शैलेन्द्र साकार २५ मेका दिन (वैशाख २५, २०८१) अमेरिकाबाट नेपाल प्रस्थान गरे । उनी पारिवारिक भ्रमणको सिलसिलामा जनवरीको शुरुतिर अमेरिका आएका थिए ।  उनी झन्डै २ दशकदेखि अमेरिका आइरहेका छन् । शुरुमा उनी छोराको निम्तोमा आएका थिए । त्यसपछि उनको आउने जाने क्रम निरन्तर जारी छ । पछिल्ला वर्षहरू उनी छोरीको निम्तोमा आउन थालेका हुन् । अमेरिका पहिलोपल्ट निम्त्याएको छोराको दुःखद निधनले उनलाई बीचमा निकै चोट र पीडा दियो । लामै समय उनले अमेरिका पाइलो हालेनन् । तर पछि बिस्तारै सहज हुन थाले ।

शैलेन्द्र साकार मूलतः कवि हुन्, यद्यपि उनले कथा विधामा पनि महत्त्वपूर्ण योगदान गरेका छन् । सग्लो उपन्यास नलेखे पनि सहयोगी उपन्यासमा उनले सहभागिता जनाए । गैर आख्यानमा पनि उनको कलम दह्रो र सशक्त छ । उनको ‘हुलाकीको सन्तान’ आत्मकथात्मक कृति हो जसले नेपाली साहित्यका उनको समयका गतिविधि र वातावरणलाई इमानदारीपूर्वक प्रस्तुत गरेका छन् ।

उनी जहाँ पुगे पनि, जस्तो परिस्थितिमा पनि आफ्नो सिर्जनशीलतालाई निरन्तरता दिन्छन् ।

उनको पहिलोपल्टको अमेरिका भ्रमण महत्त्वपूर्ण थियो, धेरै किसिमले । पहिलोपल्टको भ्रमण भएकोले उनमा निकै उत्सुकता थियो अमेरिकाप्रति । सुनेको अमेरिका देख्दाको अनुभव र अनुभूति एकातिर थियो भने उनले विविध प्रकारका कामको अनुभव पनि सँगाले । र ती सबलाई कवितामा रूपान्तरण गरिदिए । उनको पहिलो भ्रमणको अवधिमा सिर्जित २५ कविताहरूको सङ्कलन “कवितामा अमेरिका” कालचक्र नेपालबाट विसं २०६० सालमा प्रकाशित भएको थियो । यो पुस्तकको प्रकाशन सौजन्यता उनै अमेरिकावासी छोरा अनुरक्त साकारले गरेका थिए ।

उनका थप कविताहरू तथा नियात्राको पुस्तक पनि उनले “अमेरिका” शीर्षकमा  २०६४ सालमा प्रकाशित गरेका थिए ।

जनवरीको चिसो र हिमवत् समयमा यसपल्ट फेरि उनी अमेरिका आए । नितान्त पारिवारिक भ्रमणमा आए पनि एक सामाजिक मानिस भएका कारणले र साहित्यका हस्ती प्रतिभा भएकाले तथा सामाजिक सञ्जालले सारा संसारलाई एउटा मोबाइल फोनमा साँघुरियाई दिएको हुनाले उनको यो भ्रमण व्यक्तिगतमा सीमित भएन ।

केही साहित्यिक समारोहहरूमा उनी सरिक भए र भर्जिनिया तथा कोलोराडोमा उनको एकल कविता वाचन कार्यक्रम समेत भयो ।

अमेरिका अवतरण भएको पत्तो पाउने बित्तिकै मैले उनलाई भेटें र कफी गफ गर्‍यौ‌ं । यद्यपि हाम्रो भेटघाट तिहारपछि काठमाडौंमै भएको थियो र उनी अमेरिका आउँदै गरेको मलाई जानकारी थियो । करिब १ महिनाको अन्तरालमा हामी अमेरिका अवतरण गरेका थियौं । म एक महिना अघि, उनी एक महिनापछि ।

अमेरिका आएको छोटो समयपछि नै उनी बसन्त श्रेष्ठले आयोजना गरेको उनको ज्ञानगुनका कुरा बसन्त श्रेष्ठ अङ्क सम्बन्धी भेटघाट कार्यक्रममा सरिक भए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डिसी मेट्रो च्याप्टरले उनको एकल कविता वाचन कार्यक्रमको आयोजना गर्‍यो र सफलतापूर्वक सम्पन्न भयो ।

यसै बीच एक दुःखद घटना भयो । उनका सहोदर दाज्यु नेपाली साहित्यका मूर्धन्य आख्यानकार परशु प्रधानको काठमाडौंमा निधन भयो ।

मेरिल्याण्डमा साहित्यकार सीता पाण्डेको नेतृत्वमा भएको साङ्ग्रिला डाइलग संस्थाले परशु प्रधानको स्मृतिमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना ग-यो । शैलेन्द्र साकार त्यस कार्यक्रममा सहभागी भए ।

अनेसास कोलोराडोले उनको एकल कविता वाचन कार्यक्रम ग-यो र उनको सम्मान समेत गर्‍यो ।

कोलोराडो उनको छोराको गृह नगर थियो, जो अहिले छैनन् । केही वर्षअघि साकार लामो समय कोलोराडो बसेका थिए, ग्रीनकार्ड लिएर । पछि उनले त्यो कार्ड फिर्ता गरिदिए । तर अमेरिका आगमन भने निरन्तर रह्यो । यसपालि उनका छोरा अनुरक्तसँगै काम गर्ने अमेरिकन मित्रले उनलाई आतिथ्यता प्रदान गरेका थिए । कोलोराडोमा साकार छोराले व्यवसाय गर्ने स्थानमा पनि पुगे । त्यो स्थानको खण्डहरले उनको पुरानो घाउ आलो बनायो । तर लामो समयको अन्तराल भैसकेकोले विचलित भने भएनन् । दुःखलाई मनमा लुकाउन सक्ने क्षमताको विकास गरेपछि मानिसलाई जीवन बाँच्न सहज हुन्छ । उनले सहजतापूर्वक कोलोराडोमा आफ्ना कविता प्रस्तुत गरे । कोलोराडोका साहित्यकारहरू र कविताप्रेमीहरूसँग रमाए ।

यसपालिको अमेरिका प्रवासको क्रममा साकारले एक काव्यको रचना गरे । लामो नियात्रा कविता । अमेरिका, जीवन र जगतको पृष्ठभूमिमा ‘कथ्य काया’ शीर्षकमा उनले ६० पृष्ठभन्दा बढी लामो रचना गरेका छन् ।

उनको मान्यता छ, “आजसम्मको सम्पूर्ण मानव जातिको इतिहास नयाँ कथ्यको खोजी हो । साहित्यको सम्पूर्ण इतिहास नै कथ्यहरूको द्वन्द्वको इतिहास हो ।”

उनको जिकिर छ, “जुन कविले कथ्यमा अलिकति पनि कायाकल्प गर्दैन त्यो भविष्यको कुनै इतिहासमा जीवित रहने छैन । प्रयोगशालाबाट पैदा भएका लाखौं प्रतिलिपिहरूले मौलिकताको खोजीमा क्रान्ति गर्नेछन् । अब आउने युगमा क्लोनिङ गरिएका गिन्सबर्ग, व्रेख्त, शेक्सपियर, कालिदास, देवकोटा, रिमाल र भूपिका दिमागले कविता लेख्नेछन् र क्लोनिङ गरिएको शैलेन्द्र साकारको भावी पुस्ताले त्यसका प्रत्येक पङ्क्तिहरूलाई विपठन गर्नेछ ।”

यो मान्यतामा काव्य लेखन गरिरहेका साकारले त्यसैको निरन्तरतामा यो “कथ्य काया” लामो नियात्रा काव्यको रचना गरेका हुन् ।

उक्त रचनाको एक अंश यस्तो छ:

यो लामो बरन्डामा जतिपल्ट घुमे पनि

कुरा त्यही हो समय त्यही हो र

अवस्था पनि 

बाहिर र भित्र कसैले पोको पारेर

साँझलाई सबैतिर फ्याँकिरहेछ

हामीले केटाकेटीमा कागज च्यातेर

पोको पारेर झ्यालबाट तल फाले झैं

साँझ हामीतिर फालिरहेको छ

मानौं आजको लागि हामी नै हौं

त्यो आँगन र उसको लक्ष्य

जसमा जतिखेर जे फाल्दिए पनि हुन्छ

मेसिन साहुले बोकेर बसेको

आलुको पाप्रातिर मेरा भोका आँखाहरू

बारम्बार टास्सिइरहेका छन्

कुनै प्राप्ति छैन

भाट मसँग छैन

र डलर कोसँग साट्ने ?

मेसिनभित्र छिराउन नपाएर

कुनै पनि पैसा

बारम्बार हेरिरहेछु एउटा निकै

गतिलो देखिने आलुका पाप्राहरूले

भरिएको जस्तो लाग्ने

अलिक गह्रुँगो पोका …

 

यतिखेर नेपाल पुगेर जन्मभूमिको ताजा हावा खाँदै उनी यो काव्यलाई अन्तिम रूप दिने तरखरमा होलान् ।

अमेरिकालाई भने उनले छाडेर गएको पदचापको धङधङी छ ।

साथी भाइ, परिचित र भेटघाट गरेका सबैलाई पनि उनको धङधङी छ ।

उनले नेपाल सकुशल पुगेको खबर पाइसकेको छु । तर उनीसँग भेटेर वार्तालाप गरेको रमाइलो क्षणको धङधङी मलाई पनि छ ।