जिपी कोइराला आर्ट एन्ड फाउन्डेसन र उडिसा कलेज अफ आर्ट एन्ड क्राफ्ट, उडिसा, भारतको संयुक्त आयोजनामा गत हप्ता काठमाडौंमा एक बृहत् कला प्रदर्शनी तथा कला भ्रमण र मित्रवत् दुई देशका कलात्मक र सांस्कृतिक सम्बन्धको अध्ययन, अनुभव र सहकार्यका कार्यक्रमहरूको आयोजना गरिएको थियो । जहाँ दुई देशको कलाकर्मका सीप, शैली र ज्ञान तथा विचार आदानप्रदानको माहोल पनि बनेको थियो ।
मन्दिरै मन्दिर र कलैकलाले घेरिएको गहकिलो संस्कार तथा संस्कृतिले पोषित एवं पालित सुसज्जित काठमाडौं सहरलाई उडिसाका कलाकारहरूले क्यानभासमा रङ्गाएर आत्मीयता, प्रेम र भाइचाराको उदाहरण प्रस्तुत गरेका थिए ।
नेपाली कलाकार र उडिसाका कलाकारहरूको संयुक्त आउटडोर कला वर्कसपमा काठमाडौंका विभिन्न ऐतिहासिक संरचना, कला र वास्तु–धरोहरहरू समेटिएका थिए । उनीहरूको यो कला वर्कसप र भ्रमणले काठमाडौंका संरक्षित र चर्चित विविध स्थानलाई क्यानभासमा समेटिने अवसर दियो । जस्तो नेपाल र भारतका कलाकारहरूले पशुपति क्षेत्र, पाटन क्षेत्र, भक्तपुर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र परम्परागत राणाकालका दरबारलगायत अहिलेका नयाँ संरचनाका धरोहरहरूलाई आ–आफ्ना क्यानभासमा समेटे ।
उक्त वर्कसप एक हप्तासम्म भएको थियो । कार्यक्रमअन्तर्गतको वर्कसपमुखी भ्रमण सकिएपछि उडिसाका कलाकारहरूलाई नेपाली कलाको ज्ञान तथा जानकारी दिलाउने हेतुले कला डेमोन्स्ट्रेसन कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यस कार्यक्रममा लिड रोलको भूमिकामा नेपालका वाटरकलाकर्मी ए. बी. गुरुङ र प्रायः हिमाल, हिमालका दिनचर्याका चित्र कोर्ने नरबहादुर वि.क. थिए । उनीहरूले उडिसाबाट कला अध्ययन–भ्रमणका निम्ति नेपाल आएका कलाकार एवं विद्यार्थी कलाकारहरूलाई नेपाली कलाको शैली, मान्यता र चित्र कोरिने सुर र लयलाई डेमोन्स्ट्रेसनमार्फत लाइभ प्रस्तुति र जानकारी गराएका थिए । यस्तै यस कार्यक्रममा मिथिला कला दीर्घाका सञ्चालक एवं कलाकार श्यामसुन्दर यादवको महत्त्वपूर्ण भूमिका एवं सहभागिता रहेको थियो ।
यस कार्यक्रमको माध्यमबाट उडिसाका कलाकारहरूले नेपाली कलाकारहरूबाट र नेपाली कलाकारहरूले उडिसाका कलाकारहरूबाट कलाको धेरै नै कलाज्ञान र कलाशिक्षा लिने, अनुभव साटफेर गर्ने अवसर पाएका थिए । र महत्त्वपूर्ण कार्यक्रमले इतिहासदेखि नै सुमधुर रहँदै आएको हाम्रो छिमेकी राष्ट्र भारतसँगको अटुट सम्बन्ध बलियो भएको अनुभूति दिलाएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










