ईश्वरचन्द्र ज्ञवाली

गण्डकी साहित्य सङ्गम, पोखराले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टा–द्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवं सम्मान गर्न २०५२ सालदेखि राष्ट्रिय तहमा ‘गोकुल वाङ्मय पुरस्कार’ (रु. ४०,०००।–) र क्षेत्रीय तहमा ‘गण्डकी वाङ्मय पुरस्कार’ (रु. २०,०००।–) एक – एक वर्ष बिराएर प्रदान गर्दै आएको छ । यसै क्रममा २०८० सालको राष्ट्रिय तहको पुरस्कार प्रदान गर्न प्रतिभा छनौटका लागि सङ्गमका कार्य समिति सदस्य काजी गाउँलेको संयोजकत्वमा गठित सल्लाहकार डा. कृष्णराज अधिकारी र प्रगतिशील साहित्यकार लोकबहादुर थापा समेत तीन जनाको समितिले सर्वसम्मत सिफारिस गरेअनुरुप करिब चार दशकदेखि प्रगतिवादी साहित्यका फाँटमा निरन्तर साहित्य साधना गर्दै आएका प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीलाई ‘गोकुल वाङ्मय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार ९५ औं गोकुल जयन्तीको अवसर पारेर मितिः २०८१-०२-१२ गते शनिबारका दिन विशेष समारोहका साथ हस्तान्तरण हुनेछ ।
२०१६ सालमा पाल्पाको भुवनपोखरीमा जन्मेका ईश्वरचन्द्र ज्ञवालीका ‘कविताञ्जलि’, ‘हुरीका स्पन्दनहरु’, ‘यसरी देश मरिरहेछ’, ‘हाम्रो रातो यात्रा’, ‘आगोका शब्दबिम्ब’, ‘आलोकका प्रतिबिम्ब’ लगायतका कविता सङ्ग्रहहरु प्रकाशित छन् । यसै गरी ज्ञवालीका ‘वर्गसङ्घर्षको सन्दर्भः संस्कृति र सौन्दर्य’ (सौन्दर्य शास्त्र), ‘माक्र्सवाद र समालोचना’ (समालोचना), ‘सौन्दर्य र संस्कृति चिन्तन’ (सौन्दर्य शास्त्र– २०७९) आदि समालोचनात्मक एवम् सौन्दर्य शास्त्रसँग सम्बन्धित कृतिहरु पनि प्रकाशित छन् । ज्ञवाली प्रगतिवादी साहित्यिक एवम् सांस्कृतिक सङ्घसंस्थाहरुमा क्रियाशील स्रष्टा हुन् ।
‘गण्डकी साहित्य सङ्गम’को ‘गोकुल वाङ्मय पुरस्कार’द्वारा देवीप्रसाद किसान (केवलपुरे)— २०५२, खगेन्द्र सङ्ग्रौला— २०५४, गोविन्द भट्ट— २०५६, श्यामप्रसाद शर्मा— २०५८, रमेश विकल— २०६०, निनु चापागाईँ— २०६२, मोहन वैद्य (चैतन्य)— २०६४, आनन्ददेव भट्ट— २०६६, घनश्याम ढकाल— २०६८, मोदनाथ प्रश्रित— २०७०, हरिहर खनाल— २०७२, जीवन शर्मा— २०७४ र डा. ऋषिराज बराल– २०७८ यसपूर्व पुरस्कृत वाङ्मयसेवीहरू हुन् ।
यसै गरी सङ्गमद्वारा सञ्चालित ‘गण्डकी वाङ्मय पुरस्कार’बाट यसपूर्व भेषजराज शर्मा— २०५३, भवानीप्रसाद पाण्डे (भास्कर)– २०५५, दिल साहनी— २०५७, कुल बहादुर के.सी.— २०५९, नुमराज बराल— २०६१, केदार शर्मा ढकाल— २०६३, कुलप्रसाद खनाल— २०६५, देवेन्द्र लम्साल— २०६७, डा. रविलाल अधिकारी— २०६९, पोषराज पौडेल— २०७१, गोपीरमण उपाध्याय— २०७३, रविकिरण निर्जीव— २०७५, चिन्तु गिरी– २०७७ र नारायण परिश्रमी– २०७९ पुरस्कृत भइसकेको जानकारी संस्थाका सचिव नारायण मरासिनीले दिएका छन् ।