म तपार्ईंहरूछेउ आफूले देखेको कुरा अथवा दर्शन विषयमा लेख्न लागिरहेछु । आफूले देखेको वास्तविक हो कि भ्रम हो यस निम्ति साक्षी र गुहार माग्दै संसारभरका सुप्रसिद्ध दार्शनिकसित विशेष बत्तीहरू ऋण लिएर तिनकै उज्यालोमा अँध्यारो जगभित्र म सत् खोज्दै छु । तर, आँखा चाहिँ आफ्नै प्रयोग गरेको छु– विचार पनि आफ्नै ।

जो जे देख्छ, त्यो त्यसैलाई सत्य सम्झन्छ । देखेको अरूलाई भन्नु हाम्रो अधिकार त्यति मात्र हो भन्ने मलाई लाग्दछ । परन्तु, मानिस पृथ्वीमा बसेर आकाशमा आँखा दौडाउँछ, देखेको ठाउँमा ऊ पुग्न सक्दैन् । अझ मनले देखेको गाउँमा त उसका दूरबिन आँखा पनि पुग्न सक्दैनन् ।

त्यसैले धेरै बुद्धिमान् मानिसहरूले आँखा चिम्लेर मनको आँखाले विश्व टटोलेका छन् । सात–सातओटा स्वर्ग र बैकुण्ठ बनाएका छन्, दूध र दहीका समुद्र मथेका छन् ।

जतिसुकै तेजी भए पनि निराधार कल्पना टिपाहा घोडाजस्तै जथाभावी दगुर्छ, त्यसैले अन्धविश्वासलाई कत्ति पनि नरुचाएर बरु गोरुजस्तो लोसे भएर भरपर्दो प्रत्यक्षलाई र प्रत्यक्षानुकूल अनुमानलाई प्रमाण मान्ने पनि धेरै बुद्धिमान् छन् ।

म यिनकै पक्षमा छु । मलाई असम्भव कल्पना पनि मन पर्छ । तर, कविको हातमा वाल्मीकिको ‘रामायण’ र दाँतेको ‘डिभाइन कमेडी’ भन्नुपर्छ, वैज्ञानिक वा दार्शनिकहरूले गरेको कपोल कल्पना चाहिँ मलाई हात्तीले सिङको अथवा घोडाले सुँढको धक्कु लाएजस्तै लाग्छ, मन पर्दैन ।

म अहिले जति कुरा बोल्न लागेको छु, त्यसले अभिमानी भनाइ खानुपर्छ भन्ने मलाई थाहा छ । जे होस् म देखेको कुरा बोल्छु, सत्य हो भने त्यो फेरि अभिमानी पनि कसरी होला । भए पनि हानि छैन ।

संसारमा आजसम्म कसैले निरपेक्ष सत्य बोल्न सकेको छैन, सबको जिब्रोमा अड्कल छ, किनभने जति–जति मानिस सत्यतामा उक्लँदै जान्छ, उति–उति उसले सामाजिक मञ्चबाट ओर्लँदै जानुपर्छ । मानिसमा त्यतिसम्म तल पुग्ने साहस विरलै हुन्छ, जहाँ केवल दुर्भिक्ष र मृत्य मात्रै भेटिन्छन् ।

म शिर निहुराएर भन्छु– मेरो ‘सत्य’मा पनि अपेक्षाको मात्र होला । राष्ट्रको वा जातिको वा दलको स्वार्थ पल्टाउन ऊ आफ्नै कुरा काट्न पनि थाल्छ, सत्य बोल्ने महापुरुषको संसारमा अभाव छ । उसैले सानु बुद्धि भएको, मजस्तोलाई पनि बोल्न चासो पर्दो रहेछ ।

अब प्रथमतः मेरो यही भन्नु छ– हजारौँ वर्ष बिते मनुष्य समाजले केही भौतिक उन्नति त गर्यो भन्न पनि गाह्रो लाग्छ । चराहरू उडेको देख्दा विमानमा उड्नेहरूले पनि लाज मान्नुपर्छ । दरिद्र नांगा मानिसहरूले हिउँमा खेल्ने झ्यापुल्ले सेता भालुहरूलाई बादशाह सम्झनुपर्दछ ।

‘भिटामिन’ भनेर कराउने दुब्लादुब्ला डाक्टरहरूले हात्तीका मोटा छावा देखेर भाग्नुपर्दछ । मानिस प्रकतिको त्यो पुड्के छोरोजस्तो छ, जो कुर्कुच्चा अग्लो बनाएर पनि अरू भाइहरूभन्दा होचै छ ।

भूकम्पका घरहरू भत्केका र रुख नभत्केका देख्दा प्रकतिको सोझो बाटो छोडी यताउति लाग्ने मानव जातिले धेरै ठक्कर खाएको सम्झन्छु । जंगल फाँडेर नगर बसाउनाले वर्षा कम्ती भएर उब्ज्िनी पनि घटेकोमा मानिसलाई नै बात लाग्छ ।

ठूला–ठूला सहरभित्रका ढल र नालहरू गन्हाएको, जंगल बास्ना आएको देख्ता फेरि प्रसिद्ध ठूला नगरहरूमा हात पसारेको पसार्यै तेल नपुगेर मरेका माग्नेहरूलाई देख्ता र जंगलमा चाहिँ मान्छेलाई विचित्र टाउको बनाएका भयंकर राक्षस सम्झी भाग्ने हृष्टपुष्ट, छिटा–छरिता, चिप्लाचाप्ला पशुपक्षीहरूलाई देख्ता यो उखान मनमा आउँछ– मनुष्य जाति आफूले खनेको खाडलमा आफंँ पुरिन आँटी रहेछ ।

भौतिक दर्शनमा यही आउँछ । अब आध्यात्मिकतिर मानिसले मलाई कति माझ्न सकेको छ ? अथवा मानिसको मन कति माझिएको छ ? अथवा मनुष्यको मन औसत जति माझिएको छ, त्यसभन्दा बढी मात्रामा माझ्न सकिन्छ ? हेर्नुपर्ने त्यही छ । के देखिन्छ ?

सबभन्दा पहिले म स्वास्नी मानिसको कुरा लिन्छु । जाति–जातिको घात–प्रतिघातलाई छोडौँ, स्त्री–पुरुष त सृष्टिका दुई हात समान पारस्परिक सहायक बनेर आइरहेछन् ।

वास्तवमा जन्मभूमि स्त्री नै हुन्, बालबच्चा उनकै साध्य फल हुन् । पुरुष त साधन वर्षा मात्र हुन् । जे होस्, गर्भधारणलाई पनि साधारण सम्झेर एक छिन हामी स्त्री–पुरुषलाई समान आवश्यक सहयोगी सम्झौँ । तर, संसारमा के घटिरहेछ ?

स्वास्नी मान्छेको शारीरिक दौर्बल्यका आधारमा लोग्ने मानिसले कुन अत्याचार गर्न बाँकी राख्यो ? स्त्रीसम्बन्धी अध्यात्मवादी इतिहासको नीचतामा मानिसभन्दा तल कुनै पशु जाति गुड्न सकेको छैन ।

मनुले आफ्नी आमालाई पनि बाँधिराख्ने उपदेश दिएका छन् । बुद्ध र क्राइस्टले स्त्री जातिमा जाबो स्वाभाविक दया देखाउँदा कत्रो नि अलौकिक कुरो सम्झिएको थियो । यहाँ सेक्सपियरको उक्ति सम्झिन्छु, ‘हेर, अँध्यारो रातमा त्यस मैनबत्तीले कति दूरसम्म ज्योति फाल्छ । यस दुष्ट संसारमा सानु सत्कार्य पनि त्यसरी नै झल्कन्छ ।’

फ्रान्सका रुसोजस्ता उदार व्यक्ति लेख्तछन्, ‘स्वास्नी मानिसको कर्तव्य धाई बनेर बालकलाई स्याहार्नु, ठूलो भएपछि प्रेमपूर्वक लोग्ने मानिसको शान्ति र सुविस्ताका निम्ति लागिरहनु हो ।’ अरू पूर्वी देशहरूले त स्वास्नी मानिसलाई घुम्टोभित्र पोको पारेर काखीमन्तिर दबाउनमा बाजी माथ गरेका छन् ।

रुसोको भन्दा पनि साङ्ग्रो छाती भएका भानुभक्तले लेखेको ‘बधु–शिक्षा’ नेपाली स्वास्नी मानिसहरूको यथासम्भव सुखको इतिहास छ, त्यही पढ्दा पनि नेपालीले आफ्नो अत्याचारमा शिर झुकाउनपर्छ ।

संवत् १८४९ सालमा एक अंग्रेज महिला मेरी ओल्स्टोन क्याफ्फले नारी अधिकार विषयमा एक पुस्तक लेखिन् । त्यस्तो सर्व–सामान्य स्वाभाविक मागले पनि युरोपलाई थर्कायो, एक मुनिको शब्दले ठूला–ठूला वीरको मुटु हल्लायो अनि नारीका पक्षमा ढल्केर परिश्रममा प्रख्यात व्यक्तिहरू बोल्न लागे, इलेन के, सेल्मा, लेगर्लफ, जेन अछम्स, इब्सेन, सा ।

यसरी पश्चिमले स्त्री जातिलाई दया देखाएको देखेर पूर्व पनि क्रमशः उदार बन्दै आयो, पुस्तकलाई पुलिन्दा गरेको कागत पन्छाएजस्तै यता–उता नकाब घुम्टीहरू हटाउन लागे । परन्तु, अझै सबभन्दा पछाडिएको देश भोटमा नारीलाई दिएजति अधिकार सबभन्दा अगाडिएका देशहरूले दिन सकेका छैनन् ।

अतः पशु स्त्रीले पशु समाजमा पाएको होइन, लिएको जति अधिकार मनुष्य नारीले लिन कति शताब्दी लाग्ने हो । स्थानभेद, रङभेद, जातिभेद, विश्वासभेद, धर्मभेद, मतभेद र अछुत प्रथासम्मले सडेको समाजमा मानसिक स्थिति कति खस्रो होला ।

स्वर्गको आनन्द देखाएर लोभ्याउँदा अथवा नरकको डर सम्झाएर तर्साउँदा मात्र तह लाग्ने यो मनुष्य समाज हो भने धार्मिक जाल टुट्ना साथ मर्यादा भंग गर्ने फोहरी यो मानव समाज ठहरिन्छ भने पशु समाजको भन्दा हाम्रो आध्यात्मिक स्तर गिरेको रहेछ भनेर हामीले नै स्वीकार गर्नुपर्नेछ ।

यस शोकमा मानिसले त्यहाँसम्म रुनुपर्दछ, जहाँसम्म अश्रु वर्षाले नयाँ समाजमा पालुवा हाल्न सक्तैन । फेरि म भन्छु, नयाँ समाज त बन्ला, तर त्यो नयाँ समाज सुसमाज होला नहोला ? प्रश्न त्यही छ ।

छ हजार वर्षअघिदेखि नै मनुष्यको यस्तै उन्नति र दुर्गति छ– ऊ एक थोक समात्छ, अर्को थोक हातबाट खसाल्छ । एक ज्ञान फूल टिप्ता अर्को अज्ञान कण्टक सँगसँगै टिप्छ, त्यो काँडा मिल्काउन खोज्छ, फूलसमेत फालिन्छ ।

यस्तै देखेर इमर्सन भन्दछन्, ‘समाज कहिल्यै अगाडि बढ्दैन, यो नयाँ कला उपार्जन गर्छ, पुरानो अन्तज्र्ञान हराउँछ ।’ कार्लाइल भन्दछन्, ‘अज्ञानमै पूर्ण आनन्द छ भने बुद्धिमान् हुनु मूर्खता हो ।’

केही हटेर यस भवनभरको गन्जागोललाई अलिकति टाढाबाट हेर्दा देखिएको कुरा निर्भय भएर भनूँ भने मानिसहरू जुन–जुन कुरा भेट्टाएर यति कोलाहल मच्चाइ रहेछन्, ती कुराले त्यतिका हिँसा बदलिनुका कारण बन्नुपर्ने प्रयोजन देखिँदैन । जुहारी खेल्ने कविताले लडाइँ नखेलिनु पर्ने, निद्रा बोलाउने कथाले मृत्यु नडाकिनु पर्ने ।

म पहिले वैदिक ज्ञानको एक–दुई दृष्टान्त सम्झन्छु– ऋग्वेदमा कण्व ऋषि वायुलाई सम्बोधन गरेर भन्दछन्, ‘हे दानी ! तिमी पूरा तेज र बल धारण गर्छौ । शत्रुलाई कम्पाउने वीर । ऋषिहरूको द्वेष गर्ने शत्रुको नाश गर्नलाई जसरी वाण छोडछौ, त्यसरी अर्कै शत्रुलाई (उसमाथि) छोडिदेऊ !’ यो वायुको मन्त्र हो वा कसैको प्राणवायु हर्ने तन्त्र हो ! फेरि हिरण्य स्तूप ऋषि इन्द्रलाई सम्बोधन गर्दछन् ।

अनु स्वधामक्षरन्नापो अस्या वर्धत मध्य आ नाव्यानाम् ।
सध्रीचिनेन मनसा तमीन्द्र ओजिष्टेन हम्मनाहन्नभिद्यून् ।।

भन्छन्, ‘धानको बालाजस्तै पानी चल्न लाग्यो । शत्रु नाउमा चढेर नदीका बीचमा बढिरहेका थिए । इन्द्रले धर्म मनले बज्र प्रहार गरेर केही दिनमै मारे ।

अथर्ववेदमा ऋषि भन्दछन्, ‘ठूला पुरुष अधिराज सोमदेवका शिरबाट सतहत्तर किरण प्रकट भए । अथवा– ‘ओ३म् खंं ब्रह्म ।’ ओ३म् आकाश रूप र पूर्ण ज्ञानरूप ब्रह्म हो ।

हजारौँ वर्षअघि छन्दमा गाइएका वेद यिनै हुन् । अब उपनिषदको समय आयो । बृहदारण्यकोपनिषद्को अध्यात्मविद्या यस प्रकार छ– वाणीले भन्यो– म बोल्छु, चक्षुले भन्यो– म देख्छु, कानले भन्यो– म सुन्छु इत्यादि ।

अर्को ठाउँमा ‘ब्रह्म उसलाई पर गर्छन्, जो उनलाई आत्मादेखि भिन्न सम्झन्छन् ।’ उपनिषद्को सार हो भन्ने प्रसिद्ध गीता भन्छ, ‘मर्ने बेलामा जुन कुरा सम्झेर मर्यो त्यो त्यसैमा मिल्छ ।’ गीतामा परमेश्वर मान्छे भएर बोल्छन्, ‘भक्तले भक्तिले मलाई पात फूल फल, पानी जे दिन्छ म त्यो सहर्ष लिन्छु ।

ऋग्वेद भन्छ, ‘सब जगत्का राजा वरुण हुन् । उनले सूर्यको जाने बाटो बनाएका हुन्’ अनि ‘अमर देवतामा प्रथम अग्नि देव हुन् ।’ अथर्ववेद भन्छ, ‘सबमा आदित्यकै अंश छ ।’ ब्राह्मण भन्छ, ‘विष्ण यज्ञ हुन्, आत्मा हुन्, प्राण हुन्, सब देवता हुन् ।’

वेद र उपनिषद्हरूको यस सिद्धान्तले मानवजातिको उत्थान कतिसम्म गर्यो छाम्न सकिँदैन । बरु, ऋग्वेदका नारायण ऋषिले पुरुषका विषयमा राम्रो उक्ति गरेको यही हो—

‘ब्राह्मण यसको मुख हो, क्षत्री यसको हात हो ।
वैश्य यसको तिघ्रा हो, खट्टाबाट शुद्र जन्माइए ।।’

भारत वर्षमा यही श्लोकबीजले जाति प्रथाको जरो हालेको हो, त्यतैबाट अछुत प्रथाको वृक्ष झांगिएको हो । त्यो वृक्ष नेपालसम्म पनि फैलियो । त्यस प्रथालाई हटाउन यथासम्भव प्रयत्न गरे, सकेनन् । सम्राट अशोकको प्रयत्न पनि विफल भयो । त्यस प्रथाका विरुद्ध चल्दा नेपालमा स्वामी महाराज रणबहादुर शाहको हत्या भयो, भारतमा महात्मा गान्धीको हत्या भयो ।

मनुष्य–मनुष्यका बिचमा त्यस्तो सामान्य स्वाभाविक स्थिति बाँध्न पनि प्रलयजस्तो भइरहेछ । त्यही पुरानो वैदिक मन्त्रका अनेक अर्थ, अनेक टीकाटिप्पणीमा मनुष्य–शक्तिको वृथा व्यय भइरहेछ, त्यस निम्ति कैयन् संग्राम भइसके, कति हुनेछन् । के यही अध्यात्मोन्नति हो ? त्यस्ता द्रोह विद्याका निम्ति हामीले गौरव मान्ने कि शोक मनाउने ?

पश्चिमतिर यो चाहिँ जातको विषवृक्ष उम्रेन । त्यसैले त्यो उखेल्न प्रयोजन पनि रहेन । परन्तु, अरू–अरू जातका विषवृक्ष उता पनि खडा भए । चाहे युनानतिर होस्, चाहे भारततिर, चाहे संसारमा अन्यत्र, दर्शन प्रारम्भ भएको इतिहास एकै–एकैजस्तो छ । जहाँ भए पनि मानिस अन्त्यमा मानिस नै छ ।

जन्मभूमिको वातावरण तथा संगत र विचारको आदानप्रदानअनुसार मानिसमा विभिन्नता देखिन्छ । साँच्चै भनूँ भने मनुष्यमा दुई जात छन्–जान्ने र नजान्ने, अथवा धनी र गरिब, अथवा ब्राह्मण र शूद्र, अथवा बलवान् र निर्धा । यी दुई जातको भेद सामाजिक दलबलले पृथ्वीको सिउँदो चिरेको चीनको पर्खालजस्तै छ । दुई मानिसलाई भिन्न भनेर तौलन त्यस बेला सक्छौ, जब उनीहरूलाई हामी समान अवसरमा पाउँछौँ ।

अझ कोही मानिस प्रशस्त खान पाएर पनि निर्धो हुनसक्छ, किनभने उसका आमा–बाबु आधा पेट खान पाएर निर्धा बनेकाले उसका हाड अझ फितलै रहेका हुन सक्छन् । कसैलाई पढ्न नदिई हामी मूर्ख भनेर अत्याचारी समाजको साटो झन् उसैलाई दोष दिन सक्छौँ । यी सब कुराबाट पूर्णता पाएका दुई मानिसमा पनि जो अपूर्णता पाउँछौँ ।

त्यसमा समेत पर्याप्त कारण हुन्छ, त्यो पत्ता नपाउनु केवल हाम्रो बुद्धि र विचारको मात्र अपूर्णता हो । अहिले सैयौँ दार्शनिकको नाम लिनु र उनले देखेको कुरो फेरि देखाएर त्यसमै आलोचना गर्नु यो छोटो समयमा सम्भव छैन । तापनि, म एक दुई दृष्टान्त उपस्थित गर्छु ।

युनानतिर पनि पहिले–पहिले दर्शन केवल शारीरिक थियो । युनानी दार्शनिकमा आदिका थैलिज पहिले गणितिज्ञ ज्योतिषी थिए । उनले जुन वाक्यले जगत् हल्लाए त्यो यही हो, ‘तिमीहरूले आजसम्म पूजा गरी आएका देवता सूर्य र ताराहरू केवल आगोका गोला हुन् है !’

थैलिज हाम्रा बुद्धका समकालीन थिए । अनक्सिजनले पच्चिस सय वर्ष अगाडि भनेका थिए, ‘जीवन र आत्मा एउटा हो । कसैले सुनेन । चौबिस सय वर्ष अगाडि देमोकेतुले भनेका थिए, ‘परमाणु र आकाश सिवाय अरू केही छैन ।’ कसैले सुनेन ।

जस्तो, कणादको कुरामा ध्यान दिने कोही भएनन्, किनभने वादरायणले ब्रह्मसूत्र लेखेर प्रशस्त मायाजाल फैलाइसकेका थिए । बुद्ध धर्मले बीचमा एक हजार वर्षजति भारतलाई अर्कै दिशातिर लान खोजेको थियो, तर सकेन ।

शंकराचार्यले मायावादको रङ फेरि गौण बनाए, बुद्ध धर्मलाई नेपाल धपाएर तिब्बत र चीनतिर पठाए । भारत वेदान्तमा झन्झन् उडेर परेवाजस्तै बिलाउँदै गयो ।

दुई सय वर्षपछि भाष्कराचार्य आए, फेरि दुई सय वर्षपछि रामानुजाचार्य, फेरि दुई सय वर्षपछि माध्वाचार्य, फेरि दुई सय वर्षपछि बल्लभाचार्य आएर पुष्टिमार्ग नामको भक्तिमार्ग ल्याएर ‘ब्रह्म सत्यं जगन्मिथ्या’ वादलाई पराकाष्ठमा पुर्याइदिए ।

यस अध्यात्मवादी रसिलो कृष्णलीलाले भारतलाई मुग्ध बनाइदियो– रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, बालगंगाधर तिलक, रवीन्द्रनाथ ठाकुरहरू त के महात्मा गान्धी पनि त्यस भावबन्धनबाट मुक्त हुन सकेनन् ।

त्यही समयभित्र युरोपमा के भयो ? भारततिर जसरी दर्शनपट्टि प्रवृत्ति भएका वेदव्यासहरू जस्ता काल्पनिक बनेर दर्शनलाई कवितामय बनाई आकाशमा मात्रै हेर्न लागे, उसरी युरोपतिर कवितामा उड्ने शक्ति भएका अफलातूनहरू जस्ताले आफ्नो कल्पनालाई सैद्धान्तिक बनाएर संसारसित सम्बन्ध बढाउन थाले ।

यता दर्शन कविता बन्यो, उता कविता दर्शन बन्यो । सामाजिक व्यवस्थापट्टि झुक्ने परम्पराले संवत् १६२५ तिर बेकन निस्के । १६५० तिर हब्स डिकार्टे, १७०० तिर स्पिनोजा, १७५० तिर लँ, बर्कले, ह्युमर, भल्टेयर, अनि क्यान्ट, १८२५ तिर हेगेल, सोपेनहार, १८५९ तिर मिल, स्पेन्सर, १८९५ तिर माक्र्स र एङ्गेल्स, १९०० तिर नित्से, १९२५ तिर बर्गसाँ अनि रसेल ।

तीन सय पचास वर्षअघि बेकन भन्दछन्, ‘मैले यो विचार गरँे कि स्वदेशप्रति मेरो कर्तव्यको ममाथि विशेष अधिकार छ, जसलाई जीवनका अरू कर्तव्यले भेट्न सक्तैनन् ।’

यही बेलातिर हाम्रा नेपाली दार्शनिकहरूले आफ्नो देशलाई पाटी सम्झन लागेका थिए– काशीमा मरे मुक्त होइन्छ, अथवा काशीमा स्वर्ग जाने सिँढी भेटिन्छ । आर्यघाटमा त मानौँ, पातालतिर झनै सिँढी मात्र छ ।

मानिस त मर्छ जान्छ, तर उसले एउटा घर बनाएर छोडेमा बाँच्नेहरू वास बस्न पाउँछन्, ऊ घर आगलागी परेर मर्यो भने बेघर भएर सब दुःख पाउँछन् ।

अब कुनै दर्शनले जगतलाई माया सम्झाउँछ भने अनि त्यस दर्शनमा श्रद्धा राख्नेहरू पर माथि बसेका ईश्वर वा ईश्वरी आत्माहरूले सुनुन् भनेर खैजडी बजाउँदै चिच्याउन र रुन् सिवाय अरू के गर्न सक्छन् । रामकृष्ण परमहंस भन्छन्, ‘रोएर काली मातालाई सुनाऊ । उनले सुनिन् भने तिम्रो जन्म सुध्य्रो ।’

मलाई लाग्छ, भारततिर र इरानतिर पनि दर्शन भौतिकबाट आध्यात्मिक हुँदै सपना भयो, युरोपतिर त्यो आध्यात्मिकबाट भौतिक हुँदै विपना भयो ।

सुकरात आत्मचिन्तनमा डुबेका छन्, अफलातून ‘ईश्वरमा विश्वास नगरी जाति बलवान् हुँदैन’ भन्दछन्, अथवा उनी ईश्वरलाई जाति निर्माणको साधन बनाउँछन्, अरस्तुमा अझ राष्ट्र निर्माणको विशेष झुकाउ छ, उनी सिकन्दरका गुरु बन्दछन् ।

हब्स डिकार्टे, स्पाइनोजा वर्कले सब आध्यात्मिक आकाशका विमानबाट घुम्दै पृथ्वीमा उत्रन खोजिरहेका थिए, भल्टेयर राम्रै उत्रे । विक्टर ह्युगो भन्दछन्, ‘भल्टेयर नै समस्त अठारौँ शताब्दीका व्यक्तित्व हुन् !

अनि क्यान्ट आए, उनले दर्शनमा आठ सयभन्दा बढी पृष्ठको पुस्तक लेखेर आफ्ना मित्र हर्जलाई दिए, उनले त्यो आधा हेरी यसो भनेर फर्काए, ‘यो जम्मै हेरे मलाई बौलाउनुपर्छ भन्ने डर लाग्यो ।’

क्यान्टसित जर्मनीका पुरोहितहरू यतिसम्म रिसाएका थिए कि ती आफ्ना कुकुरलाई क्यान्ट भनेर बोलाउँथे । अहिले क्यान्टका ती पुस्तक कवितात्मक प्रबन्धका रूपमा हामी हेर्न सक्छौँ । तर, ‘क्रिटिक अफ प्योर रिजन’लाई दर्शन मान्ने हो भने हामीले आफ्ना दुवै आँखा फोड्नुपर्छ । क्यान्ट एक श्रेष्ठ दार्शनिक हुन् । तैपनि जे होस्, युरोपियन दार्शनिक विमान चढुन्, सही धेरैजसो पृथ्वीमै रहन्छन् ।

अझ अर्कोतिर उताका वैज्ञानिक दार्शनिक झन्झन् पृथ्वीलाई ओल्टाइ–पल्टाइ गर्न लागे । अरू प्रायः लेखेर देखाउँदै थिए, डार्बिनले गरेर देखाइदिए, अप्रत्यक्षलाई प्रत्यक्ष गर्ने उनीजस्तो कोही भएर ।

डार्बिनले जस्तै गरेर पृथ्वीलाई कोट्याउन थालेका भए हाम्रा परमहंस स्वर्गद्वारिका आदि तस्बिरहरू नेपाललाई अहिलेसम्म ऐश्वर्यशाली स्वर्ग बनाउन सक्थे । त्यहाँपछि कार्ल मार्क्स र नित्से निस्के । संसारले उनीहरूलाई साहै ठूलो मान्यो ।

धेरै शब्द अलंकार जान्नेहरू गुलाफको विचित्र वर्णन गर्लान्, बोल्न जान्ने फूल टिपेर हाम्रो नाकमा जोड्न ल्याउलान्, परन्तु शब्दालङ्कारले पुष्पमा सुवास थप्न सक्तैन । गुलाफको नाम ‘गुहु’ राखे पनि त्यो उत्तिकै बास्ना आउँछ ।

त्यस्तै मार्क्स र अझ कवि दार्शनिक नित्सेले जति परिपाठ पारेर लेखे पनि त्यो मनुष्य समाजले सामान्य नांगा आँखाले देखेको कुरा हो । कुनै बलियो धनी ठालुले कड्केर बोलेको कुरालाई बुट्टा पारे नित्सेको सिद्धान्त हुन्छ, कुनै दरिद्र ज्यालादारले गुनासो गरेको कुरालाई अलंकृत पारे मार्क्सको सिद्धान्त हुन्छ ।

सब रीति र नीतिसित चिढिएका रसेलजस्ता दार्शनिकहरू अराजकतावादतिर ढल्केका छन् । त्यसको माने हुन्छ मानिसले आजसम्म हिँडेर आएको बाटो बिराएको रहेछ, फर्कनु पर्र्यो ।

वास्तवमा आज संसार के भइरहेछ ? मानिस काँडामाथि दौड्यो, त्यो बिझ्यो, अब पैतालाबाट त्यही काँडा कोट्याएर झिक्नमा उसको जीवन–शक्ति अपव्यय भइरहेछ । तेइस सय वर्षअघि एपिक्युर कराएका थिए, ‘मरेपछि केही हुँदैन, जन्म जस्तो हो मृत्यु त्यस्तै हो, हामीले अन्धविश्वासमा लाग्नु हुँदैन, विश्वको स्वभाव जान्नुपर्दछ, आपस्तमा सद्व्यवहार राख्नुपर्दछ, हामीले आत्मसन्तुष्ट रहनुपर्दछ’ इत्यादि ।

आठ सय वर्षसम्म यो कुरा गुन्जिरहे, केही माने लागेन । त्यो सुनिएन, किनभने दुई सयजना बसिरहेका बैठकमा ‘लौ आगलागी भयो’ भनेर हामी २–४ जना मिलेर कोहोलो मच्चाइदिन सक्छौँ, जब सब चिच्याएर आतंकले भाग्न थाल्दछन् अनि ‘ए, होइन ठट्टा गरेको !’ भनेर पच्चिसजनाले कराए पनि केही लाग्दैन ।

किनकि, त्यहाँ यत्रो शब्द हुन्छ कि बन्दुक पड्काएको पनि हतपति कोही सुन्दैन । त्यही अवस्था संसारको छ– हजारौँ वर्षसम्म सत् कल्पनामा विश्वास गरेर हुर्किरहेको मनुष्य जाति कहिले भाग्दा–भाग्दै थाकेर आफै अड्ने होला अनि पछिल्तिर फर्केर स्वयम् देख्ने हुने होला घरमा आगो लागेको त रहेनछ, केवल हामी भागेका मात्र रहेछौँ, व्यर्थ दौडिएछ ।

अहिले हामी समाजलाई त्यस अवस्थामा भएको सम्झन्छौँ कि आफूले हिँडेको बाटोमा अशुद्धि मनन् गर्यो । तर, अशुद्धि ज्ञात हुन आउँदैन, समाजले बाटो पैल्याएको छैन, त्यसैले ऊ अर्को ताजा भुल गर्न सक्छ । भुलभुलैयामा फन्को मारिरहन पनि सक्छ ।

आज कोही अराजकताले समाजलाई छाडा छोड्न खोज्छन्, तर जंगलमा धेरै जाति चरिरहेकै छन् । मनुष्य जातिले त्यहाँ फर्कने काम देखिँदैन ।

कोही फेरि समाज सुधारका निम्ति मानिसलाई बन्धनमा राख्ने खालका छन् । तर, खोरको बाघले टोक्ने बानी छोड्यो होला भनिठान्नु आफ्नै काल बेसाउनु हो । रुसमा साम्यवाद छ, माने त्यहाँका जनताको हृदय समदर्शी छ भन्ने होइन, यही हो कि त्यहाँको खोर साम्यवादी छ ।

गान्धीमाथि श्रद्धा राख्ने मानिस आफू गान्धी बन्ने होइन, ऊ अरूलाई गान्धी वा गाई बनाउन चाहन्छ । गान्धीले भारतमा अरू तत्वसित भौतिक परिवर्तन हुनसक्छ, शक्ति–खोरमा परिवर्तन आउन सक्छ । तर, जाडो गर्मीले वा सुख दुःखले झैँ मनुष्य समाजको परिवर्तन हुन सक्तैन ।

अझ पाँच हजार वर्षअघि काम, क्रोध, लोभहरूले मान्छेको डेरामा जसरी अड्डा जमाएका थिए, आज के ती त्यताबाट हटेका छन् ? अथवा, झन् के बस्ती बढाइ रहेछन् ? दुवै होइन, उसरी नै उत्तिकै प्रभावले डटिरहेका छन्, जस्तो– हजारौँ वर्षअगाडिको घोडा र अहिलेको घोडामा केही भिन्नता पाइन्न, उस्तै ।

मानिसमा पनि पाइँदैन ! हो, आजकालका तबेला धेरै राम्रा हुन सक्छन्, साजबाज सुन्दर हुन सक्छन्, घोडा तालिमे सर्कसमा नाच्ने पनि हुन सक्छन् । त्यस्तै हाम्रा बैठक र कोठाहरू उहिले हेरी कता–कता झिलिमिली हुन सक्छन्, वस्त्र भलवस्त्र हुनसक्छ, हामी धेरै देखेका, जान्ने सुन्ने आर्थिक मात्रामा हुनसक्छौँ ।

तर, मानिसको हार्दिक स्तर उही परिस्थितिमा उत्तिकै मात्रामा रहेको पाइन्छ, शिक्षा र सभ्यताले मानिसको चरित्र सपार्न सकेको देखिँदैन ।

यति खलबल गरेर म अन्त्यमा भन्छु— आजसम्मका दार्शनिकहरूको पुस्तकालयले यथाशक्ति फोक्सो फुलाएर भन्न सकेको कुरा प्रायः यही हो, ‘हानि हुने कुरा बुझेर मनलाई सम्हाल्नुपर्छ, मनुष्य मात्रको सुरक्षा उन्नति आफ्नैजस्तो सम्झनुपर्छ, सबसित मेल राख्नुपर्छ, आफूद्वारा अरूलाई सुख होस् अनि अरूद्वारा आफूलाई उचित अनुचितको विवेचन गर्न जान्न खोज्नुपर्छ अनि उचित कार्यमा सधैँ तत्पर रहनुपर्छ, चाहे ज्यानै किन नजाओस् ।’ यस्तै…

यो एक गुफावासी सर्वसाधारण सज्जनको मुखबाट सुनिने सिधा करा हो, चिनियाँ बूढा कन्फुसियसका सल्लाह यस्तै थिए । यसका अतिरिक्त केही अलौकिक कुरा आयो भने त्यो कि भ्रमोत्पादक होला कि पवित्र झुटो ।

अब म एक प्रश्न गर्छु— के मनुष्य समाजको हार्दिक सुधार सम्भव छ ? अनि, दुई छट्टु कुरा सम्झेर चुप लाग्छु– पहिले गीताका ज्ञानीहरू पनि आफ्नै प्रकृतिअनुसार चल्छन् भने प्रकृतिविरुद्ध को चल्न सक्छ ?

यो यस्तै छ, अर्को जेम्स जिम्ससित म स्वर मिलाउँछु, ‘जान्नाले होइन, अरू जान्ने इच्छा नहुँदो हो त जीवन बोधो हुन्थ्यो– पुग्नाले भन्दा आशापूर्ण यात्रामा नै विशेष आनन्द हुन्छ । म आकस्मिकतालाई नियमित मान्छु ।’

—प्रगति (२०१० बाट)