‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक –  दीनानाथ शर्माको ‘लाखे पुलामी’, कृष्ण कुसुमको ‘पार्श्वधुन’, कृष्ण केदेमको ‘एउटा गाउँले ठिटो’, चन्द्रकान्त आचार्यको ‘शान्ति र स्वतन्त्रता’, युवराज भण्डारीको ‘भावनाको तस्वीर’ ।

* * * *

१. लाखे पुलामी — दीनानाथ शर्मा 

निबन्धकार तथा कथाकार दीनानाथ शर्माकृत पुस्तक हो – “लाखे पुलामी” ।

पुस्तकमा ‘आमाको वेदना’, ‘चौतारी’, ‘विष्णुमति किनारमा बगेको आँसु’, ‘मनोदशा’, ‘कृतघ्न सन्तान’, ‘सरस्वती’, ‘लाखे पुलामी’, ‘प्रतिशोध’, ‘अनागरिक’, ‘खेल’ १८ वटा कथा सङ्ग्रहित छन् । कथाहरूमा काली गण्डकीको सेरोफेरो, त्यसको वरपरको गाउँबस्ती र तिनै गाउँबस्तीका दुःखी, निर्धा, निमुखा जनका कथा–व्यथालाई सरल शब्दमा उत्खनन गरिएको पाइन्छ ।

दीनानाथ शर्मा लेख्छन्, “मेरी लेखनी निबन्धको मलिलो फाँटमा स्वच्छन्द उछलकुद गर्न जति रमाउँछिन् अन्यत्र त्यति जाँगर चल्दैन कि ? भन्ने लाग्छ । त्यसैले होला ताँती लागेर निबन्ध जन्मिन्छन् बर्सेनि । कथा पस्किन निकै सकस भएको छ । जनयुद्ध कालमा पहिलो कथा सङ्ग्रहको पाण्डुलिपि प्रेसबाट लुछेर सेनाले गर्भमै तुहाइदियो । त्यसले मनमा गहिरो चोट लाग्यो । त्यही पीडा मनमा बल्झिरहेकोले कमसेकम हल्का मलमपट्टी हुन्छ कि भनेर पनि पस्किने जमर्को गरेको छु ।”

“मानिस सचेत प्रवर्गको सिर्जनाको मुहान हो । जीवजन्तुमा समेत प्राकृतिक रूपमा सिर्जनाका गुणहरू विद्यमान हुन्छन् । स्वतःस्फूर्त रूपमा अचेत किसिमले हुने, गरिने त्यस्ता क्रियाकलापका तुलनामा मानिसले सचेततापूर्वक गरेका सिर्जनाको विशेष महत्त्व छ । सिर्जना क्षमता प्रत्येक मानिसमा हुन्छ तर कतिपय मानिसमा सुषुप्त हुन्छ र केही मानिसमा भने त्यस्तो गुण उर्वर हुन्छ उर्वर क्षमता भएका मानिसहरू निरन्तरको अभ्यासद्वारा आफ्ना सिर्जनालाई परिष्कृत गर्छन् र ती कारिगर, कलाकार, उस्ताद, साहित्यकार, लेखक बन्छन् ।” भूमिकामा हरिहर खनाल लेख्छन्, “दीनानाथ शर्मा तिनै सचेत सिर्जनशील स्रष्टामध्ये एक हुनुहुन्छ । उहाँको व्यक्तित्वका अनेक पाटा छन्, तीमध्ये प्रमुख हुन् राजनीतिक व्यक्तित्व र साहित्यिक व्यक्तित्व ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ७२ पृष्ठमा मौलकाएको यस पुस्तकको मूल्य २ सय ९० रुपियाँ रहेको छ ।

० ० ० ०

२. पार्श्वधुन — कृष्ण कुसुम 

तीक्ष्ण सामाजिक र राजनीतिक चेत, सीमान्त आवाज र मानवीयता कृष्ण कुसुमका कथाका विशेषता हुन् । त्यही विशेषतामा फुलेको पुस्तक हो – “पार्श्वधुन” ।

१ सय ६४ पृष्ठमा आधारित यस पुस्तकमा ‘एउटा अन्त्य’, ‘क्लोन’, ‘दुत्कार’, ‘अनुत्तरित’, ‘लडाकु’, ‘माया उर्फ पासो’, ‘गथासो’, ‘पारिजात’, ‘ब्लाइन्ड डेट’, ‘भर्याङ’, ‘न्यूयोर्कमा भेटिएको देश’, ‘चार्ली’, ‘अपूरो’ कथाहरू सङ्ग्रहित छन् ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “पहाडको उचाइबाट तीव्रताका साथ ओर्लिंदै गरेको जलको बहाव विभिन्न खोल्सी र कुलेसा हुँदै अनेक प्रवाहमा बाँडिएझैँ उनका कथा जन्मभूमि नेपालदेखि कर्मभूमि अमेरिकासम्म बाँडिन्छन् । यिनै दुई खुट्टा टेकेर झन्डै सबैजसो कथानक अगाडि बढ्छन् । अनि सबै खोला र नदीको अन्तिम गन्तव्य महासागर भएझैँ यी कथामा विषय, प्रश्न र विचार विराट मानवीयताको महासागरमा समेटिन्छन् । विविध सुवासले युक्त फूलको गुच्छाजस्तो यो सङ्ग्रह अनेक रङ, स्वाद र सौन्दर्यका कथाहरूको माला हो ।”

“कथा मेरा लागि अभिव्यक्तिको माध्यम भएको छ । जसमा म आफ्ना कुरा मन माझेर अभिव्यक्त गर्न सक्छु जस्तो लाग्छ । मेरो छेउछाउका मान्छेहरूको बोली टिपेर टाढा–टाढासम्म पुर्याउन सक्छु । जुन कुरा मैले पनि भनिनँ भने भन्नलाई छुटी नै रहनेछ ।” मेरो पहिलो प्रेममा उल्लेख गरिएको छ, “गृहकार्य स्वरूप लेखिएको पहिलो कथा होस् वा यस सङ्ग्रहमा समेटिएका कथाहरू हुन्, सबै–सबै कथाका पात्रहरू मेरै वरपरका मान्छेहरू हुन् । टाढाबाट हेर्दा उस्तै देखिने तर नजिकबाट कोट्याउँदा बिलकुल फरक भोगाइ र पीडाले पिल्सिएका सीमान्तकृत समूहका कथा हुन् । यसमा मूलप्रवाहभन्दा बाहिरका लय हुन् । सोही लयको समग्र रूप नै ‘पार्श्वधुन’ हो ।”

शिखा बुक्सबाट प्रकाशित पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।

० ० ० ०

३. एउटा गाउँले ठिटो — कृष्ण केदेम 

ब्रिटिस गार्खा सैन्य सेवाबाट अवकाशप्राप्त शालीन र मिजासिला व्यक्तित्वका धनी श्री कृष्ण केदमको संस्मरणात्मक कृति हो – “एउटा गाउँले ठिटो” ।

पुस्तक ३ सय २० पृष्ठमा मौलाएको छ । यसमा लेखकले आफ्ना सुदूर समयका पलहरूलाई ‘गाउँघरको जनजीवन’, ‘सोया (सभा) पोखरी दर्शन यात्रा’, ‘हङकङ’, ‘बग्दाद’, ‘यस्तो भइदिए हुन्थ्यो’, ‘कर्तव्य र मान्छेको भाँडो’ २२ वटा शीर्षकबाट प्रस्तुत सफल भएका छन् ।

“…गृहिणी, सिपाही, मजदुर, सर्वसाधारण अथवा जोसुकैले आफूले जाने बुझेका विषयवस्तुसम्बन्धी लागेका कुरा वा आफ्नो अनुभवहरू आफ्नै बोलीचालीको भाषामा लेख्ने गर्दा रहेछन् । त्यस्ता कति किताबहरू पाठकले पनि निकै मन पराउँदा रहेछन् । यो देखेर मेरो मनमा रहेको किताब लेख्ने इच्छा अझ प्रबल बन्यो ।” कृष्ण केदेम लेख्छन्, “सक्रिय जीवनबाट अवकाश अर्थात् रिटायर्ड जीवनका सुरुका वर्षहरू रमाइलो गरी बिताइरहेको थिएँ । एक्कासि कोरोना महाव्याधि संसारभर फैलँदै काठमाडौँ सहरमा पनि आइपुग्यो । हप्तौँ, महिनौँ घरमा थुनिएर रहनुपर्ने बाध्यकारी स्थिति आयो । यसै स्थितिले मेरो मनमा रहेको किताब लेख्ने साइत र संयोग जुरायो भन्ने लाग्छ । …जसोतसो मनमा आउने सम्झना, दृष्टिकोण र देश दुनियाँको बारेमा आफूले देखे भोगेका ठाउँ, व्यक्ति र घटनाहरू शब्दमा बयान गर्न कोसिस गरिरहेँ । बिस्तारै मेरो प्रयासले किताबको रूप धारणा गर्दै गयो ।”

पुस्तकको पछिल्लो पृष्ठमा प्राज्ञ शशी लुमुम्बू लेख्छन्, “रैथाने सभ्यता र संस्कृतिले समृद्ध सुदूर पूर्वी पहाड ताप्लेजुङमा जन्मिएका किशोर उमेरमा ब्रिटिस गोर्खा सैन्य सेवामा भर्ती भएका केदेमले पल्टनमा रहँदा र अवकाशपश्चात्का दिनमा विभिन्न मुलुकको भ्रमण गर्दा र आफ्नो गाउँ समाजमा देखे भोगेका र अनुभूत गरेका कथा, घटना तथा सन्दर्भहरूलाई बढो जीवन्त रूपमा किताबमा उतारेका छन् । उनका संस्मरणहरू समय नियाल्ने आँखीझ्याल हुन् । केदेमको लेखनशैली मिठासपूर्ण छ । रैथाने स्वादले युक्त छ । सरल भाषा, पृथक् शैली र नयाँ प्रस्तुति छ । जसले सबै खाले पाठकलाई सम्मोहित गरिरहन्छ ।”

पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो र यसको मूल्य ५ सय ९५ रुपियाँ रहेको छ ।

० ० ० ०

४. शान्ति र स्वतन्त्रता — चन्द्रकान्त आचार्य

प्रतिभाशाली  वहुविधाव्यक्तित्व चन्द्रकान्त आचार्यकृत विश्लेषणात्मक पुस्तक हो – “शान्ति र स्वतन्त्रता” । यो आजभन्दा दुई हजार वर्ष अघिको मानव सभ्यताको क्रममा दास युगको व्यथासँग सम्बन्धित छ ।

पुस्तकलाई ४ भागमा विभाजित गरिएको छ । यसमा १. युद्ध र शान्ति — ४ वटा खण्डसहित उपसंहार र समीक्षा, २. वैशाली नगरवधू ¬— अम्बपाली र समीक्षा, ३. आदि विद्रोही — स्पार्टकस र विद्रोह, वारिनिया र समीक्षा र ४. उपसंहार हरूलाई १ सय ९२ पृष्ठमा सम्माहित गरिएको छ ।

पछिल्लो पृष्ठमा लेखिएको छ, “सन् १८१२ जून १३ मा नेपोलियनको नेतृत्वको सेना नाइमन नदी पार गरेर रुसको सीमानाभित्र पस्यो भने यता त्यही १३ जूनको राती विल्नुसमा सुन्दरीहरूसँग नृत्य गरिरहेका सम्राट् अलेक्सान्द्रले बल्ल युद्ध सुरु भएको कुरा थाहा पाए ।…

कहिलेकाहीँ अम्बपाली आफ्नो अनुपम सुन्दरतामा ध्यान दिन्थिन् र आफ्नो अद्भुत रूपलाई तलाउको पानीमा देख्ता आफै दङ्ग पर्थिन् । त्यस बेला वासना र उमङ्ग उनको शरीर र मनभित्र पसेको अनुभव हुन्थ्यो र उनी मन्द मुस्कानकासाथ मनमनै भन्थिन्, ‘ठीक छ, यसै रूपको ज्वालामा म सबैलाई भस्म गरिदिन्छु । कसैले छुन नसक्ने यस रूपलाई नै अछुत नै राख्नेछु ।…

बारिनियासँग कुरा गर्दा उनले भनेका छन्, ‘एक पटक मिल्ने यस जीवनमा समयमा नै राम्रा सपना देख्नुपर्ने रहेछ, तर हेर यो जीवन कति छोटो, कति बेमतलब र कति निरुद्देश्य ? यो त एक क्षण त रहेछ, मान्छे जन्मन्छ अनि मर्छ ।’”…

“युद्ध कुन ? शान्ति कुन ? युद्ध किन ? शान्ति किन ? धेरै प्रश्न उब्जन्छन् । रामायण महाभारत, इलियड वा ओडेसी लडाईं प्रथम र दोस्रो विश्वयुद्ध, शीत युद्धहरू । युद्ध मान्छेको अहंकार, स्वार्थ, हठ…। आदिम काल जिजीविषा नै थियो होला । यसपछि व्यक्तिको स्वार्थीप्रवृत्ति कर्ता महत्त्वाकाङ्क्षा यिनै सन्दर्भले मानव देवता हुनको बदला दानव बनेको छ ।” भूमिकामा खेम कोइराला बन्धु लेख्छन्, “

– सन् १८१२ को नेपोलियनविरोधी रुसी जनताको देशभक्तिपूर्ण कथा हो ‘युद्ध र शान्ति’ । आठसयमा बढी पात्र भएको यस उपन्यासमा रुसी जनताको एकजुटले नेपोलियन हताश । त्यत्रो ठूलो मुठभेडको महायुद्धमा जनताको शान्तिपूर्ण बहिष्कारको कत्रो ठूलो शक्ति ? रामले, पाण्डवले शान्तिप्रस्ताव गरेको पढेकै हो तर प्रतिपक्षीले न मानेपछि युद्ध भएका हुन् । युद्धका उन्मादहरू ठीक हुँदैनन् भन्ने कुरा रुसी जनताले प्रमाणित गरे ।

– भारतमा महात्मा गान्धीको स्वतन्त्रता सङ्ग्राममा सत्याग्रह, अहिंसा आदि कुरा हेर्यौ । मार्टिन लुथर, नेल्शन मण्डेलाको कुरा पनि अनुभव भएकै छन्। नेपाल बुद्ध जन्मभूमि र शान्तिक्षेत्र हाम्रो नीति । त्यसैले शान्तिका क्षेत्रमा टोल्स्टोयका पुस्तकको विश्लेषण हुनु आवश्यक छ ।”

नेपाल विश्व शान्ति विकास समाजबाट प्रकाशित पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।

० ० ० ०

५. भावनाको तस्वीर — युवराज भण्डारी 

गजलकार युवराज भण्डारीका आधा दर्जन गीत रेकर्ड भइसकेका छन् र यो हो तेस्रो कृत गजलसङ्ग्रह – “भावनाको तस्वीर” ।

१ सय १९ पृष्ठमा आबद्ध यस पुस्तकमा १ सय १ थान गजल सङ्ग्रहित छन् । गजलमा सुन्दर सम्प्रेषण छ । मौलिक र सूत्रात्मक कथनले पनि गजलमा कल्पनाशीलताको प्रखर पाइन्छ ।

भूमिकामा बुँद राना लेख्छन्, “गजलमा विवादको खेती पनि छ । हुन त हाम्रो वाङ्मय आकाशमा पद्य र गद्य कविता बीचको गड्याङगुडुङ त अझै सकिएको छैन भने गजलको त के कुरा भयो र ! तर मेरो हिसाबले हेर्दा स्वस्थ छलफल हुनु गजल उन्नयनको लागि नराम्रो नहोला । कहिलेकाहीँ भने यो अतिरञ्जित पनि भइराखेको छ । यदाकदा यो विवाद यस्तरी चुलिन्छ कि मलाई गजल भनेर दिनरात लागि परेका गजलकारहरूमा निराशा पो झ्याङ्गिन्छ कि भन्ने त्रास हुन्छ । यो सब परिस्थिति झेल्दै जन्मभूमिभन्दा पर सङ्घर्ष गर्दै सशक्त गजल कृति नेपाली गजललाई दिने स्रष्टा भण्डारीको लगन उदाहरणीय छ । हेरौं यो शेरमा उनले देशलाई कसरी सम्झेका छन् ः

जब नक्साभित्रै देश एक्लिएको देख्छु

मेरा नयनमा आँसुको राराताल हुन्छ ।

हाम्रो सर्वोच्च हिमाल देउतै लाग्छ मलाई 

स्वर्गभन्दा सुन्दर भूमि एउटै लाग्छ मलाई ।”

“केही देशका कुरा केही परदेशका कुरा, केही नीतिका कुरा, केही राजनीतिका कुरा, केही मनका कुरा, केही धनका कुरा, केही दर्शनका कुरा, केही मननका कुरा, केही शिक्षाका कुरा केही भिक्षाका कुरा –!” भूमिकामा गोवर्द्धन पूजा लेख्छन्,  “‘भावनाको तस्वीर’ यस्तै–यस्तै विषयमा लेखिएका गजलहरूले बनेको छ । यो तस्वीर केवल गजलकार भण्डारीको मात्र भावनाको तस्वीर नबनेर आम पाठकको मनको तस्वीर बनेको छ । समसामयिक विषय बस्तुलाई आफ्नो सिर्जनाको रङले रङ्ग्याएर समयानुकूल आकर्षणको जलप लगाउन सक्नु गजलकारको खुबी हो । यस अर्थमा गजल सङ्ग्रह पठनीय र मननीय बनेको छ ।”

भुँडीपुराणबाट प्रकाशित यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।