शिकारी युगका मानवजातिले दिन बिताउने र सिकारका लेखाजोखा गर्ने माध्यमबाट विकास भएको हो, चित्रकारिता विधा । भनिन्छ, चित्रकला त्यो विधा हो, जसमा सम्पूर्ण भाषा, संगीत र साहित्य अटाउँछ । यति मात्र होइन कलाको सम्बन्ध मानिसको जीवन र जगतसँग अन्योन्याश्रित रहेको छ । विश्वमञ्चमा यो विधा साहित्य, संगीत, कला र कलाका अन्य विधाहरूभन्दा उच्च र जेठो विधाका रूपमा प्रतिष्ठित रहेको छ ।
संसारले चित्रकला विधालाई विश्वभाषा मान्छ । यसलाई बुझ्न र बुझाउन कुनै पनि देशको स्थानीय भाषाको आवश्यकता पदैन । दृष्टि गोचरबाटै अनुभूतिको आनन्दको पराकाष्ठमा पुगिन्छ । केन्नेथ क्वार्कको भनाइनुसार– ‘कला सम्पूर्णतः हाम्रा ज्ञान, हाम्रा स्मृति र हाम्रा सम्बन्धहरूसँग सम्बन्धित छ ।’ यस्तै कलालाई क्रोचेले मनःसृष्टि वा अन्तर्ज्ञान मानेका छन् । जे होस्, मानव विकासपश्चात् साङ्केतिक बाटोबाट रेखाङ्कित रूपमा शब्द र भाषामा प्रतिस्थापित हुँदै आएको यो विधा भौतिक, आध्यात्मिक र दर्शनको सुन्दर अभिव्यक्ति गर्ने माध्यमका हो ।
विश्वप्रसिद्ध कलाकारहरू माने, मोने, राफेल, भेनगाग, डाली, पिसारो, लियानार्दो दा भिञ्ची, पिकासो, दोमियर, कुर्वे, कान्दस्की, विलियम डि कनिङ्ग, ज्याक्सन पोलक आदि कलाकारहरू कला विकासका जन्मदाता हुन् । यिनीहरूका कलाकृतिहरूले युग बोलेको छ । त्यसैले यिनीहरूको कृतिहरूको आर्थिक मापन हुन सक्दैन भन्ने चलन छ । विश्वमा स्थापना भएको नौला, नौला सैद्धान्तिक मान्यताभित्रका प्रक्षेपित विविध वादहरूको आविष्कार, ऐतिहासिक र सामाजिक पृष्ठभूमिका अवशेषको चित्राङ्कित अवस्था नै यिनीहरूका ऐतिहासिक कलाकृतिहरूको मूल्य आँक्न नमिल्ने अवस्थाहरू हुन् । मूलतः वादहरूको स्थापना, कृतिको गरिमा र वैभवता नै कृतिहरूलाई आर्थिक मूल्य विहीनताको धरातलमा टेकाइराख्ने सम्मानित अवस्थाहरू हुन् ।
परम्परागत मान्यतालाई उल्लङ्घन गरेर कुर्बेले अपनाएको नव कलाशैली र स्वतन्त्रताले आधुनिक कला विजारोपणको मार्गलाई प्रशस्त र खुला बनाएका हो । एडुवाई माने त आधुनिक कला आन्दोलनको प्रभाववादी शैलीका महान् अगुवा प्रवर्तक नै हुन् । यस्ता धेरै कारणहरू छन्, जसले कलाकारहरूका कलाकृतिहरूलाई विश्वसम्पदाका रूपमा परिभाषित गर्न सघाउ पुर्याएको छ ।
प्रथम र दोस्रो विश्वयुद्धको विभीषिकाले जन्माएका सांसारिक द्वन्द्वको निराशाबाट प्रभावित पाब्लो पिकासोको ‘गोर्निका’ चित्रकृतिले युद्धको उन्माद लिप्साहरूलाई चोटिलो व्यंग्य कसेकोले आज ‘गोर्निका’ चित्र समाजका निमित्त विश्वसम्पदाका रूपमा प्रतिष्ठित छ । भेनगागको ‘सन प्लावर’ र नौला दृश्य चित्रहरू पुरातन कला शैलीप्रतिको सैद्धान्तिक मान्यता विरुद्धमा जन्मिएको प्रभाववादको मूल उपज भएका कारणले नै आज उनका कृतिहरू आर्थिक मूल्यभारको सीमा उपल्लो स्थितिमा रहेको छ । त्यस्तै लियोनार्दो दा भिञ्चीको ‘मोनालिसा’ चित्रकृति, कलाकौशलतामा देखिएको अति यथार्थवादी सोचको नौलो अविष्कार भएका कारण यो महत्त्वपूर्ण बनेको हो । ‘मोनालिसा’ कृतिले पोट्रेटको संसारमा नौलो जागरण ल्याइदिएका कारणबाट यस कृतिको महिमा कलाक्षेत्रमा निरन्तर गाइन्छ । र, हिजोआज त झनै प्रचारित गाइँदैछ ।
विगत र वर्तमानका विश्वप्रसिद्ध धेरै कलाकारहरूमध्ये म्याथिस गु्रनेवाल, लियोनाद्रो दा भिञ्ची, राफेल, क्लाउड मोनेट, माने, डाली, भेनगाग, रोजर फ्रे, गोगा, सेजा, कान्दस्की, पल ली, पिकासो, ब्राक, ज्याक्सन पोलक र यस्तै धेरै मुलुकका धेरै विश्वप्रशिद्ध कलाकारहरू र केही वर्षअघि दिवंगत भएका भारतका एम एफ हुसैन, नेपालमा जन्मेर भारतलाई कर्मभूमि बनाएका लक्ष्मण श्रेष्ठ, नेपालका वरिष्ठ कलाकार शशी शाह, भर्खरै दिवंगत हुनुभएका वरिष्ठ कलाकार मनुजबाबु मिश्र, अमूर्तकलाका प्रयोगधर्मी कलाकार उत्तम नेपाली, अविचलित सक्रिय कलाकार किरण मानन्धर, उर्मिला गर्ग, प्रमिला गिरि, वत्स गोपाल वैद्य, विजय थापा, शशीकला तिवारी, रागिनी उपाध्याय, कृष्ण मानन्धर, राधेश्याम मुल्मी, गोविन्द डंगोल लगायत थुप्रै स्थापित र बुज्रुक कलाकारहरूका कृतिहरूले आधुनिक कलाको नवशैली, मान्यता र नौलो जागरणलाई आत्मसात गर्दै क्रमशः नौलो सैद्धान्तिक वाद स्थापित गरेका र गर्ने प्रयत्न गरिरहेकाले नै यिनीहरुका कृतिहरू आज कलाबजारमा बहुमूल्य र संरक्षित बनेका र बन्दै गएका हुन् । कलाको मूल्य हुँदैन भन्नुको कारण पनि यही हो । यस कुरालाई पश्चिमाहरूले बेलैमा बुझेका थिए । त्यसैले यस क्षेत्रमा उनीहरू हामीभन्दा धेरै अघि बढेका हुन् ।
आधुनिक कलाको विकास र विस्तारको क्षेत्रमा हामीहरू उनीहरूभन्दा झण्डै सय वर्षपछि नै पर्छौँ। किनकि पश्चिमी देशहरूमा आधुनिकता र नवप्रयोगको प्रक्षेपण हुँदै सफलता हात पर्दा नेपालीहरूको कलाकृति दैवीय वर्णन, प्राकृतिक प्रविधि र वंशाणुगत मौलिक अनुभूतिमा नै केन्द्रित रहेकोले पनि आधुनिक कला चेतना र विकासका पक्षमा हामी पछि परेका हुन सक्छौँ । वास्तवमा जब-जब पश्चिमामा आधुनिकताको प्रयोग र व्यवहार हुने गर्दछ तब-तब हामी धेरै टाढा टाढिनुको कारण पनि कला अवचेतन नै हो । यहाँसम्म कि कलामा धनी देश भनेर चिनिने हाम्रो देशलाई समसामयिक कला विकासको सन्दर्भमा छिमेकी मुलुकहरूले पनि उछिनिसक्नुको कारण पनि यही हो । साथै हाम्रा आन्तरिक कारणहरू पनि यसमा दोषी छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।