साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई साहित्य, पत्रकारिता र भाषामा खारिएका उपन्यासकार, अन्नपूर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीकृत दोस्रो उपन्यास “बोरा” प्राप्त भएकाे छ ।

‘त्यो बोरा…’शीर्षकबाट उपन्यास सुरु हुन्छ र ‘यो बोरा…’शीर्षकमा टुङ्गिन्छ । त्यसबाहेक ‘आमाको आश्रम’ शीर्षक झल्केको छ । उपन्यासलाई ५० वटा भागमा विभाजन गरिएको पाइन्छ ।

पुस्तकको पहिलो पृष्ठमा स्पष्ट गरी लेखिएको छ, ‘यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ ।’

उपन्यासबारे भण्डारी उल्लेख गर्छन्, “आमालाई ज्यूँदै बोरामा फालेको घटना समाचार बनाउनु पर्थ्यो पत्रकारका नाताले तर मैले उपन्यास बनाउने विचार गरें । सरल भाषामा मिठो प्रस्तुति गरेर सबैमाझ पुग्ने विधा उपन्यास लाग्यो र लेखें । सञ्चारकर्मी भएकाले फरक सूत्र प्रयोग गरेर छोरासँग भेटें । नेपालका सबै वृद्धाश्रम पुगें। आमामात्र होइन, बुबाहरूलाई पनि भेटें, संवाद गरें । मूलपात्र आमा भए पनि बुबाहरूका विषय परोक्ष ढंगले समेटिएका छन् । आमालाई यस्तो घटना हुनुको सही कारण बकाउन हम्मे पर्‍यो तर त्यो वातावरण पनि बनाएँ र यो बोरा लेखें । पारिवारिक एवं सामाजिक यस्ता विकृति न्यूनीकरणमा यो उपन्यासले भूमिका निभाउने छ भन्ने अपेक्षा राखेको छु ।”

“मेरो कथा अन्यत्रै बरालियो । बोरा बोकेर आएको म छोराभित्र हराएँ । त्यो बोराभित्र बाँधेर कसले र किन फाल्यो यमुना आमालाई ? अरूले फालेको भए छोरालाई खबर किन गर्नुभएन ? साथमा मोबाइल छ । फोन किन गर्नुभएन ? छोरा स्वयम् किन लिन आएनन् ?” उपन्यासको ४४ भागमा लेखिएको छ,  “मनमा अनेक खुलदुली भए । तर, मलाई ‘बोरा’ शब्द उच्चारण गर्ने आँटसम्म आएन । यसले आमाको प्रतिष्ठामा आघात पर्ने चिन्ता लाग्यो । भावनामा चोट लाग्ने त्रास भयो । हप्तौँ गफियौँ । उहाँले त्यसको सुइँकोसम्म चुहाउनुभएन । फरक-फरक ढङ्गले विश्लेषण गर्नुको विकल्प देखिनँ मैले । एक दिन, एकपटक, एक सुरमा उहाँले छुस्स चुहाउनुभएको थियो, सायद झुक्किएर- ‘अत्याचारी बाउसँग लडें । पापिष्ट पतिसँग लडें । दुष्ट समाजसँग लडें । असमान कानुनसँग लडें । तर, जति दुष्ट भए नि छोरासँग एउटी आमा लड्न सक्तिन रहिछ । सच्चिन्छ, सप्रिन्छ र लिन आउँछ भन्ने आसमा बरु सास जाने रैछ, बाटो हेर्न रोकिने रहेनछ । म त्यही पलमा छु ऐले ।’”

४ सय ७१ पृष्ठमा मौलाएको यस उपन्यासलाई पिसबुक प्रालिले बजारमा ल्याएको हो । यसको मूल्य ७ सय रुपियाँ रहेको छ ।