नाइजेरियाली लेखिका चिमामाण्डा ङोजि अदिचीको “हाफ अफ अ यलो सन” पढेपछि उनको लेखाइ, कथावाचन, घटना निर्माण अनि अफ्रीकी दुःखका कुराहरूप्रति यसरी आकर्षित भएँ कि मैले काठमाण्डौबाट उनको अर्को किताब “पर्पल हिबिस्कस” तुरुन्त मगाएँ । सायद किताब प्राप्त भएको केही महिना कुरेर मात्र पल्टाएँ किनभने म यसलाई विशेष तरिकाले मनाउन चाहन्थेँ । मलाई लेखिकासँगै प्रेम भइसकेको थियो । मैले उनको जन्मदिन पत्ता लाएँ र फेसबुक, ट्वीटर, इन्स्टाग्रामतिर होहल्ला गर्दै लेखेँ । जस्तो कि मेरो फेसबुक स्ट्याटस यस्तो थियो –

“म आफ्नै बर्थडे नि वास्ता गर्दिनँ । बर्थडेको काम उही नागरिकता र राहदानीमा त हो भन्छु । तर अफ्रिकाकि एक कालीको जन्मदिन मनाउन लालायित छु। यिनी जन्मिएको त्यो दूर अफ्रिकामा १९७७ को सेप्टेम्बर १५ मा । यिनको दोस्रो किताब Half of a Yellow Sun पढेपछि म यिनीसँग प्रेममा परें। त्यसपछि मैले ५-७ महिनाअगाडि खोजीकन उनको पहिलो किताब Purple Hibiscus किनेँ र कुरेर बसेँ आजको दिन। उनैलाई बर्थडे विस् गर्दै यो किताब थालिंदैछ अब।

उनलाई थाहा नपाए पनि अनि उनले नेपाली भाषा नबुझे पनि who care

s? जन्मदिनको शुभकामना दिंदैछु चिमामाण्डा ङोजी अदिचीलाई ।

तपाईंको जन्मदिन पनि त कुनै कुनामा यसैगरी कुनै मूर्खले मनाइरहेको हुनसक्छ र तपाईंलाई थाहै नहुन सक्छ ।”

यसैमा कसैले कमेन्ट गरेको थियो पढिसकेर यसको बारे लेख्न । आजको यो जमर्को त्यसैको लागि हो । पहिला त यतिका किताब दुई दिनमा सकिन्थ्यो । दशैँलगायतको व्यस्तताले ठ्याक्कै एक महिना लगाएर सकें ।

विशाल बाबु बस्नेत

पर्पल हिबिस्कस एउटी केटीले वाचन गरेको कथा हो । उनको नाम काम्बिली हो । उनको परिवारमा पिता युजिन पत्रिकामा काम गर्छन् । आमा गृहिणी । दाइ जाजाको कुनै धार्मिक कार्यप्रतिको बर्खिलापबाट कथारम्भ गर्दै काम्बिली परिवारको, देशको, समाजको, धर्मको, राजनीतिको, संस्कृतिको अवस्था बताउन थाल्छिन् ।

आमा अर्को बच्चा पाउनेवाला छिन् यसै बखत नाइजेरियामा सैनिक कू भएको छ । यसको बारे चर्चा-परिचर्चा अबोध बालिका काम्बिलीसम्म आइपुग्छन् । आखिर गर्भपतन हुन्छ ।

सत्ताद्वारा मानिसहरू झुण्ड्याइएको दृश्य देख्न विवश छिन् काम्बिली । अर्को कुनै ठाउँमा एउटी महिलाले सैनिकलाई थुकेको र यसको बदलामा भारी पिटाइ भेटेको देख्छिन् ।

पिता महत्वाकांक्षी छन् । छोरीलाई अरु कसैले उछिनेको उनी रुचाउँदैनन् । छोराछोरी दुवैको लागि निश्चित कार्यतालिका तोकिदिएका छन् । काम्बिली एउटा परीक्षामा पछि परेको विषयमा उनलाई झपार्छन् ।

यो परिवार धार्मिक रूपले क्रिश्चियन हो । तर उनीहरूका हजुरबा परम्परागत छन् । यसलाई “पागान” भनिएको छ । युजिनको धारणामा पागन अस्वीकार्य धर्म वा संस्कृति हो । उनी बच्चाहरूलाई हजुरबाकोमा बस्न, खान निषेध गर्छन् । यद्यपि भेट्न जाने अनुमति दिन्छन् पन्ध्र मिनेटको समय तोकिदिएर । एकदमै कट्टर प्रवृत्तिका छन् युजिन ।

युजिनकी बहिनि इफेओमा केही टाढा बस्छिन् । एक दिन उनी आउँछिन् । गफहरूका क्रममा उनी पनि काम्बिलीकी आमालाई “मेरी स्वास्नी” भनी सम्बोधन गर्छिन् । काम्बिलीलाई अचम्म लागे तापनि प्रचलनअनुसार विवाहित नारी एक पुरुषकी मात्र नभई घरभरिकै स्वास्नी मानिने संस्कृति त्यहाँ हुन्छ । धनी पुरुषले काम्बिलीकै उमेरका केटीहरू पनि सहजै विवाह गर्दछन् ।

युजिनले बच्चाहरूलाई फुपूसँग डुल्न अनुमति दिन्छन् । उनीहरू हजुरबाकोमा समेत पुग्दछन् ।

एउटा विशेष पर्व आउने बेला भएको छ । व्रत राख्नुपर्ने हो । तर यसैबेला काम्बिलीलाई रजस्वाला भइदिन्छ । युजिन यसै घटनाबाट विक्षिप्त भएर रिस पोख्दछन् जाजामाथि । चर्चमा काम्बिलीलाई आफ्ना पापहरूको प्रायश्चित गर्न लगाइन्छ । उनी सम्झी सम्झी अनेक पापहरूमा क्षमा माग्दछिन् जुन कतिपय त पापजस्तै लाग्दैनन् पनि ।

देशमा विभिन्न वस्तुहरूको चरम अभाव हुन थालेको छ । इन्धन अभाव सर्वत्र भएकोले वयस्कहरू चिन्तित छन् ।

आओक्पे भन्ने पवित्र ठाउँ छ जसलाई कट्टर क्रिश्चियनहरूले स्वीकारेका छैनन् तर विषयवस्तु बुझ्दा यो पनि क्रिश्चियन धर्मस्थल नै हो (मेरो पठनमा यस्तो लाग्यो) । काम्बिली र जाजा त्यता जाने भनेर फुपूकोमा पुग्छन् । फुपूको घरमा आफ्नो घरजस्तो अनुशासन छैन । त्यहाँ गरिबी छ । पाइखानामा पानीधरि हुँदैन । तर फुपूका बच्चाहरू ओबायरा र एमाका यसैमा रमाएका छन् । उनीहरू काम्बिलीलाई मन पर्दैनन् किनभने धनी मानेर जे कुरामा पनि जिस्क्याइदिन्छन् । संगीत, खानेकुरा, गफ, स्वतन्त्रता हरेक कुराहरूमा काम्बिली अलग्गिएको महसुस गर्दछिन् । एमाकाका साथीहरूसँग पनि घुलमिल हुन सक्दिनन् ।

फुपूको बस्दा पनि खाना र बिजुलीका अभावमा मानिसहरू आन्दोलित भएको दृश्यहरू देख्न पाइन्छ । हजुरबा न्नुक्वु बिरामी भएकोले त्यहीँ ल्याइन्छ । चिकित्सकहरू आन्दोलनमा, प्रयोगशालाहरू आन्दोलनमा भएकोले  उपचारमा समस्या आउँछ । न्नुक्वुले कछुवाको खोल किन चर्किएको हुन्छ भन्ने लोककथा सुनाउँछन् । अलि बिसेक भएका छन् न्नुक्वु । एकजना पूजारी अमादीसँग परिचय हुन्छ काम्बिलीको । अञ्जानमै अलिअलि आकर्षित भएकी छिन् उनी । न्नुक्वु मिसनरी बनेका अमादीसँग अलिक गुनासो गर्दछन् ।

एक दिन अकस्मात् न्नुक्वुको देहान्त हुन्छ । युजिन आएर मृत्युको शोकभन्दा पनि अन्तिममा पूजारी बोलाएर धार्मिक कर्मद्वारा पिताको पाप मोक्ष नगरिएकोमा चिन्ता व्यक्त गर्दछन् । यहाँका केही अनुच्छेदहरूमा धर्मान्धता र दमनका कुराहरू उठान गरिएका छन् । यस क्रममा न्नुक्वु र काम्बिलीहरू एकै छानामुनि न्सुस्कामा भएको कुरामा पनि युजिन चिन्तित छन् । यस पापको प्रायश्चितताका लागि काम्बिलीलाई बाथटबमा राखेर पैतालालाई तातो पानीले पोलिन्छ । काम्बिलीहरू आफ्नो घर फर्कन्छन् । यस क्रममा केही सरकारी हत्याहरू भएका छन् । वातावरण भयग्रस्त छ देशको । एमाकाले न्नुक्वुको तस्वीर उतारेकी थिइन् जुन काम्बिलीले लुकाएर लगेकी छिन् । तर कसो कसो युजिनले देखेर नराम्रोसँग उनलाई पिट्दछन् र अस्पत्ताल पुऱ्याउनुपर्ने हुन्छ । यहाँनेर युजिनको क्रूरताको जसरी चित्रण गरिएको छ पढ्दा यस्तो लाग्छ कि काम्बिलीकै आँखामा पनि उनलाई विवशतावश गरेको देखाइएको छ । दोषी चित्रण गरिएको छैन ।

इफेओमाका साथीहरू अमेरिका जाने कुरा गर्दछन् । इफेओमा विश्वविद्यालयकी अध्यापिका हुन् । सरकार र व्यवस्थाप्रति जम्मै आक्रोशित छन् । न्सुस्कामा फेरि काम्बिलीले अमादिलाई भेट्ने अवसर पाउँछिन् । उनी पुलकित छिन् उसको उपस्थितिले । तर अमादि प्रेम गर्न असमर्थ पूजारी हुन् । उनी पनि जर्मनीतिर पलायन हुने तरखरमा छन् । यसै बेला एक दिन बिना कारण इफेओमाको घरमा खानतलासी लिइन्छ । विद्यार्थी आन्दोलन उकासेको मिथ्या आरोप लगाइन्छ, धम्क्याइन्छ ।

विश्वविद्यालयको प्राध्यापकको छोराले पिताले बनाएको प्रश्नपत्र बिक्री गरेको प्रसङ्गमा इफेओमा र उनका साथीहरू प्रणाली कमजोर भएर आर्थिक दुरावस्था भएपछि बालबालिकाले सानो सानो खुसीका लागि पैसो जुटाउने मेहनत गरेको भनी व्याख्या गर्दछन् । काम्बिलीकी आमासमेत न्सुस्का आएकी हुन् तर इफेओमाले जति सम्झाए पनि आफ्नै घर फर्कने जिद्दी गर्दछिन् । पतिको दोष देख्दिनन् । बरु युजिनले विभिन्न बालबालिकालाई सघाएको, पितृसत्तात्मक जिम्मेवारीहरू सहज बहन गरेको र यी परम्पराहरू अनिवार्य कर्म नै भएको खालको धारणा राख्दछिन् । यहाँ महिलामाथिको दमन अभिशाप नभएर सामान्य व्यवहारकै सिलसिला भएको बुझ्न सकिन्छ ।

यी सब कुरा जाजाको प्रतिरोधअगाडिका भए । फेरि कथावाचन सुरुवाततिर लगिएको छ । यसपश्चात् इफेओमाको जागीर खुस्किन्छ । अमादि जर्मनीतिर जानेवाला छ छिटै । जाजा र काम्बिली एक चोटि न्सुस्का पुग्दछन् । ओबायरा, जाजा र एमाकाका विचारहरूमा चलिरहेका प्रचलनप्रति वितृष्णा व्यक्त गरिएको छ ।

आओक्पे जान्छन् उनीहरू सबै जना । काम्बिलीले आफ्नो प्रेम व्यक्त त गर्छिन् तर अमादिले सुभाषित तरिकाले नकारिदिन्छन् । इफेओमाले अमेरिकाको प्रवेशाज्ञा पाउँछिन् । तर यो खुसियाली मनाउँदै गर्दा अकस्मात् युजिन मरेको खबर आउँछ । सरकारले हत्या गरेको हो कि भनी शङ्का त गरिन्छ तर पछि खुल्छ उनकै पत्नीले विष प्रयोग गरी गरी मारेकी हुन्छिन् । तर पति हत्याको अभियोग प्रष्ट मानिँदैन, पत्याइँदैन, उनलाई कुनै सजाय दिइँदैन ।

यस्तैमा जाजा खै किन हो जेल परेको छ (यहाँ अलि प्रष्ट छैन कारण) । उसलाई भेट्न तारन्तार जान्छन् आमाछोरी  र यस क्रममा सानो सानो कुराका लागि झ्यालखाना र अदालतका मानिसहरूलाई घूस दिनुपरेका कुराहरू छन् ।

इफेओमाका र अमादिका विभिन्न पत्राचारहरू काम्बिलीले सम्झँदै जाजा छुट्ने करिब निश्चित भएको दृश्यमा कथा सकिन्छ ।

उनको पहिलो यस किताबमार्फत् चिमामाण्डाले उपनिवेशपछिको नाइजेरियाको राजनैतिक परिवर्तन, एकै धर्मका दुई पक्षहरू, घरेलु हिंसा, पितृसत्तात्मक दमन र यसलाई स्वीकारिएको अवस्था, ततकालीन पारिवारिक संस्कारहरू आदि प्रस्तुत गरेकी छिन् । शीर्षकमा भनिएको वैजनी रङको हिबिस्कस बेलाबखत आउँछ । यसप्रति पात्रहरूको आकर्षण, यसलाई उमार्ने-सार्ने प्रयत्न आदि एक खालको बिम्बजस्तो प्रतीत हुन्छ । उपन्यासको टुङ्ग्याउनी पलायनभन्दा सङ्घर्ष गर्न रुचाएको देखाएकोले आशावादीता मान्न सकिन्छ ।

यो विभिन्न पुरस्कारहरू जितेको र विभिन्न सूचीमा परेको, एकदम सरल र सरस भाषाशैली भएको, यथार्थवादी कथावाचन भएको किताब हो । मेरो आफ्नो पठनका दृष्टिले पर्पल हिबिस्कसको साराँशलाई यहाँ उल्लेख गरेँ । आम पाठकहरूलाई पनि पढ्न सिफारिस गरेँ ।