४ डिसेम्बर २०२०, शुक्रबार:

 

“यात्रा राम्रो औषधि हो।” कतै पढेको थिएँ, प्रकृति चिकित्साका कुरा । भ्रमणले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा निक्कै ठुलो फाइदा पुर्याउने कुरामा सन्देह रहन्न। फुर्सदिलो समय कतै यात्रामा निस्किने हो भने त्यसले मनोरन्जन त यसै प्रदान गर्छ, त्यसका अलावा सुन्दर प्राकृतिक दृश्यावलोकनको आनन्द र नयाँ-नयाँ ठाउँको बारेमा जानकारी प्राप्तिले ज्ञानको भण्डारमा सहकाल थपिदिन्छ। सधैं एकै ठाउँ बस्दा मान्छे एकात्मक हुन्छ, एकलकाटे हुन्छ र एकखाले एकोहोरोपनमा जकडिन्छ।  जीवनशैली, आहारविहार, खानपिन, तथा  रहनसहनको एकरुपताले नयाँपन भुलेर मान्छे सर्वदा एउटै भद्दा वृत्तमा अल्झिन पुग्दोरहेछ। विशाल समुद्रको छातीमा टुक्रुक्क कुनै टापुको जीवन एक अनौठो बन्दीगृहजस्तो हुँदोरहेछ ।

जीवनका अनेकौं आयामहरू छन्, तर भोग्नुपर्ने सधैं यौटै। बिहान उठेदेखि बेलुका नसुतुन्जेलसम्म लगभग एकै अनुहारका मान्छे, एकै प्रकृतिका दृश्य र प्राय: उस्तै परिवेशमा आफूलाई जबर्जस्ती समाहित गराउनु टापुको दैनिकी हो।  प्राकृतिक सुन्दरताको अनुपम बगैंचा र सुबिधा सम्पन्नताको अवर्णित भव्यतामा बसे पनि बाह्रै मास, बाह्रै काल एकै ठाउँ त बोर नै हुँदोरहेछ। जसरी चौरासी व्यन्जन खानेकुरा दिए पनि चरीलाई पिंजडा कदापि स्वर्ग लाग्न सक्दैन। स्वच्छन्द आकाशको फैलावट खोज्न थालिहाल्छ। ठिक त्यस्तै कुनै टापुको पर्मानेन्ट कारिन्दाको जीवन एक अघोषित कैदीका भाँती महसुस हुँदोरहेछ ।  वर्षेनी छुट्टी मनाउन घर गइन्थ्यो र पो दिन कटेको पत्तै पाइन्नथ्यो। टापुको बसाइ त प्याराडाइज नै लाग्दथ्यो। यहाँ काम गर्न होइन, बरु रमाइलो गर्न आएझैं लाग्दथ्यो उल्टै पैसा लिएर। संसारका धनाढ्यहरु अकल्पनीय पैसा तिरेर टापुको जीवन भोग्न आउँदा आफू भने उल्टै पैसा लिएर त्यही हावा खान, उही पानी पिउन पाउनु चाहिँ सोचेभन्दा अधिकतम भाग्यको कुरा ठानेको छु। त्यसो र सुविधाले दिएको वर्षदिन नाघेर एकदिन बढी हुन थालेपछि त छटपटी सुरु भइहाल्ने आदतमा अभ्यस्त भएको रहेछ मन। सोच्छु- खाडी मुलुक र मलेसियातिर तीन-चार वर्षसम्म छुट्टी मिल्दैन, कसरी टिकेका होलान् नेपालीहरु ! कोरोनाले बाटो छेकेर जोखिमयुक्त अन्तराष्ट्रिय यात्रा गर्न मनले नमान्दा यतैको आन्तरिक भ्रमण जुराइयो। निस्सासिएको मनलाई हावा खुवाउन अन्तरटापुको यात्रामा आफूलाई निकालियो। धन्न कोरोनाको आक्रमणले टापुलाई छोएन। टापु आफैं आइसोलेटेड हुँदा रहेछन्। प्रकृतिप्रदत्त क्वारेन्टाइन जस्ता स-साना टापुहरुलाई कुनै पनि महामारीले हत्तपत्त नछुँदोरहेछ।

फ्रिगेट आइल्याण्डबाट उम्केका हप्तादिन माहे र प्रालिन आइल्याण्डमा बेस्सरी रमाए मेरा। मनको खातामा लेखेको छु र दिमागको कम्प्युटरमा नोट गरेको छु हरेक अनुभूतिका बुँदाहरु। कहिलेकाहीँ लेखिटोपल्ने स्वाभाव भएकोले यिनलाई कुनैदिन लिपिबद्ध गर्ने सोच पालेर भोलि फर्किने दिनको प्रतीक्षामा रातलाई अँगालो हालेर सुतियो। बिहान समयमै खुल्यो न बाक्लो न पातलो निद्रा । त्यसै पनि भोलिपल्ट बिहान कतै यात्रामा निस्किनुछ भने रातभर निदाउन नसक्ने खानदानी आदत छ मेरो। बिहान सखारै दिसापिसाब र स्नान लगायतका नित्य कर्म पालैपालो सकेपछि चियापानमा सरिक भइयो।  मैले चिया मात्र पिएँ,पन्तजीले सेलरोटी पनि खानुभो । नेपालीमा एउटा प्रचलित भनाइ छ- ‘आयो गयो माया मोहो,आएन गएन को हो को हो’- भन्ने। चारदिने प्रालिन आइल्याण्ड बसाइ यति सुमधुर अनि प्रीतिकर रह्यो कि, मनले अझै बस्न पाए हुन्थ्यो भन्न थाल्यो । यद्यपि, छुट्नु त छँदैथियो ।

वास्तवमा नारीहरु भएको घर मात्र घरजस्तो हुन्छ । जति नै सिपालु र तारे होटेलको सेफ नै भए पनि घरायसी कामको परिपाठ र पाक कलामा पुरुषभन्दा नारी नै अब्बल हुन्छन् । पुरुष अहमता र बडप्पनले खुलेर बयान गर्न हिच्किचाए पनि यत्ति कुरा त हरेक पुरुषको अन्तरमनले स्वीकार्दो नै हो ! यतिका दिन अन्जु बहिनीले पकाएको नेपाली स्वादका भोजन परिकारले हाम्रो मुख मात्तिसकेको थियो । जे भए पनि मनोज दम्पतीको त्यो हार्दिकता,आतिथ्यता र आफ्नोपनको एक छाती न्यानो बोकेर हामी बिदा भयौँ । राफल्स होटेलको कर्मचारी आवासीय क्षेत्र अनि त्यो ब्लक छोड्दा लाग्दै थियो- हामी मावलीघरको ममता च्यापेर घर फर्किंदैछौँ।  ‘आउँदै गर्नू है दाइ !’ अन्जुको उद्गारले मन छचल्कियो । ‘आइहाल्छौँ नि अब त,…ल राम्रोसँग बस्नू है !’ यत्ति भनेर हात हल्लाउँदै कारभित्र छिर्यौँ हामी ।  जेट्टीसम्म पुर्याउन उही सुन्तले कारमा मनोज र कुमार बोहोरा आए । कामको व्यस्तताले पुरुषोत्तमजी आउन पाएनन्,फोनबाटै बिदा लिइयो । क्याट कोकोले हर्न बजाउन थाल्यो । अस्ति आउँदा देखिकै टु-वे टिकट थियो हाम्रो । चारैजना भावुक भएर सेल्फी खिचियो । पन्तजी र म बोट चढ्यौँ । मनोजजी र कुमारजी छोडिए । बोट आफ्नो समयमै डिपार्चर भयो । यहाँका सार्वजनिक सवारीसाधन आफ्नो समयमा प्रस्थान गरिहाल्छन्। हाम्रोतिर जस्तो क्षमताभन्दा बढी प्यासेन्जर कोच्न ल्याङ्गल्याङ्ग गर्दै पर्खी बस्दैनन्।

भेटिनु-छुटिनु संसारको रित हो । यही वस्तुनिष्ठ सत्यलाई हृदयंगम गर्दै प्रालिन आइल्याण्डबाट माहे आइल्याण्डतर्फ रवाना भयौँ हामी । बोटको दोश्रो तलाबाट ओझेल नपरुन्जेल साथीहरुलाई हात हल्लाइरह्यौँ । साथीहरुले पनि फर्काइरहे । बिहानको घाम समुद्रमा रिफ्लेक्ट भएर अनुहारमा ठोक्किन आइपुग्छ घरीघरी । निलो पानीमा सेतो फिँज निकाल्दै बोट आफ्नो गतिमा निरन्तर चिप्लिरहेकैछ । बोटमा यात्रुहरु सिटानुसार भरिएकैछन् लगभग । सायद कोरोनाको कहरलाई जित्ने उपक्रममा छ दुनियाँ । मास्क लगाएरै भए पनि यात्रारत छन् मान्छेहरु। हुन पनि कति सहने कोरोनाको कहर ! संसारको अर्थतन्त्र ठप्प भइसक्यो, मान्छेका दैनिकी चौपट भइरहेका छन्। खुसीहरु पिञ्जडामा थुनेर बन्दी जीवन कति दिन स्वीकार्न सक्छ मान्छे ? यत्ति कुरा चाहिँ पक्का भयो कि- मानवीय मपाइत्वमा अतिरन्जित मान्छेको दम्भ र अहङ्कार चाहिँ चकनाचुर पारिदियो कोरोना माहामारीले। ब्रहमाण्डमा आफूलाई सर्वश्रेष्ठ प्राणीको हक दाबी गर्ने मान्छेलाई भ्रम र यथार्थको शिक्षा दिएर कोरोनाले एक अर्थमा गुनै लायो कि जस्तो पनि लाग्छ मलाई। नत्र त मान्छे जीवन र जगतको सत्य भुलेर मात्तिएको थियो। यो जैविक हतियार प्राकृतिक भए पनि मानवीय भए नि बाटो बिराएका मान्छेलाई सचेतनाको सिर्कनो सावित भएझैँ लाग्छ। यद्यपि, यसले एकोहोरो जीवनका सुर, ताल, लय, रङ्ग बिगारे पनि दिनानुदिन अप्राकृतिक बन्दै भुइँमा न भाँडामा भएका मान्छेका टाउकामा  चेतावनीको डण्डा त बजारेकै हो। आजका घमण्डी र पाखण्डी मान्छे यत्ति सत्य स्वीकार्न पनि साइत हेर्नुपर्छ जस्तो गर्छन्, र पो उदेक लाग्छ।

दृश्यमा प्रालिन आइल्याण्ड धमिलो र माहे आइल्याण्ड चम्किलो देखिन थाल्यो । हाम्रो मन पनि बोट जस्तै घरि चिप्लिन्छ, प्रालिन आइल्याण्ड जस्तै घरि धमिलिन्छ । हामी एकछिन आफ्नो देश, बेरोजगारी समस्या, खराब राजनीति, युवा पलायन र यहाँको सम्बृद्धिका बारेमा तुलनात्मक समीक्षा गर्दै भुल्यौँ । नेपालमा नेताहरु मात्रै पोस्ने संघीयता अफापसिद्ध भएको निष्कर्ष निकाल्यौँ । पर्तिरको सिटमा एउटा मोटे सेसेल्वा घुर्दै थियो । उसको काखमा एउटी नेपाली या भारतीय जस्ती युवती सँगैको सिटबाट टाउको लतारेर लोलाएकी थिई । पन्तजीले घरीघरी त्यो दृश्यउपर नजानेजस्तो गरी छड्के आँखा लाएको म बुझ्दैछु । उहाँ मेरो कानमा मुख ल्याएर सुस्तरी फुसफुसाउनुभो- ‘सर,यो केटी नेपाली हो । यसको चर्तिकला उत्पातै छ, पछि भन्छु सबै कुरा ।’ हेर्दा- त्यो पुरुष उमेरले पचास नाघेजस्तो अनि युवती बाइसे-चौबिसे आसपासकि जस्ती लाग्थ्यो । एकघण्टाको यात्रा पुरा गरेर बोट माहे आइल्याण्डको मुख्य बन्दरगाहमा रोकियो,हामी उत्रियौँ । मलाई त सामान्य ‘सी सीक’ पनि भएछ कि क्या हो,अलिअलि धङ्धंगे लागेजस्तो महसुस भयो । कारण खाली पेट थियो मेरो । भिक्टोरियाको गणेश मन्दिरमा दर्शन गरेर घर जाने भयौँ र पैदल बाटो लाग्यौँ ।

अब सडक पेटीमा पैदल हिँड्दै पन्तजीले अघिको रहस्य खोल्न थाल्नुभो: केही वर्षअघि काठमाडौँ उपत्यकातिरको एक युवक रोजगारीको लागि यहाँ आएको रहेछ । उसैले आफ्नी प्रेमिकालाई डिपेन्डेन्ट भिसामा यहाँ ल्याएर जागिर पनि लगाइदिएको रहेछ ।  लिभिङ्ग टुगेदरमा रहेका उनीहरु खुसी नै देखिन्थे रे! बिचमा युवक चाहिँ छुट्टीमा नेपाल गएछ ।  ऊ जानेबितिक्कै कोरोना महामारीको कारण लक डाउनमा परेछ र उतै रोकिएछ ।  एता उसकी प्रेमिका भने आफ्नै रोजगारदातासँग सल्किछे । कथा मार्मिक र लज्जास्पद लाग्यो । यति थोरै नेपाली, झन् नगन्य महिला भएको देशमा त यस्तो छ, अझ धेरै भएको देशमा कस्तो होला! सुनिएका घटनाहरु सत्य लाग्ने नै भए ।  नबोले नि सेसेल्समा मैले देखेको चौथो नेपाली महिला थिई त्यो । सेसेल्समा पनि नेपालीहरु विकृत हुन थालेको कुरा पन्तजीले गर्दा भरङ्ग भएँ म । महिला मात्र होइन, पुरुष पनि बिग्रेका छन् । अबैध काम गर्छन् । नेपालीले नेपालीलाई ठग्छन्, अनेक दुख दिन्छन् । देशकै बेइज्जत हुने काम गरेर बदनाम कमाउने नेपालीहरु पनि छन् रे यहाँ । ‘बरु सर टाढा टापुमा हुनुहुन्छ ।  कान पाक्दैनन्, आँखा दुख्दैनन् ।’- पन्तजीले केही दिक्क मानेझैं भन्नुभो । कुरा हो जस्तो पनि लाग्यो । मैले पनि धेरै भोगेकोछु नेपालीले दिएका अनेकौं पीडाहरु । कहिलेकाहीँ साँच्चै लाग्छ- खराब साथीहरु हुनुभन्दा त एक्लै वेश !

गफ गर्दागर्दै मन्दिर आइपुग्यो। दर्शन गर्यौं र पूर्ववत् ‘टेक अ वे’ प्रसाद लिएर ट्याक्सी चढी कोपोलिया हाइट पुग्यौँ ।  मेरो यो भ्रमणको श्रीगणेश पनि गणेश मन्दिर दर्शनबाटै भएको थियो, अनि आज समापन पनि दर्शनबाटै भयो । कस्तो मिठो संयोग! आल्हादित भएँ, हर्षित भएँ, धन्य भएँ मनमनै ।

पन्तजीको डेरामा पुगेर एकछिन थकाइ मारेपछि अघि ल्याएको प्रसाद ग्रहण गर्यौं । प्रालिनबाट मनोज दम्पतिले हिजोको बाँकी फर्सीका मुन्टा झोलामा हालिदिएका रहेछन् । निकालेर दुईभाइ मिली गफ गर्दै केलायौँ ।  अहिले तिनै फर्सीका मुन्टासँग भात खाने कुरा भयो ।  केलाएका मुन्टा अहिलेलाई पुग्दो राखेर बाँकी फ्रिजमा थन्क्याउनुभो पन्तजीले ।  मलाई जस्तै उहाँलाई पनि औधि मन पर्दोरहेछ फर्सीका मुन्टा ।  म कार्यरत फ्रिगेट आइल्याण्डको आफ्नै कृषि फार्म छ । फलफूल र सागसब्जी प्रचुर उत्पादन हुन्छन् ।  यसैका लागि तलब दिएर स्टाफ राखेको छ रिसोर्टले ।  गेस्ट र स्टाफको लागि आइल्याण्डमा खपत भएर बाँकी माहे आइल्याण्डमा बिक्रीको लागि पनि पठाइन्छ ।  यतिसम्मकी एग्रिकल्चर डिपार्टमेन्टका स्टाफलाई तलब खुवाउन झन्डै आफ्नै कमाइले पुर्याउँछ ।  ‘तपाईंलाई सिजनअनुसार फलफूल र सागसब्जी खुवाउँला सर!’ मैले भने ।  पन्तजीले आशावादी नजरले हेर्नुभो ।  नभन्दै त्यसपछिका दिनमा प्रसस्तै पठाएँ पनि फलफूल र सागसब्जी । फ्रिगेट आइल्याण्डमा काम गर्ने मान्छे यसर्थमा पनि भाग्यमानी ठान्छु कि- यहाँको प्राकृतिक सौन्दर्य त सेसेल्स मात्र होइन विश्वकै ध्यान तान्ने खालको छँदैछ ।  यहाँ कार्यरतले स्वच्छ हावापानीका अलावा बार्है मास अर्गानिक ताजा फलफूल र सागसब्जी खान पाउँछन् । यो विशेष सुबिधा र गज्जब विशेषता हो फ्रिगेट आइल्याण्डको । यसर्थ बेलाबेला सोच्ने गर्छु-  पैसै मात्र ठुलो होइन आफ्नो स्वास्थ्य, आत्मासम्मान र आत्मसन्तुष्टि झन् प्राथमिक कुरा हो । त्यसो र, म पनि आफूलाई कम भाग्यमानी ठान्दिन फ्रिगेट आइल्याण्डको पारिवारिक सदस्य हुन पाएकोमा ।  गफ गर्दै भातको कुकरमा सिट्टी लाग्यो, फर्सीका मुन्टा पनि ओल्साइसक्नुभएछ पन्तजीले ।  तात्तातै खाउँ सर, भनेर पस्कि पनि हाल्नुभो ।  पसिना झार्दै पाकिस्तानी बासमती चामलको भात र फर्सीका मुन्टा खाएको त्यो मिठो क्षण कहिले बिर्सन सकिएला र!

आज फ्रिगेट आइल्याण्ड फर्किनुछ ।  बिहानैदेखि कम्पनीको बोट माहे आइल्याण्डमै छ ।  अपरान्ह चार बजेको बोट समाउनुछ मैले ।  खाना खाएर एकछिन सुत्ने सल्लाह भयो ।  पन्तजी त अर्को कोठामा घुर्न थाल्नुभो ।  म निदाउनै सकिनँ, उठेर नुहाएँ । एकछिनपछि पन्तजी पनि उठेर नुहाउनुभो र चिनेको ट्याक्सीलाई फोन गरेर तीन बजे बोलाउनुभो ।  भेनिल्ला फ्लेवरको क्रिमवाला बिस्कुट र स्ट्रवेरी जुसको प्याकेट खोल्दै खाउँ भन्नुभो ।  मुखमा गुलियो पदार्थ पस्दा पनि मन अमिलो हुँदैछ ।  साँच्चै हो लाग्दैछ- आयो गयो, माया मोहको लोकोक्ति ! पन्तजीसँग नभेटी फोनमा बोल्दा एक असल मित्र थियौँ, अब त एक पारिवारिक सदस्य जस्तै आत्मीय भएछौँ ।  ट्याक्सीले केही ढिलो गर्यो, पन्तजीले फेरि फोन गर्नुभो ।  कामको मान्छे टुरिस्ट ट्रीप धेरै पाएछ आज ।  बल्ल आयो ऊ, हतारिँदै झर्यौं इडेन आइल्याण्ड ।

माहे आइल्याण्डमा अवस्थित हाम्रो सिटी अफिसको आँगनमा एकछिन भावुकता साटेर छुट्यो हाम्रो एकहप्ते साथ ।  ट्याक्सीलाई दुइसय दिएँ, पन्तजीको फर्किने भाडा समेत ।  सँगै रहँदा-बस्दा जत्ति नै रमाइलो भए पनि छुट्ने बेला मन अमिलो हुँदोरहेछ, आँखा धमिला हुँदारहेछन् ।  मलिन मुहार पारेर पन्तजी फर्किनुभो ।  छातीको ढुकढुक सम्हाल्दै अफिस छिरेँ म । माहे अफिस कारिन्दा सेन्डीले त्यहाँ राखिएको डिजिटल थर्मामिटर मार्फत टेम्प्रेचर चेक गरेर मेरो नाममा टिक लगाएपछि हतारहतार जेट्टीमा गएँ र स्टेवर-५२ बोटभित्र पसेँ ।  सबै प्यासेन्जरहरु भेला भइसकेका ।  आज बोट क्याप्टेन मार्कस ड्युटीमा रहेछ, उसले ठट्टा गर्यो- ‘तिम्लाई नै पर्खेर बसेका हामी, यतै बस्छौ कि जस्तो लागेको थियो! गर्लफ्रेन्ड भेट्यौ कि क्या हो?’ ठट्टा गर्न माहिर छ मार्कस !

म बोट चढेर आफ्नो सिट लिने बितिक्कै इडेन आइल्याण्डको जेट्टी छोडिहाल्यो बोटले ।  यो हाम्रो कम्पनीको निजी बोट हो ।  यसले आफ्ना गेस्ट र स्टाफलाई मात्र सेवा प्रदान गर्छ ।  यस्ता बोट सानाठूला गरेर छ वटा छन् फ्रिगेटका ।  आज गेस्ट छैनन्, सबै विकेन्डमा घर आएका स्टाफ फर्किने मात्र छन् ।  छुट्टी सकेर फर्केका दुइटा केन्याली पनि देखिए । उनीहरुका ठाउँतिर कोरोनाको असर त्यत्ति आक्रामक नभएकाले हिम्मत गरेर बिदामा घर गएका थिए । कोरोना लिएर त आएनौ नि ? मैले हँस्यौली गरेँ । पिसिआर रिपोर्ट नेगेटिभ नभई कसरी फर्केर आयौं होला हामी ? मास्कभित्रैबाट ठाडो जवाफ फर्काए तिनीहरुले । अस्ताचलको पहेंलो घाम समुद्रमा ठोक्किएर त्यसको किरणले अनुहारमा हिर्काउँदैछ ।  म सेल्फी हान्दैछु, भ्लगको लागि भिडियो पनि खिच्दैछु ।  बोट आफ्नो गतीमा निर्वाध हुईंकिइरहेको छ । छेउछाउका काला-गोरा सहकर्मी साथीहरु सोध्छन्- कस्तो भयो भ्याकेसन भनेर! म एकशब्दे रेडिमेड जवाफ दिन्छु- फ्यान्टास्टिक…!

बोट माहे, प्रालिन, लाडिग, फेलिसिटे, मारीआन…आइल्याण्डहरुलाई पछाडि छोड्दै फ्रिगेट आइल्याण्डको नजिक आइपुग्दा पो झस्याङ्ग भएँ  ।  हामी त आइपुगेछौँ, पत्तै नपाइ डेढ घण्टा बितेछ । फ्रिगेट आइल्याण्डको मेरिना विशेष लाग्छ मलाई । यत्तिको व्यवस्थित र सुन्दर बन्दरगाह अरु आइल्याण्डमा देखिन मैले । सदाझैं हरेक आगमन र प्रस्थानका बेला प्रायः म्यानेजमेन्ट टिम उपस्थित हुने फ्रिगेट आइल्याण्डको परम्परा मुताबिक नै देखिए सम्बन्धितहरु । मिनीभ्याकेसन भए पनि एक हप्ता आइल्याण्ड बाहिर रहेर फर्किंदा फुल भ्याकेसनमा नेपाल गएर फर्किएजस्तै अनुभूत भयो । सबैले भ्याकेसनको अनुभव र हालखबर सोध्दा त्यस्तो महसुस भयो ।

सहकर्मी ब्रिस्टोलले क्लब कारमा राखेर निवासमा छोडिदियो र आफु ड्युटीमा निरन्तर लाग्यो चुपचाप । उसको आदत छैन- छुट्टी कस्तो भयो भनेर सोध्ने! दुईतिन महिने छुट्टीमा गएर नेपालबाट फर्किंदा त एक शब्द नसोध्ने मान्छे एकहप्ते आन्तरिक भ्रमणबाट फर्केको मान्छेलाई के नै सोध्थ्यो र! उसको जन्मसिद्ध स्वभाव नै त्यस्तो । घोसे हो कि अल्पभाषी, कपटी हो कि अन्तरमुखी, बुझ्नै नसकिने अनौठो आदत छ ब्रिस्टोलको । बिहान कसैलाई भेट्दा गूड मर्निङ् त भन्न नजान्ने मान्छे, के बयान गर्नु त्यसको ! रेस्पेक्ट र अविवादन कुन चराको नाम हो त्यहा छैन त्यसलाई । धन्न स्थानीय भएकाले यति ठुलो हस्पिटालिटी इन्डस्ट्रीमा जागिर खान चाहिँ पाएको छ । म पनि यो यस्तै हो भनेर बेवास्तै गर्छु अचेल त! तर, काम र व्यवहार भने दिगो छ है यसको ।

कोठाको ढोका खोलेँ, सामान्य कुचो लगाएर रूम फ्रेश्नर स्प्रे गरेँ ।  नुहाइधुवाइ सकेर मन नलागी-नलागी क्यान्टिन गएँ र डिनर खाएर आएँ ।  एकहप्ताको नेपाली स्वादले जिब्रो भुसुक्कै बिग्रेछ, खानै रुचेन ।  घरमा भिडियो कल गरेर आफू कुशल-मङ्गलसाथ कम्पनी फर्किसकेको जानकारी गराएँ ।  माहे र प्रालिनका साथीहरुलाई आफू समयमै फ्रिगेट आइल्याण्ड आइपुगेको म्यासेज लेखेँ ।  पन्तजीसँग भिडियो कल नै गरेर एकछिन बात् मारेँ । सुत्ने चेस्टा लगभग असफल भयो ।  कारण मनमा तिनै हप्ताभरिका कुरा खेलिरहे, जसले त्यो सामर्थ्य राख्थे ।  मान्छेहरु ओछ्यान देख्नेबितिक्कै घुर्न थाल्छन् ।  मलाई भने जहिल्यै निद्रा फकाउनु पर्छ ।  निद्रा नलागे पनि गुनासो गरिन, किनकि छुट्टी अझै दुइदिन बाँकी थियो ।  रातभरि ननिदाए पनि भोलि दिनभर सुत्न पाउँथेँ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले प्रायः सबै कुरा बिथोले पनि जुक्ति लगाएर एउटा फाइदा त लिइएछ जस्तो लाग्यो ।  सदुपयोग गर्न जाने विष पनि अमृत हुँदोरहेछ ।  छुट्टीमा घर जान नपाइए पनि सेसेल्सको दसकौं बसाइमा नपुगेको ठाउँ घुम्न, नदेखेको चिज चुम्न र छुटाउनै नहुने वातावरणमा रम्न पाइयो ।  जिन्दगीले एक अविस्मरणीय अनुभव आफ्नो भोगाइको खातामा लेख्यो ।  पहिला एता आउनुअघि नामै नसुनेको मुलुक टापु-टापु घुम्दा मन रोमान्चित हुन्छ त्यसै-त्यसै ।  यसो झकाउन खोज्छु, तिनै हप्ताभरि देखेका अद्भुत दृश्य र अनौठा सत्य एकैचोटी आँखामा आउँछन् र पर्दा लाइदिन्छन् । आज शुक्रबार ‘अल्कोहल डे’ हो । क्याफेटेरियाको स्टाफ बार अबेरसम्म खुलेको छ । सेसेल्वा तन्नेरीहरू मुच्या नृत्यमा झुमिरहेका छन् । मुच्या सेसेल्सको पुरानो र प्रख्यात लोकगीत हो । टाढाबाट सुन्दा मुच्या सङ्गीतको आवाज कुनै नेपाली गाउँमा बिजुवाले ठोकेको ढ्यांग्रो जस्तो सुनिन्छ । त्यसको आवाजले पनि मेरो निद हराम गरिरहेछ सायद । अनेकौं कुराहरुको भुमरी मनमा चलाउँदै पचासौं पटक ओल्टे-कोल्टे फर्किंदा-फर्किंदै बिहानीपख कतिबेला लुटुक्क निदाएछु ।

 …

(समादरणीय पाठकवृन्द; मेरो एकहप्ते भ्रमणलाई लिपिबद्ध गर्ने क्रममा म अलिक व्याख्यात्मक, विवरणात्मक भएँ कि भन्ने महसुस आफैंलाई भएको छ  ।  “ती अद्भुत दृश्य, ती अनौठा सत्य” मुख्य शीर्षकमुनि आठ उप-शीर्षक विस्तारित गर्नु पनि पाठकको पठन सहजतालाई मध्यनजर गरिएको हो ।   यो आठौँ भाग अन्तिम हो । यात्रालाई हिँडेको र खाएको एकसरो ओठे बखानमा मात्र छोड्दै झारो टार्नु पाठकवर्गमा अस्पष्टता छर्नु जस्तो मात्र लाग्छ मलाई । यात्रामा भेटिएका, देखिएका र अनुभव गरिएका हरेक कुराको अध्ययनशील सूचना र जानकारी दिनु पनि एउटा लेखकीय धर्म ठानेर केही लम्बिएँ होला । मेरो लेखकीय इमान्दारी रुचीकर भयो कि भएन ? बाँकी तपाईं पाठककै मूल्याङ्कन । धन्यवाद !)