काेरोना कहरपछि पुनः नेपाली पुस्तक बजार जाग्दो छ । पछिल्लो समय बसन्त बस्नेतकाे उपन्यास महाभाराले नेपाली साहित्य बजारलाई केही हदसम्म चलायमान बनाएको छ । साथै, सुस्त बनेकाे पुस्तक बजार पनि चलायमान बनेकाे छ । यस समय पुराना कृतिहरूकाे नयाँ संस्मरण प्रकाशनमा ल्याउने कार्य पनि बढिरहेकाे छ । विषम परिस्थतिका बाबजुद पनि केन्द्र तथा माेफसलबाट दैनिकजसाे कृतिहरू विमोचित भइरहेका छन् । केहीले पाठकको साथ पाइरहेको अवस्था छ भने केही केन्द्रबाट प्रकाशनमा आए तापनि माेफसलमा परेका छन् ।

हामी यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा साताका पुस्तकमा योपटक पाँच पुस्तक । रावणकाे नायकत्वदेखि गीतामा अर्जुनकाे मनाेपचारसम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

 

१. रावणायन – खनाल रेवतीरमण

साहित्यकार खनाल रेवतीरमणको नवीनतम् पौराणिक उपन्यास हो, “रावणायन” । रेवतीरमण मुख्यतः कवि तथा गीत-गजलकार हुन् । पूर्वीय पुराकथासँग सम्बन्धित रावणलाई नायक बनाई लेखिएको रावणायन पृथक् अन्तरवस्तु रहेको उपन्यास हो ।

“पुराकथामा वणर्ित आख्यानलाई पराम्परितभन्दा पृथक् रुपमा अन्तर्सङ्घटित गरी लेखिएको रावणायनले स्थापित रामकथाको राम पात्रको भन्दा रावणको चरित्रको आदर्शीकरण गरेको छ र रावणको समग्र जीवन रामको तुलनामा श्रेष्ठतर, सभ्य तथा आदर्शयुक्त एवम् मानवीय दुर्वलतासहितको अनुकरणीय रहेको देखाएको छ ।”, उपन्यासको बारेमा प्राडा. नगदीशचन्द्र भण्डारी लेख्छन्, “उपन्यासमा रावण व्यक्ति नायक/समूह नायक के हो भन्ने कुरा स्पष्ट छैन । यस उपन्यासमा थरीथरीका रामायणमा उल्लेख भएजस्तै व्यक्ति नायकका रुपमा रावणलाई उभ्याइएको छ र उसकै उदात्त क्रियाकलापमा उपन्यासका घटना सङ्घटित छन् । … सारतः यस उपन्यासले सामन्तवादी सामाजिक सांस्कारिक चिन्तन शृङ्खलालाई हल्लाउने प्रयत्न गरेको छ र यसमै उपन्यास र उपन्यासकारको महत्ता एवम् औपन्यासिक सामथ्र्य प्रकट भएको छ ।”

रेवतीरमणले उपन्यासलाई आख्यान खण्ड र परिशिष्ट खण्ड गरी दुई खण्डमा विभाजन गरेका छन् । आख्यान खण्डअन्तर्गत ४४ उप-शीर्षक र परिशिष्ट खण्डअन्तर्गत ५ उप-शीर्षकमा उपन्यास बुनिएको छ । २ यस ८२ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ यस ५० रुपियाँ रहेको छ । उपन्यासलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

 

२. गीतामा मनका कुरा – प्राडा. अजय रिसाल

मनोचिकित्सक प्राडा. अजय रिसालको उद्बोधनात्मक निबन्ध कृति हो, “गीतामा मनका कुराः एक मनोचिकित्सकको उद्बोधन” । सङ्ग्रहमा गीतामा आधारित रहेर मनोचिकित्साको चर्चा गरिएको विभिन्न तीस शीर्षकका निबन्धहरु सङ्ग्रहित छन् ।

“मासिक रोग विज्ञका रुपमा गीतालाई आधार बनाएर कसरी मानसिक रुपमा स्वस्थ रहन सकिन्छ भन्ने जानकारी दिनुभएकोमा प्राडा. अजय रिसाललाई धन्यवाद अनि बधाई छ ।”, डा. अरुण उप्रेती लेख्छिन्, “भविष्यमा उहाँले मानसिक समस्या भएका व्यक्ति अनि तिनका परिवारका सदस्यहरुलाई पनि यो ज्ञान दिएर तिनको जीवनमा उज्यालो छर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ ।”

त्यस्तै पुस्तकको बारेमा वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्मा लेख्छन्, “सफल मनोचिकित्सक हुन चिकित्सा विज्ञानको ज्ञानले मात्र पुग्दैन । भाषा, इतिहास, संस्कृति, धर्म, परम्परा अनि समाजका सबै आयामहरुको ज्ञान चाहिन्छ । डा. रिसालको कृति पढ्दा मनोचिकित्सकमा हुनुपर्ने यी सबै कुरा उहाँमा भएको मैले अनुभव गरेँ ।”

पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । २ सय ८ पृष्ठमा फैलिएको यस निबन्धसङ्ग्रहको मूल्य २ सय ९९ रुपियाँ रहेको छ ।

 

३. आकाशमुखी

लेखक, पत्रकार एवम् अनुवादक मोहन मैनालीद्वारा अनूदित नवीनतम् पुस्तक हो, ‘आकाशमुखी’ । यो पुस्तकमा १५ थान विदेशी भाषाका अनूदित निबन्धहरू सङ्ग्रह गरिएको छ ।

“कुनै किताब अरुलाई पढ्न लगाएर सारमात्र सुन्दा हुन्छ । कुनै किताबका अरुले उद्धृत गरेका अंश मात्रै पढ्दा पुग्छ । कुनै किताब चाखे मात्र पुग्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहिँ चपाएर पचाउनुपर्छ । यो भनेको के हो भने कुनै किताबका केही पेज मात्र पढे पुग्छ । कुनै किताबका सबै पेज उस्तो ध्यान नदिई पढे हुन्छ । कुनै किताब चाहि परिश्रम गरेर र एकाग्र भएर पूरै पदनुपर्छ ।” पुस्तकको अन्तिम पृष्ठमा प्रयान्सिस बेकनको पुस्तकभित्रकै यस वाक्यांश उल्लेख गर्दै भनिएको छ, “र, यो किताब चाहि पूरै पढ्नुपर्छ, एकाग्र भएर । बीचबीचमा रोकेर यहाँ लेखिएका कुराबारे सोचविचार गर्दै ।”

पुस्तकका निबन्ध छनोट र अनुवादबारे मोहन मैनालीले आफ्ना विचार राख्दै भनेका छन्, ‘जब अफ्ठेरो परिस्थितिमा कुनै काम गरिन्छ, त्यसको नजिता पक्कै पनि विश्वसनीय हुन्छ ! यो कोरोनाकालको सन्तान हो ।’

पुस्तकको प्रकाशन बुकहिलले गरेको हो । १६० पृष्ठमा फैलिएको यस पुस्तक (पेपरब्याक संस्करण)को मूल्य ३३३ रुपैयाँ रहेको छ।

 

४. वासुदा – भीष्मराज फुलारा

कानुन व्यवसायी वासुदेव फुलाराको सङ्घर्षमा आधारित उपन्यास हो, ‘वासुदा’ । उपन्यासलाई साहित्यकार भीष्मराज फुलाराले लेखेका हुन् । उनी वासुदेवका भाइसमेत हुन् ।

अमेरिका निवासी आफ्नाा दाजु वासुदेव फुलाराको सङ्घर्ष कथामा उपन्यास ल्याउन पाउँदा खुसी लागेको साहित्यकार फुलाराले बताएका छन् । दाजु वासुदेव फुलाराले आफ्नो सङ्घर्षको कथा उपन्यासमा आए पनि यो धेरै युवाको कथा भएको बताएका छन् । यो उनको चौथो कृति हो । यसअघि उनका ‘टुहुरो कुण्डली’ र ‘नफापेको मान्छे’ उपन्यास बजारमा आइसकेका छन् ।

उपन्यासमा वासुदेव फुलाराको सङ्घर्ष, प्रेम र उद्देश्यको त्रिवेणी चित्रण गरिएको छ । संघर्षशील युवाको जीवन कथामा आधारित भएर लेखिएको उपन्यासले उपन्यास लेखनमा फरक धार समातेको छ । कृतिले युवा वर्गलाई सङ्घर्ष गर्न अभिप्रेरित गर्छ ।

२४४ पुष्ठको ‘वासुदा’ उपन्यासको मूल्य बाक्लो गाताको ५५० र साधारण गाताको ३५५ रुपैयाँ रहेको छ ।

 

५. दर्शन, शिक्षा र आचरण – डा. खगराज बराल

लेखक डा. खगराज बरालको नयाँ पुस्तक हो, ‘दर्शन, शिक्षा र आचरण’ । पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

शिक्षा सिद्धान्त, नीति र कार्यान्वयनका विषयमा विश्लेषण गर्ने डा. बरालले नयाँ पुस्तकलाई दुई खण्ड विभाजित गरेर लेखेका छन् । पहिलो खण्ड दर्शन र आचरणसँग सम्बन्धित छ । यस खण्डमा पूर्वीय दर्शन र आचरण, सदाचार र सुशासनमा वैदिक पूराणको सन्दर्भ, प्रकृति, संस्कृति र संस्कार र दर्शन, आचरण र राष्ट्रसेवक गरी चारवटा अनुसन्धानमूलक लेख रहेका छन् । दोस्रो खण्ड प्राचीन र अर्वाचीन शिक्षासँग सम्बन्धित छ ।

माध्यमिक विद्यालयका शिक्षकदेखि शिक्षा मन्त्रालयको सचिवसम्मको जिम्मेवारी निर्वाह गरेका बरालका यसअघि पनि शिक्षासम्बन्धी थुप्रै पुस्तक प्रकाशित छन् ।  उनका ‘सिकाइ र सहयोग’ ‘शिक्षाको दर्शन, नीति र व्यवहार’, ‘सिकाउने शैली’, ‘शिक्षा र सिकाइः सन्दर्भ विदेशको प्रसंग नेपालको’, ‘शैक्षिक दृष्टार्थ’, ‘केही शैक्षिक प्रबन्ध’, लगायत पुस्तक प्रकाशित भइसकेका छन् ।

कुल २ सय २८ पृष्ठको ‘दर्शन, शिक्षा र आचरण’ पुस्तकको मूल्य ३ सय ६० रुपैयाँ रहेको छ ।