आजको मानव समुदाय विकास र सभ्यताको पथमा लम्के पनि विभिन्न हिंसाबाट अझै मुक्त हुन सकेको पाइँदैन। अरुको स्वतन्त्रता र मानसम्मानमा बाधा पुर्याउन खोज्नु वा अरूलाई कुनै न कुनै ढंगबाट दुःख दिने प्रयास गर्नु हिंसा हो । आफ्नो स्वार्थलाई पूर्णता दिन अरुप्रति गरिने शारीरिक, मानसिक, यौनिक तथा मनोवैज्ञानिक दुर्व्यवहार हिंसा हो । समान मान्छे तथा वस्तुमा गरिने फरक फरक व्यवहार विभेद हो । हाम्रो दैनिक बोलीचालीका सामान्य लाग्ने भाषाले पनि हिंसा बोलिरहेको हुन्छ । त्यसैगरी व्यावहारिक जीवनका धेरैजसो संस्कार विभेदको जगमा उभिएका देखिन्छन् । प्रायः मानिसहरू जानेर या नजानेर आफू/अरुप्रति बोलिने/गरिने हिंसालाई बेवास्ता गरिदिन्छन् । सर्वश्रेष्ठ कहलिएको मानवजातिले आफ्नो भाषाशैली र व्यवहारमार्फत् हिंसा अनि विभेद भइरहेको छ कि छैन भनी आत्मआलोचना गर्न आवश्यक छैन र ?

हाम्रो समाजमा हिंसाको शृङ्खला बाल्यकालदेखि नै सुरुवात हुन्छ । घरपरिवार तथा विद्यालयमा प्रत्यक्ष या परोक्ष रुपमा बालहिंसा हुने गर्दछ । विद्यालयले जान्ने र नजान्ने विद्यार्थी भनेर वर्गीकरण नै गर्ने गरेको भेटिन्छ । पढाइमा अब्बल विद्यार्थी साथीभाइ र शिक्षकको रोजाइमा पर्ने गर्दछन् भने पढाइ कमजोर भएका केटाकेटीलाई प्रोत्साहन दिनुको सट्टा अभिभावक र शिक्षक दुवैबाट शारीरिक तथा मानसिक यातना दिने गरिन्छ । बाल्यकालमा प्राप्त मनोवैज्ञानिक हिंसाका कारण धेरै विद्यार्थीहरु भविष्यमा समेत असफल बन्ने गर्दछ्न् । तसर्थ बालबालिकालाई उनीहरुको मनोविज्ञान बुझेर सोही अनुसारको व्यवहार गरिनुपर्दछ । भोलिको बौद्धिक समाजको जग बसाउने जिम्मेवारी आजको बौद्धिक समाजको काँधमा हुन्छ।

“भैया, चटपटे बनाइदेऊ त !”, मानिसहरुले दिनहुँजसो प्रयोग गर्ने यो वाक्य झट्ट सुन्दा सामान्य लाग्छ । तर यसले मधेसी समुदायमाथि हुने मानसिक हिंसा झल्काउँछ । नेपाली भाषा स्पष्टसँग बोल्न र बुझ्न सक्ने मधेसी दाजुभाइलाई “भैया” नभनेर दाजु या भाइभन्दा के बिग्रिन्छ ? मीठो मीठो चटपटे बनाएर खुवाउने व्यक्तिलाई खसालेर “तिमी” भन्दै नमीठो अपमान किन चखाउनुपर्यो ? सोही व्यवसाय गर्ने पहाडिया समुदायको व्यक्तिलाई ‘तिमी’ भन्ने हिम्मत किन हुँदैन ? हुन त पहाडिया मूलका मानिसहरुले मधेसी र हिमाली समुदायलाई “मधिसे” र “भोटे” जस्ता शब्दले सम्बोधन गरेर हिंसा गर्ने गरेको तथ्य जग्जायर छ ।

कान्तिपुर टेलिभिजनमार्फत् प्रशारित हुने “ह्वाट त फ्लप” कार्यक्रमका प्रस्तोताले अनुहारमा कालो रङ पोत्छ्न्, धोती र सल बेर्छन् अनि मधेसी युवकको क्यारिकेचर गर्छन् । जबर्जस्ती निकालिएको मैथिली टोनमा नेपाली भाषा बोल्ने उनको शैली र हाउभाउ देख्दा लाग्छ, आफूलाई सभ्य ठान्ने जमात कतिसम्म असभ्य हुनसक्ने रहेछ । के मधेसी देखिनलाई अनुहारमा मोसो दल्नै पर्छ त ? मधेसी हो भनेर बुझाउन धोती लगाउनै पर्छ र ? उनलाई मधेसी मूलका मानिसहरु गोरा पनि हुन्छ्न् भन्ने थाहा नभएको होला त ? मधेस नेपालको भूभाग हो । उनीहरुले पहिरिने धोती पहाडिया हिन्दुले पनि पूजाआजा र काजकिरियामा लगाउनै पर्ने वस्त्र हो । अनि उनीहरुलाई “धोती” भनिदिँदा ठूलै मेख मारेको जस्तो किन लाग्ने गर्दछ ? कालो छाला र फरक लवज भएका मधेसीहरु नेपाली नै हुन् भनेर सहजै स्वीकार्न नसक्नु मूर्खता हो ।

[bs-quote quote=”श्रीमती रजस्वला भएको बखत सात दिनसम्म अलग अलग बिछ्यौना लगाउने गर्दछन् । आफ्नै घरभित्र जर्जर छुवाछुत गर्ने सनातनी समाजले घरबाहिर कस्तो किसिमको छुवाछुत गर्दो हो सहजै अनुमान लगाउन सकिन्छ ।” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”ईश्वरा शिवा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/ishwora-shiwa.jpg”][/bs-quote]

“फलानाकी छोरी कस्ती काली रहिछे, त्यस्ती नराम्रीलाई हाम्रो घरकी बुहारी कसरी बनाउनू ?”, बुहारी खोज्ने बाहानामा यस्ता प्रश्नहरु तेर्स्याउनु रंगभेद हो । हाम्रो समाजले महिला र गोरो छालालाई सुन्दरताको पर्याय बनाएको छ । जसका कारण प्राकृतिक कालो छाला भएका महिलाहरू मानसिक रुपमा प्रताडित बन्ने गर्दछ्न् । धेरैजसो महिला सुन्दर देखिन गोरो र चिल्लो छाला बनाउने चक्करमा कस्मेटिक दुनियाँमा हराउने गर्दछ्न् । आफूसँग भएको बौद्धिक क्षमतालाई नै ओझेलमा पारेर सुन्दरताको पछि कुदिरहेका महिलाहरु शैक्षिक र आर्थिक प्रतिस्पर्धामा पछि पर्दछ्न्। फलस्वरूप पुरुषमाथि पुर्णरुपमा निर्भर बन्न पुग्दछन् र घरेलु हिंसाको सिकार बन्दछ्न् । यसरी एउटा हिंसाबाट अर्को हिंसा जन्माउने रंगभेदी सोच परिवर्तन गर्न ढिला भैसकेन र ?

“छोरी पो जन्मिछे” भनेर नाक खुम्च्याउने परिवारले जन्मिनासाथ लैङ्गिक विभेद सुरु गर्दछ । “छोरी भएको घर सफा हुन्छ”, ज्यादै सामान्य लाग्ने यो अभिव्यक्तिले घर सरसफाइको काम पुरुषको होइन भन्ने बताउँछ । छोरी मान्छेले ठूलो स्वरमा हाँस्नु हुन्न भनिदिएर खुलस्तरुपमा खुसी व्यक्त गर्नसमेत नदिने हाम्रो समाज विभेदकारी छ । त्यसैगरी छोरा मान्छे भएर रुन हुन्न भनिदिएर आँसु र पुरुषलाई विपरीतार्थक शब्द जस्तै बनाइदिएको पाइन्छ । विभेदकारी समाजले छोरा मान्छेको पनि भावना हुन्छ भन्ने कुरो भुसुक्कै बिर्सन खोज्छ । ऊ पनि त मान्छे हो । पुरुष भएकै कारण दुःख पर्दा रुने खुसी हुँदा हाँस्ने मानव स्वभावलाई दबाउनु पर्ने किन ? दाइजोको घोर विरोधी परिवार पनि ज्वाइँ रोज्नुपर्दा भने आर्थिकरुपमा सम्पन्न केटा नै हुनुपर्ने मान्यता राख्दछ्न् । पारिवारिक जिम्मेवारी पुरुषको मात्र हो र उसले परिवार पाल्नुपर्छ भनेर बाल्यकालदेखि नै मनोवैज्ञानिक प्रशिक्षण दिने गरिन्छ । पुरुषमाथि हुने यस्ता हिंसाले पुरुष समुदायलाई भित्रभित्रै सताइरहेको हुन्छ । यस्ताखाले लैङ्गिक हिंसा निर्मुलीकरणका लागि महिला र पुरुष दुवै मिलेर आर्थिक तथा पारिवारिक जिम्मेवारी बहन गर्नु आजको आवश्यकता हो ।

अर्कोतर्फ तेस्रो लिङ्गी समुदाय लैङ्गिक हिंसाको सबैभन्दा बढी मारमा छ । तेस्रो लिङ्गी समुदायलाई हिजडा र छक्का भनेर खिसिट्युरी गर्ने गरिन्छ । जसका कारण उनीहरु आफ्नो पहिचान खुलाउने आँटसम्म गर्दैनन् । खुलस्त रुपमा आफ्नो हिसाबले जिउँन खोज्ने तेस्रो लिङ्गीलाई अपमानजन्य गालीगलौज दिइन्छ । हाल टिकटकमा भाइरल भइरहेका निकेश श्रेष्ठउर्फ निकिशा उपहासको पात्र बनिरहेका छन् । उनीमाथि बर्सिने गरेका अपशब्दहरु लैङ्गिक हिंसाको पराकाष्ठा हो । एउटै समाजमा रहेर पनि सबै लिङ्गको सह-अस्तित्व स्वीकार्न नसक्ने मान्छेलाई मान्छे पनि कसरी भन्ने ?

उज्यालोको पर्व मानिने तिहारमा पशुपंछी लगायत दाजुभाइको पूजा गर्ने गरिन्छ । ऐतिहासिक कथ्यानुसार काग र परेवा दुवै पंछीलाई सूचना प्रवाहकका रुपमा प्रयोग गरिन्थ्यो ।

हिन्दु बाहुल्यता रहेको नेपालमा धार्मिक सहिष्णुताको रटान लगाइन्छ । तर धर्म-धर्मबीच विद्यमान असामन्जस्यताबारे कोही अनविज्ञ नहोला । धर्म निरपेक्ष राष्ट्र भएर पनि हिन्दु धर्म अन्तरगतको “दसैँ” लाई राष्ट्रिय पर्व घोषणा गरिएकोमा अन्य धर्मालम्बी असन्तुष्ट छ्न् । त्यसैगरी दसैँ र तिहारमा दिइने लामो बिदा पनि बारम्बार विवादित बन्ने गर्दछ । साँच्चै धार्मिक सहिष्णुता कायम गर्ने हो भने सबै धर्मावलम्बीलाई सर्वस्वीकार्य हुनेगरी राष्ट्रिय पर्वको परिमार्जन या विस्थापन गर्नुपर्ने जरुरी देखिन्छ ।

उज्यालोको पर्व मानिने तिहारमा पशुपंछी लगायत दाजुभाइको पूजा गर्ने गरिन्छ । ऐतिहासिक कथ्यानुसार काग र परेवा दुवै पंछीलाई सूचना प्रवाहकका रुपमा प्रयोग गरिन्थ्यो । तर कागको मात्र पूजा गरेर काग तिहार किन मनाइन्छ ? परेवा तिहार खोई ? कुकुरले घरमा सुरक्षा दिने काम गर्छ भने बिरालोले मुसा आतंकबाट बचाउँछ । तर कुकुर तिहार हुने बिरालो तिहार किन नहुने ? गाई र भैंसी दुवैको दूध उत्तिकै खपत हुने समाजमा गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गरिने, भैंसीलाई अपसगुन मानिनु पर्ने किन ? गोरु र राँगा दुबैलाई खेत जोत्न र बयलगाडा कुदाउन प्रयोग गरिए पनि गोरुको पूजा गर्ने अनि राँगालाई चाहिँ राक्षसको प्रतीक बनाइदिने ? वर्षमा एक दिन केही पशुलाई पूजा गरेर भगवान् मान्ने, बाँकी ३६४ दिन चाहिँ पशु हिंसा गरिरहने प्रवृत्ति ढोंगी र निन्दनीय छ । पशु पशुमा गरिने विभेदको जरा कहाँबाट पलायो होला ?

तिहारको मुख्य दिन भाइटीकाको दिन हो । भाइटीकाको नामले नै विभेद बोल्दछ । भाइटीका भए जस्तै बहिनीटीका किन चलाइएन ? दिदिबहिनीले दाजुभाइको दीर्घायुको कामना गरेर सप्तरंगी टीका लगाइदिनु पर्ने अनि दाजुभाइले चाहिँ दिदिबहिनीलाई राक्षसी नजरबाट बचाउन ओखर फुटाउन नपर्ने ? दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइलाई भाइटीकाको दिन कति खल्लोलाग्दो हो ? यस्तो अवस्थामा आफू अनुकुल दाइ र भाइले अनि दिदी र बहिनीले एकआपसमा टीका लगाइदिएर भाइटीकालाई परिमार्जन गर्न सकिन्छ । तिहारमा नेवार समुदायमा प्रख्यात म्हः पूजा स्वागतयोग्य छ । ईश्वर भनेकै आफू हो । आफ्नो पूजा आफैं गर्नु निकै आनन्ददायक हुँदो हो ।

हिन्दु समाजको कण कणमा विभेद मिसिएको छ । एकै बाबुआमाले जन्म दिएका छोराछोरी बीच पनि विभेद गरिन्छ । विवाह भएकी छोरी र अविवाहित छोरी बीच पनि फरक फरक व्यवहार गरिन्छ । अर्कै कुलमा सारिएको भनेर विवाहित छोरीलाई चुल्हो र भन्डारकोठामा बन्देज लगाइन्छ । कुलपूजामा छोरी र बुहारीलाई सरिक हुन दिइँदैन । कुल भनेकै छोराको मात्र हो भनेर लैङ्गिक विभेद खडा गरिएको छ । हिन्दुहरुको लागि रजस्वला भएकी स्त्री अछुत हुन्छे । पश्चिमी भेगमा त सात दिनसम्म छाउगोठमा राखिन्छ। छाउगोठमा धेरै महिलाले सर्पदंसबाट ज्यान गुमाउने गरेको समाचार बाहिरिने गर्दछ । त्यसैगरी व्रतबन्ध भएको छोरा र व्रतबन्ध नभएको छोरालाई कहाँ-कहाँ क-कसले छोएको खाने भनेर बाल्यकालदेखि नै घरायसी तालिम दिने गरिन्छ । सनातन धर्मअन्तर्गत कृष्ण प्रणामी र ॐ शान्तिमा आस्था राख्नेहरुले आफूलाई यति पवित्र ठान्छन् कि घरभित्रै श्रीमान् /श्रीमतीबाहेक कसैले छोएको खाँदैनन् । श्रीमती रजस्वला भएको बखत सात दिनसम्म अलग अलग बिछ्यौना लगाउने गर्दछन् । आफ्नै घरभित्र जर्जर छुवाछुत गर्ने सनातनी समाजले घरबाहिर कस्तो किसिमको छुवाछुत गर्दो हो सहजै अनुमान लगाउन सकिन्छ ।

सामान्यत: “तपाईं के थरी ?” भनेर सोधिने प्रश्नको उदेश्य व्यक्तिको थर जान्नु नभई कुन जातको रहेछ भनी पत्ता लगाउनुमा केन्द्रित हुन्छ। कुन जातको हो भनेर निर्क्यौल भैसकेपछि उसलाई छुने कि नछुने निर्णय गरिन्छ। त्यसैगरी खराब आचरण भएको व्यक्तिलाई “कस्तो दमाईंकामीको जस्तो ब्यहोरा भएको” भनेर गाली दिने गरिन्छ । मानौं खराब बानी र दलित पर्याय हुन् जस्तो । सम्पत्तिहीनता, परिस्कृत ज्ञानको अभाव, शिक्षाको कमी, युगौंयुगको प्रशिक्षण र अभ्यास भएका हरकोहीमा केही विकारजन्य बानी र व्यवहार त हुन्छ नै । त्यसमा जात जोडेर गाली दिनु उच्चजातीय आडम्बरको प्रदर्शनी मात्र हो ।

नेपाली समाजमा जातीय विभेद यौटा घातक दीर्घरोगको रुपमा विकसित भइरहेको छ । हिन्दु वर्णाश्रम व्यवस्थामा आधारित जात व्यवस्थाअन्तर्गत समान वर्ण र समान जातबीच पनि विभेद कायम छ । ब्राम्हण-ब्राम्हणबीच , क्षेत्री-क्षेत्रीबीच, आदिवासी-आदिवासीबीच, जनजाती-जनजातीबीच र दलित-दलितबीच तहगत जातीय विभेद देख्न सकिन्छ । झन् अन्तर्जातीय विभेद त कहालीलाग्दो रुपमा फैलिएको छ । हाम्रो समाजमा कामीको छोराले बिहे गरेकी दमाईंकी छोरीलाई , क्षेत्रीकी छोरी बिहे गरेको बाहुनको छोरालाई परिवारले स्वीकार नगर्नु सामान्य लाग्छ्न् । अपराधीलाई सामान्य केरकार र केही रकम धरौटीमा छुट्कारा दिइन्छ । त्यसैगरी, क्षेत्रीकी छोरी बिहे गरेको निहुँमा सार्कीको छोराको हत्या गरिँदा अनि गुरुङको छोराले बिहे गरेकी दमाईंकी छोरीलाई परिवारका सदस्य मिलेर हत्या गरिँदा समेत अधिकांश मानिस मौन बस्दछन् । यसरी आफू खुसी विवाह गर्न पाउने मानवअधिकारलाई कुल्चेर जातकै नाममा नरसंहार मच्चाउँदा समेत हत्याराकै समर्थनमा खडा हुने पढेलेखेको पाखण्ड जमात आफूलाई निकै विद्वान् सम्झन्छ । शैक्षिक प्रमाणपत्रलाई सिरानी हालेर सुत्ने मानिसहरु मान्छे मान्छेमा विभेद गरेर आफ्नै विद्वताको धज्जी उडारहेछ्न् । विश्व समुदाय पृथ्वी छोडेर चन्द्रमा र मंगलग्रहमा मानव बसोबासको सम्भावना खोज्न निस्किसक्यो हामी भने अझैसम्म छुवाछुत प्रथाबाट बाहिर निस्किन सकिरहेका छैनौं।

मानव शरीर पूर्णताको लागि टाउको र खुट्टाको उत्तिकै महत्व रहे पनि शीरलाई सम्मानको प्रतीक मानिन्छ भने खुट्टालाई अपमानको ।

विश्वभर नै वर्गीय विभेद कायम छ । नेपालमा पनि धनी र गरीबबीच निकै गहिरो खाडल छ । “खाते” भनेर सम्बोधन गरिने अनाथ तथा विपन्न सडक बालबालिकाको जीवनशैली अस्वस्थकर अनि दयनीय छ । सडक बालबालिकाको व्यवस्थापनबारे सरकार लगायतका सम्बन्धित निकायले चासो समेत देखाउदैनन् । दुर्गम क्षेत्रका धेरै बालबालिका आधारभूत अधिकार अन्तरगतका गाँस , बास, कपास , शिक्षा र स्वास्थ सबै अधिकारबाट कुनै न कुनै रुपमा वन्चित छन् । गाउँ र गरिबीलाई जोडेर हेर्ने गरिन्छ । गाउँलेहरु गरिब र पाखे हुन्छ्न् भन्ने मान्यता भएका सहरियाहरु सौहार्द्रता र मानवता हराएका दरिद्र देखिन्छ्न् । त्यसैगरी पेसाको आधारमा पनि कसलाई कति सम्मान दिने भनी निर्णय गरिन्छ । डाक्टर , इन्जिनियर र पाइलटलाई गरिने व्यवहार अनि सफाइवाला र फुटपाथ पसलेहरुलाई गरिने व्यवहार फरक फरक देखिन्छ । “तँ त मेरो खुट्टामा बाँध्दा पनि सुहाँदैनस्” भन्ने वाक्यलाई विश्लेषण गर्ने हो भने आफ्नै शरीरका अंगहरुमा पनि विभेद गरिएको छ । मानव शरीर पूर्णताको लागि टाउको र खुट्टाको उत्तिकै महत्व रहे पनि शीरलाई सम्मानको प्रतीक मानिन्छ भने खुट्टालाई अपमानको ।

अन्त्यमा, हाम्रो समाजमा विद्यमान हिंसाको रणनीति मान्छेको जन्मदेखि मृत्यसम्म कायम गरिएको छ । मावन शरीरका अवयवदेखि पशुपंछीसम्म फिँजाइएको विभेदको विषले विकासको घाँटी अठ्याइरहेको छ । हिंसा र विभेदको मुख्य जड हाम्रो चेतनास्तरमा अड्किएको छ । तसर्थ , स्वविवेकी बनौं । जातीय विभेद गर्नुअघि आफूमाथि विभेद हुँदा कस्तो लाग्दो हो भनी मनन गरौं । छुवाछुत प्रथा अन्त्य गर्न व्यापकरुपमा जनचेतना फैलाऔं । जुनसुकै हिंसा विरुद्धको कानुनलाई कडाइका साथ कार्यान्वयन गरौं । हिंसा र जातीय विभेदमुक्त सभ्य समाज निर्माणार्थ एकजुट बनौं ।