पन्ध्रौं शताब्दीयता त्यसअघि सुस्ताएका कलाहरूले धमाधम गति लिन थाल्यो। कलामा नयाँ नयाँ प्रयोगहरू हुन थाले, वैज्ञानिक आधारमा कलाकृतिहरू बन्न लाग्यो। विस्तारै यसअघि बन्ने देवीदेवताहरूका काल्पनिक कलाहरू भन्दा प्रकृति र मानवीय शारीरिक अनुपातलाई जोड दिएर यथार्थपरक चित्रहरू बन्न थाल्यो।

यसअघि मृतप्रायः र सुस्ताएको कला फेरि जुर्मुराएर परिष्कृत बनी नयाँ युगमा प्रवेश गरेकाले चौधौंदेखि पन्ध्रौं शताब्दी बीचको समयलाई कलामा “पुनर्जागरण काल” भनेर चिनिन्छ। यसै समयतिर मेघास्टार लियोनार्दो दा भिन्ची, माइकलएन्जेलो लगायतको उदय भएको थियो। यसपछि
बिस्तारै कलामा चेत देखिन थाल्यो। कलाकारहरूले समयक्रममा विभिन्न शैली, प्रयोग र वादहरू भित्र्याउन थाले। फलतः समय कालखण्डमा नवशास्त्रीयतावाद, रोमान्सवाद, घनवाद, भविष्यवाद, प्रभाववादजस्ता विभिन्न वादहरूको जन्म भयो।

यी शैली र वादहरूको प्रसंग साहित्यपोस्टका आगमी अंकहरूमा बिस्तारै चर्चा गर्दै जाने नै छौँ। अहिले हामी यसै कालखण्डअन्तर्गत रोमान्सवादका प्रथम र चर्चित कलाकार “थियोडर जेरीकौल”का बारे र उनका विश्वप्रसिध्द कला “राफ्ट् अफ् मेडुसा”को बारे चर्चा गर्नेछौं।

जेरीकौल रोमान्सबाद शैलीमा काम गर्ने पहिलो कलाकार हुन्। नवशास्त्रीयबाद पछि भित्रिएको यो शैलीमा नाटकीय मुद्रा, आश्चर्य, काल्पनिक र दुःखका भावनाहरू ओतप्रोत हुन्छन्। यी वादका कलाकारहरू आफ्ना चित्रहरूद्वारा दर्शकहरूको मन उद्वेलित गरी धेरै तीव्र भावले भरिदिन चाहन्थे।

जेरीकौलको जन्म सन् १७९१ मा फ्रान्सको रूएन शहरमा भएको थियो। उनले कलाकार भर्नेट र गुरीनबाट कलाको प्रारम्भिक शिक्षा लिएका थिए भने अर्का कलाकार ग्रोसले बनाएका घोडाका चित्रहरूबाट प्रभावित भएका थिए।

“राफ्ट अफ् द मेडुसा”(मेडुसाको डुंगा) उनको विश्वप्रसिध्द कृति, जुन १८१९ मा बनाएका थिए। पानीजहाज दुर्घटनामा आधारित यस चित्रले तत्कालीन शासक र सरकारको कमजोरीप्रति व्यंग्य गरिएको हुनाले
क्रान्तिकारी साबित भयो। उनी तत्कालीन सरकार र शासक वर्गको आँखाको तारो बने पनि धेरैले उनका चित्र रूचाए।

सन्१८१८मा अफ्रिकाको पश्चिमी तटमा १४९ यात्रु बोकेको फ्रान्सेली सरकारी जहाज पल्टिएको थियो। जसमा १५ यात्रु मात्र जीवित रहन सफल भएका थिए। जहाजका अधिकारीहरूले सयभन्दा बढी यात्रुहरूलाई एउटा सानो ढुंगामा हालेर उनीहरूको भाग्यमा छोडिदिएको थियो। बाँकी सबै भोक प्यासले छटपटिएर बौलाएर मृत्यु भएको थियो। बाँचेका अन्य व्यक्तिहरूलाई अर्को जहाजले देखेर उध्दार गरेर किनारामा ल्याइदिएको थियो ।

यो घटना चित्रण गर्न जेरिकौलले अस्पताल गएर दुर्घटनाबाट बाँच्न सफल र मरेका व्यक्तिहरूको लाशहरूको अध्ययन गरी चित्र बनाएका थिए। यसै उद्देश्यका लागि पागलखानामा गएर पागलहरूको कैयौं चित्र बनाए। यतिसम्म कि जेरिकौलले अध्ययनका लागि आफ्नो घरमा लाश पनि राखेका थिए, त्यसमा छिमेकीहरूले विरोध गरेका थिए। जहाज डुबेको यथार्थ अवस्था उतार्न अध्ययन गर्न आफैँले ससाना पोखरीसमेत बनाएका थिए। यस चित्रलाई रोमान्सवादी शैलीको पहिलो चित्र मानिन्छ। यसमा कलाकार जेरिकौलले मानव शरीरलाई प्राचीन ग्रीक आदर्शको जस्तो नबनाएर गतिपूर्ण रेखांकन र रङ प्रयोगमा पनि परम्परागत सिध्दान्तको पालना नगरी करूणापूर्ण भाव प्रदर्शन गरेका छन्।

मानव आकृतिलाई सचेत बनाएर यस अघिका नव शास्त्रीयतावादका नियमहरूलाई उनले उल्लंघनसमेत छन्। जेरिकौलले पागलखानाका केही पागलका चित्र पनि बनाएका थिए, जसमा “पागल हत्यारा” (दि म्याड एसेस्सिन) नामक चित्र धेरै प्रभावपूर्ण र प्रसिध्द छ। यस्ता प्रतिभाशाली कलाकार आफ्नो युगमा धेरै बाँचेनन्,सन् १८२४मा ३३ वर्षको अल्पायुमै घोडाबाट खसेर उनको निधन भएको थियो ।

“राफ्ट अफ् दि मेडुसा” पेन्टिंग