साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पोखराका शान मनोज तामाङ

कला, साहित्य र संगीतको दोस्रो ठूलो राजधानी पोखरा मानिन्छ, जसले एकसे एक प्रतिभा मुलुकलाई दिएको छ । कवि शिरोमणि लेखनाथ पौड्याल यसै क्षेत्रमा जन्मे। लोककवि अलि मियाँदेखि “हरियो डाँडा माथि” गीत गाउने जनकविकेशरी धर्मराज थापा पनि यहीँ जन्मे। पागल बस्तीका शरुभक्तदेखि संस्कृतिकर्मी तीर्थ श्रेष्ठ ,’चोक र तमसुक’का सर्जक कलाकार दुर्गा बरालदेखि मुहार चित्रमा ख्याति कमाएका आलोक गुरुङ पोखराले नै जन्माएको हो ।

bahulako diary small and inside post

प्रतिभाहरूको कुनै कमी छैन पोखरामा।

हरेक दिनजसो नयाँ कलाकारको जन्म यहाँ भई नै रहेको छ र यसै भिडमा छन्, एक पृथक् पहिचान बेकेका प्रतिभाशाली युवा कलाकार मनोज तामाङ ।

छोटो समयमै देशविदेशमा चर्चा कमाउन सफल तामाङ समग्र पोखराकै गौरव बनेको छ। कला सृजनामा उनको व्यस्तता यति धेरै बढेको छ कि सायदै पोखराका उनका समकक्षीहरू त्यसरी सिर्जना गरिरहेका होलान्। हरेक दिनजसो उनी कुनै न कुनै ठाउँमा कलाकारिता गरिरहेका भेटिन्छन्। कहिले उनी घाचोक पुगेर त्यहाँको मनोरम दृश्यलाई क्यानभासमा उतारिरहेका हुन्छन् त कहिले उनी तानतिंङको गुजुमुज्ज परेका गुरुङ समुदायका मौलिक घर र छेउमै देखिने हिमाललाई कैद गरिरहेका भेटिन्छन् । त्यसैगरी फेवातालको रमणीय दृश्य चित्रण गर्नेदेखि तनहुँको बन्दिपुरसम्म पुगेर उनी स्थलगत चित्र कोरिरहेका भेटिन्छन् । पेन्टिङको अलावा पार्ट टाइममा उनी स्कुलका बालबालिकाहरूसँग कलाको ज्ञान र सीप पनि बाँडिरहेका हुन्छन् । थ्रिडी र होम डेकोररमा पनि उनको रुचि उत्तिक्कै देखिन्छ।

पोखराको मियाटोलमा ४ दशकअघि जन्मेका मनोज सानैदेखि चित्रकलामा रुचि राख्थे । स्कुल छँदा वल्लोपल्लो बेन्चका साथीहरूबीच कस्ले राम्रो चित्र कोर्ने प्रतिस्पर्धा हुन्थ्यो। प्रतिस्पर्धामा उनको वेन्चले नै सधैँजसो जित्थ्यो। उनको प्रतिभा देखेर स्कुलका सरहरू निकै प्रभावित हुन्थे।

उनको प्रतिभालाई थप तिखार्न उनका मामाले सहयोग गरे । मामा राम्रो चित्र बनाउँथे। एसएलसी सक्दा नसक्दै मामाकै रहोबरमा बसेर मनोजले राम्रो चित्र बनाउन सक्ने भैसकेका थिए।

आफ्नै मामालाई चित्रकलाको प्रथम गुरु मान्ने मनोजले चित्रकलाको औपचारिक शिक्षा भने वरिष्ठ कलाकार बुद्धि गुरुङ र पछि वरिष्ठ कलाकार आलोक गुरुङसँग लिएका थिए।

सानै उमेरमा चित्रकलामा उधुम मच्चाई सकेका मनोजले चित्र सिक्ने क्रममै स्थानीय आर्ट ग्यालरीमा चित्र बेचेर केही आम्दानी पनि गर्न शुरु गरिसकेका थिए तर पोखराको लाहुरे परिवेशमा जन्मेका मनोज विदेश जाने लहलहैमा ३ पटक कतार र कुवेत गरी लगभग १० वर्ष काम गरेर पुन: विदेश नजाने गरी नेपाल फर्किए। कामकै सिलसिलामा विदेश छँदा उनले होमडेकोरर र थ्रिडी आर्टको बारेमा पर्याप्त ज्ञान लिई सकेका थिए।

नेपाल फर्किएपछि केही महिना अत्तालिएका मनोज कास्की मोर्डनाइज्ड बोर्डिङ स्कुलमा कला शिक्षकको रुपमा कलाक्षेत्रमा पुनरआगमन गरे र पछि सेन्ट मेरिज, बालकल्याण लगायत कुमुदिनी होम्समा कला शिक्षकको रुपमा आबद्ध भए । उनी अहिले पनि कुमुदिनु होम्स लगायत अन्य केही स्कुलका कलाका शिक्षक हुन्। यसका अलावा उनी कलाको इन्स्टिच्युट चलाउँछन र नयाँ प्रतिभाशाली विधार्थीहरूलाई कला सिकाउँछन् ।

हालसम्म एक पटक एकल कला प्रदर्शनी र देश विदेशमा दर्जनौँको संख्यामा सामूहिक कला प्रदर्शनी र कलाका महत्त्वपूर्ण कार्यशालामा सहभागिता जनाई सकेका मनोज मूलतः स्थलगत ल्याण्डस्केप र अर्ध अमूर्त कला शृजना गर्छन्। जलरङलाई मूल माध्यय बनाई कला शृजना गर्ने मनोज अन्य माध्ययममा पनि राम्रो कला श्रृजना गर्छन् । रङहरूको सही चयन र प्रयोग गर्नमा उनी चनाखो देखिन्छन् ।

कलामा अनवरत योगदान दिएबापत उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै मान सम्मान र पुरस्कार प्राप्त गरेका छन्। ललितकला प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने प्रादेशिक विशेष पुरस्कार, सृजनशील कलाकार समूहले हरेक वर्ष प्रदान गर्ने सृजनशील ललित कला युवा प्रतिभा पुरस्कार, माया विश्वास स्मृति पुरस्कार कोलकाता आदि उनका महत्त्वपूर्ण मान सम्मान र पुरस्कारहरू हुन्।

हाल उनी कुची कलाकार ग्रुपका संस्थापक संयोजक र अन्तर्राष्ट्रिय जलरङ समाज गण्डकी प्रदेशका संयोजक हुन्।

आऔँ यिनै प्रतिभाशाली कलाकारका केही कलाकृति अवलोकन गरौँः

लेखक परिचय
प्रतिक्रिया
Loading...