बृढा गाभ्रीलाले आफ्नो छोरोलाई बिदाइ गरेको एक महीनापछि लाल सैनिकहरु आए । उनीहरूले काजाकहरूको पुरानो रीतिरिवाजमा दुश्मनी धावा गरिदिए र बूढा गाभ्रीलाको बानी परिसकेको जीवनलाई नै यसरी उल्टाइदिए, मानौं रित्तो खल्तीलाई भित्रबाट स्वाट्ट बाहिर झिकेर उल्टो-तिर फर्काइएको होस्‌ ! दोन नदीको पारिपट्वि मोर्चामा छोरो पेत्रो लडाइँमा दिलोज्यानले बहादुरी देखाएर सर्जेन्टको ताना-बाना कमाउँदै थियो । यहाँ गाउँमा भने बूढा गाभ्रीला चाहिं कुनै समयमा मुलायम हलुका रंगको स्वर्णकेशी पेत्रोको स्याहर-सुसार गरे जस्तै गरी मास्कोबाट बम्केर आएका फाइँफूट्टे बाबुसाहेब जस्ता लाल सैनिकहरूको सेवा-सुश्रुषा , लालन-पालन र स्याहार-सुसार गर्दै थिए। यसले गर्दा उनी मनमनै कुँढिएका र मुर्मुरिएका थिए ।

उनीहरूलाई आफ्नो द्वेषभाव प्रकट गर्दै उनले रातो पट्टी भएको पतलून लगाउने गरेका थिए । त्यो रातो पट्टी काजाक स्वतन्त्रताको प्रतीक थियो। त्यो पट्टी पतलूनको मिलाएर काटिएको ऊनी कपडाको धरोमा कालो धागोले टम्म सिइएको थियो। उनी आठ-पहरियाको पहेँलो फीता भएको र कुनै समयमा सर्जेन्ट-मेजरले लगाएर पुरानो भइसकेको पट्टी हालिएको काजाक कुर्ता लगाउँथे । अनि छातिमा थरी थरीका तक्मा र वीरचक्रहरू झुण्ड्याउँथे जुन उनले सम्राटको दि-लोज्यानले सेवा गरे बापत पाएका थिए । यसरी उनी छातीमा लट्काइएका तक्मा र पदकहरू सबैले देख्ने गरी अनी ओभर-कोटको अगाडिको पाटो खुलै राखेर हरेक आइतबार चर्चतिर जाने गर्दथे।

ग्राम-सोभियतका अध्यक्षले एक पल्ट बाटोमा भेट्दा भनेका थिए-

“फुकाल्नोस्‌ , बूढाबा ! यी तक्मा-सक्माहरू ! अचेल यसरी तक्मा ढल्काउने समय बितिसक्यो ! ”

“के तिमीले मलाई यी तक्माहरू आफैँले लगाइदिएका हौ र? यसरी तक्मा फुकाल्ने आडर दिने तिमीलाई के अधिकार ? ”-बूढा गाभ्रीला बम्किएका थिए।

“तपाईंलाई तक्मा भिडाइदिनेले त उहिल्यै माटो खाइसक्यो होला ! सके अहिले उसमा स्याउस्याउ कीरा समेत परिसके होलान्‌ !”

“कीरा परे परिरहोस्‌ ! .. म तक्मा फुकाल्दिनँ! तर तिमी मरेर गइसकेको मानिसको धज्जी किन उडाउँछौ ? ”

“जे गर्छौ गर, बूढाबा ! .. मैले त तिम्रै हित चिताएर भनेको हुँ! मेरो लागि त तिमी तक्मैतक्मा ओछ्याएर सुते पनि कुनै फरक पर्दैन ! .. तर हेर है, बूढाबा ! कतै, कुक्कुरहरूले तिम्रो पिंडौलाको मासु नलुछुन्‌ ! अचेल तिमीले लगाएको जस्तो पतलून लगाउनेलाई त उनीहरूले चिन्न समेत छोडिसकेका छन्‌ र कतै देखे भने बित्यास पर्ला…।”

यस्तो अपमान साँच्ची नै चिराइतो फुले जस्तै तीतो थियो । बूढा गाभ्रीलाले तक्माहरू त फुकाले तर उनको मनमा परेको द्वेषको तुस भने बढ्दै गयो र त्यसले उनको आत्मामा पहिले-बाटै रहेको आक्रोशसंग मितेरी लगाउन पुग्यो ।

छोरो लापत्ता भैसकेको थियो। कमाइ गर्ने अब कोही थिएन । गाईगोठ भत्किसकेको थियो, गाईवस्तुले खामो नै ढालिदिइसकेका थिए। कटेरोको छाना नै आँधीले उडाइसकेको थियो र त्यसमा मुसी र दलिनहरू समेत मक्किइसकेका थिए । घोडा-तबेलामा पनि रित्ता तख्ताहरूमा मुसाहरूको रजाइँ थियो । त्यहाँ राखिएको घाँस काट्ने मेशीन पनि खिया लागेर बेकम्मा भैसकेको थियो।

धेरैजसो घोडाहरू त छोरो भर्तीमा जानुभन्दा अगाडि नै काजाकहरूले लगिसकेका थिए। बाँकी घोडाहरू पनि लाल सैनिकहरूले लिइहाले। र जुन एउटा मात्न घोडा उनीहरूले सापटीमा छोडिदिएका थिए त्यो खुट्टा खोच्याउँथ्यो , र त्यसका कानहरू पनि निकै लामा थिए। त्यै घोडा पनि शरदमा माख्नोवादीहरूले(“माख्योवादीहरू – नेस्तोर माख्नोको नेतृत्वमा संगठित प्रति-क्रान्तिकारी अराजकतावादी कुलाकहरूको लुटेरा जत्थाका सदस्यहरू । – अनु ) सित्तैमा जस्तै नै किनेर लगिहाले । सट्टाभर्नाको रूपमा खुट्टामा बाँध्ने कपडाको एक जोर ब्रिटिश पट्टी बूढा गाभ्रीलाको ,हातमा थमाइदिएका थिए।

“लिनुस्‌ , बूढाबा , हाम्रो सर्वस्व ! ” – माख्नोवादी तोपचीले आँखा झिम्कयाउँदै भनेको थियो। “मेरो र तेरो भन्नु के छ र? हाम्रो सम्पत्तिमा मोज गर्नोस्‌ ! ”

बूढा गाभ्रीलाले वर्षौ लगाएर जुन कुरा जम्मा गरेका थिए त्यो सबै हावामा उडिसकेको थियो। उनको पाखुरीमा अब काम गर्ने जाँगर बाँकी थिएन। तर वसन्तमा, जब बाँझो, स्तपी उनको गोडामुनि क्लान्त र त्वंशरणं भनेर पस्रिरहेको थियो, जमीनले उनलाई आकृष्ट गरिहाल्यो र राती पनि त्यस जमीनको करूण मौनपुकार उनी सुन्न थाले। उनले चृप लागेर यो सवै सहन सकेनन्‌ र्‌ एक जोडा गोरू हलोमा बाँधिहाले। अनि हलोको फालीले स्तपीको माटो पल्टाउन थाल्यो र कालो माटोको भोको पेटमा गहूँका पुष्ट गेडाहरू पनि छरिए।

काजाकहरू समुद्रतिरबाट र समुद्र पारिबाट समेत घर फर्केर आए । तर उनीहरूमध्ये कसैले पनि पेत्रोलाई चिनेदेखेको भेट्टाइएन। उनीहरूले विभिन्न पल्टनमा भर्ना भएर विभिन्न इलाकाहरूमा लडेका थिए ।