३० नोभेम्बर २०२०,सोमबार:

मिनी भ्याकेसनको मध्यान्तरमा पुग्दैछु म । कोरोना कहरले वर्षेनी हुने नेपाल यात्रामा कमा लगाइदिएकोछ । जोखिम मोलेर अन्तराष्ट्रिय बोइङ्ग एयर क्राफ्टको लामो यात्रा तय गरेर भ्याकेसनमा स्वदेश जानुलाई सेसेल्सको आन्तरिक पर्यटनमा डाइभर्ट गरियो यसपाली ।  भ्याकेसनको सट्टा मिनी भ्याकेसन । दशक बढी सेसेल्स बसाइको दौरानमा पुग्न नभ्याएका ठाउँ थुप्रै छन् त्यसो त । सदुपयोगीताको सिद्दान्त प्रयोग गरेर केहि रहर पुरा गर्ने बहाना मिलेकोछ यो पटक । समयलाई पुरा सदुपयोग गर्ने सुरमा छु म । सुनेका र पढेका कुराहरु देख्दा र भोग्दा प्राप्त हुने प्रत्यक्ष फाइदा अनि दिगो ज्ञानको अर्को नाम नै भ्रमण हो, अवलोकन हो । भ्रमणका प्रकार र उद्देश्य बिबिध होलान् । यसै घुमेर रामरौसले रमाइलो गर्न, मनोरन्जन लिन, प्राकृतिक छटाको आनन्द पाउन पनि त फुत्त निस्किन्छ मान्छे । अध्ययन भ्रमण, अवलोकन भ्रमण, शैक्षिक भ्रमण, व्यापारिक भ्रमण । यी पनि त भ्रमणका नामै हुन् जसले यात्रालाई नै अङ्गीकार गर्दछन् । भ्रमण गरेर ज्ञान प्राप्त गर्न, प्राकृतिक/ऐतिहासिक/पुरातात्विक स्थलबारे बुझ्न, नयाँ ठाउँको नौलो अनुभव संगाल्न, ठाउँ अनुसार फरक स्वादका खाने कुरामा रम्न । यी सब पाइने त भ्रमणबाटै न हो ।  अन्तत्वगत्वा भ्रमणबाट केहि न केहि ज्ञान  प्राप्त हुन्छ नै ।  भनिन्छ – किताबी ज्ञान भन्दा भोगाई ठुलो शिक्षा हो। बिद्या दुई प्रकारका हुन्छन् मूलतः एउटा सैद्दान्तिक, अर्को प्रयोगात्मक । त्यस्तै पढेको ज्ञान एक, परेको ज्ञान अर्को । भ्रमणबाट प्राप्त ज्ञान प्रयोगात्मक हो । सदृश, साक्षात्, प्रत्यक्ष । आँखैले देखेको, आफैंले भोगेको । दुरुस्तै,जस्ताको तस्तै । आहिलेसम्म माहे आइल्याण्ड घुमेका ठाउँ र तिनले धारण गरेका विशेषताले धेरै ज्ञान दिलाए ।

बिहानैदेखि इन्टरनेट छैन । पन्तजीले प्रयोग गर्ने एयरटेलको ब्रोडब्याण्डमा रिचार्ज सकिएछ । मध्यरातबाटै काटिएछ त्यो । फ्रिगेट आइल्याण्डमा फ्री वाईफाई चलाउने बानीले अलिकति इन्टरनेटभोगी बनाएकोछ मलाई । दुई दिन नखाई र चार दिन नसुती बस्न सकिएला बरु,एकछिन नेट नहुँदा अत्यास लाग्छ । अझ हामी प्रवासीलाई त झन् अत्यावश्यक हुन्छ इन्टरनेट । कोरोनाको चकचकी कायमै छ । अनेक जाती-प्रजाती र भेरियन्टका कोरोना भाइरसको आक्रमण झन् भयावह भईरहेको विषम परिस्थितिमा विश्वव्यापी सूचना र संचारको माध्यम नै ठप्प हुँदा हालत कति पतला हुँदोरहेछ केहि घन्टाको छटपटीमा भोग्नु भोगियो । यस्तो बेला घर-परिवारसँग सम्पर्क गर्न नपाउँदा मन उडेर उतै पुग्दोरहेछ, मुटु उफ्रेर छाती छेड्ला झैं गर्दोरहेछ ।

अस्ति भाडामा लिइएको कार फिर्ता गर्ने दिन पनि आजै रहेछ । हामी घरबाट निस्केर पहिला कार बुझाउन गयौं । पन्तजीलाई अघि नै कारवालाले फोन गरिसकेको बुझेको थिएँ । भिक्टोरियाको सशुल्क कार पार्किङ् लटमा आफ्नो निलो कारको बाटो हेरेर बसेको एक स्वेत मानव जोडी देखियो । उसले हात उठाएपछी लख काटें मैले कि यहि होला कार धनी । इटालियन केटो रहेछ, केटी चाहिं स्थानीय सेसेल्वा । तर केटी पनि कुइरेनी नै । यहाँ रङ्गभेद लगायत जात, धर्म, लिङ्ग, वर्ण, वर्ग, सम्प्रदाय जस्ता कुनै मानवीय विभेदको गुन्जायस सम्म पनि सुन्न पाइन्न । मान्छेको जात मान्छेभन्दा अर्को छैन यहाँ । पृथ्वीका सबै रङ्ग घुलमिल भएर बसेका छन् सेसेल्समा । हाम्रातिर जातका नाममा राज्य माग्नेको होडबाजी छ । यहि भूगोलको बासिन्दा म पनि हूँ भन्न मलाई लघुताभासबाट बाहिर निस्किन कति जुग लाग्ला सोच्दछु घरीघरी । मलाई मान्छेभन्दा माथिको अर्को जात सिकाउने अर्को महामानवको ठेगाना बुझ्ने हुटहुटी लाग्छ । तर, यो निरिह/निरुत्तर मनलाई त्यहाँबाट उम्काउनै सक्दिन । किनकि म मान्छेको बस्तीमा मान्छे नै खोजेर थाकेको अर्को मान्छेको आलो विम्ब हूँ ।

प्रालिन आइल्याण्ड

इटालीबाट पर्यटक भिसा बोकेर आएको कुइरे यतै बसेछ, प्रेम गरेछ र मिलेर कार हायरिङ्को व्यवसाय गरेका रहेछन् दुबैले । कति रसिला, हँसिला र फर्साईला मान्छे यी । व्यापारिक धर्मले होला गज्जब लाग्यो यिनको हस्पिटालिटी । चिनजान भयो, मन रमायो बिहानै एकछिन । गरिखाने मान्छे जहाँ पनि टिक्दोरहेछ । कामको प्रकृति फरक होला । तर श्रम र विवेक प्रयोग गरेर इमानदारीसाथ गरिखानु आत्मसम्मान हो । प्रेरणाको अजश्र श्रोत जस्तो लाग्यो त्यो फ्रेन्चकट दाह्रीवाल हेन्डसम इटालियन केटो । नेपाल पनि घुम्न भ्याइसकेको रहेछ । काठमाडौँ,पोखरा,सौराहा फटट भट्यायो । अब नपत्याए म आफैं उल्लु हुन्थें । ऊप्रतिको स्नेह झन् जागेर आयो । कार साइड लगाएर पन्तजी बैंकमा छिर्नुभो, मलाई यिनीहरुसँग बोल्दैगर्नू भनेर । एकछिनमा पैसा गन्दै निस्किनुभो, एटिएममा कार्ड घुसारेर ।

कारवाला इटालियन युवक पन्तजीको हातबाट पैसा लिएर मुस्कुरायो । भन्दैथियो- ‘फेरी चाहिए कल गर्नू है!’  हतारमा थिए तिनीहरु । कामको रुटिनमा चल्छन् बिदेशीहरु । अघिसम्म हाम्रो स्वामित्वमा रहेको निलो कारको स्टेरिङ अर्कैको हातले घुमाएको देख्दा कताकता मन कुँडियो । कारको झ्यालबाट हात हल्लाउँदै तिनीहरु गए । पार्किङ लटको फूटपाथमा ठडिएको ल्याम्प पोस्टबाट आधि आँखा छल्दै जवाफी हात हल्लाईदियौं हामीले पनि । तिनीहरु जाँदा केहि जस्तो लागेन तर तिनीहरुसँगै गएको कारले मन उतै लग्यो । ती मान्छेको भन्दा कारको माया बढी लाग्यो । सजिव होस् या निर्जीव सङ्गत गरेपछि माया बस्दोरहेछ । सहयात्रामा त्यो कारले दिएको साथ र भर कुनै स्वार्थी सारथीको भन्दा अधिक प्रीतिकर थियो । तीनदिनसम्म लगातार हामीलाई यात्रामा साथ दिएको कार छुट्यो । अस्ति मनोजजीहरू छुट्दा जस्तै आज कार छुट्दा पनि नमिठो लाग्यो । फेरी पनि रित त जिवितै छ- भेटिनु र छुटिनुको ।

कार हस्तान्तरण गरुन्जेल एकछिन भुले पनि इन्टरनेटको याद जब मनमा आउँथ्यो, कुनै बिर्सिसकेको इखालु विषयको सम्झनाले एक्कासी झस्काए जस्तो हुन्थ्यो । आज के भएन, के छैन जस्तो मनमा लागिरहने । पेटभरी खाए पनि भोकै जस्तो, रातभरी सुते पनि अनिदै जस्तो । कस्तो अनौठो इन्टरनेटको तृष्णा! त्यहीं तल्तिर चारपाउ फाल्दै छाल उरालीरहेको समुद्र पनि सुकिसक्यो होला ! सर्वाङ्ग हिउँले ढाकिएर कक्रीरहेको सगरमाथा पनि डढेलो लागिसक्यो होला !  आकास खस्दै छ कि ? पृथ्वी भासिंदैछ कि ? भुइँचालो आएर संसारै गर्ल्यामगुर्लुम ढली पो सक्यो कि ! दुनियाँमा के-के भईसक्यो होला ? संजालमा मलाई कतिले मिस गरिरहेका होलान् ? इनबक्समा कति इम्पोर्टटेन्ट म्यासेज आएर थुप्रेका होलान् ? यतिका समय अफलाइन हुँदा घर-परिवारले कति पिर मानिरहेका होलान् ? इन्टरनेट वियोगमा विक्षिप्त मन मेरो जस्तो, हुन्छ कि अरुको पनि यस्तो ? हैट, धन्य डिजिटल जमाना !

अब नेटको खोजीमा भौंतारिन थाल्यौं हामी । भिक्टोरिया कल्चरल हाउस अगाडीको फलैंचामा बस्यौं । त्यहाँ फ्री वाईफाई उपलब्ध हुने कुराको पत्तो रहेछ पन्तजीलाई । तर हाम्रो प्रयास सफल हुन सकेन । मोबाइलको स्क्रिनमा थुप्रै इन्टरनेट प्रदायक कम्पनीहरु देखिए पनि कुनैले काम गरेनन् । पल्लो फलैंचामा दुईजना इन्डियनहरु पनि नेट खोज्दैथिए । सोध्यौं, कथा उस्तै सुनाए । हामी छटपटाईरहेका थियौं,विष्णु महतो आइपुगे अन्य दुई नेपालीकासाथ । उनी हिजो कोपोलिया हाइट ट्रिपको क्यामेराम्यान पनि हुन् । व्यथा सुनायौं,उनले जुक्ती निकाले । एयरटेल हटस्पट शेयर गरेर समस्या मोचन गरिदिए । मोबाइलमा इन्टरनेट चलेको देख्दा विष्णुजीले हामीलाई नेट होइन कि भोकाएको बेला चौरासी व्यन्जन भोजन खुवाएजस्तो महशुस भयो । खडेरीमा काकाकुलले रुखको टोड्कामा दुई घुड्की पानी भेटेजस्तो । ढिलै चल्ने भए पनि त्यो नेटको सक्दो सदुपयोग गर्यौं हामीले । घरमा कुरा, साथीभाईका म्यासेज, हिजोको भ्रमण सामग्री फेशबूकमा पोस्टदेखि लिएर समाचारका हेडलाइन सबै भ्यायौं सरसर्ती । एकछिन इन्टरनेट नहुँदा अन्धो, बहिरो, लाटो, कानो, हुस्सु, मूर्ख, अनाडी सबै भईहाल्दो रहेछ आजको मान्छे ।

एक्काइसौं शताब्दीको आहारा, साहारा, भरोसा, जीवन, जगत हर चिज नै इन्टरनेट रहेछ, भारी महशुस भयो । परेवाको चुच्चोमा चिट्ठीको खाम बोकाएर सन्देश आदानप्रदान गर्ने जमाना पनि थियो रे! कागको बोलीमा शुभ-अशुभ समाचारको मापन हुन्थ्यो । भाले कुखुराको पहिलो डाकले बिहान डाक्थ्यो । हुलाक सेवा बिभाग बेकामे कर्मचारीलाई जनताको करबाट तलब खुवाउँदै घाम तापेर बसेकोछ । मोबाइल फोनको स्क्रीनमा सबै सुबिधा उपलब्ध भएपछी यी सब विस्थापित भए । हामी बसेको फलैंचा पर्तिर चौरमा एक जोडी ब्लु पिजन चुच्चो जोडेर निदाएका छन् । तिनलाई बरु कुनै जमानासँग केहि सरोकार छैन । जीवनको लय, गति र ताल उही छ । पुरानै प्रेमिल, मौलिक र अर्गानिक । मान्छे पो जीवनको रङ्ग फेरिरहन चाहँदो रहेछ । सुबिधा र आवश्यकताले मान्छेलाई दास बनाएर फनफनी नचाइरहेकोछ । तर मान्छे असन्तोष र अशान्तिको कात्रो ओढेर अप्राप्य शान्तिको बेसूरा गीत गाउन अहोरात्र अभ्यस्त छ । यहि जमानाको मान्छे हुनुले आफुमा पनि कहिँ न कहिँ खोट देख्छु म त । हटस्पटको काम चलाऊ इन्टरनेट चलाउँदै मध्यान्नसम्मै सँगै बसेपछि विष्णुजी छुट्टिए हामीबाट । आकाशले पसिना बगाउन थाल्यो बिर्बिर ।

बुचर ग्रिल सेसेल्सको चर्चित र व्यस्त रेस्टुरेन्ट हो । हामीले पनि त्यहीँ गएर ‘टेक अ वे बक्स’ (कागजको टपरी) मा माछाभात लन्च गर्यौं । पन्तजीको बिदा मिले आज प्रालिन आइल्याण्ड जाने योजना थियो । बस टर्मिनलमा टोलाइरहेका थियौं । फ्रिगेट आइल्याण्डको इकोलोजी डिपार्टमेन्टमा कार्यरत् केन्याली साथी नोएल भेटियो । टुना माछा कम्पनीमा काम गर्ने आफ्नी केन्याली गर्लफ्रेन्ड भेट्न आएको रहेछ । बोल्न, हाँस्न र ठट्टा गर्न माहिर छ नोएल । मलाई पनि आइल्याण्डबाहिर जाँदा गर्लफ्रेन्ड भेट्न गाको हो ? भनेर जिस्काउँछ । होइन, म अरु नै काम विशेषले भन्छु, ऊ पत्याउँदैन । बिदेशमा गर्लफ्रेन्ड नबनाउने थोरै कठोर मान्छेहरुमा पर्छु म सायद! पन्तजीको बिदा मिलेको जानकारी फोनमार्फत आयो । खुशी हुँदै भिक्टोरिया पानीजहाज बन्दरगाहतर्फ हान्नियौं हामी । बाटामा भेटियो पन्तजीको साथी स्थानीय प्रहरी स्टाफ सालोमोन । उसैले कारमा लिफ्ट दियो, जेट्टी पुर्याइदियो र टिकट काटेपछि बस टर्मिनलमा छोडिदियो । माहे-प्रालिन इन्टरआइल्याण्ड बोटको काउन्टरमा टिकट काट्ने बेलामा याद भयो कि मेरो पासपोर्ट र जिओपी घरमै छोडिएछ, झोला नबोकेकाले । सालोमोनकै आइडी कार्डले गुपचुप काम चलाएर टिकट काटीवरी कोपोलिया पन्त निवास पुग्यौं बस चढेर ।

चार बजेको बोट भएकोले हतारहतार एकएक प्याकेट लिची जुश र बिस्कुट खाएर पुनःबस चढेर जेट्टी गयौं । ‘क्याट कोको’ नामक बोट चढेर अपरान्ह चार बजे प्रालिन आइल्याण्डको लागि प्रस्थान गर्यौं हामी दुई । बोटको दोश्रो तलामा गएर बस्यौं । हाम्रो सिट आमनेसामने थियो तर एकछिन सँगै बस्यौं र मास्क खोलेर हतारहतार सेल्फी हान्यौं । बोट क्रु मेम्बरहरु टिकट चेक गर्दै साथै प्यासेन्जरले मास्क लाए-नलाएको पनि निगरानी गर्दै आउँदैथिए । परतिरबाट एउटी मोटी हब्सिनी क्रु यत्रा आँखा फुकालेर छड्के हेर्दैथिई । हामीले नेपालीको जब्बरपन के छोड्थ्यौं, फोटो त खिचीछाड्यौं । बरु अर्को कुराको भय थियो मलाई । मेरो टिकटमा सालोमोन नाम थियो । पन्तजी नआत्तिन ढाडस दिंदैहुनुहुन्थ्यो । गत साल उहाँका श्रीमती र छोरा भ्रमणमा आएका बेला पनि यसरी नै मिलाएर जानुभएको थियो रे! त्यहि युवती टिकट चेक गर्दै आई । दुवै टिकट पन्तजीले देखाउनुभो । मैले केहि वास्ता नगरेजस्तो गरें । मास्क त दुबैले लाएकै थियौं । एक झलक हेरेर टिकट फिर्ता दिई अनि अर्को लाइनतर्फ लम्कीई हब्सिनी । म ढुक्कसँग बसें अब । पक्का सेसेल्वा नागरिक भएर यात्रा गरिरहेछु यतिबेला ।

अगाडी टिभीको स्क्रिनमा प्यासेन्जर ब्रिफिङ्, मौसम सम्बन्धी जानकारी, त्यहि बोटको विज्ञापन देखाउँदै थियो । हाम्रो ध्यान चौतर्फी छ, गफ पनि चल्दैछ । सामुद्रिक यात्रा नौलो नभएकोले खासै नविन केहि महशुस भएन । मौसम भने नक्कले नै छ । एक घण्टापछी सेसेल्सको दोश्रो ठुलो टापू प्रालिन आइल्याण्डको बन्दरगाहमा अवतरित भयौं । पुरुषोत्तमजी एउटा पर्यटकको नेमकार्ड उचालेर बाहिरिने गेटकै भिडमा उभिएका थिए । उनी काम गर्ने होटेलको गेस्ट रिसिभ गर्न आएका रहेछन् । हामी आउने कुरा पनि ज्ञात नै थियो । मनोजजी अलिक पर सुन्तले रंगको कार रोकेर हामीलाई नै पर्खी बसेका । ह्वार्र पानी ओइरियो, हतारहतार कारभित्र छिरेर मनोजकै नेतृत्वमा आफुलाई सुम्पियौं । यहाँ पनि मेरै लागि कार भाडामा लिइएको रहेछ । खासमा यो पटक मेरो भ्रमणको मुख्य गन्तव्य पनि प्रालिन आइल्याण्ड नै थियो । मनोजजी त्यहाँ भएर सम्भव र सहज भयो । राफल्स होटेलको स्टाफ अकोमोडेशनमा पुग्दा अघिको स्यारस्यारे पानी घनघोर वर्षामा परिणत भईसकेको थियो । कम्पाउण्ड छिर्ने गेटमा नेपाली नै सेक्युरिटी रहेछन् हामीलाई देख्नेबितिक्कै गेट खोलिदिए । पार्किङ् लटमा कार बिसाएर दुईचार ब्लक छिचोल्दै दगुरेर मनोजको ब्लकमा पुग्दा आधिसरो त भिजिहालियो । मनोजजी स-पत्नी बस्दारहेछन् । डिपेन्डेन्ट  भिसामा ल्याएका रहेछन् श्रीमतीलाई । राफल्समै काम गर्ने, रुकुम एकै गाउँका निरोज गिरी पनि भेटिए । नमस्कार र  परिचयको आदानप्रदान भयो । मनोजजी लगायत रुकुमका अन्य केहि नेपालीहरु पनि कार्यरत रहेछन् राफल्समा ।

अन्जु बहिनी यानेकि मनोज पत्नी, दोस्रोपटक नेपाली महिला देखें सेसेल्समा । म त नेपाली नै आफु मात्र भएको सुदूर टापुमा बस्ने मान्छे झन् महिला देख्दा अचम्म लाग्ने नै भयो । भित्रभित्रै केहि नेपाली महिलाहरु पनि यहाँ आएका रहेछन् भन्ने बुझियो । कोहि कामदार भिसामा त कोहि यसरी नै डिपेन्डेन्ट भिसामा । माहेमा भेटिएकी खेसेना लिम्बु पनि उनका पति चन्द्र मार्फत डिपेन्डेन्ट भिसामै आएकी रे! एकैछिनमा चिया, सेलरोटी र तरकारीले स्वागत गरियो हामीलाई । तिहार भरखरै सकिएको थियो । त्यसो त दसैं-तिहारको छेक पारेर आउन मलाई अनुरोध गरिएको थियो माहे र प्रालिन दुवै आइल्याण्डबाट पन्तजी र मनोजजी दुवै मार्फत । तर आफु कार्यरत फ्रिगेट आइल्याण्ड रिसोर्टमा गेस्ट अकुप्यान्सी बढेकाले मन भएर पनि उम्किन पाएको थिईन । सेलरोटी हाम्रै लागी राखिएको रहेछ । भावुक हुँदै, नोस्टाल्जिक बन्दै खाइयो । सेसेल्समा सेलरोटी अनुभव पनि पहिलोचोटी नै भयो मेरो लागि भने । पन्तजी त बेलाबेलामा मौका पाईरहनुहुँदो रहेछ । क्या आत्मीय अनुभूत, कस्तो पारिवारिक माहौल ! घरमा भिडियो कल गरेर सबै सुनाएँ, देखाएँ ।

एकछिनमा पुरुषोत्तमजी जोडिए । सामान्य गफगाफ चल्दाचल्दै भोजन तयार भएको अन्जु बहिनीले सङ्केत गरेपछि पेटमा अघिको सेलरोटी नघट्दै फेरी रमाइयो नेपाली स्वादका परिकारमा । डिनरपछी अनुभवका आदानप्रदान भए । पुरुषोत्तमजी केहि कमेडियन पनि लागे । गफैगफमा मेरो मुखबाट एउटा नाम निस्कियो-सीताराम! गाउँको एउटा पुरानो र रोमान्चक सम्झनामा पुगेछु अनि  त्यो रसिक पात्रलाई ल्याएर पुरुषोत्तमजीसँग दाँजेछु अचानक । पात्र अलग भए पनि प्रवृत्ति समान लागेपछि त्यो सुदूर सम्झना अचानक आएछ मनमा । ठ्याक्कै उस्तै मान्छे त भेटिन्छन्, झन् स्वभाव त कति मिल्ने कति ! आखिर मान्छेको मूल पुर्खा त यौटै हो नि ।  सामुहिक हाँसोले कोठा गुन्जियो । माहौल रमाइलो बन्यो एकछिन । भोलीको भ्रमण तालिका तय भएपछी निरोज र पुरुषोत्तमजी आ-आफ्ना बासस्थान फर्किए । हामीले पनि दिनभरीको थकित तन र चकित मनलाई निद्रा देवीको पोल्टामा हालिदियौं । प्रालिन आइल्याण्डको प्रेमिल स्पर्शले न्यानो आँत पारेर ।