नेपाली कला र साहित्यको सेवा गर्न भनेर दुई वर्षअघि स्थापना भएको साहित्यपोष्टले छोटो समयमै सफलता हासिल गर्नु खुसीको कुरा हो ।
बजारमा थुप्रैखाले पत्रपत्रिका र अनलाइन खबरहरु प्रकाशित भएका छन् । ती राजनीतिक समचार र प्रभावबाट मुक्त छैनन्। हेडलाइनमै राजनीतिक विषयलाई प्रमुखताका साथ छाप्ने मूलधारका पत्रपत्रिकाले अन्य विषयलाई उठाउनु पर्यो भने पनि पुछारमा लगेर थन्क्याउँछन् । यसले गर्दा साहित्य र कलाका विषयहरु सधैँ ओझेलमा पर्छन् ।
तर यही भिडबाट एउटा पृथक् उद्देश्यका साथ स्थापना भएको साहित्यपोष्टले साहित्य र कलाका विषयमा कलम चलाउनेहरुलाई सम्मानका साथ उपयुक्त ठाउँ उपलब्ध गराएको छ।
हेडलाइन राजनैतिक मात्र हैन कला र साहित्यको पनि हुन्छ भन्ने नजिर यसले जबर्जस्त स्थापित गरेको छ, जुन अत्यन्त सराहनीय काम हो ।
अझ झन् साहित्यका विभिन्न महत्त्वपूर्ण विधालाई हरेक दिन क्रमिक रुपमा विशेषांक प्रकाशित गर्नु आफैँमा महत्त्वपूर्ण र नवीन प्रयोग हो। यसले साहित्यको खास-खास विधा मन पराउने पाठकलाई न्याय गरेको छ।
साहित्यपोस्टले साहित्य सामग्रीका अलावा कलाका लेख रचनालाई पनि उत्तिकै महत्त्व दिएर प्रकाशित गर्ने गरेको छ। हरेक शनिवार विशेषांकको रुपमा प्रकाशित हुने कला सामग्री साहित्यका नियमित पाठकका लागि अतिरिक्त खुराक बनेको छ नै, त्यसभन्दा बढी कलामा रुचि राख्नेहरुका लागि यो ठाउँ अत्यन्तै महत्त्वपूर्ण भएको छ।
साथै कला र साहित्यका सामग्री एकै ठाउँमा प्रकाशित हुनाले कला र साहित्य एकअर्काका परिपूरक हुन् भन्ने भनाइलाई थप मलजल गर्ने काम गरेको छ।
सुरुदेखि म साहित्यपोष्टको नियमित पाठक तर यससँगको मेरो सहकार्य त्यति लामो भने छैन । यसअघि फाट्टफुट्ट कलालेखन गर्ने गरे पनि नियमित लेख्ने बानी थिएन तर साथीहरुको विशेष आग्रहमा विगत ६/७ महिनादेखि यसै पोष्टमा नियमित कला स्तम्भ लेख्दै आइरहेको छु। यस क्रममा साहित्यपोष्टले कलालेखनका सामग्रीलाई उच्च महत्त्वका साथ प्रकाशित गर्ने र थप हौसला प्रदान गर्ने जुन कार्य गर्दै आइरहेको छ, त्यो अत्यन्त सराहनीय छ। यस्ता कार्यले नेपाली कलाको विकास र प्रवर्धनमा ठूलो टेवा पुर्याउने विश्वास लिन सकिन्छ।
साहित्यलेखन जस्तो कलालेखन त्यति सजिलो र ग्ल्यामरस विषय भने होइन। यसका पाठक अत्यन्त न्यून छन् । अझ लेख्नेहरूको संख्या त हातका औँलोमा गन्न सकिने संख्यामा छन्। त्यसैले कलालेखनबाट समाज र राष्ट्रले तत्काल फाइदा लिन सक्दैनन्। यसका बाबजुद केही कलाका लेखक र पाठक छन्, जो हरदम कलालाई माया गर्छन् र निरन्तर कलाको विकासका लागि कामना गर्छन्। तिनै लेखक र पाठकको शुभेच्छाले कलाक्षेत्र अघि बढिरहेको छ।
यद्यपि कला लेखक पाठक र कलासँग सम्बन्धित सामग्रीको प्रकाशनले मात्र नेपाली कलाको विकास हुने होइन । कला विकासका लागि कलाको व्यापक छलफल, अनुसन्धान र सोचको जरुरत पर्दछ। यसका लागि राज्यले सकारात्मक भूमिका खेल्नुपर्छ।
कलाको महत्त्व र यसको उपयोगिता जनस्तरसम्म पुर्याउन सके समाज र राष्ट्रले ठूलो लाभ लिन सक्छ।
भलै राज्यले कलामाथि केही नै गरेको छैन भन्ने होइन तर जति गरेको छ, त्यो न्यून मात्र भएका छन्। यसका लागि सम्बन्धित कला क्षेत्र र सञ्चारगृहले आ-आफ्नो क्षेत्रबाट ठूलो उत्तरदायित्व वहन गर्नुपर्छ । हालसम्म साहित्यपोष्टले कला विकासका लागि खेलेको भूमिकाको उच्च प्रशंसा गर्दछु साथै आउने दिनमा पनि यसै गरी आफ्नो कर्तव्य र जिम्मेवारी वहन गरिरहोस् भन्ने शुभेच्छा प्रकट गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।