साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साताका छ पुस्तक

साताका पुस्तकमा योपटक छ पुस्तक । ‘अँगालोभरिको अनुभूति’देखि ‘अतृप्त अवसर’सम्म ; पुस्तककाे छाेटाे परिचयसहित ।

Chovar Blues Mobile Size

Sataka Pustak 27-05-2022

यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा साताका पुस्तकमा योपटक छ पुस्तक । ‘अँगालोभरिको अनुभूतिदेखिअतृप्त अवसरसम्म ; पुस्तककाे छाेटाे परिचयसहित ।

१. चङ्गाको उडान – निर्मला बराल

निर्मला बरालकृत “चङ्गाको उडान” किशोर र बाल कथाहरुको सङ्ग्रह हो । बरालले पुस्तकलाई किशार साहित्य र बाल कथा गरी दुई खण्डमा प्रस्तुत गरेकी छिन् । पहिलो खण्ड, किशोर साहित्यअन्तर्गत १५ थान कथाहरु सङ्ग्रहित छन् भने दोस्रो खण्ड बालकथाअन्तर्गत १४ वटा कथाहरु सङ्ग्रहित छन् ।

“जीवनको झण्डै आधा समय गृहिणी भएर श्रीमान् र सन्तानको रेखदेखमा बिताउनु भएकी निर्मला बराल यस्ती पाठक हुनुहुन्थ्यो, जसले वर्षौँदेखि आफूले लेख्दै आएका रचनाहरुलाई कुनामा थन्क्याउँदै जानुभयो ।”, सम्पादकीय साहित्यपोस्टका प्रधानसम्पादक तथा लेखक अश्विनी कोइराला लेख्छन्, “आफूभित्र लेखक छ भन्ने कुरा उहाँलाई पत्तै भएनछ । मैले लेख्न नसके पनि लेखनका विषयमा केही बुझ्नुपर्छ भन्ने सोचेर जब उहाँ सिर्जनात्मक जानकारीका लागि लेखन कुञ्जमा भइरहेको ३ महिने लेखन कार्यशाला–पाठशालामा भर्ना हुनुभयो, अचानक उनमा लेखक हुनसक्ने आत्मविश्वास पलायो । यो पुस्तक त्यही आत्मविश्वासको परिणाम हो ।”

sagarmani mobile size

पुस्तकलाई सिमल बुक पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । १ सय ९० पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

 

२. अँगालोभरिको अनुभूति – बसन्त श्रेष्ठ

लामो समयबाट अमेरिका बस्दै आएका कवि बसन्त श्रेष्ठको पहिलो गैरकाव्य विधाको संस्मरणात्मक निबन्धहरुको सङ्ग्रह हो, अँगालोभरिको अनुभूति । कृतिमा विभिन्न शीर्षकअन्तर्गत रचना गरिएका एक्काईस अनुभूतिहरु सङ्ग्रहित छन् । श्रेष्ठले कृतिमा आफूले स्वदेश र विदेशमा देखेका, भोगेका र अनुभूत गरेका कुराहरुलाई “बाल्यकालदेखि विद्यार्थीकालसम्म”, “अनायाश आइलागेको व्यवसायिक जीवन”, “प्रवास गमन र भोगाइ”, “कोरोनापछिको पनर्जीवन” र “स्वदेश फिर्न नसक्दाको पीडा” गरी आफ्नो जीवनमा पाँच खण्डहरु प्रस्तुत गरेका छन् ।

“सक्रिय स्वतन्त्र विद्यार्थी जीवन व्यतीत गरिरहेका लेखक दैवको कठोर प्रहारले एकाएक ठेकेदारमा परिवर्तित भएका घटना कृतिको दुःखद पक्षको रुपमा उठान भएको छ । जुन कुराले मन सम्भ्रमित बन्दछ ।” कृतिको भूमिकामा साहित्यकार खेमनाथ दाहाल लेख्छन्, “स्वदेशमै बसेर पनि राम्रो जीवनयापन गर्न सक्ने नेपालीले देश छाडेर प्रवासी बन्नुपर्ने अप्रिय तर अपरिहार्यजस्तो वातावरण सिर्जना भएकोमा बाहिर देख्ता राम्रो लागे पनि मनमा कता कता ग्लानि लाग्दछ ।”

पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । १ सय ५० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ९९ रुपियाँ रहेको छ ।

 

३. युद्धको पीडा – हरिहर खनाल

साहित्यकार हरिहर खनालको कथासङ्ग्रह हो, युद्धको पीडा । खनालले कृतिमा आफ्नो राजनीतिक तथा राष्ट्रवादी चेतनालाई कलात्मक रुपमा व्यक्त गर्नुका साथै विदेशी भूमिको पृष्ठभूमिमा आधारित कथाहरुमा नेपाली जीवनलाई उतार्ने काम गरेका छन् ।

“मान्छे–मान्छेका बीचको पारस्परिक सम्बन्ध वा सौहार्दतामा देखापरेको अन्तराल वा दूरीका कारण सिर्जना भएको वितृष्णालाई गम्भीरतापूर्वक मनन गर्ने कथाकार हुन् हरिहर खनाल ।” पुस्तकको भूमिकामा डा. दयाराम श्रेष्ठ लेख्छन्, “उनले समाजका निम्न वर्गका मानिसहरुमाथि हुने गरेका शोषण तथा अन्याय र अत्याचारको जीवन्त चित्रण उतारेर दलित एवं सीमान्तीकृतहरुका पीडालाई यथार्थ रुपमा व्यक्त गरेर र पछाडि पारिएका नारीहरुका संवेदना र मुक्तिका प्रसङ्गहरु दिएर आफूभित्रको प्रगतिवादी चिन्तनलाई आख्यानीकरण गरेका छन् ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । २३ कथा सङ्ग्रहित २ सय १४ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

 

४. अतृप्त अवसर – स्वर्णिम वाग्ले

वरिष्ठ अर्थशास्त्री एवम् लेखक स्वर्णिम वाग्लेको पुस्तक हो, अतृप्त अवसर । पुस्तक सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीमा आधारित छ । शासकीय स्थिरता र विकासले समाउन सक्ने गतिका दृष्टिले २०७४ देखि २०७८ को अवधि नेपालको इतिहासमै उल्लेख्य थियो । यस कालखण्डको अर्थ–राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित वरिष्ठ अर्थशास्त्री वाग्लेद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्त्व चिरस्थायी रहेको काङ्ग्रेस नेता गगन थापाले बताएका छन् ।

वाग्लेले लन्डन स्कुल अफ इकोनमिक्स (बेलायत)बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । सन् २०२० देखि २०२२ सम्म न्युयोर्कस्थित राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को मुख्यालयमा एसिया–प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकार रहेका वाग्ले त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् सदस्यसमेत रहिसकेका छन् । त्यस्तै, २५ वर्षदेखि अन्तर्राष्ट्रिय विकासमा सक्रिय वाग्ले विश्व बैङ्क (वासिङटन) र युएनडिपीमा वरिष्ठ अर्थशास्त्री रहिसकेका छन् । उनी काठमाडौँ विश्वविद्यालयको सिनेट सदस्य एवम् सर्वाङ्गीण विकास अध्ययन संस्था (आइआइडिएस) का अध्यक्ष हुन् । सन् १९९० को एसएलसीमा नेपाल दोस्रो (बोर्ड सेकन्ड) भएका वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिमण्डलको मन्त्रीस्तरीय नेतृत्व गरिसकेका छन् । अर्थशास्त्र, राजनीति र इतिहासमा प्राज्ञिक रूचि राख्ने वाग्लेले विश्वका ६० देश र नेपालका सबै क्षेत्रको भ्रमण गरेका छन् ।

पुस्तक फाइनप्रिन्ट बुक्सले प्रकाशनमा ल्याएको हो ।

 

५. दृश्य – लता केसी

कथाकार लता केसीको नवीनतम् लघुकथासङ्ग्रह हो, दृश्य । केसी लघुकथा सम्पादन र संगठनमा पनि रुचि राख्छिन् । स्वैरकल्पना र नारी संवेदना लताको लघुकथा लेखनको प्रवृति हो । लता केसी हाम्रो लघुकथा पाठशालाको संस्थापक एड्मिनसमेत हुन् ।

“लता केसीका यी लघुकथाहरु दृश्यमान समाजका उपज हुन् ।”, पुस्तकको भूमिकामा प्राडा. कपिल लामिछाने लेख्छन्, “शिक्षण पेसाबाट निवृत्त भएपछि जीवनको उत्तरार्धमा सूक्ष्म र सघन रुपमा लघुकथाको सर्वतोमुखी उत्थानमा समर्पित लता केसीका यी लघुकथा मानक बन्ने धुनमा देखिन्छन् । … छोटाछरिता, चोटिला, व्यङ्ग्यात्मक सकरात्मक सन्देशका संवाहक लघुकथाको रचना गरेर लता केसीले नेपाली लघुकथालाई समृद्ध तुल्याएकी छन् ।”

पुस्तकलाई अक्षरधाम प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको हो । ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ५१ रुपियाँ रहेको छ ।

 

६. निभेको शिखा – डा. घनश्याम परिश्रमी

वरिष्ठ साहित्यकार डा. घनश्याम परिश्रमीको गजसङ्ग्रह हो, निभेको शिखा । सङ्ग्रहमा सरल र सरस भाषशैलीको प्रयोग गरिएको छ भने प्रायः जनजीवनमा भिजेका तद्भव र तत्सम शब्दहरुको प्रयोग गरिएको छ । परिश्रमीले सन्दर्भअनुसार सूक्ति, उखानटुक्का, बिम्ब र प्रतीक भरपूर प्रयोग गरेका छन् जसले गजललाई कोमल तथा कलात्मक बनाएको छ ।

डा. परिश्रमी नेपाली साहित्यका विभिन्न विधामा सक्रिय रहे पनि उनको रुचि र गलनको क्षेत्र गजल हो । उनका आधा दर्जनभन्दा बढी गजलसङ्ग्रहका साथै गजल सिद्धान्त र समीक्षासम्बन्धी पुस्तकहरु प्रकाशित छन् । पुस्तकको भूमिकामा लेख्छन्, “मुरद्दफ, गैरमुरद्दफ, मुसलसल र गैरमुसलसल सबै थरीका गजल यस कृतिमा समाविष्ट छन् । मतला, मकता, काफिया, रदिफ र तखल्लुसको प्रयोग एवम् बहरयोजना एकदमै परिपक्क ढङ्गबाट गरिएको छ । … गजलको मनोरम बगैँचाका रुपमा रहेको प्रस्तुत गजलसङ्ग्रह नेपाली गजल परम्परामै नौलो आयाम थप्ने महत्त्वपूर्ण कृतिका रुपमा देखिएको छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । १ सय ३३ वटा गजल सङ्ग्रहित कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

प्रतिक्रिया
Loading...