एडोरा विस्ताक

म एउटा प्रश्न सोधेर सुरु गर्न चाहन्छु: विगतमा कहिले तपाईंलाई कसैले “केटौले” भनेर भनेको थियो?
म जस्ता बच्चाहरुको लागि, “केटौले” त धेरै पटक भनिरहिने कुरा हो । हामीले जुनसुकै बेला कुनै अविवेकी माग गरिराखेका हुन्छौं, गैरजिम्वेवार व्यवहार प्रस्तुत गरिराखेका हुन्छौं, अथवा त्यस्तै कुनै व्यवहार प्रस्तुत गर्छौ जुन कुनै सामान्य नागरिकले गरिराखेको हुन्छ, त्यो बेला हामीलाई केटौले नै भनिन्छ । ती कुराले मलाई साँच्ची नै चित्त दुख्छ ।

जे भएता पनि, विस्तारवाद र उपनिवेश, विश्व युद्ध, जर्ज डब्लु बुशको इराक र अफगानिस्तानमा आक्रमणजस्ता कुरालाई अवलोकन गर्नुस त । अब आफैँलाई सोधी हेर्नुस्: को चाहिँ जिम्मेवार छन्? पक्कै पनि वयस्कहरू ।
बच्चाहरूले चाहिँ के गरे त ? एन् फ्र्यांकले होलोकास्टको प्रख्यात डायरी लेखेर करोडौँको मन जितिन्, रुबी बिर्जेसले अमेरिकामा रहेको विभेदलाई चिर्न मद्दत गरिन्, र , अहिले भर्खरै, चार्ली सिम्प्सनले हाइटीमा गएको भूकम्पको लागि १,२०,००० डलर चन्दा संकलन गर्न सहयोग गरे । त्यो पनि उनको सानो साइकल चलाएर ।

त्यसैले, तपाईंले यी साना उदाहरणबाट उमेरले यस्ता काम गर्न कुनै बन्देज लगाउँदैन भन्ने देख्नुहुन्छ । केटौले भन्ने शब्द उच्चारण गर्नेहरूको भिडमा वयस्कहरू नै बढी देखिन्छन् । त्यसैले यो उमेरसँग जोडेर होच्याउने शब्द, जुन गैर जिम्मेवारी र विवेकहीन चिन्तनको आलोचना गर्ने बेला प्रयोग गर्ने गरिन्छ, हामीले त्यो हटाउनु पर्छ ।

सायद तपाईंले पनि निकै ठूलो योजना बुन्नु भएको थियो होला पहिले, अनि तपाईंले त्यो योजनालाई रोक्नु भो कि ? त्यो असम्भव छ, अथवा त्यसलाइ धेरै पैसा लाग्छ अथवा त्यसले मलाई फाइदा गर्दैन भनेर त्यसलाई यत्तिकै छाडिदिनु भयो कि ? चाहे फाइदा होस् वा बेफाइदा, हामी केटाकेटीहरू त्यस्ता कुराले धेरै प्रभावित हुदैनौँ । जतिबेला हामीले “किन नगर्ने” भन्ने कुराको कारण खोजी गरिरहेका हुन्छौँ, हामी धेरै कारण खोज्दैनौँ ।

केटाकेटीहरू उत्प्रेरणा र आशावादी चिन्तनले भरिपूर्ण हुनसक्छन्, कोही पनि भोका नरहून् भन्ने मेरो सोचजस्तै । अथवा एउटा रामराज्यमा जस्तै होस् भन्ने मेरो सोचजस्तै । तपाईंहरूमध्ये कतिले अझै पनि त्यस्तो सपना देख्नु हुन्छ ? र त्यसको सम्भावनाको बारेमा विश्वास गर्नु हुन्छ ?

कुनै कुनै बेला इतिहासको ज्ञान र पुराना रामराज्यको असफलताका कथाहरू अनावश्यक भार हुनसक्छन्
किनभने तपाईंलाई थाहा छ कि यदि सबै कुरा निःशुल्क हुन्थ्यो भने, खाध्य गोदामहरू खाली खाली हुने थिए । अनि अर्कोतिर, हामी केटाकेटीहरू सपना पूरा होस् भनी आशा गर्छौं । र, त्यो राम्रो कुरा पनि हो किनकि कुनै पनि चिजलाई वास्तविक बनाउनको लागि त्यो चाहिन्छ नै । सपना पूरा गर्न पहिले तपाईंले त्यसको कल्पना गर्न जरुरी हुन्छ । विभिन्न तवरबाट, कल्पना गर्ने हाम्रो साहसले सम्भावनाको सिमानालाई फराकिलो बनाउन मद्दत गर्छ ।

उदाहरणको लागि, वाशिंगटन, टकोमाको शिशा संग्रालय । त्यो मेरो गृहनगर पनि हो । त्यहाँ एउटा ‘बालक परिकल्पना कक्षा’ भन्ने कार्यक्रम छ,
र बालबालिकाहरू त्यहाँ शिशाको वास्तुकला आफ्नो तरिकाले कोर्छन् । यसको सोच कसरी आयो त ? त्यहाँका स्थानीय कलाकारका अनुसार त्यहाँका केही
उत्कृष्ट विचारहरू त्यही कार्यक्रमले दिलायो । किनभने बालबालिकाहरू कुनै पनि किसिमको सीमितताका बारेमा सोच्दैनन् । शिशालाई ती स्वरूपहरूमा ढाल्न कति गार्हो हुन्छ भनेर उनीहरूले सोच्दैनन् । उनीहरू राम्रा विचारहरू मात्र सोच्दछन् ।
तर, यदि तपाईं अर्थात् वयस्कले शिशाका बारेमा सोच्नुभयो भने चिहुलीले बनाउने जस्तो रंगीन डिजाइनहरू अथवा इटालियनहरूले बनाउनेजस्तो डिजाइनहरू सोच्न सक्नुहन्छ। बालबालिकाहरूले भने शिशाका मूर्तिकारहरूलाई त्योभन्दा माथिको कुरा सोच्न चुनौती दिन्छन् । उनीहरूले विक्षिप्त सर्पहरूको संसार र बेकन बनाएर, जसको मांसाहारी सोच त्यहाँ झल्किन्छ ।

हाम्रो आन्तरिक चेतना आन्तरिक ज्ञानसँग मिल्नुपर्छ भन्ने छैन । बालबालिकाहरूले वयस्कबाट पहिले नै धेरै कुरा सिकिसकेका हुन्छन् । र, हामीसँग भन्ने कुरा धेरै छन् । मलाई लाग्छ, वयस्कहरुले बालबालिकाहरूबाट सिकाईको सुरुवात गर्नुपर्छ । म धेरै भाषणहरू बौद्धिक जमातका सामु गर्नेगर्छु । खासगरी शिक्षक र विद्यार्थीहरूका सामु । र मलाई यो मनपर्छ ।

कक्षाकोठाको नेता भनेको शिक्षक मात्रै हुनु हुँदैन । विद्यार्थीलाई यसो गर उसो गर भन्नेमा शिक्षक सीमित हुनुहुँदैन । विद्यार्थीले पनि शिक्षकलाई पढाउनु पर्छ । हुर्केकाहरू र बालबालिका बीचमा सिकाइको सम्बन्ध
भनेको पारस्परिक हुनुपर्छ । जहिले पनि ठूलाले सानालाई सिकाउने कुराको म घोर विरोधी हुँ ।

तर वास्तविकता चाहिँ, दुर्भाग्यवस, अलि फरक नै हुन्छ । सानाले ठूलालाई सिकाउनै सक्दैनन् भन्ने लाग्छ । र यो कुरा विश्वासमा अडेको कुरा हो,अथवा हुनसक्छ विश्वासको कमीमा पनि ।

यदि तपाईंले कसैमाथि विश्वास गर्नुहुन्न भने तपाईंले उसमाथि केही प्रतिबन्ध लगाउनु हुन्छ । यदि मैले अघिल्लो पटक ऋण दिँदा मेरा दिदीहरूको १० प्रतिशत ब्याज तिर्ने क्षमतामाथि शंका गरेँ भने, दिदीहरूलाई मैले ऋण नदिने सम्भावना बढी हुन्छ अथवा अघिल्लो ऋण दिदीले पूरा नतिरूञ्जेलसम्म नयाँ ऋण दिन्नँ ।

हैन र ?

ठीक त्यस्तै स्वभाव वयस्कहरूले बालबालिकालाई हेर्ने स्वभावमा देख्ने गर्छु । अझ जरा गाढेर बसेको हुन्छ भन्ने मलाई लाग्दछ । स्कुलको किताबमा लेखिएको प्रत्येक “केटाकेटीले त्यो गर्नु हुँदैन” वा “यो गर्नु हुँदैन”, देखि स्कुलको इन्टरनेटको प्रयोगमा रोकमा समेत यो देख्न सकिन्छ । इतिहासले भन्छ, सत्ताधारीले जब नियन्त्रण गर्न सकिन्न कि भन्ने ठान्दछ, त्यसपछि ऊ दमनमा उत्रन्छ । ठीक त्यस्तै वयस्कहरूको व्यवहार बालबालिकाको सन्दर्भमा देखिन्छ । यद्यपि वयस्कहरूमा सर्वसत्तावादी सोच नै त नहोला, तर पनि बच्चाहरूलाई नियम बनाउने सम्बन्धमा कत्ति पनि बोल्न दिइँदैन । अथवा, एकदमै थोरै बोल्ने अधिकार दिइएको हुन्छ, जबकि यहाँ अभिमत वास्तवमै पारस्परिक हुनु पर्थ्यो । भनाइको अर्थ वयस्कहरूले सानाहरूको चाहनालाई बुझ्नु पर्ने र मनन गरिनु पर्थ्यो । अनि, नियन्त्रणभन्दा दुखलाग्दो कुरा त यो हो कि वयस्कहरू प्रायःजसो बच्चाहरूको खुबीलाई कम आँक्दछ्न् ।

हामी बालबालिका चुनौतीहरू मन पराउँछौँ तर जब त्यसको फलको आशा कम गरिन्छ, विश्वास गर्नुस्, हामी ती चुनौतीमै हराउँछौँ । मेरो आफ्नै बुवाआमासँग पनि यस्तै कम आशावादिता थियो, म र मेरो बहिनीबाट । त्यही भएर उहाँहरूले हामीलाई कहिले पनि डाक्टर हुनु, वकिल हुनु अथवा त्यस्तै खालको केही बन्नुपर्छ भनेर कहिल्यै दबाब दिनु भएन ।

तर मेरो बुवाले हाम्रालागि अरस्तुसम्बधी र पायोनिएर जर्म फाइटर्स (अग्रणी वैज्ञानिक बारेको पुस्तक) बारेमा सुनाउनु हुन्थ्यो । जबकि अरु धेरै बच्चाहरूले “दी व्हील्स अन द बस गो राउण्ड एन्ड राउण्ड” (बालगीत) सुनिरहेका हुन्थे । जे होस्, हामीले त्यो पनि सुनेका थियौ, तर “पायोनिअर जर्म फाइटर” साँच्चिकै दामी थियो ।

मैले चार वर्षको उमेरदेखि नै लेख्न मन पराउँथेँ र जब म ६ वर्षकी भएँ, मेरी आमाले मलाई ल्यापटप किनिदिनु भयो जसमा माइक्रोसफ्ट वर्ड थियो । धन्यवाद बिल गेट्स अनि धन्यवाद आमा ! मैले ३०० भन्दा बढी संख्यामा त्यै बेला लघुकथाहरू लेखेँ । त्यो सानो ल्यापटपमा, र म त्यसलाई प्रकाशित गर्न चाहन्थेँ । एउटा बच्चाको प्रकाशित हुन चाहने यो जिद्दीलाई हकार्नुको साटो वा , पख ठूली भएपछि गरौली भन्नुको साटो मेरा बुवाआमा वास्तवमै सहयोगी बन्नुभयो ।

धेरै प्रकाशकहरू मेरा कटा पढेर उति साह्रो उत्साहित थिएनन् । एउटा ठूलो प्रकाशक, जसले बालसाहित्य छाप्थ्यो, उसले हामी बच्चाहरूसँग काम गर्दैनौँ भन्ने जस्तो हास्यास्पद कुरा गरे । अचम्म !
बच्चाहरूको प्रकाशकले बच्चासँग काम नगर्ने रे ! यस्तो पनि हुन्छ ?

खासमा बच्चाको प्रकाशकले बच्चा साहित्यकारसँग काम नगर्नु भनेको ठूलो संख्यामा ग्राहक गुमाइरहनु भएको प्रमाण हो है !

तर, एउटा प्रकाशक, एक्सन पब्लिसिङले, मलाई विश्वास गर्यो, र त्यो छाप्ने मनसाय देखायो । उसले मेरा आवाजहरू सुन्यो । एक्सन पब्लिसिङले मेरो पहिलो पुस्तक, “फ्लाइङ फिङ्गर्स” प्रकाशित गर्यो । र, सात वर्षको उमेरमा किताब छापिएकी लेखिका बनेँ । त्यस पछि, म सयौँ विद्यालयहरूमा बोल्दै हिँडे, हज्जारौँ शिक्षाविद्हरूका सामु प्रमुख वक्ताको रुपमा बोल्दै हिँडे, र अहिले, आज, तपाईंहरूका अघिल्तिर पनि बोल्दैछु ।

म तपाईंहरूको धीरताको सराहना गर्दछु, तपाईंहरू वास्तवमै हाम्रो वास्ता गर्नुहुन्छ भन्ने कुरा आज मेरो कुरा सुनेर देखाउनु भएको छ तर बच्चाहरू वयस्कहरू भन्दा धेरै राम्रो भएको यो आशावादी तश्विरमा एउटा समस्या चाहिँ छ । बच्चाहरू हुर्कन्छन् र केवल तपाईंहरूजस्तै वयस्क बन्दछन् ।

केवल तपाईं जस्तै, हो र भन्या? यहाँ उदेश्य चाहिँ बालबालिकालाई तपाईंहरू जस्तो वयस्क बनाउनु भन्ने होइन है । तर तपाईंहरू भन्दा असल वयस्क बनाउनु भन्ने हो जुन अलिकति चुनौतीपूर्ण नै हुन सक्छ । तपाईंहरूको क्षमतालाई मध्यनजर राख्दा, तर प्रगति कसरी हुँदै जान्छ भने नयाँ पुस्ताहरू र नयाँ समयहरू पुराना भन्दा बृहत्तर र विकसित र एकदमै राम्रो हुँदै जान्छ ।

यही कारणले त हामी अहिले ढुंगे युगमा छैनौ नि ! तपाईं जीवनको जस्तोसुकै मोडमा हुनु भएको भए पनि, बालबालिकाका लागि अवसरको सिर्जना गर्नु अत्यावश्यक छ । ताकि हामी यसरी हुर्कन सकौँ कि तपाईंहरूलाई कसिंगर सरी उडाइदिन सकौँ ।

तपाईंहरूले बच्चाको कुरा सुन्नु अनि सिक्नु सक्नु पर्छ र हामीलाई विश्वास गर्नुस् अनि हामीबाट धेरै आशा गर्नुस् । तपाईंले आज यो सुन्ने धैर्यता राख्नु पर्छ, किनभने हामी नै भोलिका नेता हौँ । त्यसको अर्थ के भने भोलि तपाईंहरू वृद्ध र असक्त हुँदा तपाईंहरूको रेखदेख गर्ने हामी नै हौँ ।

वास्तवमै, हामीहरू नै भोलिका नयाँ पिँढी हौँ र जसले भोलिको विश्वलाई आगाडि हाँक्नेछ । यदि तपाईंलाई यी कुराको कुनै अर्थ छैन भन्ने लाग्छ भने भोलि बिखण्डनको स्थिति पनि आउन सक्छ । र, त्यसमा फेरि बच्चा हुनुपर्ने अवस्था पनि आउन सक्छ, अनि त्यस बखत तपाईं पनि हाम्रो पुस्ताले जस्तै आफ्ना कुरा सुनियोस् भन्ने चाहनुहुन्छ । त्यसैले, आजको विश्वलाई भोलिको नयाँ नेता र नयाँ विचारहरूका लागि अवसरको आवश्यकता छ ।

बालबालिकालाई नेतृत्व गर्न र सफल हुन अवसरको आवश्यकता छ ।

के तपाईं सहयोगको लागि तत्पर हुनुहुन्छ त? किनकि विश्वका समस्याहरू मानिसको पारिवारिक विरासत हुनु हुँदैन ।