कलाकार: ईन्द्र खत्री
शीर्षक: कृष्णलीला
माध्यम: इचिङ

बाग्लुङका युवा कलाकार ईन्द्र खत्री विगत दुई दशकदेखि नेपाली कला क्षेत्रमा सक्रिय छन् ।

त्रिभुवन विश्वविधालय ललितकला क्याम्पसबाट इचिङ विषयमा स्नातकोत्तर गरेका खत्री इचिङबाहेक विविध विषय र माध्यममा कला रचना गर्छन् ।

मुहार चित्र, प्राकृतिक दृश्य र समसामयिक विषयमा उनी चित्र रचना गर्न मन पराउँछन् । कलामा लामो समय योगदान दिएबापत उनले अरनिको युवा कला पुरस्कार, राष्ट्रिय ललितकला क्षेत्रीय पुरस्कार, सृजनशील युवा कला पुरस्कार लगायत दर्जनौँ मानसम्मान प्राप्त गरेका छन्।

तीन पटक एकल कला प्रदर्शनी, थुप्रै सामूहिक कला प्रदर्शनी र कलाका कार्यशालामा भाग लिइसकेका खत्री कलाका शिक्षकसमेत हुन्।

प्रस्तुत चित्र ‘कृष्णलीला’ शृङ्खलाअन्तर्गत निर्माण गरिएको एउटा उत्कृष्ट रचना हो। तलाउमा गोपिनीहरू निर्वस्त्र नुहाइरहेका छन्। वरपर चराचुरुङ्गी र भगवान् कृष्णले गोपिनीहरूतिर फर्केर हेरिरहेका छन् । तर गोपिनीहरू बेखबरजस्तै छन् ।

कलाकारले यसचित्रका माध्ययमबाट अहिलेको विकृत राजनीति र राजनीतिक पार्टीका नेताहरू पद, पैसा र सत्ताका लागि कसैको परवाह नगरी नाङ्गिरहेका छन् भनेर व्यङ्ग्य कसेका छन्।