एउटा अध्ययनमा लागेँ । आफ्ना सारा पक्षपातहरुबाट केही मान्छे कसरी माथि उठ्छन्, सत्य देख्छन् र प्रमाणहरूलाई निष्पक्षतापूर्वक नियाल्छन्, मलाई त्यो बुझ्नु थियो । र, यसको जवाफ थियो, मानिसको भावना । सैनिक मानसिकता भनेको आफू बच्ने भावनासँग जोडिएको मानसिकता हो । स्काउट मानसिकता पनि आफू बच्नका लागि आउने भावना हो तर यी दुवैमा एउटा फरक छ– स्काउट जिज्ञासु हुन्छन् । स्काउटले जब कुनै जानकारी पाउँछन्, त्यसको गुत्थी सुल्झाउन बेचैन हुन्छन् । उनीहरूको अपेक्षाभन्दा फरक हुनेबित्तिकै त्यो घटना वा विचार उनीहरुलाई रोचक लाग्छ । स्काउटको संस्कार बेग्लै हुन्छ । उनीहरू आफ्नो आस्थालाई परीक्षण गर्न चाहन्छन् र त्यसो गर्नु उनीहरूलाई राम्रो लाग्छ । उनीहरू आफ्नो मन बदल्ने मान्छे कमजोर हुन्छन् भन्दैनन् । स्काउटहरू मौलिक हुन्छन् । उनीहरू आफ्नो व्यक्तिगत जीवनमूल्य तय गर्छन् । उनीहरु कुनै विषयमा सही या गलत हुँदा आफू के हुँ भन्ने कुरामा निर्भर हुँदैनन् ।

मानौँ, मृत्युदण्डले काम गर्छ भन्ने कुरामा उनीहरू सहमत छन् र कुनै आलेख उनीहरूको भावनाविपरीत लेखिएको छ भने उनीहरु ओहो, म त गलत पो रहेछु भन्दैनन् । म खराब र बेबकुफ रहेछु पनि भन्दैनन् । स्काउट चरित्र भएका मानिसहरू राम्रा निर्णयका बारेमा विश्लेषण र अनुमान गर्छन् । यस्तो गुण तपाईंको सचेतनासँग जोडिएको होइन, न त तपाईंको ज्ञानबाट निश्रित नै हुन्छ । यो तपाईंको बुद्धिसँग सम्बन्धित कुरा पनि होइन । यो त तपाईंको भावनासँग जोडिएको कुरा हो ।

‘लिटिल प्रिन्स’ नामक लघुउपन्यासका प्रख्यात सर्जक सेन्ट एक्सुपेरीले कतै लेखेका छन्, ‘तिमीलाई नाउ बनाउन मन छ भने मानिसलाई भेला पारेर काठ ल्याउन आदेश नदिनू र कसले के काम गर्ने भनेर पनि नसिकाउनू । बरु त्यसको साटो विशाल र असीम समुद्र अगाडि लगेर त्यससँग पौँठेजोरी खोज्नका लागि तडप सिर्जना गर्नू ।’

हामी आफ्ना निर्णयहरू सुधार्न चाहन्छौँ भने चाहे त्यो व्यक्तिगत होस् या सामाजिक होस्, हामीले अरुलाई के गर्नुपर्छ भनेर सिकाउन कुनै जरुरी छैन । वाकपटुता सिकाउनु पर्दैन, न त साम्भाव्यता र अर्थशास्त्र नै सिकाउनु पर्छ । भलै ती साह्रै महत्त्वपूर्ण र सिक्नैपर्ने कुरा होलान् तर त्योभन्दा पनि स्काउट मानसिकता हामीलाई ज्यादै जरुरी कुरा हो । हामीले महसुस गर्ने तरिका परिवर्तन गर्नुपर्छ । यसले हामीलाई, जब हामी गलत हुन्छौँ, त्यो बेला गलत भइएबापत लज्जा होइन गर्व गर्नुपर्छ भनी सिकाउँछ ।

हामी अति संवेदनशील हुनुको साटो जिज्ञासु हुन सिक्नुपर्छ । यसले हामीलाई आफ्नो विश्वास, आफ्नो बुझाइभन्दा विपरीतको जानकारी दिन्छ ।

जिन्दगीमा तपाईंलाई सबैभन्दा बढी के कुराको तडप भयो ? तपाईंलाई आफ्नो विश्वास धरापमा पर्दा पीडा भयो ? त्यो विश्वासलाई बचाउन तपाईंलाई छटपटी हुन्छ ? अथवा यो संसारलाई सबैभन्दा प्रस्ट रुपमा देख्ने तडप तपाईंमा छ ? के छ तपाईंसँग ?

(टेड टकमा आधारित आलेख।)

[embedyt] https://www.youtube.com/watch?v=A0Yw0pO-rqU[/embedyt]