कला र कलाकार देशका सम्पदा हुन् । कलाकारलाई देशको सीमारेखा र भाषाले बाँधेर बाँधिदैनन् । कला विश्वभाषा हो भने कलाकार युगद्रष्टा हुन् । विश्वकला इतिहासमा कतिपय देशका राजनैतिक, आर्थिक, समाजिक र सांस्कृतिक परिवर्तनको संवाहकका रुपमा स्रष्टा र सिर्जनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास छ । विश्वयुद्धका भयावह पीडाका कथाहरू प्रसिद्घ कलाकार पाब्लो पिकासोको प्रसिद्घ सिर्जना “गोरनिका” शीर्षकको चित्रमा अनुभूत गर्न सकिन्छ । त्यस चित्रले युद्धकालका परिणति र विश्व भूराजनैतिक आतंकले जन्माएका अधिनायकवाद, उपनिवेशवाद, विस्तारवाद, आदि जस्ता वैचारिक र नीतिगत मान्यताहरूले विजारोपण गरेका महत्वकांक्षी युद्घहरू र नैसर्गिक विश्व शान्तिका आवश्यकताहरूको आवाज बोलेको छ ।

कलाले राजनैतिक मात्र नभई युगका सम्पूर्ण प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र वैचारिक धरातलीय संयन्त्र एवं संसाधनहरूलाई रङ र रेखाहरूले उद्घोष गर्दै भूत, वर्तमान र भविष्यको उद्वोधन गराउँछ । र युगलाई दिशानिर्देश गरेर स्वर्णिम संसारको परिकल्पना गर्छ ।

यसै सन्दर्भमा आधुनिक संसारलाई कलाधर्मबाट गुन लगाउने युगबोधक कलाकारहरू संसारमा धेरै छन् । तीमध्ये पनि महत्त्वपूर्ण एक स्रष्टा छन्, जसलाई विकसित विश्वकलाको इतिहासले कहिल्यै भुल्न सक्दैन । ती हुन्, प्रसिद्घ जर्मन चित्रकार म्याथिस ग्रुनेवाल जसको कला देनलाई चर्चा गर्नैपर्ने हुन्छ । जर्मनी कला इतिहासमा प्रभाववाद र अभिव्यंजनवादको सम्मिश्रणयुक्त ‘रियालिज्म क्यानभास’बाट तात्कालिन समाजको समाजिक मान्यता, अन्धविश्वास, राजनैतिक दाउपेज, धार्मिक जडवादिता र जनआस्थाका वैचारिक धरातलको चिनारी गराउन साहस गर्ने चित्रकार म्याथिस ग्रुनेवाल हुन् । उनलाई नबुझी उनलाई इतिहासका ठेलीहरूमा मात्र थन्काएर राख्नु न्यायसंगत हुँदैन । यसो गरे एक हिसाबले आधुनिक कलाको संसार अधुरो हुनजान्छ ।

आज कलालाई आधुनिककलाको अवस्थासम्म ल्याइपु-याउने कडीका रुपमा स्थापित विश्वप्रसिद्घ चित्रकारहरु लियोनाद्रो दा भिन्ची, भेनगाग, मोने, माइकल ऐन्जेलो, डाली, पिकासो, जर्ज ब्राक, कान्दस्की, जेक्सन पोलक आदि कलाकारभन्दा अगाडिका ग्रुनेवाल र उनका सिर्जनाहरुका सैद्धान्तिक र वैचारिक मान्यताहरू उजागर र आत्मसात नगरिंदा आधुनिककलाको स्रोत नै अपुष्ट, अपूर्ण हुन जान्छ । उनी र उनका सिर्जनाका बारेमा खोजी गर्नेक्रममा विश्वकला इतिहासका विश्वप्रसिद्घ कतिपय आधुनिक कलाकारहरूका क्यान्भास उनकै पुरातनवादी क्यान्भासहरूबाटै कुनै न कुनै रुपबाट प्रभावित रहेका देखिन्छन् भन्ने कुरामा दुई मत छैन । यसर्थ, उनलाई विश्वकलाको सैद्घान्तिक मञ्चका (जहाँबाट कलाका सैद्घान्तिकवादहरूको मान्यताको जन्म हुन्छ, विजारोपण हुन्छ) जन्मकर्ताका रुपमा विश्वकला संसारले चिनेको छ । प्रायः कतिपय इतिहासकारहरूले कलाकार म्याथिस ग्रुनेवाल उसबेला कस्ता थिए, को हुन्, उनको वास्तविक शरीरको बनोट कस्तो थियो भन्ने किटान गर्न नसके पनि अनुमान र अनुसन्धानका आधारमा उनको इतिहास विशिष्ट विद्वानहरुबाट खोजी भएको देखिन्छ । त्यही खोजलाई नै उनको प्रमाणिक आधारहरू मानिएको छ ।

कलाकार म्याथिस ग्रुनेवालको जन्म सन् १४८० उसबेलाको वर्गवग भन्ने ठाउँमा भएको थियो । उनी निम्नस्तरबाट उठेका, थाहा नपाइएका कलाकार एवं हाइड्रोलिक इन्जिनियर थिए । उनले सन् १५२०–१५२३ मा त्यसताका हले भन्ने ठाउँको नजिक एक चर्च बनाएका थिए । अन्वेषण र खोजीबाटै उनको वास्तविक मूर्त मुखाकृति, मुडी स्वाभाव र व्यक्तिगत जीवनका बारे अध्ययन र अनुमान गर्न सकिएको थियो । खोजीको क्रममा जर्मनी पेन्टर सेनड्राफ्टका भनाइअनुसार कलाकार ग्रुनेवालले ढिलो विवाह गरे भन्ने छ तर उनका श्रीमती या बच्चा थिए भन्ने भनाइ अझै पनि अप्रमाणिक नै छन् । उनले पारिवारिक जीवन भोगेका थिए भन्ने कुराको प्रमाण अझै पनि कसैसँग छैन । त्यसताका ग्रुनेवालको लुथरमा विश्वास भएका कारणबाटै अन्वेषक र समालोचकहरूले त्यतिबेला उनलाई बेवास्ता गरेको अनुमान गरिएको छ ।

सन् १५९७ मा इम्पेरोर रुडल्फ द्वितीयले ग्रुनेवालको “अल्टरपिस” शीर्षकको चित्र र उनका सन्दर्भमा अध्ययन र खोजी कार्य शुरु गरेका थिए । सन् १८५२ मा अपिरिचित रहेका कलाकार ग्रुनेवालको “द मिराकल अफ द स्नोज” थोरै मूल्यमा बिक्री भएको देखिन्छ । त्यसैताकादेखि उनी र उनका चित्रको बारेमा अनुसन्धनात्मक खोजी कार्य शुरु भएको हो । यसैक्रममा उनको महत्त्वपूर्ण कार्य अल्टरफीस (फोल्ड गरेर बटारन मिल्ने ठूल्ठूला आकृतिका क्यानभास)थिए । खोजीको क्रममा उनले बनाएका केही मुखाकृति चित्रहरू भेटिए पनि प्रायः सम्पूर्ण चित्रहरु धर्म र विचारमा आधारित थिए । धर्मलाई विषयवस्तु बनाएर रापिला, उज्याला, प्रभावोत्पादक, आँखालाई प्रभावित गर्ने संरचनाको सिर्जना हुनु र समयलाई उद्गार गर्नु नै उनको प्रमुख चित्र विशेषता रहेको पाइन्छ । ग्रुनेवालका “द मोकिङ अफ ख्रिष्ट” र “द क्रुसिफिसन”का चित्रहरूमा तत्कालिन समयमा ख्रिष्टप्रति उसबेलाको समाजले गरेको खिसीटिउरी र दुर्व्यवहार देख्न सकिन्छ । अति डिटेलमा काम गरिएका ती चित्रहरू “फेन्टासी” शैली र विषय कल्पना तथा अकल्पनीय प्रधान रहेको पाइन्छन् । ग्रुनेवालले चर्चहरूमा चित्रकार, इन्जिनियर र कारपेन्टरका रुपमा पनि कार्य गरेका थिए ।

म्याथिस ग्रुनेवाल्डको समय प्लेग रोगको समय थियो । समाजमा प्लेग रोग ज्यादै भयावह, संक्रामक रुपमा फैलिएको थियो । चौँध देखि सत्रौँ शताब्दीसम्म प्लेगबाट अत्याधिक मानिसहरुको मृत्यु भएको थियो । त्यसताका पापी मान्छेहरूलाई भगवानले दिएको यातनाका रुपमा यो रोगलाई चर्चमा वर्णन गरिएको हुन्थ्यो । ग्रुनेवाल्डका कतिपय चित्रहरूमा यही रोगको वर्णन झल्किएको पाइन्छ । त्यस्तै “ख्रिष्ट सफर” चित्रमा उनले ख्रिष्टको शरीर प्लेगले क्षतविक्षत भएको टाउको पीडाले झुन्डिएको र हरियो ओठ बाएको दृष्य देखाएका छन् ।

त्यस समय अन्धविश्वास र धर्ममा निर्लिप्त समय भएकै कारणले ग्रुनेवाल्डका चित्रहरूमा कठोर र “फेन्टासिज्म” (कल्पना) मा आधारित विषय संरचनाहरू प्रस्तुत भएको पाइन्छ । पन्ध्रौं शताब्दिदेखि प्लेग रोगले महामारीको रुप धारण गरेको र पछि उपचारका बारे विकासवादी अवधारणा, वैज्ञानिक एवं तार्किक खोज, अनुसन्धान र प्रयोग हुँदै गएको पाइन्छ । अन्त्यमा, सन् १५२८ मा विश्वकला इतिहासमा बाँचेका यस्ता महान् कलाकार ग्रुनेवाल्डको मृत्यु पनि प्लेग रोगकै कारण भएको थियो ।

(लेखक निरौला कलाकार एवं कला समीक्षक हुनुहुन्छ ।)