‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ६ पुस्तक । बिनोद खड्काकाे ‘ओला’, भारती गौतमकाे ‘विगत र बाडुली’, पुण्यप्रसाद न्यौपानेकाे ‘हिँडिएका पाइलाहरू’, महफिल काव्य सङ्गम, रामदयाल राकेशकाे ‘स्मृति-दर्पणमा देश-विदेश’ हरू हुन् ।
००००
१. ओला – बिनोद खड्का
पछिल्लो ११ वर्ष प्रवासमा बिताएर त्यहाँ बिताएका महत्त्वपूर्ण र अविस्मरणीय पलहरूलाई साहित्यमा समेटी नियात्राकार बिनोद खड्काले बजारमा ल्याउनुभएको छ – ओला ।
यसमा ‘बिनाभिसा दुबईतिर’, ‘डायरीमा माउन्ट ब्लान्क’, ‘मेन नदीको सिरेटो’, ‘ननिदाएको त्यो रात’, ‘युद्धभूमिमा नयाँ पाइला’, ‘बिलाउँदै गरेका ताराहरू’, ‘नभेटिएको कङ्गारु’ लगायत ४३ थान नियात्रा सङ्ग्रहित छन् । पुस्तक बेग्लै, अर्थपूर्ण र गर्बिलो परिचय बनेको छ ।
“नियात्राकार खड्कामा मानवीय मन र प्रकृतिको पन पढ्ने गहिरो र सूक्ष्म कला निकै अद्भुत लाग्छ । मानिसका व्यवहार र प्रकृतिको आलोकमा तुलनात्मक अध्ययन उहाँको लेखकीय पक्ष हो कि भन्ने विश्वास पनि यहाँ अनुभूत हुन्छ । समस्या, अप्ठ्यारो, जटिलता वा प्रतिकूल व्यवहारलाई निकै उत्साहप्रद ढङ्गले नियात्रामा लेखने उहाँको लेखकीय कला साँच्चै सुन्दर छ, प्रेरणापद छ र स्मरणीय छ ।” भूमिकामा युवराज नयाँगडेको उल्लेख छ, “ओला नियात्रा साहित्यमा निकै सूचना, जानकारी र वृत्तान्त दिने कृतिका रूपमा आएको छ । डुलेसरह, घुमेसरह, पुगेसरह र निहालेसरहको बिछट्टै मजा र प्रफुल्ल दिनमा कृतिकारको सफलता यहाँ हामी अनुभूत गर्न सक्छौँ ।”
राधेश्याम लेकाली लेख्छन्, “ओलाका लेखकले मानसिक र भौगोलिक दुवै पक्षको समग्र अध्ययन गरी नेपाली जिज्ञासु र अन्वेषकका लागि राम्रो सिर्जना गर्नुभएको छ । पेशागत अनुकूलता र कार्गत सीप भएकैले पनि यो राम्रो कृति आउनमा सहायक हुन पुगेको मेरो ठम्याइ छ ।”
लेखक लेख्छन्, “‘नदी’ अविरल यात्राको प्रतिबिम्ब जो बगिरहन्छ, तर फर्कँदैन । ‘जिन्दगी’ पनि केवल बगिरहने नदी जस्तै एउटा प्रक्रिया हो जो अगाडि बढ्छ, रोकिँदैन, फर्कँदैन । आरोह-अवरोहहरू त यसका नियतिहरू मात्रै हुन् । यदाकदा भेटिने छालहरू यसका गहनाहरू हुन्, जसले बहावमा एक प्रकारको गति भर्ने गर्छ, सौन्दर्य छर्ने गर्छ ।”
पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशनमा ल्याएको हो । ३ सय ६२ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
००००
२. विगत र बाडुली — भारती गौतम
अनेसास उत्कृष्ट नारी साहित्य पुरस्कारबाट सम्मानित लेखिका भारती गौतमकृत गैरआख्यान कृति हो – “विगत र बाडुली” ।
३ सय ५६ पृष्ठमा फैलिएको यस पुस्तकलाई लेखिकाले आफूले विगतमा भोगेको जीवनलाई वर्तमानका आँखाबाट सूक्ष्म ढङ्गले नियाल्दै भावुकता एवम् संवेदनाले ओतप्रोत गराएर प्रस्तुत गरेकी छिन् ।
पारिवारिक संस्मरणमा आधारित यस पुस्तकमा ‘बा मेरो सर्वस्व’, ‘सम्झनामा साहिँला काका’, ‘दो टिकेट चाहिए’, ‘कुसमयको फोनका घन्टी’, ‘जे हामीसँग बोस्टन गएन’, ‘आगाको आतङ्क’ लगायत २६ थान शीर्षकहरू छन् ।
“प्रस्तुत कृतिको भाषाशैलीय विन्यास सरल, सहज, प्रवाहपूर्ण एवम् ओजपूर्ण रहेको छ । भारती गौतम भाषालाई राम्रैसँग खेलाएर थोरैमा धेरै भन्न सक्ने क्षमतायुक्त कवि पनि भएकाले प्रस्तुत कृतिका अधिकांश अंश कुनै काव्य पढेजस्तो अनुभव हुन्छ । हरेक घटना, क्षण एवम् सन्दर्भलाई उपमा, बिम्ब एवम् प्रतीकका माध्यमबाट बोधगम्य ढङ्गले अभिव्यक्त गर्न सक्नु यिनको भाषिक प्रयोगमा पाइने विशिष्ट पक्ष हो । मानक भाषाकै प्रयोग पाइने यस कृतिको भाषिक विन्यासमा कृत्रिमताको स्पर्श कतै पनि भेटिन्न ।” भूमिकामा लीला लुइटेल लेख्छिन्, “विभिन्न उखानहरूलाई टुक्काको रूप दिएर छोटोछरितोमा प्रस्तुत गर्न सक्नु पनि भारती गौतमका भाषिक प्रयोगमा देखा परेको शैली हो । सहज बोधगम्य बिम्ब, प्रतीकयुक्त भाषिक विन्यासका साथ घटनालाई अनुभूतिमय तुल्याएर वर्णन गर्ने क्षमताका कारण सबै खाले पाठक सहजै आकर्षित गर्न प्रस्तुत कृति सफल हुने कुरामा कुनै सन्देश छैन ।”
भारती गौतम लेख्छिन्, “जिन्दगीले नियुक्त गरेको ओहदा ओढी जिन्दगीकै हात समातेर जिन्दगी हिँडिरहँदा यात्राको जम्कामा फेला परेका मोहक फूलबारी, रोचक चौतारी अनि शीतल बिसौनाहरू जति पर छोडिए पनि संस्मरणको ढोका ढकढक्याउन छाडेनन् । ‘म’ निर्माणमा संलग्न इँटा, ढुङ्गा र माटोसँगै बतास प्रकाश र सुवास मभन्दा टाढा हुन पनि त सकेनन् ।”
समकालीन साहित्य प्रतिष्ठान, बेलायतले बजारमा ल्याएको यस पुस्तकको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।
००००
३. हिँडिएका पाइलाहरू — पुण्यप्रसाद न्यौपाने
अध्ययनशीलता, कामप्रतिको निष्ठा, परिणाममुखी सक्रियता र समन्वयकारी प्रभाव हुनुभएको पुण्यप्रसाद न्यौपानेकृत पहिलो गैरआख्यान कृति हो – “हिँडिएका पाइलाहरू” ।
३ सय १२ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘बाल्यावस्था’, ‘निजामती सेवामा तीन दशक’, ‘स्टाफ कलेजको रूपान्तरण’, ‘परिवर्तन क्रमका अप्ठेराहरू’ लगायत ‘लेखनका अभिरुचि’, ‘सामाजिक सञ्जाल’ र ‘सन्दर्भ सामग्री’ तथा ‘तस्बिरहरू’ समेट समावेश छन् ।
धराशायी बनेको स्टाफ कलेजलाई सुधार्ने चुनौती स्विकार्दै १० वर्षमा कायापलट गर्नु भएका न्यौपानेले यस पुस्तकमा बाल्यकालका स्मृतिदेखि सानै उमेरमा विद्यालयको प्रधानाध्यापक हुँदाका अनुभवसँगै जिल्ला शिक्षा अधिकारी तथा जिल्लाकै प्रशासन सञ्चालनका अनेकन् पलहरूलाई विविध आयाममा पस्कनु भएको छ ।
प्राक्कथनमा लेखक लेख्छन्, “प्रस्तुत पुस्तकले मेरो जीवनका सबै पक्ष र पहलुलाई समेटेको छ म भन्दिनँ । मेरो यस्तो दाबी कदापि हुने छैन । पुस्तकमा सबै कुराहरू समावेश गर्ने भन्दा जीवनमा महत्त्व राख्ने घटना-परिघटना नछुटुन् भन्ने कोसिस गरेको छु र टिपेको छु । जीवनका महत्त्वपूर्ण मोडहरू अलि बढी उजागर गरिएका छन् । खासै अर्थ र उपादेयता नभएका घटनालाई चित्रण गर्न चाहेको छैन । त्यसरी नै निजी जीवनमा त्यति धेरै महत्त्व नराख्ने सन्दर्भलाई पनि कोट्याउने प्रयास भएको छैन । परिवार र समाजको चित्रणबाट बाल्यकाललाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्ने जमर्को गरेको छु । सार्वजनिक सेवामा रहँदाका गतिविधिलाई बढी बेली बिस्तार गर्ने भन्दा निजी भोगाई र अनुभूतिहरूसहित प्रशासनिक क्षेत्रका मूल्यमान्यताको साथसाथै विद्यमान विसङ्गतिहरू औँल्याउने प्रयत्न गरेको छु । यसले तत्कालीन सार्वजनिक प्रशासनलाई चिनाउन केही मद्दत गर्नेछ ।”
पुस्तकलाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
००००
४. महफिल काव्य सङ्गम
विगतमा सम्पन्न भएका काव्य उपासनाहरूको एक सुमधुर स्मृति-आलेखका रूपमा प्रकाशित भएको पुस्तक हो – “महफिल काव्य सङ्गम” । यसका सम्पादक-द्वय डा. सनतकुमार वस्ती र इम्तियाज वफा हुनुहुन्छ ।
यसमा सहभागी हुने शायर, कवि, साहित्यकारका रचनाहरूको प्रतिनिधि काव्य सङ्ग्रह हो । यसमा कविको संक्षिप्त परिचय, महफिलबारे उहाँको अनुभूति एवम् उहाँका रचनाहरू समाविष्ट गरिएको छ ।
डा. श्रीकृष्ण राणा लेख्छन्, “आजभन्दा करिब १० वर्षअघि हामी तीन जना – म, प्रोफेसर डा. सनतकुमार वस्ती र साहित्यकर्मी श्री राधेश्याम लेकाली मिलेर एक साहित्यिक संगोष्ठीको परिकल्पना गर्यौँ । नाम राखियो – महफिल काव्य उपासना । यसको उद्देश्य थियो- हरेक महिनाको अन्तिम शुक्रवार २०-२५ जना गजल, र कविताका अनुरागी कविहरूलाई निम्तो गरी भेला गराउने र पालैपालो सबैले आ-आफ्ना संस्कृति, नेपाली हिन्दी, उर्दू भाषाका काव्यरचना सुन्ने-सुनाउने ।”
भूमिकामा डा. शरच्चन्द्र वस्ती लेख्छन्, “भनिन्छ – गजल लेखिने होइन, भनिने कुरा हो । अन्तर्मनको गहन अनुभूति गजलका रूपमा प्रस्फुटित हुन्छ र गजलगो-ले त्यही भावदशामा आविष्ट भएर यसलाई तरन्नुममा अभिव्यक्त गर्छ । लय र ध्वनिले यसलाई जीवन्त बनाउँछन् । पहिले नसुनेको कुनै गजल पढ्नोस् र त्यसपछि तरन्नुममा भनिएको वा गाइएको त्यही गजल सुन्नोस् । यसको शक्ति, ऊर्जा र प्राण कहाँ बस्दो रहेछ, आफैँ स्पष्ट भइहाल्छ । महफिल-ए-काव्य उपासनाले गजलको यही प्राणवान्, जीवन्त स्वरूपसँग बारम्बार साक्षात्कार गराउँछ ।”
००००
५. स्मृति-दर्पणमा देश-विदेश — रामदयाल राकेश
साहित्यकार, संस्कृतिविद् मैथिल लोकसंस्कृतिको अध्ययन अनुसन्धानमा सक्रिय समालोचक डा. रामदयाल राकेशकृत नियात्रासङ्ग्रह हो — “स्मृति-दर्पणमा देश-विदेश” ।
९८ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘आबुधावीमा आनन्द’, ‘अमेरिकाका अनौठो अनुभवहरू’, ‘बर्लिन एक्सप्रेस’, ‘मलेशियाको मोहिनी’, ‘प्रागका प्रियम्बदाहरू’, ‘मेरो तूफानी हवाई दौडाहा’ लगायत अन्य ८ थान नियात्रा सङ्ग्रहित छन् ।
“कहिले संगोष्ठीमा भाग लिन, कहिले पुरस्कार प्राप्त गर्नका लागि र कहिले भ्रमणका लागि मात्र । यस क्रममा जापानको राजधानी टोकियो, कियोटो, फुकुओका र शिकागो मौका पाएँ । पहिलो पल्ट युनेस्कोले आयोजना गरेका शिक्षा सम्बन्धी गोष्ठीमा र अर्को पल्ट व्यक्तिगत भ्रमणमा । यस क्रममा चीनको राजधानी बेइजिङ्ग र संघाई शहरमा बस्ने र हेर्ने अवसर प्राप्त भयो ।” प्राक्कथनमा लेखक लेख्छन्, “मलेशियाको राजधानी क्वालालाम्पुर दुई पल्ट जाने मौका प्राप्त भयो । तर १५-१५ दिन गरेर जम्मा जम्मी एक महिनाको लागि मात्र । संयुक्त राज्य अमेरिकाको इन्डियाना राज्यको स्यानो तर सुन्दर शहर ब्लुमिग्टनमा छ महिनासम्म बस्ने मौका पाएँ पोस्ट डाक्टरले रिसर्चका लागि । प्रयासमा मेरो सबैभन्दा बढी समय यस शहरमा व्यतीत भयो समुद्रपारि नत्र तीन वर्षसम्म भारतको राजधानी दिल्लीमा विद्यावारिधि उपाधि प्राप्त गर्नका लागि लामो समयसम्म बसेको थिएँ ।”
पुस्तकलाई शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।