उहिले अँधेरीघाट साह्रै खुशी थियो
मान्छेहरुले पूजा गर्थे, भोग दिन्थे, बलि चढाउँथे
पञ्चबलिमा बाजागाजासहित धूमधाम महिमा गाउँथे
अँधेरीघाट मान्छेका जिन्दगीको दोभान थियो
वारिका पनि भेटिन्थे
पारिका पनि देखिन्थे
अँधेरीघाट तर्ने क्रममा,
बटुवाहरुको आस्था थियो
परदेशीहरुको विश्वास थियो अँधेरीघाट

अँधेरीघाट असाध्यै भाग्यमानी थियो ऊबेला
सिरसिरेको डाँडाबाटै नमस्कार खान्थ्यो
मुगलान हिंड्नेहरुको ताँतीमार्फत्
तीन दोभानेको थाप्लोदेखि नै फूलपाती र भेटी असुल्थ्यो
घर फर्किएका परदेशीबाट
माझीलाई एक पेरुङ्गो माछा दिएर
नाउ चढेर घाट तर्ने मान्छे बटुल्न लाउँथ्यो अँधेरी
र, लिन्थ्यो-
थुप्रै परेवाका बच्चा, फूलपाती, भेटी, सिन्दुर, सुपारीसँगै
अर्को सालको भाकल
भनेजस्तो नहुँदा रिसले राँकिएर निल्थ्यो
सर्लक-सर्लक मान्छेको ज्यान !

त्यतिबेला अँधेरीघाट अचाक्ली
मात्तिने-पात्तिने, छिल्लिने, बुल्किने, नानाभाँती गर्ने गर्दथ्यो
कण्डम लाउने शिक्षाको अभावमा भालेपोथी भएर गर्भिणी बनेका
कत्ति तरुनी रहरहरुलाई छितकी-पातकी अभियोगमा
आत्महत्या गर्न बाध्य बनाएर बेजोडले सुसाउँथ्यो
अनि, खाऊँखाऊँ-लाऊँलाऊँ उमेरका यौवनाहरुलाई
आफ्नै योनीभित्र घुसारेर निर्लज्ज खितखिताउँथ्यो छाडा अँधेरी,
पौडी खेल्न आउने अर्धनग्न जोडीलाई पनि
पेटिकोट तानिदिंदै बेमेलको आरोप लगाएर
झन् पूरै नङ्ग्याइदिन्थ्यो !

पछि, मान्छेहरुले पुल बनाए
र, अँधेरीको टाउको टेक्दै घाट तर्न थाले
यसो हुँदा अँधेरी अलिकति धुम्मियो
केही निरासियो
र, धेरै रिसायो
बटुवाहरुले ठेकेदारलाई भेटी चढाउन थाले
अँधेरीको साटो अपमान गरेर,
क्रोधले आगो भएको अँधेरी
आफ्नै शरीर नाघेर हिंड्ने मान्छेहरुदेखि भयङ्कर वक्र भयो
तर के गर्नु, अरुणको पानीले कहिल्यै पुल छुन सकेन
राजधानीमा अर्थशास्त्र पढेर
बिदामा घर फर्किंदै गरेका भोजपुरे विद्यार्थीहरु
पुलको बारबाट तलको पानी हेर्दै काल्पनिक योजना बुन्दथे
यही पानीबाट आगो झिक्ने
कोहीकोही भने बेस्मारी सराप्थे विश्व बैंकको डलर उम्काएर
देशलाई अँध्यारोमा जाक्ने मुलुकमाराहरुलाई !

आफ्नो ढाड टेकाएर अँधेरीले
हजारौं आतंककारीलाई कथित क्रान्तिकारी बनाएर दौडायो
सयौं गाउँमारा सामन्तलाई कुम्लोकुटुरो बोकाएर
पापको ज्यान-धन लुकाउन रातारात भगायो
लाखौँ सर्वसाधारणको आँशु
आफ्नो पानीको रङ्सँगै मिसाएर आशीर्वाद दिंदै डाँडा कटायो
तर कसैले उसको गुन सम्झेन,
कसैले फूलपाती-भेटी चढाएन,
कसैले महिमा गाएन !

अचेल अँधेरीघाट खुशी पनि छैन,
रिसाएको पनि छैन
बरु उदास-निरास छ,
देउरालीको ढुङ्गोजस्तो एक्लो अँधेरीघाट
सबैबाट अपहेलित छ, तिरस्कृत छ
फाट्टफुट्ट लोकल माझीका कलिला केटाकेटीहरु
आका पुछेको सिमलपाती चढाउँछन्
कहाँ बेपत्ता भए ती मकैको छ्याङ् बेच्ने तरुनीहरु ?
कता भासिए ती जुनेलोको निगारले मातेर
जुहारी खेल्ने छिमेकीहरु ??
खोई, फूलपाती चढाउँदै दोहोरीलत्ता
ओहोर-दोहोर गर्ने पैदल यात्रीहरु ???
आँखा अगाडि-पछाडि
आफ्नै शीर माथिबाट दगुरेका गाडीको बाटो हेरेर
भक्कानिँदै छाती पिटीपिटी रुन्छ हिजो-आज अँधेरीघाट !

इटहरी-४ सुनसरी, नेपाल
हाल : फ्रिगेट आइल्याण्ड, सेसेल्स