‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता  २ पुस्तक । ओलीकाे ‘सुलभ’देखि घिमिरेकाे ‘खप्परेका कथाहरू’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

० ० ०

१ . खप्परेका कथाहरू — रामप्रसाद घिमिरे

स्रष्टा रामप्रसाद घिमिरेको आख्यानीकरण गरिएको सुन्दर कृति हो – “खप्परेका कथाहरू” । १ सय ७८ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘शाकाहारी बच्चा’, ‘घरछेउको चुलेत्रोको रुख’, ‘दोलखाको यात्रा र हरियो झोलले जात्रा’लगायत २० थान कथा सङ्ग्रहित छन् ।

पवन आलोक लेख्छन्, “प्रायः सबै कथाहरू रोचक छन् । घटनाहरूको शून्य र मिहीन प्रस्तुति, आफैँले भोगेकै लाग्ने घटनाहरूझैँ सधैँ भेटिने गरेका जस्ता पात्रहरूका साथै जीवनका विभिन्न भोगाइ र घटनाक्रमहरूलाई सरल र सुन्दर ढङ्गले प्रस्तुत गरिएको हुँदा सङ्ग्रह पठनीय बन्न पुगेको छ । विशेष गरेर ग्रामीण परिवेशलाई जस्ताको तस्तै जीवन्त र स्वाभाविक तरिकाले कथाहरू मार्फत् उतार्न कथाकार सफल हुनुभएको छ, यो वहाँको प्रमुख विशेषता पनि हो ।”

डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, “सम्पूर्ण कथामा एउटै खप्परे नामक पात्र केन्द्रीय रूपमा देखिएको छ र उसैको वरिपरि घटनाहरू बुनिएका छन्, तसर्थ यो कथाकृति शृङ्खलाबद्ध कथा-सङ्ग्रहजस्ताे लाग्छ । यसका सबै कथाको कथा-सूत्र त्यही पात्रका माध्यमबाट परस्पर उनिएकाले औपन्यासिक तन्तु समेत फेला पर्ने हुँदा यो कृति कथोपन्यसजस्तो पनि लाग्छ । एउटै खप्परेका अनेकौँ बहुविध चरित्रले आजको मान्छेका बहुविध भागाइलाई देखाएको छ । यो कथाकृति एउटा नवीन प्रयोग हो ।”

नन्दकुमारी प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

= = =

२. सुलभ — शोभाराम ओली

“सुलभ” शोभाराम ओलीकृत उपन्यास हो ।

सातौँ अध्यायमा विभाजित यस उपन्यास देशमा दशवर्षसम्म चलेको द्वन्द्वमा ज्यानसँग बाजी राखी होमिनु परेका पात्रहरूको जीवन्त कथा हो । त्यही द्वन्द्वको बाछिटाले हिर्काएर विवशतावश विदेसिनु पर्ने प्रवासी नेपालीहरूको शारीरिक तथा मानसिक सङ्घर्ष हो । लेखकले युद्ध र शान्तिको अर्थलाई सरल र सुन्दर तरिकाले उतार्न सफल भएका छन् । यसरी उपन्यासले पाठकलाई कहिले हाँसोको पहाडमा पुर्याउँछ कहिले आँसुको समुद्रमा डुबाउँछ ।

मेरो भनाइमा शाभाराम ओली लेख्छन्, “वर्गीय मुक्तिको निमित्त अहोरात्र खटिरहने किसान बुवा आमाहरू । सुनौले बिहानीको पर्खाइमा रहेका आधार इलाकाहरू । यस्तै यस्तै परिवेशका बीजहरूले मेरो मस्तिष्कसँग समागम गर्न थाले । परदेशको बसाइँमै अन्ततः मस्तिष्कले गर्भधारण गर्यो । यही गर्भलाई साहित्यिक शल्यक्रिया गरेपश्चात् जन्मिएका शब्दहरूको समूह हो सुलभ ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ,

“नामअनुसारको मान्छे हुँदैनन् भन्थे तर हुँदा रहेछन् ।

कति गाह्रो हुँदो हो यी नाङ्गिएका बाटेबिरुवाहरूलाई यस्तो चिसोमा रात काट्न ?

बालुवामा पसिना खन्याउने हो भने हराभरा हुँदो रहेछ ।

भर्खर जुँगाको रेखी बस्ने तरखर गर्दै थिए । जनयुद्धमा होमिएँ । मर्न र मार्न तयार भएँ ।

अहिले हामी रातो सागरको अर्को कुनामा बसेर राता बाकसरू हेरिरहेका छौँ ।”

ए.डी.बी पब्लिकेशन प्रा. लि. ले बजारमा ल्याएको २ सय ६७ पृष्ठमा मौलाएको यस पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।