यसै क्रममा ‘साताका पुस्तक’मा यो साता २ पुस्तक । क्षितिजकाे ‘पर्वत पर्वतामा बटुवा घाम’देखि चालिसेकाे ‘जीवनका वक्ररेखा’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

० ० ०

१. पर्वत पर्वतमा बटुवा घाम — रमेश क्षितिज

“पर्वत पर्वतमा बटुवा घाम” सशक्त साहित्यकार रमेश क्षितिजकृत कवितासङ्ग्रह हो । यसभित्र ‘आकाशगङ्गा’, ‘अग्निउत्सव’, ‘जलतरङ्ग’, ‘वायुनृत्य’ र ‘भू-यात्रा’ ५ वटा उपशीर्षमा ५२ थान कविता सङ्ग्रहित छन् ।

“कोमल भाव, गहन संवेदना, परिष्कृत विम्ब, दृश्यात्मक प्रतीक, सरल-सौम्य सामाजिक कथ्यप्रति पद्धतिबद्ध बनेर रचनाशीलतालाई अगाडि बढाइरहेका प्रखर कवि हुन् – रमेश क्षितिज । सामान्य र साधारणजस्ता लाग्ने कथ्यबाट असाधारण निष्कर्षसम्म पुर्याउने कलामा खप्पिस क्षितिजका प्रायः कवितामा अुनभूतिका साहस स्वरहरू, स्वरूपहरू, संवेगहरू उद्भाषित हुँदै गइरहेझैँ लाग्छन्, शब्द-शब्दबाट । कविता लेखनका प्रचलित धारहरूबिचबाटै आफ्नो सम्प्रेषण पद्धतिको सुकोमल मार्ग पहिल्याउन सक्नु उनको निजी वैशिष्ट्य हो ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “उनका कविता नेपाली पहाड, खोला, वन-जङ्गल, गाउँ-गोरेटा, उकाली-ओराली, बेसी-देउरालीहरू अनि नेपाली जनजीवनले जीवन्त बनेर आफ्नो भूमिका निर्वाह गर्छन् – कुनै आख्यानका चरित्रहरूले झैँ । पूर्वीय दर्शनका गहन भव्यहरू अत्यन्त सरलीकृत बनेर उनका कविताका पद-पदावली र हरफहरूमा हिँडिरहेका भेटिन्छन् भने कतै फेरि सुफी सन्तहरूका धीर प्रशान्त, कल्याणकाम्य वाणीका अन्तरङ्ग अनुनाद पनि उनका कसपतामा सुन्न सकिन्छ । अतीत-जीविता, उदात्तता, शालीनता, सद्भाव, सह-अस्तित्व र सौन्दर्यका अनन्य आराधनाको कुञ्ज हो – पर्वत पर्वतमा बटुवा घाम ।”

पुस्तकलाई बुकहिल पब्लिकेसन प्रा. लि. ले बजारमा ल्याएको हो । १ सय २३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५५ रुपियाँ रहेको छ ।

 

२. जीवनका वक्ररेखा — विजय चालिसे

गोरखापत्रका कार्यकारी अध्यक्ष भई वरिष्ठ र गहन जिम्मेवारी वहन गरेका, पाँच दर्जनभन्दा बढी पुस्तकाकारका कृति र सयौँको सङ्ख्यामा अनुसन्धानमूलक तथा समसामयिक लेख रचना प्रकाशित गरेका साहित्यकार विजय चालिसेको आत्मसंस्मण कृति हो – “जीवनका वक्ररेखा ।”

३ सय १२ पृष्ठमा बुनिएको यस कृतिमा ‘फैलँदो परिवेश : समाज, दाम्पत्य र प्रवेशिका (२०१७-२०२५)’, ‘गणतान्त्रिक नेपाल (२०६३-२०६७)’, ‘परिशिष्ट (बचेखुचेका विशेष सम्झनाहरू)’ लगायत ९ वटा खण्ड समावेश छन् भने ६३ वटा शीर्षकमा लेखकले आफ्नो जन्मदेखिका कालखण्ड र आफ्नो थातथलोका विविध अवस्थाहरू समेटेका छन् ।

“भनिन्छ, साँचो बोल्न अत्यन्त कठिन कार्य हो, त्यसमा पनि जीवनमा आफ्नो विषयमा साँचो र सत्य बोल्ने झनै कठिन हुन्छ । यस प्रकार साँचो र सत्य बोल्न नसक्नेले आत्मजीवनी लेख्न सक्दैन भन्ने धारणा सर्वथा चर्चामा आउने गरेको पाइन्छ ।” प्रकाशकीयमा बाबुराम पौडेल लेख्छन्, “विजय चालिसेको यस कृतिमा कहीँ कतै यस्तो खोट लगाउनो ठाउँ पाइँदैन । उनी यसतर्फ सत्यवादी र इमानदार छन् भन्ने प्रस्ट हुन्छ । उनले निर्विघ्न र निश्छल रूपमा आत्मप्रकाश गरिरहेको पाइन्छ । सङ्घर्षपूर्ण जीवनका उकाली-ओरालीका अनन्य विघ्नबाधासँग जुध्दै आएका विजयमा देखिने अठोट, दृढता, लगन, शुद्धता र निर्भीकताले उनको सर्जक व्यक्तित्वको उच्च मूल्याङ्कन गरिरहेको छ । जीवन भोगाइ सत्य हो, विजयले भोगेको सत्य नै यहाँ यसरी प्रकट भएको छ ।”

सुरभि साहित्य प्रतिष्ठानबाट प्रकाशित पुस्तकको मूल्य ३ सय ५० रहेको छ ।