“ केटा : ऋणको भारी बोकाएर ठेल्यो घरदेशले

नुनको गुन तिराएर पेल्यो परदेशले

केटी : नजाऊ भन्दा नमानेर गयौ आफ्नै रहरले

देशमै काम गरिखाऊ भन्थे गाउँ-शहरले

युगल : रहरले परदेशी कोही हुन्न

दु:खमा नपरी कोही रुन्न l “

अभाव,आवश्यकता र बाध्यताले देश छोडेर बिदेशिन विवश लाखौँ नेपाली युवाहरूको साझा अनि सत्यकथा गीतको रुपमा सार्वजनिक भएको छ l

एउटा युवा दुःख गरेर पढ्छ, दक्ष हुन्छ तर देशमा आफ्नो योग्यता अनुसारको काम पाउँदैन l हातभरि शैक्षिक प्रमाणपत्रहरू बोकेर रोजगारीका लागि विभिन्न निकाय चहार्दा पनि जागिर नपाएपछि बाध्य भएर घरजग्गा धितो राखेर चर्को ब्याजदरमा पैसा काड्छ र विदेशिन्छ l

आर्थिक र भौतिक रुपमा सबल अनि प्राकृतिक रुपमा सुन्दर देशमा पुगेर काम त शुरु गर्छ तर आफ्नो मन, मुटु स्वदेश तथा घर-परिवारसँगै पुगिरहँदा ‘होमसिक’ले लगभग डिप्रेसनको शिकार बन्छ l वृद्ध बा-आमा, जवान श्रीमती अनि नाबालक छोरालाई चटक्कै छोडेर विदेशिनु रहर नभएर कहर भएको स्वीकारोक्तिसँगै चित्त बुझाउने कोसिस त गर्छ तर उता प्राणप्यारीको ‘कि त मलाई उतै लैजाऊ नत्र तिमी आऊ, एउटा मुटु दुइटा हुँदा झन् दुख्छ घाउ’ फोन संवादले विरक्तिन्छ l

गीतले झन्डै असी लाख आप्रवासी नेपालीहरूको साझा कथा बोलेको छ l खासगरी शैक्षिक बेरोजगार अनि स्वदेशमा व्याप्त बेरोजगारी समस्याले उत्पन्न गरेको जर्जर परिस्थितिलाई उजागर गरेको छ l आफ्नै देशमा कामको अवसर भए विदेशिने रहर कसलाई हुन्छ र भन्ने गहन विषय र यथार्थ भावको प्रतिनिधित्व गर्दै प्रस्तुत गीत यही ४ जेठ २०७९ बुधबारदेखि साइराम पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ l

पर्यटन उद्योगमा चामत्कारिक विकास गरेको, टापुहरूको देश, पूर्वी अफ्रिकाको सेसेल्समा छायाङ्कन गरिएको यो पहिलो नेपाली म्युजिक भिडियो बनेको छ l यहीँ कार्यरत केही सिर्जनशील नेपाली युवाहरूको साझा प्रयासमा निर्मित यो म्युजिक भिडियोको गीतमा गणेश खड्काको शब्द, राजनराज सिवाकोटीको सङ्गीत, स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ l

सेसेल्स र नेपालमा आधा-आधा भाग छायाङ्कन गरिएको गीतको भिडियो सुरेश पाण्डेले निर्देशन र पंकज श्रेष्ठले सह-निर्देशन गरेका हुन् l आरपी पन्त, गरिमा शर्मा, निर्मल शर्मा र ममता लामाको जीवन्त अभिनय रहेको प्रस्तुत भिडियोमा पंकज श्रेष्ठ, मनोज बिक, आरसी राई, खेम गोदार थापा, देवसिंह ठकुरी, विकाश थापा मगर, शिवराम अर्याल, चन्द्र चेम्जोङ साथै बालकलाकारमा तिलक बिकले सहायक भूमिका निर्वाह गरेका छन् l गुरिल्ला रक क्रियसनको पहिलो प्रस्तुति रहेको यो गीतको निर्माण पक्षले प्रवासमै रहेर पनि आफ्नो भाषा, साहित्य, सङ्गीत, संस्कृति र कलाको उन्नयनका निम्ति आगामी दिनमा पनि सक्दो प्रयास गर्ने बताएको छ l

[embedyt] https://www.youtube.com/watch?v=Ie2maTHyGks[/embedyt]