हाम्रो - टिम

अश्विनी कोइराला | प्रधानसम्पादक
२०५४ सालदेखि पत्रकारिता र साहित्य दुबैमा कलम चलाउन थालेका कोइरालासँग ३० वर्ष लामो पत्रकारिताको अनुभव छ । उनले कान्तिपुर पब्लिकेसन्सको ‘साप्ताहिक‘ र ‘नारी’ पत्रिकामा विभिन्न पदमा रहेर २० वर्ष काम गरे । विराटगनरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘विराटनेसनल टाइम्स’बाट पत्रकारिता शुरु गरेका कोइरालाका उनी, जुकरबर्ग क्याफे, प्रेमालय र पारिजात गरि चारवटा कृति प्रकाशित छन् । पछिल्लो समय उनी अनलाइनखबर डट कममा दुई वर्ष साहित्य विभागका प्रमुख थिए । नेपाली साहित्यमा स्नातकोत्तर कोइराला युवा पुस्ताका लोकप्रिय लेखक पनि हुन् ।
नेपालभित्र केही महत्त्वपूर्ण पुरस्कार र सम्मान प्राप्त गरेका कोइरालाले गैरआवासिय नेपाली संघ, रसिया तथा जापानको टोकियोस्थित वर्ल्ड हाइकु एसोसिएसनबाट अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेका छन् ।

महेश पौड्याल | सम्पादक
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा उपप्राध्यापक महेश पौड्याल नेपाली साहित्यका बहुआयामिक स्रष्टाका रूपमा परिचित छन् । उनी बालसाहित्य, कविता, कथा, उपन्यास, गीत, नाटक, समालोचना र अनुवादका क्षेत्रमा सक्रिय छन् । पूर्वीय तथा पाश्चात्य साहित्य तथा साहित्यिक सिद्धान्तका अध्येतासमेत रहेका पौड्यालका 'अपरिचित अनुहार', 'तादी किनारको गीत', 'त्यसपछि फुलेन गोदाबरी' लगायत १२ वटा मौलिक कृति प्रकाशित छन् । विद्यालय तहका करिब दुई दर्जन पाठ्यपुस्तक लेखनमा उनकाे संलग्नता रहेको छ भने अनुवाद तथा सम्पादनमा करिब तीन दर्जन कृति प्रकाशित भइसकेका छन् ।

कृष्ण ढुङ्गेल | कार्यकारी सम्पादक
साहित्य लेखन र पत्रकारितामा विशेष रूचि राख्ने कृष्ण ढुङ्गेल साहित्यपोस्टका कार्यकारी सम्पादक हुन् । करीब एक दर्जन पुस्तकको सम्पादन गरिसकेका ढुङ्गेलको उपन्यास “मिराज” र सिर्जनात्मक निबन्ध सङ्ग्रह 'समयको नक्साबाहिर' प्रकाशित छ । यसअघि साहित्यपोस्टको संयोजक रहेका ढुङ्गेलसँग अध्यापनको समेत अनुभव छ ।

त्रिभुवनचन्द्र वाग्ले | सल्लाहकार सम्पादक
त्रिभुवनचन्द्र वाग्ले नेपाली साहित्य र साहित्यिक पत्रकारिताका क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय लेखक, सम्पादक तथा साहित्यिक अभियन्ता हुन् । प्रतिष्ठित साहित्यिक मासिक मधुपर्कका पूर्वसम्पादक वाग्ले कविता, उपन्यास, अनुसन्धानमूलक कृतिसहित करिब तीन दर्जन पुस्तकको सम्पादनमा संलग्न रहेका छन् । नेपाली वाङ्मय, साहित्यिक पत्रकारिता र सामाजिक चेतनामा पुर्याएको योगदानका लागि उनी विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मानबाट सम्मानित भएका छन् ।

प्रकाश पौडेल ‘माइला’ | संरक्षक
प्रकाश पौडेल ‘माइला’ बहुविधामा कलम चलाउने स्रष्टा भए पनि मुख्यतः हाइकु कविका रूपमा स्थापित छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पूर्वाध्यक्ष पौडेल वर्ल्ड हाइकु एसोसिएसनका पहिलो नेपाली कार्यकारी सदस्य समेत हुन् । उनी जापानको राष्ट्रिय हाइजिन समूहमा प्रवेश पाएका पहिलो विदेशीसमेत हुन् । जापान योकोहामामा रहेर होटल/रेस्टुराँ व्यवसायीमा स्रकिय पौडेलका आधा दर्जन बढी हाइकुसम्बन्धी पुस्तक प्रकाशित छन् ।

सर्वज्ञ वाग्ले | अन्तर्राष्ट्रिय संयोजक
अमेरिकामा रहेर पनि प्रत्येक दुई वर्षमा पुस्तक प्रकाशन गरिरहेका वाग्ले गैरआवासीय नेपालीको भाषा, साहित्य, संस्कृति र सम्पदा विभागकामा सन् २०१७ देखिका कार्यकारी सदस्य हुन् । उनका जुवाघर (हाँस्यव्यङ्ग्य) क्यासिनो (कथा संग्रह) युधिष्ठिर (कथा संग्रह) साँढे (हाँस्यव्यङ्ग्य) र पुनर्वास (उपन्यास) पुस्तकहरु प्रकाशित छन् । गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रहेका वाग्ले पुर्नवास उपन्यासबाट चर्चामा आएका हुन् । उनी अमेरिकामा सामाजिक अभियन्ता र पत्रकारका रुपमा पनि उत्तिकै सक्रिय छन् । वाग्ले अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हुन्।

राज सिटौला | सूचना प्रविधि अधिकृत
पेसाले सूचना प्रविधि अधिकृत (IT Officer) रहेका राज सिटौला मल्टिमिडिया, ग्राफिक्स डिजाइन र डाटा विज्ञानमा गहिरो दक्खल राख्छन्। विगतमा विभिन्न विज्ञापन एजेन्सीहरूका लागि ग्राफिक्स डिजाइनरका रूपमा काम गरिसकेका उनी, साहित्यप्रतिको विशेष रुचिका कारण हाल 'साहित्यपोस्ट'मा आबद्ध छन्। प्रविधि र कलालाई सँगसँगै अघि बढाइरहेका राज, आफ्नो फुर्सदको समयमा आख्यान र इतिहास अध्ययन गर्न रुचाउँछन्। उनीसँग https://sraj.com.np मार्फत जोडिन सकिन्छ।

तैँ तैँ धिताल (सरगम) | बर्मा संयोजक
बर्मामा जन्मिएकी नेपाली मुलकी तैँ तैँ धिताल (सरगम) साहित्य तथा नेपाली भाषाप्रति गहिरो चासो राख्छिन् । उनी नेपाली भाषा तथा साहित्य अध्ययनका लागि हाल काठमाडौं बस्दै आएकी छिन् । पद्मकन्या क्याम्पसमा नेपाली भाषा तथा साहित्यको अध्ययन गरिरहेकी उनी साहित्यपोस्टसँग आबद्ध रहेर साहित्यिक कर्मसमेत गरिरहेकी छिन् ।

डिजी शर्मा | जापान संयोजक
व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गरेका झापाका डिजी शर्मा साहित्यपोस्टका जापान संयोजक हुन् । नेपालमा रहँदा कञ्चनजङ्घा एफएममा ४ वर्ष काम गरेका शर्मा कविता र मुक्तकमार्फत् साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । उनी स्टान्डअप कमेडीमा पनि निकै रुचि राख्छन् । वैदेशिक रोजगारीका सिलसिलामा जापान पुगेका शर्मा यसअघि युएई संयोजक रहिसकेका छन् । शर्मा साहित्यपोस्टले नियमित सञ्चालन गर्दैआएको 'स्रष्टा र सिर्जना' कार्यक्रमका प्रस्तोतासमेत हुन् ।

विजय हितान | पर्या–साहित्य सम्पादक
बुटवलका बेलायती गोर्खाज् विजय हितान लामो समयदेखि सपरिवार बेलायत बस्दै आएका छन् । पर्यावरण संरक्षणको विश्वव्यापी मूल सिद्धान्तलाई शिरोधार्य गरेर साहित्यका विविध विधामा कलम चलाउने उनी विशेषतः पर्या–साहित्यकार तथा पर्या साहित्यका अभियन्ता हुन् । उनको पर्या–कथाहरूको सङ्ग्रह ‘ब्लू प्लानेट’ तथा युद्ध–उपन्यास ‘लाहुरेको रेलीमाई’ लोकप्रिय छन् । उनले लाहुरेको रेलीमाईका लागि ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गरेका छन् । साथै, बाह्रखरी कथा प्रतियोगिताको पाँचौँ संस्करणमा हितानको पर्या–कथा ‘चेपाङ, चमेरो र चिउरी’ तृतीय भएको थियो ।

कृतिका काेइराला | आख्यान सम्पादक
आख्यान साहित्यप्रति विशेष रुचि राख्ने कृतिका कोइराला साहित्यपोस्टकी आख्यान सम्पादक हुन् । कथा, उपन्यास तथा अन्य आख्यानात्मक सिर्जनाको अध्ययन, सम्पादन र प्रस्तुतीकरणमा उनी सक्रिय छिन् । साहित्यिक वाचनप्रति विशेष आकर्षण राख्ने कृतिका कविता वाचन तथा गायनमा समेत रुचि राख्छिन् । सुमधुर स्वरका कारण उनी साहित्यिक कार्यक्रमहरूमा कविता वाचनमार्फत पाठक तथा श्रोतामाझ परिचित छिन् । साहित्य र सिर्जनात्मक अभिव्यक्तिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ उनी साहित्यपोस्टसँग आबद्ध रहेर निरन्तर साहित्यिक कर्ममा सक्रिय छिन् ।

राज यात्री लम्साल | युएई संयोजक
रोजगारीको सिलसिलामा लामो समयदेखि युएईमा रहँदै आउनुभएका राज यात्री लम्साल विशेष गरी गजल लेखन र गायनमा रुची राख्नु हुन्छ । उहाँका केही गीतहरू रेकर्ड भएर बजारमा आइसकेका छन् । साथै उहाँद्वारा लिखित केही गीतहरू अन्य गायक गायिकाको आवाजमा रेकर्ड समेत भएका छन् । मोरङको सुन्दरहरैँचा निवासी गजलकार लम्साल युएईमा पछिल्लो केही वर्षदेखि निजी व्यवसायमा आबद्ध हुनुहुन्छ ।

शुसिला राई | काव्य सम्पादक
माझकिराँतको खोटाङ जिल्ला अन्तर्गत खोटेहाङ गाउँपालिका - ६, इन्द्रेणीपोखरीमा जन्मिएकी सुशिला राई समकालीन नेपाली साहित्यमा किराँती मिथक सौन्दर्य र नारीचेतमा आधारित काव्य लेखन मार्फत् सुपरिचित छिन । उनका थुप्रै फुटकर कविताहरु विभिन्न माध्यमबाट प्रकाशित भएका छन् भने 'खोजी सके लेक बेसी' र 'सिकुरिम्मा हेत्छाकुप्पा' शीर्षकका दुईवटा गीत समेत सार्वजनिक भैसकेका छन् । सीमान्त काव्यिक सौन्दर्यको सशक्त उठान मार्फत् नेपाली साहित्यको श्रीवृद्धिमा तल्लीन सुशिला काव्य सम्पादकको रुपमा साहित्य पोस्टमा आबद्ध भएर नियमित साहित्यिक गतिविधिमा सक्रिय छिन ।

तिर्थराज खड्का | बजार व्यवस्थापक
बजार व्यवस्थापन, ब्रान्ड प्रवर्द्धन तथा संस्थागत सम्बन्ध विस्तारमा सक्रिय तिर्थराज खड्का साहित्यपोस्टका बजार व्यवस्थापक हुन् । संस्थाको बजार विस्तार, साझेदारी विकास तथा प्रचार–प्रसार रणनीति निर्माणमा उनको विशेष भूमिका रहेको छ । सञ्चार, समन्वय र व्यवस्थापनमा अनुभव भएका खड्का साहित्य र बजार व्यवस्थापनबीच प्रभावकारी सम्बन्ध स्थापित गर्दै साहित्यपोस्टलाई थप पाठकमाझ पुर्याउने कार्यमा निरन्तर सक्रिय छन् । संस्थाको व्यावसायिक विकाससँगै साहित्यिक अभियानलाई अझ सशक्त बनाउने उद्देश्यका साथ उनी साहित्यपोस्टसँग आबद्ध छन् ।
