साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई कवि तथा गीतकार उर्मिला कोइरालाकृत नवीनतम कवितासंग्रह “घाममाथि घामकै किरण” प्राप्त भएकाे छ ।

प्रस्तुत संग्रह ‘आँखाक लैङ्गिकतामा जिजीविषाको लस्कर’, ‘घाममाथि घामकै किरण’, ‘दिलको दराजमा संवेदनाको राखनधरन’ र ‘समयसँग समयको सङ्घर्ष’ गरी चार भागमा विभाजित छ । प्रत्येक परिच्छेदमा ११ थान कविता समावेश छन् । कवितामा प्रेम पाइन्छ, प्रकृति तथा समय पाइन्छ । विशेष गरी मानवता पाइन्छ ।

“२०७४ सालमा पुरस्कृत उज्यालोको आत्मकथा यस सङ्ग्रहको एउटा मोती हो, धेरै मोतीहरूमध्येको एक । समाज परिवर्तन, नारीवाद र समसामयिक विषयबाहेक उर्मिलाका हरेक रचना उनका निजी भोगाइका प्रतिबिम्ब हुन् । उनलाई एकदमै नजिकबाट चिन्ने र महसुस गर्न म उनका हरेक शब्दहरूमा उनकै निजी जीवन भिजेको र गहिरिएको पाउँछु । जस्तै एउटा कविता छ: मलाई मान्छे हुन देऊ ।

पाठशाला रहेछ जीवन अनुभवको

म आफैँ फुल्छु मलाई फुल्न देऊ ।

अनि मलाई बढी मन परेको अर्को रचना पति पनि यस्तो छ:

म पानी हुँ

जस्तो रङ मिसाउँछौ उस्तै बनिदिन्छु ।

समाजमा

सरल लाग्ने यी हरफ, जसले हाम्रो हाम्रो महिलाहरूले गरेको त्याग, तपस्या र बलिदान उजागर गर्छन् ।” भूमिकामा भरत शर्मा लेख्छन्, “यी सबै रचनाहरू उर्मिलाका आफ्नै अनुभव, भोगाइ, आवेग अनि आफैँमा चलिरहेको भावनात्मक अन्तर्द्वन्द्वका उपज हुन् । यी रचनाहरूले हाम्रा बहुसङ्ख्यक महिलाहरूको भावनाको र परिस्थितिको प्रतिनिधित्व गर्छन् । नारीको पवित्र हृदय, आवेग अनि बदलिँदो परिस्थितिसँग भिज्ने र आत्मसात् गर्ने सामर्थ्य जताततै पोखिएको पाएको छु । नारीको भिन्नभिन्न रूप, जिम्मेवारी अनि भोगाइलाई सबै पाठकले बुझ्ने भाषामा रचना गर्न सक्नु उर्मिलाको विशेषता र नवीनता हो । यस पुस्तकमा तीब्र विदेश पलायन, राजनीतिक कर्मीहरूको नालायकीपन अनि समाजको महिलालाई हेर्ने खराब दृष्टिकोणजस्ता समसामयिक विषयवस्तुलाई उजागर गर्दै परिवर्तनको वकालत गरिएको छ । यो कृति पठनयोग्य र व्यक्तिगत पुस्तकालयमा सङ्ग्रहयोग्य पनि छ ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि. (साहित्यपोस्ट) ले प्रकाशनमा ल्याएको हो । १ सय १० पृष्ठमा आधारित ‘घाममाथि घामकै किरण’को मूल्य ५ सय रुपियाँ रहेको छ ।