Chovar Blues Mobile Size

क्रिस्चियन जेरेट 

तपाईंलाई थाहा छ, सामान पुरानो हो । भविष्यमा त्यो काम लाग्छ कि लाग्दैन भन्ने पनि थाहा छैन र पनि तपाईं त्यो सामान फ्याँक्न तयार हुनुहुन्न ।

यो समस्या घरघरको समस्या हो । फ्याँक्नु नै पर्दा कतिपय व्यक्ति त रुन नै खोज्छन् । यो प्रायः संसारभरि नै देखिने मनोविज्ञान हो । प्रायः किन भन्देखिन्, केही समुदायमा भने यस्तो समस्या देखिएन ।

आउनुस्, यसबारे हामी अलि बिस्तारमा जानकारी लिऔँ ।

एक पटकको कुरा हो, फ्रान्सेली मनोविद् जँ पिगेटले आफ्नो क्लिनिकमा एउटा कुरा ख्याल गरे । बालबालिकाहरु आफ्ना सामान प्रायः अरुसँग बाँड्ने कुरामा रुचि नै राख्दैनथे । उनलाई जिज्ञासा लाग्यो, आखिर किन यस्तो हुन्छ ? यस्तो सोच बालबालिकामा कसरी पलाउँछ ? के कारण र कुन तत्त्वले बालबालिकालाई त्यस्तो गर्न बाध्य बनाउँछ ।

त्यसपछि उनी लागे, एउटा शोध गर्न । यही शोधले उनलाई बालमनोविज्ञानका पिता भनेरसमेत चिनायो ।

मानिसमा आफ्नो सम्पत्ति, आफ्नो कुरा, निजीपना भन्ने कुरा निकै अगाडिदेखि नै विकसित हुने गरेको उनले पाए । आखिर आफ्नो भनेपछि मान्छे किन मरिहत्ते गर्छ ? भन्ने खोजीका क्रममा जे पत्ता लगाए, त्यसलाई उनले ‘अनुमोदन प्रभाव’ अर्थात् इन्डोमेन्ट इफेक्ट नामकरण गरे ।

मानिसले शुरुमा जे हात पार्छ, त्यसलाई आफ्नो भएको अनुमोदन गर्छ । त्यसमा ऊ मग्न हुन्छ । त्यसलाई उसले अरुभन्दा बढी महत्त्व दिन्छ ।

यसका लागि उनले एउटा प्रयोग गरे । सो प्रयोगमा विद्यार्थीहरुको दुई वटा समूह बनाए । एउटा समूहलाई उनले चियाको मग उपहार दिए । अर्को समूहलाई उनले चकलेटको बट्टा दिए । यसको केही मिनेटपछि उनले मगवालालाई चकलेटसँग साट्न आग्रह गरे भने चकलेटवालाहरुलाई मग दिने प्रयास गरे । यसरी सामान आदानप्रदान गर्ने कुरामा अधिकांशले रुचि देखाएनन् । उनीहरुले शुरुमा पाएकै उपहारलाई आफ्नो अन्तिम उपहार माने ।

त्यसो त यस्तो शोधमा भाग लिएकाहरुमध्ये ११ प्रतिशतले भने सामान आदानप्रदान अथवा एकको साटो अर्को लिन चासो भने नदेखाएका होइनन् ।

यो प्रयोगपछि जँ पिगेटले निष्कर्ष निकाले, ‘मानिसमा कुनै पनि कुराको अपनत्व त्यो चिज हासिल गरेको केही सेकेन्डभित्रै महसुस गरिहाल्छ । अधिकांशतः उनीहरु त्यो चिजप्रति यति मोह जगाउँछन् कि उनीहरु त्यसको साटो राम्रो चिज फेला पारे पनि साट्न चाहँदैनन् ।

यो प्रयोगले हामीले आफ्नो जीवनमा पाएको पहिलो चिजलाई बढी नै महत्त्व दिन्छौँ भन्ने पनि प्रमाणित गरिदियो ।

यो कुरालाई अझ हाम्रो मस्तिष्क र न्युरोको तहमा गरिएको एउटा अनुसन्धानले पनि पुट दियो । सो अनुसन्धानमा ‘मेरो’ थैलीमा भएका चिज र ‘एलेक्स’ (अर्को व्यक्ति)को थैलीमा भएका चिजहरु देखाइयो । एलेक्सका चिजबिजहरु दायाँबायाँ गरिँदा मानिसको दिमागको हलचलको तह र ‘मेरो’ चिजबिजलाई दायाँबायाँ गर्दा वा अरु कसैले चलाउँदा हुने दिमागी हलचलको तह निकै फरक देखियो । अरुको चलाउँदा खासै कुनै दिमागी प्रतिक्रिया देखिएन भने ‘मेरो’ सामान अरुले चलाउँदा तीव्र प्रतिक्रिया दिमागले दियो ।

बालबालिकामा आफ्ना कुराप्रति बढी नै लगाव हुन्छ । कतिसम्म भने ६ वर्षे बालबालिकाहरुमाझ गरिएको एउटा प्रयोगमा बालबालिकालाई उनीहरुले चलाउने सानो साइकलको नक्कल प्रति उनीहरुको साइकल छेउमा राखियो । उनीहरुले त्यो नक्कल प्रति साइकलमा केहीबेर चासो दिए पनि उनीहरु पुरानै साइकलमा पछि मग्न हुन थाले ।

यसपछि उनीहरुलाई साइकलको साटो नयाँ कुनै खेलौना दिने प्रयास गर्दा पनि उनीहरुले साइकल दिन चाहेनन् । आफ्ना पुराना चिजको मोह बाल अवस्थामा मात्र होइन, वृद्धावस्थामा पनि उत्तिकै हुन्छ । अझ बरु त्यो मोह फैलँदै जानेसमेत अध्ययनमा देखिएको छ ।

एउटा अध्ययनमा त केसम्म देखिएको छ भने, एउटा गल्फ बललाई देखाउँदै यो बल महान् च्याम्पियन बेन कर्टिसले चलाएको हो र उसले यो बल प्रयोग गर्दा ठ्याक्कै एकै सटमा छिराउने गथ्र्यो भन्ने कथा सुनाएर गल्फ खेलाउँदा खेल्ने मानिसले अन्य बलको तुलनामा त्यो बलबाट राम्रो प्रदर्शन गर्न सफल भएको थियो । यस्तो विश्वासले मानिसको भौतिक अवस्था नै पनि परिवर्तन गर्ने क्षमता रहेको मनोवैज्ञानिकहरुले पत्ता लगाएका थिए ।

के उसो भए संसारका सबै मानिसमा कुनै कुराप्रतिको अपनत्व उही तह, उही स्तरको हुन्छ त ? अध्येता भन्छन्, नहुन सक्छ । उत्तरी तान्जानियाका आदिवासीमाझ गरिएको एउटा अध्ययनले भने त्यहाँका बासिन्दाको कुनै निजत्व, आफ्नो भन्ने कुरा नहुने देखाएको थियो । उनीहरु सामूहिक रुपमा बस्ने हुनाले निजी कुरा नहुने बरु फेला परेका कुराहरुमा सामूहिक रुपमा भाग लगाउने चलन त्यहाँ देखियो ।

आफ्नो वा निजी कुरा आधुनिक संस्कृतिको अङ्ग रहेको समेत सो अध्ययनले पुष्टि गर्छ । पछिपछि मानिसले निजी कुरालाई यति धेरै जोड दियो कि बाँड्ने बानी बिर्सियो र ‘मेरो’ र ‘आफू’लाई मात्र जोड दिन थाल्यो ।

यो पछि हामीले यति बढी बढायौँ, ती कुराको संरक्षण गर्ने, आफूबाहेक अरुबाट संरक्षण नहुने सोच विकास गर्यौं । त्यसैले पनि सामान थोत्रै भए पनि हामीले घरमा संरक्षण गरिरहन्छौँ, फ्याँक्न माया लाग्छ ।

डिजिटल युगमा किताबहरु अब परित्यक्त होलान् भन्ने सोचेका थियौँ तर त्यस्तो भएन । अडियो बुक, इबुकजस्ता नयाँ नयाँ विधि र प्रविधि आए पनि हामीले कागजी किताबलाई अझै बिर्सन सकेनौँ । किताब फ्याँक्न पनि सकेनौँ । कतिपय अवस्थामा हामीले कहिल्यै प्रयोग नगर्ने अडियो चक्का (अडियो क्यासेट) पनि हामीले माया गरेर राखिरहेका हुन्छौँ । आफ्नो हातले समाएर यो मेरो हो भन्ने भाव उत्पन्न भएका सबै चिजप्रति हामीलाई मोह जागेर आउँछ नै । र, त्यो त्यति चाँडै हामीले बिर्सन पनि सक्ने छैनौँ ।

(टेड टक)