‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक – राम के.ए.सी.को कवितासङ्ग्रह ‘अर्धब्रह्म’, छविरमण सिलवालको कवितासङ्ग्रह ‘डोरम्याट’, रमेश प्रभातको निसमालोचना ‘अलिकति फरक कुरा’, पुरूषाेत्तम दाहालको उपन्यास ‘शान्ता’ र वासुदेव मण्डलको उपन्यास ‘ध्रुवसत्य’ ।
—
१. अर्धब्रह्म – राम के.ए.सी.
कवि तथा कलाकार राम के.ए.सी.को नवीनतम कवितासङ्ग्रह हो ‘अर्धब्रह्म’ । नेपाल भाषा र नेपाली भाषा दुवैमा कवि लेख्ने के.ए.सी.को यस सङ्ग्रहमा पनि एकै कविता दुई भाषामा एकसाथ प्रस्तुुत गरिएको छ ।
‘समयको स्पन्दन, युगको आवाज र नेपाली समाजका कथाहरु नै यस सङ्ग्रहका कविताहरु हुन् । जीवन र जगत्को यथार्थ विषय र प्रस्तुतिले कविताहरु शक्तिशाली बनेका छन् । विचार र कलात्मकताले जति सुन्दर छन् त्यति नै बलिया छन् । बगरमा फालिएका ढुङ्गालाई कुँदेर सुन्दर मूर्ति बनाएजस्तै कविता छन् । सबैले भोगिरहेको आजको यथार्थ नै सङ्ग्रहका कविता बनेका छन् ।’, वरिष्ट पत्रकार तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ भूमिकामा लेख्छन्, ‘रङ्गकर्मीका रुपमा प्रसिद्धि कमाएका कवि राम के.ए.सी. यस कवितासङ्ग्रहको प्रकाशनपछि नेपाली कविता क्षेत्रमा विशिष्ट स्थान बनाउन सक्ने कुरामा कुनै शङ्का छैन ।’
साहित्यकार ध्रुव मधिकर्मी नेपाल भाषामै लेखेको भूमिकासमेत पुस्तकमा सङ्ग्रहित छ ।
पुस्तकलाई सद्भाव थिएटरले प्रकाशनमा ल्याएको हो । ३६ शीर्षकका कविता नेपाल र नेपाली दुबै भाषामा सङ्ग्रहित कविताकृतिको मूल्य २ सय ९० रुपियाँ रहेको छ ।
===
२. डोरम्याट – छविरमण सिलवाल
समकालीन नेपाली साहित्यका स्थापित कवि छविरमण सिलवालको कवितासङ्ग्रह हो ‘डोरम्याट’ । शैली र भावका दृष्टिले सरल र संवेदनाले भरिपूणर् कविता लेख्ने सिलवालका कवितामा नेपाली जनजीवनका आवाज तथा दैनिकी प्रस्तुत भएका छन् ।
‘समकालीन समयका विसङ्गति, मूल्यहीनता, कपट, लालच, विवेकहीनता, निरीहता र लाचारीलाई कवितामा अभिव्यक्त गर्दै छविरमण कवितामा शान्ति, समता र न्यायपूणर् समुन्नत समाज स्थापनाको आह्वान गर्दछन् ।’, पुस्तकको अन्तिम कभरपृष्ठमा लेखिएको छ ।
‘विद्यमान समाजमा रहेका कतिपय मान्छेका भोगाइहरु साझा हुन सक्छन्, अनुभवहरु पनि साझा हुन सक्छन् । तर त्यसलाई अभिव्यक्त गर्ने शैली फरक हुन्छ । म कल्पनाभन्दा यथार्थमा विश्वास गर्छु ।’ पुस्तकको ‘र, अन्त्यमा…’ कवि सिलवाल लेख्छन्, ‘यो सत्य हो आज मैले भोगेको समाज र समयलाई मेरा सन्ततिले फरक ढङ्गले भोग्नेछ । मैले अक्षरमा कोरेको मेरो समयको चित्र हेरेर भोलि मेरो सन्ततिले मेरो भोगाइलाई बुझ्न सक्नेछ । त्यसकारण पनि मैले मेरो समयको यथार्थ चित्र कोर्नुपर्छ भन्ने लाग्छ । यसैको फल हो, डोरम्याट ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ३० थान कविता सङ्ग्रहित पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
===
३. अलिकति फरक कुरा – रमेश प्रभात
समीक्षक रमेश प्रभातको निसमालोचना विधाको कृति हो ‘अलिकति फरक कुरा’ । पुस्तकमा पठन संस्कृतिका कुराका साथै समकालीन साहित्यका विविध विधाका लेखक र उनीहरुका लेखनका कुराहरु गरिएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका उपप्राध्यापक समेत रहेका समीक्षक प्रभातले कृतिमा समालोचनाले साहित्यरससहित काव्यिक निबन्धको शैलीमा प्रस्तुत गरेका छन् ।
‘यो समालोचना कृति नेपाली समालोचनामा नयाँ आविष्कार हुँदै होइन । समालोचक एकनारायण पौड्यालको निसमालोचनाको निरन्तरता पनि होइन ।’, लेखकीयमा समीक्षक प्रभात लेख्छन्, ‘यो त समालोचनालाई पनि समान्य पाठकसँग कसरी जोड्न सकिन्छ भनेर गरेको सानो प्रयास मात्र हो । यसमा पात्रात्मक शैली, अन्तर्वार्ताको शैली, निबन्धात्मक शैलीजस्ता विविध शैली प्रयोग गरिएको छ । यसले सामान्य पाठकलाई समालोचना पढ्दा पनि साहित्यको आनन्द दिन सक्यो भने मेरो प्रयासले सार्थकता पाउने छ ।’
पुस्तकलाई रेखा श्रेष्ठले प्रकाशनमा ल्याएकी हुन् । २७ शीर्षकमा निसमालोचनाहरु सङ्ग्रहित यो कृतिको मूल्य ३ सय रुपियाँ रहेको छ ।
===
४. शान्त – पुरुषोत्तम दाहाल
वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालको चर्चित उपन्यास हो ‘शान्ता’ । वि.स. २०७० सालमा पहिलोपटक प्रकाशनमा आएको यो उपन्यासको तेस्रो संस्करण भर्खरै प्रकाशनमा आएको हो । यो उपन्यास तथ्यमा आधारित मानवतावादी धारमा लेखिएको छ ।
‘नेपाली साहित्यमा यथार्थ पात्रहरुलाई प्रयोग गरेर आख्यान लेखन गर्ने परम्परा धेरै पुरानो छैन । यस्ता कृति खोज्न थाल्यौँ भने गन्दागन्दै औँला सकिएलान् । तीमध्ये एक अत्यन्त मार्मिक, यथार्थ र तथ्यमा आधारित कृति हो ‘शान्ता’ ।’, उपन्यासबारे साहित्यकार कृष्ण धरावासी लेख्छन्, ‘शान्ता ती पहिलो नेपाली पात्र हुन् जसले पहिलोपल्ट कसैलाई आफ्नो कलेजो दान गरिन् र त्यसपछि आफ्नो स्वास्थ्यलाई समान्य अवस्थामा ल्याउन उनले गरेको स्वास्थ्य सङ्घर्षको मार्मिक कथा हो यो ।’
त्यस्तै, पुस्तकमा स्व. राष्ट्रकवि माधव घिमिरेले लेखेका छन्, ‘शान्ता उपन्यासले मानवीय अन्तस्करणमा रहेको संवेदनालाई उद्घाटित गरेको छ । पुरुषोत्तमको विचार सुन्दा, कृतिहरु पढ्दा त्यसभित्र म आफैँ छु जस्तो लाग्छ । शान्ताजस्तो मर्मस्पर्शी कृतिका लागि लेखकलाई म साधुवाद दिन्छु ।’
२ सय २८ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।
===
५. ध्रुवसत्य – वासुदेव मण्डल
युवा उपन्यासकार वासुदेव मण्डलको उपन्यास हो ‘ध्रुवसत्य’ । झापाका मण्डलले उपन्यासमा प्रेमका साथै समाजका विविध आयमहरुको कथा कहेका छन् । उपन्यास भद्रपुर, बिर्तामोड, मेची बहुमुखी क्याम्पसलगायत झापाकै सेरोफेरोमा बुनिएको छ ।
‘म जहिल्यै बसमा सवार गर्दा सिटमा बसेको छेउको मानिससँग कुराकानी गर्ने मौका पाउँथेँ । कोही आफैँ पतरपतर बोल्न रुचाउँथे त कोही ओठमा लामो चुपी लिएर बस्थे ।’, पुस्तकको परिचयमा मण्डल लेख्छन्, ‘म पनि बोल्ने वक्ता पर्दा बोल्थेँ, नभए झ्यालबाहिर साँपको जसरी मुन्टो हल्लाउँदै बाहिरी दृश्यमा रम्ने गर्थेँ । त्यही बाटोको दृश्य, पक्की घर, होटल, दोकान, विभिन्न साइन बोर्ड, बाटोमा ओहोरदोहोर गरिरहेका मानिस, खाली खेत र ती ठिंग उभिएका रुख । जब गुड्दै गरेको बसको झ्यालबाट आएको मिठो बतासको स्पर्शले मेरो मुहारमा चुम्थ्यो तब म आफैँलाई त्यही उडिरहेको पवतसँगै भुलिदिने गर्थेँ ।’
उपन्यासलाई बुलबुल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । १ सय ७३ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ सय २५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।