चर्चित युवा कलाकार एनबी गुरुङ जापानको कोबे सहरमा आयोजना गरिएको जलरङ ट्रिनालेमा भाग लिएर फर्कनु भएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै जापान पुगेका गुरुङले नेपाली मौलिक कला प्रदर्शनी गर्नुका साथै सहभागी कलाकारहरूलाई दुई दिने जलरङ प्रशिक्षणसमेत दिनुभएको थियो । हरेक तीन/तीन वर्षको अन्तरालमा आयोजना गरिने उक्त त्रिनालेमा ३५ देशका १६५ वटा चित्रकला प्रदर्शनीमा राखिएका थिए । प्रकृति, मुहारचित्र, मानव दैनिकी लगायत समसामयिक चित्रहरूको बाहुल्य रहेको उक्त प्रदर्शनीमा सहभागी कलाकारहरूले आ-आफ्नो देशको कला र संस्कृतिको पछिल्लो विकास क्रमलाई देखाउने प्रयत्न गरेका थिए।

कार्यक्रमको अवधिभर चित्रकलाको डेमोन्ट्रेसन,यथास्थान चित्र निर्माण र कलासम्बन्धी विविध विषयमा छलफलसमेत आयोजना गरिएको थियो।

मार्च १२ तारिखदेखि सुरु भई मार्च १८ सम्म चलेको उक्त प्रदर्शनीमा चित्रकला अवलोकन गर्नेहरूको ठूलो भीड लागेको थियो।

“जापानजस्तो समृद्ध देशमा नेपाली कलाकारले आफ्नो कलाको प्रदर्शनी गर्ने अवसर प्राप्त गर्नु सिंगो नेपाल र नेपालीको गौरवको विषय हो,” कलाकार गुरुङले खुसी साट्दै भन्नुभयो ।

कार्यक्रमको समापनपछि जापानका विभिन्न सहरहरूसमेत भ्रमण गर्नुभएका गुरुङले नेपाली राजदूतावास टोकियोमा नेपालका राजदूत डा. दुर्गाबहादुर क्षेत्रीसँग समेत भेटघाट गर्नुभएको थियो ।

उक्त भेटघाटमा दूतावासको पहलमा नेपाली कलालाई जापानमा प्रचारप्रसार र विकास गर्नेबारेमा छलफल भएको थियो।

जलरङ समाज नेपालका अध्यक्ष समेत रहनुभएका कलाकार गुरुङले यसअघि युरोप , कोरिया, बाङ्गलादेश, थाइल्यान्ड, इन्डोनेसिया आदि देशमा पुगेर नेपाली कला र कलाकारको प्रतिनिधित्व गरिसक्नुभएको छ ।