१. परिचय :

कवि-समालोचक रुद्रराज मास्के भारतीय नेपाली साहित्य र समाजमा परिचित नाम हुन् । उनका हालसम्म हाम्री द्रौपदी (सन् १९८७), सुदामाका कनिका (सन् १९८९), युद्ध नगरी सियाको टुप्पाभरको जमीन नदिने धम्कीको कथा यहाँ छ (सन् २०११) र  अनुभावन (सन् २०११)  शीर्षकका चारवटा कवितासंग्रह प्रकाशनमा आइसकेका छन् भने  मेरा दृष्टिकोणहरू (सन् २०१९) र तथाङ्कनहरूः मूल्याङ्कनहरू (सन् २०२०) नामक दुईवटा निकै गहकिला, खाइलाग्दा समालोचनात्मक कृतिहरू प्रकाशित छन् । कविता र समालोचनाका अतिरिक्त उनका एउटा निबन्ध-लेखहरूको सङ्ग्रह सुखी छु, खुशी छैन (सन् २०२१), व्याकरणसम्बन्धी सानो पुस्तक वर्णविन्यासका कुराहरू (सन् २०२१) लगायत केही नाटक र कथाहरू फुटकर रूपमा समसामयिक साहित्यिक पत्र-पत्रिकाहरूमा छापिएका छन् ।

डा. मास्केले विभिन्न काल खण्डमा साहित्यशिखा, सहकारी दर्पण, जागरण, अरूणा लामा स्मृतिग्रन्थ, पञ्चायत परिवेश, युगलहर,  सम्झौटो आदि जस्ता विभिन्न स्थानबाट साहित्यिक पत्रपत्रिकाहरूको सम्पादन कार्य सम्हालेका छन् । उत्तर बङ्गाल विश्वविद्यालयबाट नेपाली विषयमा सम्मानसहित स्नातक उत्तीर्ण गरी नेपाली साहित्यमा स्नातकोत्तर तहको डिग्री उत्तीर्ण गरे । त्यसपछि निकै समयको अन्तरालपछि सन् २००८ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौँ नेपालबाट नेपाली नाट्यसाहित्यमा दार्जिलिङको योगदान: अध्ययन, विश्लेषण र मूल्याङ्कन शीर्षकमा शोधकार्य सम्पन्न गरी विद्यावारिधि उपाधिले विभूषित भए ।  नेपाली नाट्यसाहित्यमा यता भारततिरबाट शोधकार्य गरी पिएच.डी. हासिल गर्ने पहिलो व्यक्ति रुद्रराज मास्के  हुन भन्ने जानकारी पाइन्छ ।

डा.रुद्रराज मास्के विभिन्न सङ्घ-संस्थातिर मृत्युपर्यन्त सक्रिय रूपमा आबद्ध थिए । उनी गोर्खा दुःख निवारक सम्मेलन, दार्जिलिङ, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, दार्जिलिङ कलाकार सङ्गठन,  खुल्ला साहित्यिक गोष्ठी मञ्च, दार्जिलिङका साँच्चै सक्रिय सहभागी र कर्मयोगी योद्धा थिए ।

सन् १९८४ सालमा सम्पन्न दार्जिलिङ जिल्ला स्तरीय सङ्गीत प्रतियोगितामा सर्वश्रेष्ठ गीतकार पुरस्कारले पुरस्कृत, सन् २००३ सालमा पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङबाट स्रष्टा पुरस्कारले पुरस्कृत साथै सन् २०१० सालको सितम्बर महिनामा त्रिभुवन विश्वविद्यालयबाट  विद्यावारिधि स्तरीय शिक्षा लिएबापत् नेपाल राष्ट्रको पक्षमा राष्ट्रपति डा. रामवरण यादवका बाहुलीबाट  नेपाल विद्याभूषण र स्वर्णपदकले अलङ्कृत भए ।

नेपाली भाषा-साहित्य, समाज र शिक्षाप्रति उनले पुर्‍याएको योगदानको सम्मान गर्दै सन् २००३ सालमा साहित्य साधना संस्थान, चुङथुङ चियाकमान, सन् २००८ मा नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, सन् २००८ सालमा खुल्ला साहित्यिक गोष्ठी, दार्जिलिङ, सन् २००८ सालमा उदय ग्रामीण पुस्तकालय, पान्दाम-दार्जिलिङ, सन् २००९ सालमा गोर्खा दुःख निवारक सम्मेलन, दार्जिलिङ, सन् २०१० सालमा  राङभाङ समवाय साहित्य सदन, नागरी, सयपत्री परिवार, पुसिङबिङ चियाकमान, दार्जिलिङ तथा सन् २०१० सालमा मनका धनी धजेका  साहित्यिक प्रेमी झुण्डद्वारा  संवर्द्धित र सम्मानित  भइसकेका छन् ।

डा. मास्केले नेसनल ओपन स्कूलको माध्यमिक श्रेणीका निम्ति पाठ्यपुस्तक लेखक र यस स्कूलका पाठ्यक्रम निर्माण समितिका सदस्य, भारतीय भाषा संस्थान-(Central Institute of Indian Languages)-मैसुरमा आयोजित बालगीत कार्यशालामा सहभागी, बङ्गला- नेपाली शब्दकोश निर्माण समितिको सदस्य तथा नेपाली शब्दोच्चरण प्रणाली कार्यशालामा अशंग्रहण गरी सकेका छन् । साहित्य अकादमी, नयाँ दिल्लीको सौजन्यतामा पूर्वाञ्चल भारतको चार राज्यहरूमा साहित्यिक भ्रमण गरिसकेका छन् । उनको एउटा प्रबन्ध सङ्ग्रह कृति बसुधैवकुटुम्बकम प्रकाशनको तयारीमा रहेको देखिन्छ । यस्ता कर्मयोगी, मिष्ठभाषी कवि-समालोचक, निबन्धकार डा. मास्केजीले सन् २०२२ , मई— को तारिखको दिन आफूपछि आफ्नो धर्मपत्नी, दुई छोरा र दुई छोरी तथा नाता-नातिनालाई छोडेर आफ्नो नश्वर शरीर त्यागी पञ्चतत्वमा विलीन भए ।

‍‍‍= = = = 

२. कृति विमर्श :

समालोचक डा. रुद्रराज मास्केज्यूका दुईवटा समालोचनात्मक कृतिहरू प्रकाशनमा आइसकेका छन् । पहिलो समालोचनात्मक कृति मेरा दृष्टिकोणहरू-मा (क) र (ख) खण्ड गरी जम्मा एक्काइस वटा फराकिला र गहकिला अध्ययन गरिएका लेखहरू समाविष्ट छन् ।

यो कृति खुला साहित्यिक गोष्ठी मञ्च, दार्जिलिङको सौजन्यमा  सन् २०१९ सालमा प्रकाशनमा आएको हो । (क) खण्डअन्तर्गत रहेका जम्मा बाह्र वटा समालोचनाहरूमध्ये भारतीय नेपाली साहित्यमा ख्याति कमाइसकेका कवयित्री  विनीता सिंह, कवि टेकध्वज जिम्बा आशा, कवि सञ्जय बान्तवाका कविता लेखनयात्राका विविध प्रवृत्ति र विशेषताहरूको रेखाङ्कन गरेका छन् । कवयित्री विनीता सिंह र उनका अप्रकाशित  कविताहरू, भारतीय नेपाली नारीहस्ताक्षरमा कवयित्री विनीता सिंहको योगदान, कुइरो-कुइरो र शहर’भित्र पसेर हेर्दा, कवि सञ्जय बान्तवाको ‘त्यो गाउँ-त्यो बस्ती’मा पसेर खोजीतलासी गर्दा शीर्षक लेखहरू यस कृतिमा समावेश भएका छन् ।

आख्यान क्षेत्रमा आफ्नो स्थान सुरक्षित बनाइसकेका भारतीय नेपाली साहित्यका केही उम्दा आख्यानकारहरू केदार गुरुङ, जी. छिरिङ, चन्द्र शर्मा, राधा रसाइली तथा ध्रुव चौहानका आख्यान कृतिहरूलाई गहिरोसँग नियालेका छन् । सिमानामाथि चढेर सुनाएका अग्ला-होंचा कथाहरूएक दृष्टिकोण, भारतीका पृष्ठहरूमा श्री जी. छिरिङ, बाँझो धरतीको माया’लाई अवलोकन गर्दा, लेखान्त’  उपन्यासभित्र हेर्दा, भारतीय नारी हस्ताक्षरमा उपन्यासकार राधा रसाइली र उनको उपन्यासकारिता तथा ध्रुव चौहानको खोल’का सामग्रीहरूलाई खोतलखातल पारेर हेर्दा– शीर्षक अध्ययनपरक समालोचनाहरू यसमा समेटिएका छन्  । सोही क्रममा निर्मल यादको मानौं यो दन्त्यकथा मात्र होइन’एक दृष्टिकोण शीर्षक समालोचनात्मक लेखमा निर्मल यादका  एकाङ्कीहरूबारे फराकिलो अध्ययन तथा विमर्श प्रस्तुत गरिएको छ ।

समालोचक डा. मास्केका प्रायः सबैजसो समालोचनाहरू  छिपछिपे अर्थात् सतही किसिमको नभई अत्यन्त गम्भीर, बौद्धिक खुराक पुर्‍याउन सक्ने किसिमका अध्ययनपूर्ण छन् ।  उनले कविता, कथा, निबन्ध, उपन्यास विधालाई छोएर धेरैवटा कृतिहरूबारे गहकिलो समालोचना लेखेको भएपनि मूलतः नाटक-एकाङ्की तथा गीत-सङ्गीतबारेमा उनको अध्ययन निकै लोभलाग्दो र गहिरो रहेको देखिन्छ ।  डा. मास्केको समालोचना लेखनमा ऐतिहासिक तथा कालक्रमिक अध्ययन पद्धति, प्रभाववादी र विश्लेषणात्मक समालोचना पद्धतिका साथसाथै मूल्याङ्कनपरक समालोचनागत विशेषताहरू मुख्य रूपमा देखिन्छ । यसैको फलस्वरूप उनका समालोचनाहरू निकै खँदिलो र फराकिलो अध्ययन भएको भेटिन्छ ।

गीत-सङ्गीत विषयक जम्मा नौवटा खँदिला र भरलाग्दा समालोचनात्मक लेखहरू खण्ड (ख)-अन्तर्गत परेका छन् ।  यसमा स्वरसम्राट नारायणगोपालः अमर गीतहरूमाझ अमर व्यक्तित्व, नेपाली सङ्गीतमा स्तरीयता, सन्दर्भ: अम्बर गुरुङका गीतहरू, उदास मनको जीवनकथा कसैलाई भनिनन्, अमर गीतहरूमाझ अमर व्यक्तित्व: जीतेन्द्र बरदेवा, यसपाली त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो’जीतेन्द्र बरदेवाः सम्झना र श्रद्धाञ्जली, स्व. अरूणा दिदी; कति अभागिनी!कति भाग्यमानी!!,  सङ्गीतस्रष्टा मानध्वज गुरूङः सम्झनाका रहरहरूमा, सम्झनामा स्व. कृष्ण खाती शीर्षक समालोचनाहरू सङ्गृहीत छन् । अतः यी नौ वटै  लेखहरू नेपाली नेपाली गीत र सङ्गीतसँग सम्बन्धित रहेका कोशे ढुङ्गा सरह लेखहरू हुन् । अतः यस खण्डमा गायक-सङ्गीतकार नारायण गोपाल, अम्बर गुरुङ, जीतेन्द्र वरदेवा, अरूणा लामा, कृष्ण खाती आदिले नेपाली गीतलेखन, सङ्गीत संयोजन तथा गायन क्षेत्रमा पुर्‍याएको अथक योगदानबारे समालोचक डा. मास्केले सकेसम्म वस्तुनिष्ठ ढङ्गमा प्रकाश पार्न खोजेका छन् ।

खुल्ला मञ्च साहित्यिक मञ्च, दार्जिलिङकै सौजन्यमा सन् २०२१ सालमा प्रकाशित समालोचक डा. रुद्रराज मास्केज्यूको अर्को समालोचनात्मक कृति तथ्याङ्कनहरूः मूल्याङ्कनहरू प्रकाशनमा आयो । यस कृतिमा जम्मा पन्ध्रवटा खँदिला र भरलाग्दा समालोचनात्मक लेखहरू समावेश गरिएको छ । प्रस्तुत समालोचना सङ्ग्रहमा कविता, कथा, उपन्यास, नाटक-एकाङ्की विषयक जम्मा लगभग ढेड दर्जन लेखहरू सङ्गृहीत छन् । यी समालोचनात्मक लेखहरू स्रष्टा, प्रक्रिया, सञ्जीवनी, हाम्रो आँट, दियालो, हाम्रो ध्वनि, चरित्र, कालान्तर, सन्धान आदि समसामयिक साहित्यिक पत्रिकाहरूमा अघिबाटै प्रकाशनमा आइसकेको देखिन्छ ।

कविता-काव्य विषयक समालोचनाहरूमा आशुकवि भानुभक्त आचार्य र उनका मुक्तकहरू, भानुभक्तको वधुशिक्षा र आधुनिक नारी, हरिभक्त कटुवालको सुधाः एक दृष्टिकोण, कविवर श्री भीम थापा र उहाँकी बुकीफूल शीर्षकका जम्मा  चारवटा समालोचनात्मक लेख समाविष्ट छन् भने आख्यान विषयक लेख-समालोचनाहरूमा इन्द्र सुन्दासको जुनेली रेखाः विश्लेषणात्मक हेराइमा, शिवकुमार राईका सातकथा-लाई नियाली हेर्दा, इन्द्रबहादुर राईको ब्ल्याकआउट काजुबदाम र छोरा, तुलनात्मक दृष्टिकोणमाः अन्नापूर्ण र नासो नामक चारवटा समावेशित छन् ।

यसका अतिरिक्त भारतीय नेपाली नाटककार र तिनका पूर्णाङ्की नाट्यकृतिहरू, भारतीय नेपाली नाट्यपरम्परामा युद्धपरक नाटकहरू, नाट्यसाहित्यमा बिजनबारी-पुलबजार क्षेत्रको योगदान, सन्दर्भ  रेडियोनाटकः आकाशवाणी खरसाङका रेडियो नाटकहरू, नेपाली नाट्यपरम्परा र नाट्यकार मनबहादुर मुखियाको नाट्यप्रवृत्ति, नाटककार देवकोटाको नाट्यप्रवृत्ति तथा नाटककार रामलाल अधिकारी र उनका एकाङ्की प्रवृत्ति शीर्षकका जम्मा सातवटा अध्ययनपरक गहकिला समालोचनाहरू सङ्गृहीत छन् ।

अतः समालोचक डा. रुद्रराज मास्केको समालोचना लेखनमा पाइने मुख्य-मुख्य प्रवृत्तिगत विशेषताहरूलाई यस प्रकार रेखाङ्कन गर्न सकिन्छ-

(१)  समालोचक डा.मास्केको समालोचना लेखनमा ऐतिहासिक तथ्यहरू र शोध-खोजपरक प्रवृत्ति, सर्वेक्षणात्मक र तुलनात्मक प्रवृत्तिको स्पष्ट उपस्थिति रहेको पाइन्छ ।

(२)   मास्केको प्रारम्भिक कालीन समालोचना लेखन प्रभाववादी तथा विश्लेषणात्मक समालोचना लेखनतिर प्रवृत्त देखिए पनि पछिबाट विवेचनात्मक र चिन्तनपरक समालोचना लेखनतिर अग्रसर रहेको स्पष्ट देखिन्छ ।

(३)  मास्केको समालोचना लेखनमा विशेष गरी कृतिगत विश्लेषणात्मकता र विषयगत सर्वेक्षणमूलक प्रवृत्ति देखिन्छ ।

(४)   समालोचक मास्केको समालोचना विशेष गरी शोध-अनुसन्धानपरक, कृतिपरक र प्रवृत्तिपरक लेखनतिर विशेष अभिमुखी रहेको देखिन्छ ।

निबन्धकार डा.रुद्रराज मास्केको निबन्ध लेखनशिल्प: परिचयात्मक सर्वेक्षण-

खुल्ला साहित्यिक गोष्ठी, दार्जिलिङको सौजन्यतामा डा. रुद्रराज मास्केको सुखी छु, खुशी छैन (सन् २०२१)   शीर्षक आत्मपरक निबन्धस‌ंग्रह प्रकाशनमा आएको छ  । हालसम्म प्रकाशित कृतिहरूमध्ये यो एउटै मात्र निबन्ध सङ्कलन  हो । यस निबन्ध सङ्ग्रहअन्तर्गत  सुखी छु, खुशी छैन, मलाई नसोध कहाँ दुख्छ घाउ, म केटै हुन चाहन्छु, शिक्षक, के तपाईँ   साहित्यकार हुनुहुन्छ, म टाई लगाउँदिनँ, साइनु, भाग्यमानी, रामको नाम बदनाम, नकल, घमण्डी, आवरण, अन्तर्राष्ट्रिय युवावर्ष र प्यारालाइज्ड युवाशक्ति, अश्लिल जस्तै सुनिइने नेपाली उखानहरू, शत्रु, गृहस्थाश्रम र मेरा कमाइहरू शीर्षकका जम्मा सत्रवटा आत्मपरक शैलीका रोचक निबन्धहरू समाविष्ट रहेका छन् ।

निबन्धकार डा. रुद्रराज मास्केले  आत्मपरक  शैलीमा  आफूले जीवनमा भोगेका यथार्थ कुराहरू कतै व्यङ्ग्यात्मक शैलीमा त कतै भने सोझै प्रस्तुत गरेका छन् । उनले जीवनमा पाएको नाना दुःख-वेदना, आफूले जीवनमा भोगेका विभिन्न प्रताडना र पटक-पटक विभिन्न षड्यन्त्रको शिकार बन्न परेको स्थितिलाई निबन्धमा प्रस्तुत गरेका छन् । अतः उनले ती निबन्धहरूमा आफूमाथि छुरा प्रयोग गर्नेहरूलाई, आफूमाथि पटक-पटक षड्यन्त्र गर्ने व्यक्तिहरूको वास्तविक चरित्रलाई सकेसम्म उदाङ्गो पार्न खोजेका छन् ।  सर्जक मास्के  कविता-गीत लेख्ने कोमल मन र भावनाका व्यक्ति भएको कुरो यस निबन्धका धेरैवटा घटना-प्रसङ्गले देखाउँछ । उनको कोमलो मनमा कसैले चोट पुर्‍याउँदा अर्थात् आघात पुर्‍याएको अवस्थामा भने उनलाई साँच्चै नरमाइलो लागेको छ । उनको हृदय अरूले पुर्‍याएको चोटले क्षतविक्षत, छियाछिया बनेको छ । यसैले पनि आफूमाथि आघात पुर्‍याउने, षड्यन्त्र गर्नेहरूप्रति निकै कठोर शब्दहरूमा कटाक्ष गर्न पुग्छन् । कतै कोमल त कतै भने व्यङ्ग्यात्मक ढङ्गमा वास्तविक घटनाहरू खोतल्न पुग्छन् ।

भारतीय नेपाली साहित्य क्षेत्रमा आफ्नो बेग्लै स्थान सुरक्षित बनाइसकेका  विशिष्ट साहित्यकार श्री नन्द हाङखिमज्यूले सुख-दुःखका पृष्ठभूमिहरू शीर्षक रहेको लगभग सात पृष्ट लामो भूमिकामा निबन्धकार डा. मास्केको साहसी लेखक व्यक्तित्वको प्रशंसा गर्दै अत्यन्त गहकिलो र समय सान्दर्भिक मूल्याङ्कनपरक भूमिका लेखेका छन् ।  डा, मास्केको निबन्ध लेखनशिल्पको सन्दर्भमा भूमिकाकार हाङखिमज्यू  यस प्रकार लेख्छन्- ‘अहिले हामीसित डा. रुद्रराज मास्केज्यूको नयाँ कृति निबन्ध सङ्ग्रह छन् । यी लेखहरू आदिको लेखन उनीबाट पनि पहिलोपल्टको तर्जुमा भइरहेको आशयलाई आकलन गर्दा निबन्धका पिता मोन्तेय- कोशिशको अनुकरण मान्न सक्छौं । मास्केज्यूको लेख-निबन्ध प्रायः जस्तो निजात्मक अथवा आत्मपरक भेटाउँछौं, त्यसमा पनि आंशिक भए पनि जीवनीजन्य जसलाई अङ्ग्रेजीमा बायोग्राफिकल एसेजको नामले चिन्हित छ । यस्ता व्यक्तिगत बेहोरा कविता, कथा तथा उपन्यास हुँदो मनाक चित्तबुझ्दो गरी व्यक्त गर्न नपाइने स्थितिमा लेख-निबन्ध-प्रबन्ध आदिमा नै यसको स्वाभाविक संरचना सम्पन्न हुने सम्भावना देखिन्छ ।

निबन्धकार डा. मास्केले सुखी छु, खुशी छैन शीर्षक निबन्ध सङ्ग्रहको पहिलो आत्मपरक निबन्ध, जुन निबन्ध संस्मरणात्मक शैलीमा लेखिएको छ । यस निबन्धमा दार्जिलिङमा चलेको भाषा आन्दोलन, हाम्रो अस्तित्व र आत्मसम्मानको लागि लडिएको छुट्टै राज्यको आन्दोलनमा आफूले पनि सर्वस्व गुमाउनु परेको दुःखद स्थितिको साथसाथै साहित्य अकादमी नयाँ दिल्लीद्वारा आयोजित विभिन्न साहित्यिक कार्यक्रममा आफू सहभागी बन्न पाएको सुखद अवसर, नेपाली कलाकार सङ्गठन, नेपाली साहित्य सम्मेलन तथा खुला साहित्य गोष्ठी मञ्चको स्थापना, यसको  उद्देश्य र कार्य योजनाहरूबारे आफू प्रत्यक्ष रूपमा सहभागी बनी कार्य गरेको सुखद अनुभव पनि यसमा अभिव्यक्त भएको छ ।

कतिपय अवस्थामा भने आफूले राम्रो काम गर्न चाहँदा-चाहँदै पनि,  राम्रा कार्ययोजनाहरू रहेको भए पनि कुर्सीको लोभमा परेर मानिसहरू बैरी हुन थालेपछि, आफैले माया र विश्वास गरेका साथीभाइहरूबाटै विभिन्न किसिमको जालसाझ हुन थालेपछि भने उनको मन बिथोलिन्छ । उनी निराश र हताश बन्छन् । यसैले पनि सुख र दुःख, आँसु र हाँसो, विजय र पराजयको दोभानमा उभिएको बोध गर्दै कहिले सुखी छु, खुशी छैन भन्दै त कहिले भने मलाई नसोध कहाँ दुख्छ घाउ भन्दै आफ्ना विचारहरू पाठक समक्ष साझा गर्न पुग्छन् ।

नेपाली साहित्यमा पीएच.डी. (विद्यावारिधि) गर्ने मन बनाएपछि उत्तरबङ्ग विश्वविद्यालयका प्राध्यापकलाई शोध-निर्देशकका लागि निवेदन गर्न जाँदा ती प्राध्यापकको व्यवहारबाट आफू निराश बन्न परेको घटनालाई यस निबन्धमा प्रस्टसँग राखेका छन् । पछि अन्यत्रैबाट शोधकार्यको काम थालेपछि आफूले गर्न चाहेकै विषय-क्षेत्रमा कुनै एकजना शोधार्थी साथीले काम गरिरहेको थाहा पाएर मनमा खुशी बोकेर उनलाई भेट्न जाँदा उनले शोधकार्य सम्बन्धी केही कुरा बताए पनि सामाग्री सहयोग भने केही पनि नगर्ने भन्ने रूखो वचन सुनेर उनी खिन्न बन्छन् ।  यस्तै घटना-प्रसङ्गहरूबाट शिक्षा लिएर आफू अझ बलियो बन्दै आफूले चाहेको विषय र क्षेत्रमा जसरी भए पनि शोधकार्य पुरा गरी छोड्ने दृढता मनमा लिएर निरन्तर काममा अघि बढ्छन् । जसको फलस्वरूप सन् २००० सालमा शोधकार्य शुभारम्भ गरी सन् २००८ सालमा पूर्ण गरी त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट विद्यावारिधि उपाधिले विभूषित हुन पुग्छन् ।

सन् २००८ सालमा शोधकार्य पूर्ण गरी अन्तिम परीक्षा भाइवाको निम्ति विश्वविद्यालयको डीन कार्यालयबाट सूचना पाएर विश्वविद्यालय पुग्दा आफ्ना शोध-निर्देशक गुरुले उनको विरुद्धमा दार्जिलिङ, नेपाली साहित्य सम्मेलनबाट पत्र आएको जानकारी दिन्छन् । यस सन्दर्भलाई मलाई नसोध कहाँ दुख्छ घाउ शीर्षक संस्मरणात्मक निबन्धमा डा. मास्केले यसरी उल्लेख गरेका छन्-

सन् २००० देखि मेरो विद्यावारिधीको काम सुरु गर्छु । यसरी अध्ययन गर्दागर्दा सन् २००८-मा मेरो अन्तिमवर्ष आइपुगेको हुन्छ । २२ फरवरी २००८ को दिन मेरो भाइवा हुनेदिन तोकिन्छ । त्यसैको निम्ति म १५ फरवरीमै काठमाण्डु पुग्छु । १६ फरवरीको दिन जब म मेरा सुपरभाइजर डा. केशवप्रसाद उपाध्याय कहाँ पुग्छु । दिनाङ्क १० फरवरीमा दार्जिलिङबाट मेरा सुपरभाइजरकहाँ एउटा विरोधपत्र पुगेको डा. उपाध्याय सरले मेरा हातमा थमाइदिनु हुन्छ । म त्यहाँ खोलेर पढ्छु- म दङ्ग पर्छु । मेरो विरोधमा दुनियाभरका लेखेर पठाएको रहेछ । सर भन्नुहुन्छ- नसुर्ताउनु होस् । तपाईँको काम सब भइसकेको छ । यो चिट्ठीको केही दम छैन  । चिट्ठी पासाङ छिरिङको नाम गरेर पठाइएको हुन्छ, तर त्यो पासाङ छिरिङको होइन । चिट्ठी सम्मेलनकै  तत्कालीन सभापतिको हुन्छ । झुटो तक्दैन, साँचो लुक्दैन भनेझैं अर्काको नाममा लेखिइएको पत्र भए पनि  तत्कालीन सभापतिको  सही भएको सानो लेखेको प्रतिलिपिसहित गाभेर पठाइएको त्यहाँ हुन्छ । कसुरदारले जस्तै र जुनै काम बिगारेको भए तापनि एउटा न एउटा दसी छोड़ेकै हुन्छ भनेझैं छद्मनाममा (काफरे बनेर) अर्कालाई अनेककिसिमका लेखेर वर्वाद गर्न खोज्नेलाई नचिन्ने त कुरै छैन । उक्त पत्र मैले सम्मेलनका सबै सदस्यहरूलाई देखाइदिएँ ।

मलाई सबैभन्दा अचम्म र उदेग लागेको कुरो के भने डा. रुद्रराज मास्के सन् २००६-२००८ सम्मका लागि नेपाली साहित्य सम्मेलन, दार्जिलिङका मूलसचिव पदमा थिए । पहिलेको महामन्त्री अर्थात् अहिलेको मूलसचिवले आफ्नो जागिरे जीवन, पारिवारिक जीवनबाट समय उबारेर नेपाली साहित्य सम्मेलन जस्तो गरिमामय साहित्यिक संस्थानको महत्त्वपूर्ण अभिभारलाई पनि सकेसम्म सम्हाल्दै शोधकार्य कार्य गरिरहेको कुरा सबैलाई विदित भएकै कुरो हो । उनले त्यसबेला समयलाई  कसरी समायोजन गरेर जागिर, परिवार, सम्मेलन र शोधकार्यलाई पनि अघि बढाएका थिए । यो त उनका अनुजहरूका लागि अनुकरणीय र अनुशरणीय कार्य पनि हो । यो त अरूले पनि उनीबाट सिक्नु पर्ने गुण हो भन्ने मलाई पनि लागेको हो तर खै कसको आँखीडाही लाग्यो भन्नै सकिएन ।

यसै सन्दर्भमा उनी अझ यसो पनि लेख्छन्- ‘नेपाली साहित्य सम्मेलनको सन् २००६-२००८ का निम्ति म मूलसचिवको रूपमा चुनिन्छु । एकवर्ष मात्र बितेको हुन्छ  । डा. जीवन नाम्दुङले बाह्रजना कार्यकारी सदस्यहरूको सहीसित अविश्वासको प्रस्ताव ल्याएर मलाई निकाल्ने कोशिस गर्छन् । विशेष विषय हुन्छ-मास्केले पैसा खायो’-रे ।’    मेरो सचिवत्वको समयमा कवीन्द्रकुमार तामाङ जस्ता इमानदार भद्रपुरूष कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँजस्ता व्यक्तित्वको अघि हिनामिना गर्ने कुरो सपनामा पनि नसोचे हुन्छ । पैसा खानेहरू चाहिँ अविश्वास प्रस्ताव राख्नेहरूकै लहरमा हुन्छन् । पाँचलाख रुपियाँसम्म हिनामिना गरेकोकरप्टेड पोकोलेखेर राखेको कागजपत्र सम्मेलनको दराजभित्र बन्द छ । चन्द्रकुमार राई, जसले ढोकाढोका गएर मेरो विरुद्धमा सही उठाउँदै गएर ती व्यक्तिहरूलाई कस्ताकस्ता जिरिङजिरिङ लाग्दा विरोधपूर्ण शब्दहरू बोले होलान् ।

खै वास्तविकता के हो, सत्यतथ्य के हो, मर्नेको आत्मा र त्यस घटनामा संलग्न सदस्यहरूले जानुन् ।  हामी नेपाली साहित्य सम्मेलनका शुभचिन्तक तथा  पाठकवर्गलाई  भने केही थाहा छैन । यति ठूलो साहित्यिक संस्थामा पदासीन सम्मानित साहित्यिक सदस्यहरूबाट यस्तो काम हुने गरेको थाहा पाएर भने हामी साहित्यका पाठक तथा नेसासका शुभचिन्तकहरूलाई पनि दुःख लाग्यो । तर हामी पाठकहरूलाई यस्ता थाङ्ग्ने कार्यकलापहरूसित लिनुदिनु केही छैन । सम्मेलनका सत्तासीन सबै सदस्यहरूमा सद्बुद्धि आओस्, सुमार्ग र सुकार्य अपनाइयोस् । बस्, हाम्रो यहीँ चाहना छ, हामी राम्रे-चाम्रे र ठूला पदाधिकारीका पछि कदापि छैनौ तर राम्रो काम र राम्रो संस्कारको पछि भने सदा आग्रही छौं ।

निबन्धकार डा.मास्केका कतिपय निबन्धहरू संस्मरणात्मक शैलीका साथसाथै सूचनात्मक प्रकृतिका छन् । कुनै कुनै निबन्धमा तत् विषयवस्तुको गहन अध्ययन, सामाजिक विसङ्गति, भाषिक, शैक्षिक, लोक-सांस्कृतिक पक्षहरूलाई  पनि समेट्न खोजिएको पाइन्छ ।  निबन्धकारले आफ्ना निबन्धहरू कहीँ कतै पनि जटिल बनाउन खोजेका छैनन्, निबन्धलेखनमा शब्दाडम्बर देखाएका छैनन् । आफ्नै वरिपरिका विषयवस्तु टिप्छन् र त्यी विषयहरूबारे निजात्मकतासहित आफ्नै मौलिक शैलीमा लेख्छन् । आफूले देखेको, भोगेको यथार्थ घटनावलीलाई  कतै कथात्मक रूप दिई रोचक र प्रभावकारी ढङ्गमा प्रस्तुत गरेका छन् । कतिपय निबन्धहरू साना-मसिना घटना-प्रसङ्गहरूबाट उठान गरिएको भए पनि अनन्त: ती निबन्धहरूले हाम्रो जातीय जीवन र समाज-सांस्कृतिक, राजनैतिक र वैचारिक  विकृति र विसङ्गतिको  चित्रण गर्न अघि सरेको देखिन्छ । धेरजसो निबन्धमा घटनाको वर्णन र विवरणलाई आत्मपरकताको रङ्गले रङ्गाइएको पाइन्छ ।   वस्तुतः निजात्मक शैलीमा विभिन्न घटना-प्रसङ्गहरूको सहयोग लिई आख्यानात्मक ढङ्गमा  प्रस्तुत गर्नु नै उनका निबन्धगत  प्रमुख विशेषताहरू हुन् ।

= = = =

मूल्याङ्कन:

भारतीय नेपाली साहित्यमा विशेषगरी कविता-गीत, समालोचना र निबन्ध लेखन क्षेत्रमा अध्ययनवर्ती तथा लगनशील साहित्यसेवी डा. रुद्रराज मास्केको आफ्नो एउटा छुट्टै र  विशिष्ट स्थान रहिआएको देखिन्छ ।  नाटक विधालाई अध्ययनको मूल  क्षेत्र बनाएर उनले यसै विषयमा विद्यावारिधि पनि पूर्ण गरे । आफ्ना अग्रजलाई श्रद्धापूर्वक सम्मान गर्ने, आफ्ना समकालिक र अनुज साथी-भाइहरूमा सदा प्रेमपूर्ण मित्रवत्  व्यवहार राख्ने, सदैव  प्रेरणा र प्रोत्साहन दिने एकजना आदर्श शिक्षक, साहित्यिक र शुभचिन्तक थिए ।

आफू बाँचुञ्जेल शिक्षा, नेपाली भाषा-साहित्य, समाज र सङ्गीत क्षेत्रमा अहोरात्र खटेर अथक योगदान पुर्‍याएका हुन् ।  उनको नश्वर शरीर यस पृथ्वीतलमा विलीन भएर गए पनि उनले नेपाली समाज र साहित्यलाई पुर्‍याएका गुणकृतिहरूमा उनी सदा बाँचिरहने छन् ।