ठण्डी बिहानी । पूर्वी पहाडबाट बिहानीले ल्याएको चिसोलाई घाम आफ्नो न्यानोले पगाल्ने कसरत गर्दै छ । यो बिहानीको घामको किरण हर घरमा भिन्नै ठाउँबाट छिर्छन् होला । कम या ज्यादा मात्रामा पस्न पाउँछन् होला । कुनै घरमा त पस्नै पनि पो पाउँदैनन् होला । यो घर घामको मन पर्ने ठाउँ हो । यो घर देवीको हो । यतिबेला पूर्वी झ्यालबाट घामका छड्के किरणहरू ग्यासमाथि उम्लिरहेको चियाको भाँडोमा छरपस्ट फैलिएका छन् । ती किरणहरू चिर्दै चियाबाट सिलिङ्ग ताक्दै बाफहरू उडिरहेका छन् । केही बाफहरू देवीको शरीरमा मिश्रित भई रहेका होलान् । देवी भान्सामा उड्ने बाफहरूको एउटा भण्डार त होलिन् ! भातको बाफ,दालको बाफ,अनेक साग सब्जीको बाफ । बाफैबाफको भौतिक अस्तित्व त होलिन् देवी ! देवीलाई लाग्दो हो, चिया बनाउनु स्वास फेर्नु जस्तै हो । चिया बनाउनु कपाल कोर्नु जस्तै हो । चिया बनाउनु देवीलाई देवी बनाउने रङ्ग हो, देवीको अस्तित्वमा मिठास थपिदिने चियापत्ती हो । देवी उम्लिसकेको चिया एउटा कपमा हाल्छिन् र बाँकी थर्मसमा खन्याउछिन् ।

“बाबु, चिया खाइसकेर तल गाग्रीको पानी माथि लेर आइज् है ! म मन्दिर गएर आउँछु ।”

अमृतको झ्यालको फ्रेमले पर… देवी हातमा थाली बोकेर मन्दिर जाँदै गरेको हेरिरहेको छ । अमृत पनि झ्यालमा अडेस लागेर देवीलाई हेरिरहेको छ । उसको स्मृतिमा धमिलिँदै गएको देवीको आकृति हो शायद । अमृतको ७ वर्षको वैदेशिक बसाइले ल्याएको दूरी बिल्कुल यस्तै देखिन्छ होला  । खालीपनमा उनीहरूको सम्बन्ध ठम्याउनै नसकिने मसिनो थोप्लो हुँदै विलीन भइरहेको । अमृत देवीको आकृति देखिन छोडेपछि भान्सातिर उक्लिन्छ । सुस्त सुस्त चियाको कपबाट उडिरहेका बाफ अमृतले उठाएर मुखतिर लग्दै गर्दा बिथोलिन पुग्छन् । ऊ चिया बोकेर हाफटपमा निस्किन्छ । पौष महीनाको चिसोले गमलाका फूलका बोटहरू सुकेर गुन्द्रुक जस्ता भएका छन् । कुर्ची गमलातिर फर्काएर ती गमलाका सुकेका बोटहरूलाई हेर्न थाल्छ । केहीबेर हेरिरहन्छ र हेर्दा हेर्दै देख्छ – देवी एउटा गमलाको डिलमा खुट्टा झुन्ड्याएर बसेकी छिन् । अमृत सँगैको अर्को गमलाको डिलमा देवीतिर फर्किएर बसेको छ । गमलाहरू बिस्तारै टाढिँदै जान थाल्छन्, मानौँ ती गमला बीच निर्माण भइरहेको भेद उनीहरूको सम्बन्धमा आएको दूरीको मुहान हो ।

“अमृत, मेरो आवाज सुन्न सक्छस् ?”

“हावा जोडले चलिराछ मम्मी, के भनेको बुझिन !”

“चिया सकिस् कि बाँकी छ ?”, अमृत सुन्छ, “तँसँग धेरै गफ गर्न मन छ, पारि आइज् न !”

“मम्मी, चियामा चिनी अलि बढी भएछ ।”, देवी सुन्छिन्, “मम्मी, तपाइँको काखमा सुतेर घाम नतापेको धेरै भयो । वारि आउनु न, म म्याट ओछ्याउँदै गर्छु ।”

“म मन्दिरबाट आएर फेरि अर्को चिया बनाइदिन्छु, त्यो चिया न खा है ! तँलाई घाममा सुताएर तेल नलगाइदिएको कत्ति भैसक्यो । मैले तेल तताएर ल्याइसकेँ, बाबु तँ वारि आइज्, झट्टै ।”

भँगेराको एक जोडी देवीले सानो प्लेटमा राखिदिएको चामल खाइसकेर भुर्र उड्छन् । खाली प्लेट छतको डिलमा अहिले खस्ला भरे खस्ला गर्दै केही सेकेन्ड ढिकीच्याउँ खेल्छ, र अन्त्यमा हाफटपको भुइँमा खस्छ । अमृतको एकोहोरोपन प्लेट खसेको तीखो आवाजसँगै तोडिन्छ । अमृत प्लेटलाई गमलामा ठड्याएर राख्छ, र हेर्छ पर आकाशको नीलो समुद्रमा भँगेराको जोडी कालो दुइटा थोप्लो भएर घरि तल घरि माथि हुँदै बग्दै गइरहेका छन् ।

बिहानीको नौ बज्दै होला । अमृतको पेटमा ल्यापटप छ । ल्यापटपमा मन्द आवाजमा गीत बजिरहेको छ । अमृत हिजो विपाश्यना कोर्सका लागि आएको कन्फरमेसन मेल फेरि एकपटक चेक गर्छ । झ्यालको फ्रेममा बिहान बिन्दु आकारमा विलीन भएको देवीको आकृति अहिले भने बिन्दु आकारबाट यथार्थमा देवी हुँदै आइरहेको छ । अमृत आँखा चिम्लन्छ । थाहा छ अमृतलाई, देवी अबको केही बेरमा तल आँगनमा आइपुग्छिन् । आज उसले देवीलाई भन्नु छ, दश दिनका लागि ऊ फेरि घर छोडेर जाँदै छ । देवीले बुझ्लिन् ? अमृतको लामो वैदेशिक बसाईपछि देवीलाई लगेको होला, अब अमृत सदाका लागि फर्कियो । तर फेरि ऊ जाँदै छ । यस पटक बाध्यताले होइन ऊ आफूलाई खोज्न जाँदै छ । अजनबी भएको उसको घरलाई अपनाउन जाँदै छ । अमृत घर र देवीबाट दश दिन टाढिएर सदाका लागि घर फर्किन चाहन्छ ।

“बाबु ?”, देवीको आवाज आँगनबाट झ्याल हुँदै अमृतको कानसम्म पुग्छ । अमृत केहीबेर अझै आँखा चिम्लिएर बसिरहन्छ ।

“पानी माथि लग् भनेको बिर्सिस् बाबु तैँले ?”, अमृत ल्यापटप बन्द गर्छ र तल आँगनमा झर्छ । घाँटीसम्म पानी भरिएको गाग्री धारोमुनि अमृतलाई पर्खिरहेको छ । देवी धारोको टुटीमा जोडिएको पाइप अलि पर लगेर खुट्टा पखाल्दै छिन् । अमृत ढोकाबाट निस्कन्छ र गाग्री उचाल्न थाल्छ ।

“बाबु, पख् एकछिन ।”

अमृत उचाल्न लागेको गाग्री फेरि भुइँमा राख्छ । देवी अमृतको निधारमा टीका लगाउँदै भन्छिन्, “बाहिर हिँड्ने बेलामा निधार पुछी हाल्छस् ! यो कानको फूल चाहिँ कानमै हुन दे नि !”

देवी मुस्कुराउँदै सुन्तलाको एक केस्रो अमृतको मुखमा हाल्दिन्छिन् । अमृत गाग्री उचाल्छ, मुखमा सुन्तलाको गुलियोसँगै देवीको ममताको स्वाद जिब्रोले पाएपछि एक खालको सन्तुष्टिको मसिनो झलक उसको ओठमा सलबलाउन आइपुग्छ । अमृत जस्तो छोरा शायद यस्तै ममतामयी पलहरूको अभावले एक्लिन् पुग्छन् होला ।

देवी साँझको बत्ती बाल्दै छिन् । देवीले बजाई रहेको घण्टीको ध्वनि पूजा कोठा हुँदै भान्सामा भात पाकिरहेको कुकरको सिट्ठीसँग दोहोरी खेल्दै छ । अमृत उठेर ग्याँस बन्द गर्छ र कचौरामा पखालेर राखेको आलु काट्न थाल्छ ।

“ग्यास बन्द गरिस् ! कुकर पुरानो भएर होला तीन चार सिट्ठी नलागी भात पाक्दैन ।”, देवी ग्यास बाल्छिन् र अमृतको विपरीत कुर्चीमा बस्छिन् ।

“खै ले यता म काट्छु आलु !”, अमृत कचौरा देवीतिर ठेल्छ ।

“चिसोमा किन माथि आको, जा तल हिटर तापेर बस ?”

“चिया खाने मम्मी ?”

“म तातो पानी खान्छु, तँलाई मात्र बना न ।”

अमृत पानी बसाल्छ । उसलाई वास्तवमा “मम्मी, म दश दिनका लागि विपश्यना गर्न जाँदै छु” भन्नु थियो । अहिले उम्लिँदै गरेको पानीको बाफलाई यो सन्देश भनिदेला ? वा देवीले कप मुखतिर लग्दै गर्दा उनको अनुहारभरि फैलिने तातो बाफले भनिदेला ?

सन्देश पाएर देवी भन्लिन्, “मलाई थाहा छ, तँलाई यो घरमा मन लागेको छैन ।”

बाफमा मिश्रित अमृतको सन्देशले भन्ला, “मम्मी, तपाईँको अमृत कतै हराएको छ । तपाईँलाई विदेश जानुअघिको तपाईँको अमृत चाहिएको छ हैन ? मलाई पनि म चाहिएको छ मम्मी । जो तपाईँसँग गफ गरेर कहिल्यै थाक्दैन थ्यो । जो तपाईँसँग हुँदा दुनियाँ बिर्सिन्थ्यो । जो तपाईँलाई नै पूरा संसार ठान्दथ्यो । म त्यो अमृत खोज्न जाँदै छु ।”

अमृत उम्लिरहेको पानीतिर एकोहोरिएको देखेर देवी भन्छिन्, “अमृत, पानी उम्लिसक्यो, किन टोलाउँछ यो केटो ।”

अमृत कपमा तातो पानी खन्याउँछ अनि देवीको अगाडि राखिदिन्छ र बाँकी पानीमा चिनी, चियापत्ती राख्न थाल्छ । देवी पानी पिउँदै आलु काट्न थाल्छिन् ।

“मम्मी ?”

“भन् न के !”

“म ध्यान गर्न जाँदै छु । दश दिनका लागि ।”

देवी केहीबेर आलु काटिरहन्छिन् । अमृत ग्यास बन्द गर्छ । कपमा चिया भर्छ । कुर्चीमा बस्छ । देवीको अनुहारमा एक खालको न्यास्रोपन छाउँछ । मानौँ, तातो पानीको बाफले उनको अनुहारको रङ सँगै उडाएर लगेको छ । देवीलाई लागेको होला, अमृत अब सधैँ केही न केही बाहानमा घरबाट पर पर जाने छ । उनले नौ महीना कोखमा राखेको अमृत छिप्पी सकेको छ । अब देवीको काखमा अटाउँदैन न त ढाडमा देवी उसलाई बोक्न सक्छिन् । अमृत भविष्यको खोजीमा उड्न थालिसकेको छ । देवीलाई थाहा छ, अमृतलाई उसको उडानको यात्रामा रोक्नु भविष्यमा अङ्कुश लगाउनु हो । उसलाई खुला उड्न छोडिदिए एक दिन सारा संसार घुमेर देवीको गुँडमा पक्कै फर्किने छ ।

अमृत देवीको एकोहोरोपनलाई बिथोल्दै भन्छ, “मम्मी, भोलि बिहान निस्किन्छु म ।”

देवी अमृतलाई हेर्छिन् । उनलाई भन्न मन हुँदो हो, “अमृत, मलाई पनि यो घरमा एक्लै मन लाग्दैन । मलाई सँगै लान्छस् ?”

देवी र अमृतको बीचमा निर्माण भएको भेदमा बिलाएको देवीको आवाज अमृतले सुन्न सक्थ्यो भने भन्दो हो, “मम्मी, मैले तपाईँका लागि पनि सामान प्याक गरिसकेँ ।”

देवी भन्दी हुन्, “साँच्ची, मलाई तँसँग कत्ति घुम्ने रहर थियो ।”

अमृत भन्दो हो, “मम्मी, अब तपाईँ मेरो हात समाउनु, म तपाईँलाई घुमाउँछु ।”

कुकुरको सिट्ठीले अमृत र देवी दुवैलाई भान्सामा ल्याइदिन्छ । देवी उठेर ग्यास बन्द गर्छिन् ।

“खाली पेट निस्किन्छस् बिहान ? रोटी बनाइदिम्, चियासँग खाएर निस्किनु !”

“पर्दैन, म चिया मात्र खाएर निक्लिन्छु । चिसोमा उठ्नु पर्दैन तपाईँ बिहान । जाने बेलामा गएँ भन्न आउँछु ।”

खाटमा अमृतको ब्याग मुख आँ गरेर बसेको छ । बिस्तराभरि बिस्कुन सुकाए झैँ उसका सरसमानहरू फिँजारिएका छन् । अमृत ब्यागमा आवश्यक समानहरू प्याक गर्दै छ । देवी ढोकामा आउँछिन् । ब्याग प्याक गरिरहेको अमृतलाई केहीबेर हेरिरहन्छिन् अनि भन्छिन्, “सुन त, मैले सुक्खा रोटी बनाइदेर राख्देको छु । बिहान चिया र रोटी खाएर निस्की है !”

“पर्दैन भनेको हैन त !”

“चिसोमा छिटो उठ्न सक्दिनँ नत्र तातो तातो बिहानै बनाइदिन मन थ्यो ।”

“म तताएर खाउँला ।”

“ल म सुत्न गएँ ।”

देवी हिँडेपश्चात उनको पछ्यौरी ढोकाबाट लत्रिँदै गायब हुन्छ । देवीले “सुत्न गएँ है” भनेको आवाज अमृतको जवाफको पर्खाइमा केहीबेर ढोकामा अड्डी रहन्छ । अमृत देवी ढोकाबाट हिँडेपश्चात् केहीबेर ब्याग मिलाइरहन्छ अनि देवीलाई बोलाउँछ, “मम्मी !”

अमृत ढोकामा पर्खी थाकेर फेरि देवीको अस्तित्वसँग मिल्न गएको “ल, म सुत्न गएँ” लाई जवाफ फर्काउन खोज्छ । अँध्यारो शून्यतामा अमृतको “मम्मी” पुकार कुनै गहिरो भेदमा ढुङ्गा खसे झैँ बिलाउँछ । अमृतलाई भन्नुथियो, “मम्मी, एकछिन गफ गरौँ न ।”

फेरि एउटा नयाँ बिहानी पुरानो बिहानीको याद बोकेर उपस्थित हुन्छ । घामको सट्टा कुहिरो बोकेर आएको बिहानी । कुहिरोभित्र कहीँ कतै सम्भावना बोकेको बिहानी । हिजो कलिला घामका किरणमा छ्याङ्ग देखिएको रोड यो समय कुहिरोभित्र लुकेको छ । देवी बिस्तरामै छिन् । अमृत तयार भइसकेको छ, र देवीको कोठाको ढोकामा उभिएको छ ।

“मम्मी ?”

देवी निन्द्राले लट्ठ्याएको आवाजमा जवाफ फर्काउँछिन्, “है !”

“म निस्किन लगेको ।”

“कति बज्यो र ? अँध्यारो छ त बाहिर ।”

“कुहिरो लगिरा’छ । चिसो छ निकै ।”

“चिया बनाइस् ?”

“खाइसकेँ, रोटी पनि तताएर खाएँ । म निस्केको अब ।”

“फोन गर्न न बिर्सी है ।”

“हस् ।”

अमृत घरबाट निस्कन्छ र कुहिरोले अङ्गालेको रोडमा पस्छ । त्यही रोड जहाँ केही समयपछि देवी हातमा थाली बोकेर मन्दिर जाँदै हुने छिन् ।अहिलेको अमृत हिँडेको भूत र केही समयपछि मन्दिर जाँदै गरेको देवीको भविष्य यो रोडको यादमा सँगै बात मार्दै हिँड्छन् त होला । त्यति बेला पनि कुहिरो त लागिरहेकै हुन्छ होला । कुहिरोभित्र रोड छाम्छामछुम्छुम् गर्दै हिँड्ने क्रममा देवी अमृतलाई भन्दी हुन्, “अमृत, मलाई पनि ध्यान गर्न सिकाउँछस् पछि आएर ?”

अमृत भन्दो हो, “तपाईँलाई त आउँछ त ध्यान गर्न । मन्दिर जानु भनेको पनि ध्यान गरेको नै त हो ।”

“उसो भए मसँग मन्दिर हिँड् न त । म सिकाउँला नि तँलाई ध्यान गर्न ।”