फेरि भेटौँला, आउँदै गर्नू है !
मेरो बूढो सगरमाथाले तिम्रो बिदाईका बखत भनेथ्यो
लेपास्सिएर तिम्रा भङ्गिमाहरु चिच्याउँदै थिए- ‘सि यू एगेन !’
अघिल्लो भ्रमण-वर्षताका मेरो देश घुम्न आउँदा
हिमाल टल्काउँदै दाँतमा उखुम मस्केर
बेस्मारी पल्किएँ भनेकी थियौ तिमीले
माछापुच्छ्रेले सनक्क आँखा सन्काइदिँदा सम्मोहित तिमी ।
निर्मिमेष जुधाएर युगल नेत्रहरु सहसा
तिम्रा कोकिल कण्ठले खुलासा गरेथे
माया लायो रे तिमीलाई मेरो देशले- मैलेजस्तै
मेरो देशको हिमानी देखेर वशीकृत तिम्रो मन
मनोविनोदी सयल खाँदै खुब हिमचिम गरेथ्यो
मलाई झलझली सम्झना छ, तिमी पल्किएको ऊ बेला
इलामको चियामा, घान्द्रुकको गुन्द्रुकमा र मलेखुको माछामा
मैले लख काटेको थिएँ- तिमी सलक्कै सल्केको
ह्यार्तुङको केशमा,फेवाको ओठमा र डाँफेको वैंशमा ।
मलाई हेक्का छ, मसक्क तिमी मस्किएको त्यो क्षण
पालाम भन्दा, सिली गाउँदा र कौडा नाच्दा
हाक्पारेमा, साकेलामा र रोधीमा
मकालुसँग, कञ्चनजङ्घासँग र अन्नपूर्णसँग
कल्पिने गर्दछु अद्यापि म
कति बाफिला स्पर्शहरु स्खलित बने होलान्
मन मैथुन बनेर कति सपनाहरुमा तिम्रा
सुनमा रुपान्तरित तिम्रा केशराशिले
ट्याम्केसम्मै लर्काएथे तीनजुरेको लालीगुराँस थुँगा
फुलेथेँ म उसैगरी गर्वले गुराँसजस्तै, पहाडझैँ ।
तिमी हिँडेपछि त्यो ताकाको भ्रमण-वर्षपछि
मेरो देशले थुप्रै युद्ध-वर्षहरु खेप्यो
“फेरि आउँछु है,” भनेर गएकी तिमी आइनौ
मेरो देशले खालखालका क्रान्ति-वर्षहरु झेल्यो
र, कटायो धेरै-धेरै
हत्या-वर्षहरु, आतङ्क-वर्षहरु, अपहरण-वर्षहरु र बलात्कार-वर्षहरु !
तोडफोड-वर्षहरु, हड्ताल-वर्षहरु, बन्द-वर्षहरु अनि लथालिङ्ग-वर्षहरु !
तथा, अनेकौं आमूल परिवर्तन वर्षहरु !
तर मेरो देशलाई फर्केर पनि हेरिनौ तिमीले
खबर पायौ कि पाइनौ ? निम्तो आयो कि आएन ??
मेरो देशले फेरि अर्को भ्रमण वर्ष आयोजन गरेको छ
पुन: अर्को पर्यटन वर्ष मनाउन लागेकोछ ।
सपनाजस्तो धमिलो तिम्रो पुनरागमन खोइ ?
लेखिनेछन् भनिएका पत्रहरु, अनि-
पठाइनेछन् भनेका ई-मेलहरु… कहाँ … ?
शायद तिमी यतिबेला स्वच्छन्द / स्वतन्त्र
अर्को भ्रमण-वर्ष र शान्ति-वर्ष मनाउँदै हौली
कहिँकतै यही गोलार्द्धभित्रका मानव-बस्तीहरुमा
यतिबेला, विधि-विधान बिनाको मेरो देशमा
मेरा खुट्टाहरु बन्दी भएका छन् –
छाडा स्वतन्त्रताले
मेरो साँचो स्वतन्त्रता कैदी बनेकोछ
औसत दिनैपिच्छे बन्द हुने र लुटिने
मेरो देशको निरीह अस्मिता जस्तै !
अहिले
तिमी हुन नसकेको म
र
म हुन नसकेकी तिमी
विपरीत ध्रुवबाट
भूगोलको फरक-फरक सीमारेखाबाट
गरिरहेछौँ शायद विवश दृष्टिगोचर
आ-आफ्नै अन्तर्चक्षुले
मेरो देशको मनोदशा ।
इटहरी- ४, सुनसरी
हाल: फ्रिगेट आइल्याण्ड, सेसेल्स
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।