‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ६ पुस्तक प्राप्त भएकाे छ ।

===

१. करुणामयका कथा 

सङ्कलक केसरलालद्वारा सङ्कलित कथासङ्ग्रह हो – “करुणामयका कथा” । ६९ पृष्ठभित्र ‘करुणामय’, ‘चाकुबहाद्य’, ‘भोटोजात्रा’, ‘सत्यवादी नाग’हरू समावेश छन् । साथै परिशिष्टका रूपमा पण्डित चक्रपाणि चालिसेद्वारा रचित दुर्लभ कृति ‘मछिन्द्रनाथको कथा’ पनि सङ्ग्रहित छ ।

“कुनै पनि देशको संस्कृतिको इतिहास हुन्छ । त्यो इतिहास लिखत वा किंवदन्तीको रूपमा पनि विद्यमान रहन्छ । नेपालमा सांस्कृतिक रीतिरिवाजको आफ्नै इतिहास छ । यसले देशको संस्कृतिलाई जीवन्त मात्र होइन अक्षुण्ण पनि राख्छ ।” पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “दन्त्यकथा जस्तो लाग्ने नेपालमा अत्यन्त लोकप्रिय ऐतिहासिक परम्परामध्ये ‘करुणामय’को कथा अत्यन्त महत्त्वपूर्ण छ । यसले काठमाडौँ उपत्यकाको ऐतिहासिक चाडबाड र महत्त्वलाई जीवन्त राखेको छ । कल्याणकारी देवता करुणामय मछिन्द्रनाथ, लोकनाथ, बुङ्गद्यका नामले पनि प्रसिद्ध छन् । यस पुस्तकमा त्यस्तै प्राचीन उत्सवहरूको उद्गम र उद्भवबारे मनोरञ्जक शैलीमा वर्णन गरिएको छ । आशा छ जिज्ञासु पाठकहरूलाई यसले ज्ञानको साथै मनोरञ्जन पनि प्रदान गर्नेछ ।”

पुस्तकलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

०००

२. अन्त्य कहाँबाट सुरु हुन्छ — देविका तिमिल्सिना 

सक्रिय मानवअधिकारकर्मीका रूपमा सुपरिचित कथाकार तथा कवि देविका तिमिल्सिनाको कविता सङ्ग्रह हो – “अन्त्य कहाँबाट सुरु हुन्छ” । यसमा ‘दोहन जारी छ’, ‘अझै रात असुरक्षित छ’, ‘समय पीडा’, ‘लुकाएको व्यक्तित्व’, ‘देश र नेता’, ‘खुकुरी’, ‘कोरोना लकडाउन’, ‘नयाँ वर्ष मनाइरहँदा’ ३६ वटा कविता सङ्ग्रहित छन् । समेटिएका विभिन्न स्वादका कविताहरूले भ्रष्ट्राचारको विरोधावाज गरी समानताको स्वर बोकेका छन् ।

“कविको सिर्जनात्मक मान्यता एउटै भए पनि कविताका विषय र बान्कीमा भने विविधता छ । उनको मान्यता जीवन र जगतभन्दा बाहिर छैन । उनको मान्यताअन्तर्गत स्वतन्त्रता, समानता, स्वाधीनता, समृद्धि, हक अधिकारलगायतका विषय पर्छन् ।” भूमिकामा शार्दूल भट्टराई लेख्छन्, “कवि देविका तिमिल्सिनाले क्लिष्टता र जटिलतालाई कवितामा निषेध गरेका छन् । उनका कवितामा अनर्थ भाव पाइँदैन । कविता सरल भईकन अर्थपूर्ण छन् । कतिपय कुरा बुझ्नलाई बुझेजस्तो लाग्छ तर अर्थ्याउन गाह्रो पर्छ । त्यस्तो समस्या विशेष गरी कवितामै पर्छ । तर देविका तिमिल्सिनाका कवितामा त्यस्तो समस्या देखिँदैन । उनी स्पष्ट छन् र उनका कविता स्पष्ट छन् । कवितामा उनको स्वर प्रगतिशील छ । त्यसैले पनि होला विचारको अभिव्यक्तिमा उनी प्रखर पनि छन् ।”

नेपाल स्रष्टा समाजबाट प्रकाशित ८० पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

०००

३. माया मिस्ट्री — मोहन के. श्रेष्ठ 

नेपाली साहित्यका विविध विधाको अध्ययनमा संलग्न मोहन के. श्रेष्ठद्वारा लिखित पहिलो उपन्यास हो – “माया मिस्ट्री” । १ सय १६ पृष्ठमा मौलाएको यस उपन्यासमा म पात्र अर्थात् दीपकको मनोद्वेग व्यक्त गरिएको छ । त्यस अभिव्यक्तिमा प्रेम, समाज र भौतिक सुख तथा अभिभावकको प्रेमप्रतिको धारणालाई सहज भाषामा पाइन्छ ।

“जीवन र प्रेमको अन्योन्याश्रित सम्बन्धको वर्णन गर्दै प्रेमिकासँग सिनेमा हेर्न गएको तर नायकनायिकाको बिछोड हुँदा डराएका रोचक प्रसङ्गको वर्ण पनि यसमा गरिएको छ । यसमा प्रेम गरेको दुई वर्ष बितेको, जाँच बिग्रेको, थोरै जिम्मेवारी बोध भएको, जीवनबारे सोच्दै जाँदा रमाउने कि कमाउने भनी द्विविधामा परेको तथा भविष्य र प्रेमबारे चिन्तित रहेको प्रस्टोक्ति छ ।” भूमिकामा डा. सीता सुवेदी पन्थी लेख्छिन्, “पुरुषले बढी जिम्मेवारी लिनुपर्ने सामाजिक संरचनाका कारण प्रेमभन्दा पनि म पात्रलाई भविष्यको चिन्ताले सताएको छ । कतै कतै प्रमुख पात्रको मनस्थिति कर्मवाद र भाग्यवादको दोसाँधमा रहेको देखिन्छ । परिवार, प्रेम र पढाइलाई कोण नमिलेको त्रिभुजका रूपमा लिइएको छ । युवावस्था बढ्दै जाँदा समस्या र चुनौती थपिएकाले जीवनयात्रा कठिन बन्दै गएको प्रसङ्गबाट म पात्रमा रहेको जीवनचेत प्रकट भएको छ । त्यसै गरी बाढीपीडितलाई सहयोग सङ्कलन गर्न हिँडेको प्रसङ्गबाट समाजप्रतिको सचेतता तथा समाजसेवाको भाव प्रस्तुत भएको छ ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “अहिले म ताराहरूको रात देख्छु । ताराहरू आकाशमा गएर रातलाई नै उज्यालो बनाइदिएको मान्छु । उ…त्यो पर…टिलिक्क चम्किरहेको तारा मेरी आमा हुन् । मेरी मात्र होइन, अपवादबाहेकका सबैकी आमा आकाशमा होस् या धरतीमा, चम्किरहेकै हुन्छन् ।”

अनुशीलन नेपालबाट प्रकाशित पुस्तकको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।

०००

४. पुस्तकालयसँगको जीवन यात्रा — भोलाकुमार श्रेष्ठ 

पुस्तकालयकर्मी भोलाकुमार श्रेष्ठकृत पुस्तक हो – “पुस्तकालयसँगको जीवन यात्रा” । एक लाइब्रेरियनको आत्मवृत्तान्तमा आधारित यस पुस्तकले नेपालको पुस्तक-संस्कृतिबारे पर्याप्त ज्ञान प्रस्तुत गरेको छ ।

कुन देशमा कस्ता पुस्तकालय छन् र त्यसबाट नेपालमा के सुधार गर्न सकिन्छ भन्ने भ्रमणको उद्देश्य बोकेर लेखक विभिन्न देशको यात्रा गरेका छन् । संसारको सबभन्दा ठूलो पुस्तकालय लाइब्रेरी अफ कङ्ग्रेस अर्थात् अमेरिकाको राष्ट्रिय पुस्तकालयसम्म पाइला टेक्न पाउनु एक लाइब्रेरियनको सपना पूरा भएको हो भनी लेखकले उल्लेख गरेका छन् ।
लेखक लेख्छन्, “त्यो समयमा पुस्तकालय पेसालाई हेयको दृष्टिकोणले हेरिन्थ्यो । हेपिएको पेसा थियो । पढेलेखेका मानिसहरूमा समेत सकारात्मक भावना थिएन । आखिर अन्तरमनले भन्यो तिमीले यो हेपिएको पेसालाई नै जीवनको लक्ष्य बनाउनु पर्छ । पुस्तकालयको महत्त्व गाउँगाउँ पुर्‍याउनुपर्छ । अन्तरमनको आवाजले जित्यो । यही पेसालाई नै जीवनको लक्ष्य बनाइयो । यो पेसाको विकासमा लागिरहेको पनि चार दशक नाघिसक्यो । सकुन्जेल निरन्तर लागिरहने नै छु । सन्तोष छ । खुसी छु ।”

बुक प्यालेसद्वारा प्रकाशित पुस्तक आवरणसहित २५६ पृष्ठको रहेको छ ।

०००

५. शब्दरङ्गी — तिलक पोख्रेल 

म्यान्मामा जन्मेहुर्केर थाइलेण्डमा वर्तमान र भविष्य खोजिरहेका नेपाली मूलका बर्मेली चर्चित युवा कवि तिलक पोख्रेलकृत कविता सङ्ग्रह हो – “शब्दरङ्गी” । यसमा ‘श्रद्धाञ्जली’, ‘चोखो बाहना’, ‘शब्दको तग्दिर’, ‘एब्स्ट्रेक जिन्दगी’, ‘कविता र कवि’, ‘कुन सिस्टमको बात गर्छौ’, ‘भावनाको लहर’लगायत ४४ थान कविता सङ्ग्रहित छन् ।

भूमिकामा पदम गुरगाईं लेख्छन्, “आफ्नै परिवेशमा देखेका भोगेका अनुभूतिहरूलाई सरल शैलीमा शब्दको रङहरूले सिँगारेका छन् शब्दरङ्गी । आमाको ममती चित्र कोरेका छन् । बुबाको पसिना अत्तर छरेका छन्, मायालुको मायाको सरगम सुनाएका छन्, साथीको साथ न्यानो ओढेका छन् र जातीय समाज र परिवेश देखेर अलि अप्ठ्यारो देखेका पनि छन् पोख्रेलले शब्दरङ्गीको केन्भासमा ।”

“मान्छेको जीवन भोगाइको आयतन नै पछ्याएर आएको हुन्छ सिर्जनाले । त्यसैले, तिलकका कवितामा पनि उनको विगत त वर्तमान दृश्यविम्बहरू प्रतिबिम्बित भएका छन् ।” भूमिकामा महेश पौड्याल लेख्छन्, “म्यान्माको कछिन प्रान्तको मोगाउँ सहर, जहाँ उनी कविको रूपमा दोस्रो जन्म लिए, उनको कविताभित्रको एउटा आराध्य देवल हो । वीर गोर्खालीको गौरव गाथा, मान्छे र प्रकृतिको प्रेमलाल, ‘सानु’को विम्बमा परिकल्पित प्रमिकाप्रतिको उनको स्नेहभाव, भ्रष्ट राजनैतिक व्यवस्था, खस्कँदो मानवीय मूल्य, कवि र कविताको अनुन्याश्रित सम्बन्ध, कविताप्रतिको उनको बुझाइ आिद विषयको बाहुल्य उनको कवितासङ्ग्रहमा छ ।…उनले कल्पनातीत भूगोल, उच्च दर्शन, स्वेरकल्पना र अतियथार्थवादी विषयहरूमा आफूलाई अल्झाउने चेष्टा गरेका छैनन् । यस अर्थमा, सरलताको बाटोमा सहज, रुमानी, निर्दोष र अविधात्मक उद्गार उनको कविताका परिचायक हुन् ।”

०००

६. शान्ति सम्झौता – विजु सुवेदी ‘विजय’

पत्रकार तथा कवि विजु सुवेदी ‘विजय’को आख्यानात्मक कृति हो – “शान्ति सम्झौता” । २ सय ५ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘नयाँ राम’, ‘विजय र शपथ’, ‘तीन भेट’, ‘शान्ति सम्झौता’, ‘शहीद’ लगायत अन्य १० वटा कथा सङ्ग्रहित छन् । राजनीतिक, सामाजिक, पारिवारिक विषयमा आधारित कथाहरू विशिष्ट छन् । पात्रहरूको सशक्त प्रयोगले कथाहरू जीवन्त छन् ।

“साहित्यले थोरै अनि सरल बोलेर सटिक रूपमा अत्यन्त धेरै बोल्न सक्छ । यो कविताको यी दुई हरफहरूले पनि जनताले दयनीय रूपमा पराकाष्ठासम्म खपेका यातनाको व्यापक यथार्थको दारुण चित्रण भएको छ ।” आफ्नो कथनमा लेखिएको छ, “यसरी जनताले कति खप्ने ? अनि कति कहर सहेर बस्ने ? कति सङ्कुचित भई बस्ने ? कि अब परिवर्तन हुन्छ भनेर । जनतालाई नभई नहुने कपास, शिक्षा, स्वास्थ्य, रोजगार, खाद्यान्न, वासजस्ता अत्यावश्यक कुराहरू अझै पनि सर्वसुलभ रूपमा ग्यारेन्टीका साथ पाइरहेका छैनन् । धनी र गरिबबिचको दायरा झनै बढ्दै गइरहेको छ । अर्कोतिर राज्यले अकुत सम्पत्ति हुनेहरूलाई सम्पत्तिको सीमा तोक्न सकेन । यी यसरी सीमा तोक्न सकेको भए त्यो बढी सम्पत्ति अभावग्रस्त जनतामाझ समान वितरण गर्न सकिन्थ्यो । यसरी कार्यान्वयन पक्ष फितलो भइरह्यो । शहीदको अपमान व्याप्त भइरह्यो ।”

पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।