‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता छ पुस्तक । ‘मायाका मसिना अक्षर’देखि ‘नचिनेको मान्छेसँग जाँदिनँसम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

=======

१. सम्झनामा तारानाथ शर्मा

साहित्यकार कृष्ण प्रसाईंको सम्पादनमा प्रकाशनमा आएको संस्मरण र समवेदना सँगालो हो, सम्झनामा तारानाथ शर्मा । कृष्ण धरावासीको “तारा थिए, तारै भएर रहे: तारानाथ” र्शीषकमा भूमिका सङ्ग्रहित यो कृतिमा शर्माकी श्रीमती शान्ता शर्माको “फर्केर हेर्दा: जीवनसाथीको स्मृतिलोकबाट” शीर्षकको संस्मरणका साथै विभिन्न व्यक्तिहरुका समवेदन सन्देश र तारानाथ शर्माले सम्पादक प्रसाईंलाई विभिन्न समयमा लेखेका हस्तलिखित पत्रहरुसमेत सङ्ग्रहित छन् ।

”जब हामी नेपाली समालोचनातिर चिहाउन थाल्छौं, त्यहाँ सारै थोरै अनुहारहरु देखिन थाल्छन् ।”, पुस्तकको भूमिकामा कृष्ण धरावासी लेख्छन्, “थोरै अनुहारमा पनि झन थोरै अनुहार देखिन्छन् जसले नेपाली समालोचनाको यात्रालाई स्वादिलो बनाए । त्यस्ता केही नामहरुमा हामी टाढैबाट गुञ्जिरहेको नाम सुन्छौं डा. तारानाथ शर्मा अर्थात ताना सर्मा ।”

पुस्तकलाई जरा फाउण्डेशनले प्रकाशनमा ल्याएको हो । १ सय १६ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय रुपियाँ रहेको छ ।

 

२. मायाका मसिना अक्षर – सुरेश बडाल

युवापुस्ताका लोकप्रिय लेखक सुशेर बडालको नवीनतम् उपन्यास हो, मायाका मसिना अक्षर । आकर्षण र प्रेम, सही र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमको मझधारमा बग्ने ‘मायाका मसिना अक्षर’ले पाठकलाई आफ्नै प्रेमको आत्मसमीक्षा गर्न बाध्य पार्छ ।

मान्छेले गल्ती गर्छ र त्यसलाई स्विकार्छ भने त्यो जति उपयोगी शिक्षा अरु हुँदैन, यस मानेमा यो नायकको कथा होइन, जो सबैलाई पराजित गर्छ । यो त खलनायकको कथा हो, जो आफ्नै अपरिपक्वतालाई जित्छ । लेखनमा रूचि भएको दिवस र काठमाडौंमा सङ्घर्ष गरिरहेकी रुबाबीच फेसबुकबाट सुरू भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ । माया गहिरिँदै जाँदा रुबालाई लाग्छ, दिवससँग उसले आफ्नो विगत कोट्याउनुपर्छ । तर रुबालाई के थाहा, त्यसरी इमानदारीपूर्वक खोतलिएको विगत नै कुनै दिन दिवसका लागि टाढिने बहाना बन्ला भनेर । रूपमा बहाना जेसुकै होस्, सारमा त महत्त्वाकाङ्क्षा र धोका नै हुन्छ दूरीको कारण । रुबाको जीवनबाट टाढिँदै गर्दा दिवस यस्तो गम्भीर मोडमा पुग्छ, जहाँ उसले साँचो प्रेम सतहमा होइन, हृदयको गहिराइमा भेटिन्छ भन्ने महसुस गर्छ ।

फुड माइक्रोबायोलोजीमा स्नातकोत्तर सुरेश बडाल परम्परागत नेपाली खानेकुरामा शोधअनुसन्धान र शिक्षण गर्छन् । युवा केन्द्रित विषयमा लेख्न रूचाउने उनका विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलमा कविता, कथा, निबन्धलगायत रचना प्रकाशित छन् । कथासङ्ग्रह ‘रहर’ प्रकाशन गरिसकेका उनको ‘मायाका मसिना अक्षर’ पहिलो उपन्यास हो ।

 

३. अँध्यारोको अगुल्टो – जगन्नाथ दाहाल

जगन्नाथ दाहालकृत गजलसङ्ग्रह हो, अँध्यारोको अगुल्टो । सङ्ग्रहित बहरमा लेखिएका गजलहरुमा स्वाभाविक भाषाको प्रयोग छ । रुमानी प्रेम, मायालुको न्यानो स्पर्शको वर्णन गरिएको शृङ्गार, सामाजिक बेथितिप्रतिको रोष, शासकीय दासताबाट उन्मुक्तिको चाहना, माटोको माया, स्वदेशको प्रकृति, संस्कृति तथा बन्धुबान्धवको सान्निध्य सङ्ग्रहित गजलका विषयवस्तु हुन् ।

“जगन्नाथ दाहाल गजलमा समर्पित स्रष्टा हुन् । कल्पनाको तीव्रता, भावको सघनता हुँदाहुँदै पनि केही गजलहरुले परिष्कारको अपेक्षा गरेका छन् ।”, पुस्तकको भूमिकामा प्रभाती किरण लेख्छन्, “प्रस्तुति गजलको विशिष्टता हो । प्रस्तुतिले गजललाई बलियो बनाउँछ । गजललाई बहरमा प्रस्तुत गरे पनि वा अन्य लयमा प्रस्तुत गरे पनि प्रस्तुतिमा स्वाभाविकताले भने उच्च मूल्य राख्छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय पृष्ठमा फैलिएको कृतिको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

 

४. पहिरो सँगसँगै – विष्णुबहादुर सिंह

कवि विष्णुबहादुर सिंहको बुसोकुसेकिका सङ्ग्रह हो, पहिरो सँगसँगै । सिंहको यो कृति बुसोकुसेकिका तर्फको पहिलो र समग्रमा बत्तीसौँ कृति हो । नेपाली सन्दर्भमा नयाँ विधाको यस कृतिभित्र समसामयिक विषयमाथि तीव्र व्यङ्ग्यचेत र प्रतीकात्मक अभिव्यक्ति पाउन सकिन्छ ।

नेपाली भाषामा विभिन्न कालमा विविध संरचनामा जापानी शैलीका कविताहरु लेखिएका छन् । त्यसमध्ये नेपाली साहित्यमा हाइकुले अग्रगामी छलाङ मारेको छ भने अन्य संरचनाहरु हाइकुलाई पछ्याइरहेका छन् । बुसोकुसेकिका पनि कविताका विविध संरचनामध्ये जापानी शैलीमा लेखिने कविता हो । जापानी साहित्यमा प्राय: निश्चित अक्षर संरचनामा बाँधिएर कविता लेखिन्छ । सोहीअनुरुप कुसोकुसेकिका ३८ अक्षर र ६ हरफमा बाँधिएर लेख्ने गरिन्छ, जसको पहिला हरफमा ५, दोस्रो हरफमा ७, तेस्रो हरफमा ५ तथा चौथो, पाँचौँ र छैटौँ हरफमा ७–७ अक्षर रहन्छन् ।

पुस्तकलाई कवि सिंह आफैंले प्रकाशनमा ल्याएका हुन् । ७१ पृष्ठमा फैलिएको कृतिको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

 

५. अस्कीकृत रहर – खगेन्द्र गिरि कोपिला

खगेन्द्र गिरि कोपिलाकृति मुक्तकसङ्ग्रह हो, अस्वीकृत रहर । कोपिला मूलत: गजल, मुक्तक, नियात्रा र समीक्षा विधामा कलम चलाउँछन् । यसअघि नौवटा कृति प्रकाशनमा ल्याइसकेका कोपिलाको यो तेस्रो मुक्तक विधाको कृति हो । कोपिलाका रचनाहरुमा देशप्रेम, मानवतावादी चेत, जीवनप्रतिको प्रतिबद्धता, प्रेम र सुखद् भविष्यप्रतिको अनुरागका भावहरु समेटिएका हुन्छन् ।

“जीवनमा कतिपय कुराहरु अनायासै हुने गर्छन् । सिर्जना हुने काम जहिले पनि अनायास वा अप्रत्यासित ढङ्गले नै हुने गर्छ मबाट ।”, मन्तव्यअन्तर्गत पुस्तकमा कोपिला लेख्छन्, “यी मुक्तक पनि कुनै योजना र कुनै तयारीबिना नसोची, नसम्झीकनै लेखिएका हुन् । अनायास मनभित्र उर्लेर आउने छालहरुलाई अक्षरमा अनुवाद गर्ने वातावरण जतिखेर बन्यो उतिखेरै यी मुक्तक लेखिएका हुन् । मबाट यसरी लेखाइरहने अवस्था, वातावरण, व्यक्ति र प्रभावप्रति म जहिले पनि अनुगृहित हुने गर्छु ।”

पुस्तकलाई सर्वदा साहित्य सङ्गमले प्रकाशनमा ल्याएको हो । ९६ थान मुक्तक सङ्ग्रहित कृतिको मूल्य १ सय रुपियाँ रहेको छ ।

 

६. नचिनेको मान्छेसँग जाँदिनँ

अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन भन्ने चेतना जगाउने बाल चित्रपुस्तक हो, ‘नचिनेको मान्छेसँग जाँदिनँ’ । चित्रकथाकी लेखक डाग्मा ग्याइस्लर हुन् । यो कथामा उनी आफैँले चित्र बनाएकी छन् । जर्मनी लेखक ग्याइस्लरको यो कथालाई नेपालीमा कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले अनुवाद गरेकी हुन् ।

यो साराको कथा हो । उनलाई आमाबाबाले चिनेका मान्छेको मात्रै विश्वास गर्नु भनेका हुन्छन् । एक दिन स्कुल छुट्टी भएपछि उनी कसैको पर्खाइमा हुन्छिन् । विभिन्न महिला/पुरुषहरू सारालाई ‘आऊ म घर पुर्याइदिन्छु’ भनेर आग्रह गर्छन् तर उनी मान्दिनन् । छिमेककै काकीसँग पनि उनी जान मान्दिनन् । बरु भिजेरै बस्छिन् । किनभने साराका आमाबाबाले केही मानिसको सूची बनाएका छन् । सूचीमा भएका मानिसले मात्रै सारालाई स्कुल छुट्टी भएपछि घर लिएर जान सक्छन् । उनलाई फकाउने मानिसहरूबारे साराको मनमा के खेल्छ ? के सारालाई लिन सूचीमा भएकै मान्छे आउलान् कि ? यस्तै जिज्ञासाले भरिएको तथा सूचनामूलक कथा निकै रोचक छ । बालबालिकामा आत्मविश्वास जगाउनुका साथै यो कथाले बालमनोविज्ञानलाई पनि कलात्मक ढंगले समेटेको छ ।

लेखक तथा चित्रकार ग्याइस्लरको जन्म १९५८ मा भएको हो । १९८४ मा स्नातक सकेर उनले विभिन्न प्रकाशन गृहमा ग्राफिक डिजाइननिङ र चित्रकारको रूपमा काम गरिन् । १९८७ मा आफ्नो पहिलो बाल पुस्तकमा चित्र बनाएकी उनी हालसम्म बाल पुस्तकका साथै कमिकमा पनि चित्रकारका रूपमा सक्रिय छिन् । चित्रकथालाई कथालय इन्कले प्रकाशन गरेको हो ।