साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रिभरा र उनका कला

Chovar Blues Mobile Size

तीर्थ निरौला

तीर्थ निरौला

छ फिटको उचाई, ठूलो ओठ, बुद्धको जस्तो हेराई र हँसिलो अनुहारका धनी थिए उनी । आफ्नो उमेर भन्दा आधा उमेरकी श्रीमतीको सुन्दरताको बखान गर्दै उनी भन्ने गर्थे, ‘लामो केसराशीले सजिएको सुकोमल मुहारमा भुर्रर..र..र उडेको चराजस्तो, कालो र पातलो आँखीभौं अनि त्यसभित्र दुई कैला आँखा । पातली फ्रिडा तिमी कति सुन्दरी ?’ यो सुन्दरताको बखान गर्ने उनी हुन मेक्सिकोका कलाकार डिएगो रिभरा ।

कलाकारहरु स्वाभावैले रुप र सुन्दरताका पुजारी हुन्छन् । प्रत्येक पल उनीहरू क्यान्भासमा सुन्दरता पस्कन उत्ताउलिन्छन् । उनीहरूको सृजनात्मक ऊर्जा शक्तिको प्रभाव पाटो भनेको सुन्दरता हो । चाहे त्यो सुन्दरता स्त्री शरीर बनौटबाट पाइयोस् वा प्राकृतिक छटाबाट । यति मात्र होइन, रोमान्टिक सुन्दरता सँगसँगै उनीहरूका कृतिहरुमा गाम्भीर्य र उदेकलाग्दा समाजवादी सुन्दरता त्यतिबेला स्पस्टिने गर्छ, जब सृजनाहरूमा तात्कालिन राजनैतिक प्रभावहरूका विम्व अटाउँछन् । समाजका तात्कालिन वस्तुस्थिति प्रस्टिन्छन् । कला कलाका निम्ति मात्र नभएर कला समाजका निम्ति पनि बोलिन्छन् । यस्तो कला सुन्दरतामा विगतको इतिहास लुकेको हुन्छ र छ । जसलाई समाजको कला भन्दा फरक पर्दैन । रिभरा यिनै कला वास्तविकताका प्रयोक्ता २० औं शताब्दीका चर्चित मध्येकामा पर्छन्  ।

रिभराको सन् १८८६ मा १३ डिसेम्बरका दिन मेक्सिकोको गुनाजुआटो भन्ने स्थानमा जन्म भएको हो । इतिहास हेर्दा, उनीसँग स्त्री सम्बन्धका कथाहरू सँगसँगै आफ्नो जन्मस्थानको राजनैतिक पृष्ठभूमि र रसियाको अक्टुबर क्रान्तिदेखि विभिन्न क्षेत्रमा स्थापित विभिन्न ‘मुरल’ कलाको योगदान लगायत आधुनिक कलाको इतिहासको विकासको गोरेटो पनि जोडिएर आएको छ । जीवनमा धेरै उतारचढावहरू भोगेका उनी कम्युनिष्ट विचारबाट प्रभावित रहेका कलाकार थिए । उनी मेक्सिको कम्युनिष्ट पार्टीका संस्थापक सदस्यमध्ये एक साम्यवादी कलाकार सदस्य थिए ।

sagarmani mobile size

एकदिन रेलवे स्टेशनमा रिभरासँग भएको जम्काभेटबाट प्रभावित भएका त्यसताकाका रसियन क्रान्तिकारी कवि भाल्दमिर मायाकोभस्कीले रिभराको मोहिनी व्यक्तित्वबारे एकठाउँमा यस्तो बखान गाएका थिए — ‘डिएगोले मलाई पहिलो पल्टको जम्काभेटमा नै नमस्कार गरे । उनी मेक्सिको कम्युनिष्ट पार्टीमा सम्बद्ध छन्  भन्ने मैले पहिल्यै सुनेको थिएँ । तपाईंलाई थहा छ, ऊ हावामा फालिएको सिक्कालाई रिवल्भरले तारो हान्नसक्छ । ऊ देख्दा सुन्दर र हँसिलो छ । मलाई ऊ मनपर्यो ।’

डिएगो रिभेरा

डिएगो शिक्षित आमाबुवाको कोखबाट जन्मेका कलाकार थिए । उनी जन्मिदा गुनाजुआटो स्थानको ‘डिक्टेटरसीप’ अवस्था निरंकुशतन्त्रले व्याप्त थियो । समाज, त्यहाँको प्रमुख प्रोफिरो डिजको अत्याचारी क्रियाकलापबाट आजित बनेको थियो । जमाना कठोर ‘सेन्सरसिप’को थियो । यो असह्य कारणले रिभरा परिवारलाई राजधानी बसाईं सर्ने बनायो । राजधानी गएपछि त्यहीँ उनको शिक्षादीक्षा आरम्भ भयो । त्यहीँको शेन कारलोश भन्ने एकेडेमीमा उनी सफल कलाकार बन्ने बाटो खनिदियो । पछि उनले कला अध्ययनका निम्ति युरोप बस्ने चार वर्षे छात्रवृत्ति पाए । युरोप छिरेपछि नै प्रतिभावान् रिभराको कला ऊर्जा र सृजनात्मक गतिले मौलाउने अवसर पाएको हो ।

युरोपमा उनी १२ वर्ष बस्दा थुप्रै कला अनुभवहरू सँगाले । दुई वर्षपछि पेरिस गए, जहाँ क्युबिकवादका सिद्धान्तकारदेखि यसका प्रयोक्ताहरू पिकाशो, जुवान ग्रिस, जेकी लिप्ची, एडरी लोटेहरूसँग धनिष्ठ सम्बन्ध कायम भयो । उनी पेरिसका कलाकार, लेखक, विद्वानहरूको ठूलो क्लब ‘मोनपारनस क्याफे सोसाइटी’ समूहमा  सहभागी बने । पेरिस छँदै उनले एन्जेलिनी नाम गरेकी केटीसँग घर बसाएका थिए । केही समय पश्चात मेरभिना नामकी लेखिकासँग उनको नव प्रेमसम्बन्ध गाँसियो । तिनी छुच्ची र धमण्डी मिजाजकी थिइन् । त्यसैले रिभराले विवाह प्रस्ताव राख्दा पनि उनले विवाह गर्न मानिन् तर प्रेम चाहिँ छ वर्षसम्म गरिरहिन् ।

उनीहरूबाट एक छोरीको जन्म भयो भने ब्याइते पत्नीबाट एक छोराको जन्म भएको थियो । दुई वर्षको उमेरको छोरो बितेको कारण दुई दम्पतिमा गहिरो मनमुटावको खाडल सृजना हुन पुग्यो । अन्ततः जीवनको पछिल्लो समयमा उनले तरुनी फ्रिडा कालोसँग विवाह रचे ।

युरोपको बसाईमा उनले क्युबिक सिद्धान्तका चित्रहरूमा नयाँ प्रयोग अपनाएका थिए । यस्तो प्रयोगले पिकासो, रोबर्ट डिएलुनेहरूलाई पनि प्रभावित पारेको थियो । उनको कार्य दक्षता र क्युबिक शैलीमाथि नै उनको नयाँ शैलीको प्रतिपादित रुप देखेर क्युबिकका महारथी पिकासो छक्क पर्दथे र रिभराको नजिक सबै कलाकारहरू झुम्मी रहन खोज्थे । क्युविज्ममा मात्र होइन, उनको कार्य गति र क्षमता ‘मुरल’ कलामा पनि विशिष्टरुपमा छाएको पाइन्छ । उनले रसिया, मेक्सिको, फ्रान्स र अमेरिकाहरुका सार्वजनिक भवन, सरकारी भवन तथा अन्य स्थानहरूमा अनगिन्ती भत्ते सजावट तथा थुप्रै एतिहासिक ‘मुरल’ कलाहरू बनाएका छन् ।

अमेरिका छँदा उनलाई एक भवनमा चित्र कोर्ने काम दिइएको थियो । कामको सिलसिलामा एक ठाउँमा लेनिनको पोट्रेट बनाउन नदिएको रिसले आफूले पाएको त्यो महत्त्वपूर्ण र ठूलो प्रोजेट नै छोडेर हिँडे । यस्ता सन्की उनको ईहलीला ७० वर्षको आयुमा निरन्तर काम गर्दागर्दै हृदयघातको कारणले आफ्नै जन्मभूमिमा समाप्त भएको थियो । आज कतिपय उनका ती कलाहरू अझै संरक्षित अवस्थामा छन् र ती कलाहरूले हिजोको युग बोलेका छन् । र हामीहरूलाई जिउँदो इतिहास दर्शाइरहेका छन् ।

लेखक परिचय

तीर्थ निरौला एक सफल चित्रकारका साथै कडा कला समीक्षकका रूपमा समेत चिनिनु हुन्छ । उहाँका चित्रकलाहरू देशमा मात्र नभएर विदेशमा समेत प्रदर्शित छन् ।

प्रतिक्रिया
Loading...