समकालीन नेपाली बौद्धिक र सांस्कृतिक वृत्तमा एउटा विरोधाभासपूर्ण दृश्य स्थापित छ- साहित्यिक उत्सव, गोष्ठी, महोत्सव र संवाद शृङ्खलाको ग्राफ दिनानुदिन उकालो लागिरहेको छ । कर्पोरेट प्रायोजन, बहुप्रतिष्ठित ब्रान्डका ब्यानर, चम्किला मञ्च, मिडियाको व्यापक माइलेज र सामाजिक सञ्जालको ‘भर्चुअल’ उपस्थितिले आज साहित्यलाई समाजको केन्द्रमा देखाएको एउटा बलियो भ्रम सिर्जना गरेको छ ।

बाहिरबाट सरसरती हेर्दा लाग्छ- यो चेतनाको लोकतान्त्रीकरण हो, कलाको पुनर्जागरण हो र समाज वैचारिक रूपमा उर्वर हुँदै गइरहेको सुखद सङ्केत हो । यद्यपि, जब यी गोष्ठीको भित्री तह उघारेर सांस्कृतिक समाजशास्त्र र आलोचनात्मक चेतको लेन्सबाट हेरिन्छ, तब एउटा गम्भीर र विरूप विसङ्गति सतहमा आउँछ । आजका साहित्यिक उत्सवहरू विचार मन्थनका जीवित प्रयोगशाला बनिरहेका छन् कि पूँजीवादी बजारले निर्माण गरेका ‘आत्ममुग्धताका भव्य मेला’ ? यस मेलाको सबैभन्दा बिझाउने, तात्त्विक र संरचनात्मक रूप भनेकै- एउटै स्थापित कवि, फरक-फरक देश र शहरका स्टेज, अनि हजारौँ पटक दोहोरिने उही एउटै पुरानो कविता ।

कलाको वस्तुकरण

​जर्मन दार्शनिक तथा सांस्कृतिक चिन्तक थिओडोर एडोर्नो र म्याक्स होर्खाइमरले सन् १९४० को दशकमा प्रतिपादन गरेको ‘सांस्कृतिक उद्योग’ को सिद्धान्तले भन्छ- पूँजीवादले बिस्तारै कला, संगीत र साहित्यलाई पनि कारखानाको उत्पादन जस्तै बनाइदिन्छ । कला जब बजारको चक्काभित्र छिर्छ, तब त्यसको प्राथमिक मूल्य ‘सांस्कृतिक चेतना’ वा ‘दार्शनिक रूपान्तरण’ रहँदैन, बरु त्यसको उद्देश्य केवल उपभोग, मनोरञ्जन र वित्तीय नाफा हुन पुग्छ ।

​आजको साहित्यिक बजारमा ठ्याक्कै यही सिद्धान्त क्रियाशील छ । कुनै एक कालखण्डमा कविको तीव्र संवेगात्मक श्रम, गहिरो सामाजिक चेतना र निजी साधनाबाट जन्मिएको एउटा कविता जब बजारमा ‘हिट’ हुन्छ वा ताली पाउन सफल हुन्छ, तब त्यो कविता कविता रहँदैन; त्यो एउटा ‘कमोडिटी’ (व्यापारिक वस्तु) मा रूपान्तरण भइसकेको हुन्छ । ​यसपछि कविको भूमिका गुणात्मक रूपमा बदलिन्छ । ऊ अब समाजको विसङ्गति नियाल्ने ‘चिन्तक’ रहँदैन, ऊ त बजारमा बिकेको त्यो स्थापित ब्राण्ड वा वस्तुको उत्पादक, प्रवर्द्धक र ‘स्टेज पर्फर्मर’ बन्न पुग्छ ।

एउटै कविताको पाण्डुलिपि बोकेर देश-विदेशका मञ्चहरू चहार्नु, उही भाव, उही लय, उही स्वरको उतारचढाव र भावनाको उही ‘यान्त्रिक’ प्रस्तुति दिनु कलात्मक गतिशीलता होइन, बरु सिर्जनात्मक जडता हो । यो त्यसरी नै मेकानिकल ढङ्गले दोहोरिन्छ, जसरी कुनै औद्योगिक कारखानामा एउटै साँचो प्रयोग गरेर हजारौँ प्लास्टिकका खेलौनाहरू एकैनासले उत्पादन गरिन्छ । जहाँ साँचो पुरानै हुन्छ, उत्पादन पुरानै हुन्छ, तर हरेक पटक ग्राहक (स्रोता) नयाँ हुन्छन् ।

मोफसलको उपेक्षा

​यस बजारु चक्रले नेपाली साहित्यमा एउटा गम्भीर भौगोलिक र संरचनात्मक असमानता पैदा गरेको छ । आज राजधानी केन्द्रित सीमित ‘सेलिब्रेटी’ लेखक र कविको एउटा सानो समूह छ, जसको वरिपरि सिङ्गो महोत्सवको अर्थतन्त्र घुम्छ । काठमाडौँको मञ्च होस् या कुनै दूरदराजको जिल्लामा आयोजना हुने साहित्योत्सव, जहाजको टिकट र एजेन्डासहित उही अनुहारहरू ओसारपसार गरिन्छन् ।

​परिणामस्वरूप, भूगोलका कुना-काप्चामा बसेर भुइँ-तहको वास्तविक भोगाइ, रैथाने ज्ञान र मौलिक सामाजिक सङ्घर्षलाई अक्षरमा उतारिरहेका मोफसलका वास्तविक र उम्दा प्रतिभाहरू ओझेलमा पारिन्छन् । स्थानीय आयोजनहरूमा पनि रैथाने स्वरलाई मञ्चको कुनामा ‘स्रोता’ वा ‘आयोजक’ मात्र बनाएर राखिन्छ, र केन्द्रका स्थापित अनुहारलाई ज्ञानको एकमात्र आधिकारिक संवाहक जस्तै गरी पूजा गरिन्छ । यो सांस्कृतिक एकाधिकारले नेपाली साहित्यको बहुआयामिकता र विविधतालाई मात्र संकुचित बनाएको छैन, बरु दूरदराजका नयाँ र उदीयमान मौलिक चेतलाई सिर्जनात्मक रूपमै निरुत्साहित गरिरहेको छ ।

विमर्शको खडेरी

​आजका साहित्योत्सवहरू उत्सव बढी र विमर्श कम भइरहेका छन् । महोत्सवको कार्यतालिका पल्टाउने हो भने त्यहाँ पुस्तकीय विमोचन, ‘ग्ल्यामरस’ गफगाफ, र सेलिब्रिटी लेखकहरूको आत्मप्रशंसाका शृङ्खलाको बाहुल्य देखिन्छ । बजारको चम्किलो ब्यानरमुनि गम्भीर सिर्जनात्मक विधामाथि हुनुपर्ने गहन लेखन कार्यशाला र निर्मम पुस्तक समीक्षा पूर्णतः शून्य प्रायः छ ।

​पुस्तक कस्तो बन्यो ? यसको दार्शनिक धरातल के हो ? यसले समाजको ऐतिहासिक तथा समाजशास्त्रीय चेतलाई कहाँनेर संवर्द्धन गर्‍यो ? भन्ने जस्ता कठोर र प्राज्ञिक प्रश्नहरूमाथि छलफल नै हुँदैन । बरु, बजारले एउटा पुस्तकलाई कसरी बढीभन्दा बढी बेच्न सक्छ भन्ने व्यावसायिक रणनीतिकै वरिपरि संवादहरू केन्द्रित हुन्छन् । पुस्तकको गुणस्तरमाथि शल्यक्रिया गर्ने समीक्षकहरू पाखा लगाइन्छन् र लेखकको अहङ्कारलाई मख्ख पार्ने ‘प्रायोजित प्रशंसक’हरूलाई मञ्च सुम्पिन्छ । यसले साहित्यलाई बौद्धिक विमर्शको थलो होइन, केवल पुस्तक व्यापारको एउटा आधुनिक शोरूममा परिणत गरिदिएको छ ।

वाहवाहीको संस्कृति 

​यो विसङ्गतिले साहित्यमा एउटा खतरनाक ‘इको चेम्बर’ र ‘वाहवाहीको संस्कृति’ निर्माण गरेको छ । आजका बहुसंख्यक साहित्यिक गोष्ठीमा निर्मम समीक्षा, बौद्धिक विमर्श र कडा आलोचना पूर्णतः गायब वा निषेध जस्तै छ । मञ्चमा एउटा अलिखित र अघोषित सम्झौता चल्छ- “तिमी मेरो आत्मरतिमा ताली बजाऊ, म तिम्रो अहङ्कारलाई मख्ख पारिदिन्छु ।”

यस प्रकारको पुनरावृत्तिको पछाडि लेखकको कस्तो मनोविज्ञानले काम गरिरहेको छ त ? यसलाई बुझ्न फ्रान्सेली समाजशास्त्री पियरे बोर्द्युको ‘सांस्कृतिक पूँजी’ र ‘ह्याबिटस’को अवधारणा मद्दतगार साबित हुन्छ । बोर्द्युका अनुसार समाजमा प्रतिष्ठा, सम्मान, र स्वीकार्यता पनि पूँजीका रूप हुन्, जसलाई आर्जन गर्न मानिसले अनेकौँ प्रयत्न गर्छ ।

​आजको डिजिटल र उपभोक्तावादी युगमा स्टेजमा तुरुन्तै पाइने हुटिङ, ताली र सामाजिक सञ्जालमा देखिने ‘लाइक, कमेन्ट र सेयर’ नै कविका लागि सबैभन्दा ठूलो सांस्कृतिक पुँजी बनेका छन् । मनोविज्ञानको भाषामा यसलाई ‘इमिडिएट ग्र्याटिफिकेसन’ (तत्काल कदर पाउने तिर्खा) भनिन्छ । नयाँ सिर्जनाका लागि व्यापक समाजशास्त्रीय अध्ययन, दार्शनिक गहिराइ, वैचारिक जोखिम र एकान्तको कठोर साधना चाहिन्छ । नयाँ विचारले स्थापित सत्ता, सांस्कृतिक रूढि र समाजका परम्परागत मान्यतालाई प्रश्न गर्ने हुनाले त्यहाँ अस्वीकृत हुने, आलोचित हुने वा ताली नपाइने ‘जोखिम’ असाध्यै उच्च हुन्छ ।

​तर, पुरानै स्थापित भइसकेको र बजारले प्रमाणित गरिसकेको कविता सुनाउँदा थोरै मिहिनेतमै ‘सेलिब्रेटी’ पहिचान र तालीको भारी सुनिश्चित हुन्छ । कवि यही बजारु सुरक्षाको खोजीमा छ र ऊ बिस्तारै तालीको नशालु बन्धक बन्न पुग्छ । जब कवि तालीको बन्धक बन्छ, ऊ नयाँ प्रयोग गर्न डराउँछ र आफ्नो सिर्जनात्मक दायरालाई एउटै कविताको चौघेराभित्र कैद गरेर आत्ममुग्धताको एउटा चिसो कुनामा रमाइरहन्छ ।

​फ्रान्सेली उत्तरआधुनिकतावादी दार्शनिक जँ बड्रीलर्डको ‘सिम्युलाक्रा र सिम्युलेसन’ सिद्धान्तको शब्दावली सापटी लिने हो भने, यी गोष्ठीहरूले वास्तविक साहित्यको होइन, बरु साहित्यको ‘नक्कली प्रतिलिपि’ वा ‘अति-यथार्थ’ को उत्सव मनाइरहेका छन् । कविताको वास्तविक आत्मा, त्यसको जीवन्तता र त्यसले समाजको पिँधमा ल्याउनुपर्ने संरचनात्मक कम्पन पूर्ण रूपमा गायब भइसकेको छ । केवल स्टेजमा उभिएको कविको भौतिक शरीर, उसको कण्ठस्थ स्वरको अभिनय र बजारद्वारा निर्मित उसको ‘ग्ल्यामर’ मात्र बाँकी छ ।

​यो प्रवृत्तिले कविलाई लेखकबाट ओरालेर एउटा ‘अभिनेता’ वा ‘मनोरञ्जक’ मा रूपान्तरण गरिदिएको छ । जसरी कुनै व्यावसायिक हास्यकलाकारले आफ्नो एउटै प्रहसन वा गायकले वर्षौं पुरानो एउटा हिट गीत हरेक कन्सर्टमा गाउँछ, कविको कविता पनि त्यस्तै बजारु मनोरञ्जनको साधन बनेको छ । फरक यति मात्र हो- गायक वा कलाकारले खुला रूपमा आफूलाई ‘मनोरञ्जक’ भन्छन्, तर यी स्टेज चहार्ने कविहरू आफूलाई ‘सभ्यताको संवाहक र समाजको पथप्रदर्शक’ दाबी गर्छन् । यो आत्मधोका मात्र होइन, स्रोता र पाठकको बौद्धिक चेतनाको घोर अवमूल्यन र अपमान पनि हो ।

श्रम र संवेदनाको क्षयीकरण

​कुनै पनि सिर्जनात्मक विधाको एउटा स्वाभाविक लय हुन्छ । उत्कृष्ट साहित्य र दर्शन हतारको कोलाहलमा होइन, ‘मन्द गतिको चिन्तन’ र एकान्तमा परिपक्व हुन्छ । बिडम्बना, आजको आधुनिक व्यवस्थापनको सिद्धान्त र उपभोक्तावादी संस्कृतिले ‘गति’ र ‘प्रस्तुति’लाई मात्र प्राथमिकता दिन्छ । लेखकलाई लगातार बजारमा देखिनुपर्ने, अपडेट भइरहनुपर्ने र चर्चाको शिखरमा टिकिरहनुपर्ने दबाब छ ।

​यस ‘गतिको आतङ्क’ले गर्दा लेखकसँग चिन्तन गर्ने, समाजको पिँधमा पुगेर भुइँमान्छेको वास्तविक दुःख, आधुनिक श्रमको शोषण, वा डिजिटल युगले ल्याएको पहिचानको संकटलाई केलाउने समय नै छैन । नतिजास्वरूप, कविहरू समाजका वास्तविक र कठोर मुद्दामाथि नयाँ कविता लेख्ने जोखिम उठाउनै चाहँदैनन् । बरु, बजारले जे माग गर्छ, भीडले जसमा ताली पड्काउँछ, त्यही पुरानो भावुकता वा सस्तो क्रान्तिको नारा बोकेको कविता पस्किएर आफ्नो ‘सुरक्षित’ बजार कायम राख्छन् ।

​यसको सबैभन्दा घातक सामाजिक परिणाम के हुन्छ भने, यसले सिंगो समाजको आलोचनात्मक सोच्ने क्षमतालाई भुत्ते बनाइदिन्छ । साहित्य जब गम्भीर वैचारिक विमर्शबाट च्युत भएर केवल ‘स्टेज शो’ बन्छ, तब यसले समाजमा परिवर्तनको चेतना जगाउने आफ्नो प्राथमिक धर्म गुमाउँछ । सभ्यताको पिँधमा रहेका मानिसका दुःख, श्रमको आधुनिक र डिजिटल शोषण, संरचनागत असमानता, र सुशासनका मूल प्रश्नहरू स्टेजको चम्किलो कोलाहल र तालीको गडगडाहटमा बिलाएर जान्छन् ।

​निष्कर्ष

​साहित्य गोष्ठी, उत्सव वा मञ्चहरू आफैँमा समस्या होइनन्; यी त विचार आदानप्रदान गर्ने, समाजलाई जोड्ने र बौद्धिक विमर्श फैलाउने सुन्दर माध्यम हुन् । दुर्भाग्य, जब माध्यम नै गन्तव्य बन्न थाल्छ र स्टेजको क्षणिक ताली नै कविको योग्यता र सिर्जनाको अन्तिम मापक बन्न पुग्छ, तब कला र सिर्जनाको मृत्यु अनिवार्य हुन्छ ।

​पानी जबसम्म बगिरहन्छ तबसम्म मात्र त्यो नदी रहन्छ र त्यसले जीवन दिन्छ; जमेर बसेको पानी त पोखरी बन्छ र अन्ततः आफैँभित्र सड्न थाल्छ । हाम्रा समकालीन कवि र लेखक उही पुरानो कविताको ब्याज खाएर आत्ममुग्धताको पोखरीमा जम्ने कि नयाँ सिर्जना र नयाँ वैचारिक जोखिमको नदी बनेर बग्ने ? यो आजको साहित्यिक वृत्तको सबैभन्दा टड्कारो प्रश्न हो ।

​लेखकको असली परीक्षा स्टेजको चम्किलो प्रकाश र क्षणिक हुटिङमा होइन, उसको सिर्जनाले समयको कडा कठघरामा उभिएर इतिहासलाई कस्तो चेतना दियो र समाजको पीँधमा कति गहिरो कम्पन ल्याउन सक्यो भन्ने कुरामा हुन्छ । अबका साहित्यिक विमर्शहरू आत्मरतिको बजार र वाहवाहीको मेला मात्र होइन, विचार, तथ्य, र सिद्धान्तको निर्मम कसि बन्नैपर्छ । अनि मात्र साहित्यले समाजलाई ‘मान्छे बन्ने व्याकरण’ सिकाउन सक्छ ।