पारिवारिक सुखः खण्डः १ अंशः १
शरद् ऋतुमा आमाको देहान्त भयो । हामीले आमाको बरखी बार्नु परेको थियो । हिउँदभरि हामी गाउँमै बस्यौं । साथमा कात्या र सोन्या मात्रै थिए ।
कात्या हाम्रो घरकी एक चिरपरिचित मित्र थिई अर्थात् ऊ हाम्री बुनुधाई थिई जसले हामी सबैको लालनपालन गरेर हामीलाई हुर्काएकी ,थिई । मलाई सम्झना भएसम्म नै मैले उसलाई बुझ्न माया गर्न थालिसकेकी थिएँ । सोन्या चाहिँ मेरी सानी बहिनी थिई ।
हामीले पोक्रोभ्स्कोएको आफ्नो मूल घरमा उराठलाग्दो “र नियास्रो हिउँद बिताएका थियौं । मौसम चिसो थियो र स्याँठ चलिरहेको थियो । हिउँको रास झ्यालभन्दा पनि माथिसम्म चुलिइसकेको देखिन्थ्यो । झ्यालका ऐनाहरू सदैव नै कठ्याङ्ग्रिएका र धमिला देखिन्थे । हामी पूरै हिउँदभरि न कतैतिर पैदल गर्यौं, न त सवारीमा नै गयौं । हामीकहाँ आउनेहरू पनि कमै थिए । कथंकदाचित् कोही आइ नै हाल्यो भने पनि हाम्रो घरमा रमाइलो र खुशियाली थपिँदैनथ्यो । सबैको चेहरा उदास देखिन्थ्यो र सबै नै सुस्त बोल्थे, मानौं कसैलाई निद्राबाट झल्याँस्स ब्युँफाइदिने डर मानिरहेका होउन् ! हाँस्ने नाम कसैले पनि लिंदैनथ्यो, बरु मलाई र खास गरी कालो लुगा लगाएकी सानी सोन्यालाई देखेर सबै लामो सुस्केरा हाल्थे र अक्सर रुन्थे पनि । फेरि घरमा अझै पनि मृत्युको छायाँ बिलाइसकेको थिएन । वातावरणभरि नै मृत्युको सन्ताप र भय व्याप्त थियो । आमाको कोठा रित्तो र चिसो थियो । ताल्चा मारिएको त्यस कोठाको बगलबाटै सुत्न भनेर जान लाग्दा किन हो कुन्नि म निकै उकुसमुकुस अनुभव गर्थें ।
त्यतिखेर मेरो उमेर सत्र वर्षको थियो । आफ्नो स्वर्गवासकै वर्ष आमाले मलाई लिएर शहरतिर जाने अठोट गरेकी थिइन् । आमाको निधनले मलाई असह्य पीडा हुन गएको थियो । तर म के स्वीकार गर्छु भने यस्तो दु:खले गर्दा नै सबैले मलाई भन्ने गरे झैं म तरुनी छु र असाध्य नै राम्री पनि छु, तर दोस्रो हिउँद पनि बिनसित्तै गाउँको एकान्त वातावरणमा बिताइरहेकी छु भन्ने भावना मेरो मनमा उब्जने गर्थ्यो । हिउँद बित्न आँट्दा नआँट्दै एक्लोपनाको खिन्नता र निरीह उदासीनताको यो भावना कति हदसम्म तीव्र भइसकेको थियो भने म कोठाबाट न बाहिर नै निस्कने गर्थे, न पेनोबाजा नै खोलेर बजाउने गर्थे, न त कुनै किताब नै हातमा लिएर पढ्नेगर्थें । कुनै न कुनै कुरामा समय अल्झाउन भनेर कात्याले मसित कर गर्दा म यत्ति भनेर फुत्कन खोज्थेँ: यो सब किन र ? मेरो अमूल्य समय व्यर्थै खेर गइ नै रहेको छ भने केही न केही गर्नुको प्रयोजन के नै रहयो र ? केको लागि ? किन ? आँसु चुहाउनुबाहेक अरु कुनै जवाफ मसित हुँदैनथ्यो ।
म दुब्लाएर सिठी भैसकेकी छु र मेरो रुप-लावण्य पनि चौपट भैसकेको छ भनेर मानिसहरू भन्ने गर्थे । तर यसको मलाई किचित् पनि पर्वाह थिएन । किन ? कसको लागि ? यस अनकन्टारको ठाउँमा र असह्नीय सुर्तामा नै मेरो सारा जिन्दगानी बितेर जानेहोला भन्ने मलाई लाग्थ्यो । यस्तो धन्दासुर्ताबाट मुक्त हुन न मेरो सामर्थ्य थियो, न त इच्छा नै लाग्थ्यो ।
हिउँदको अन्त्यतिर कात्यालाई मेरो स्वास्थ्यको पीर पर्न थाल्यो र जसो गरेर भए पनि मलाई विदेशतर्फ लिएर जाने उसले अठोट गरी । यस विचारलाई साकार पार्न पैसाको जरूरत पर्थ्यो तर जायज्यथाबारे हामीलाई थाहा थिएन र हामी आफ्नो त्यस अविभावकको आगमनको प्रतिक्षामा रहयौं जसले आएर हाम्रा मामिलाहरूको एउटा टुंगो लगाइदिनुपर्थ्यो ।
मार्च महीनामा ती अविभावक पनि आइपुगे ।
‘धन्य परमेश्वर !”-एक दिन कात्याले उद्गार पोखी । म त्यतिखेर छायाँ जस्तै गरेर व्यर्थै, निरुद्देश्य र बिनाइच्छा नै यताबाट उता र उताबाट यता भौतारिइरहेकी थिएँ । “सेर्गेइ मिखाइलिच आइपुग्नुभएछ ! हाम्रो बारेमा सोधिपठाउनु भएको रहेछ ! दिउँसोको खाना खाने समयमा यहाँ आइपुग्नुहुनेछ ! हे, मेरी माशेच्का ! तिमी सिँगार-पटार गरिहाल !”-उसले थपी ।-“नत्र कस्तो विचार बनाउँलान् उनले तिम्रो बारेमा ? तिमीहरू सबैलाई उनी बिछट्टै पो माया गर्थे त !”
सेर्गेइ मिखाइलिच हाम्रा नजिकैका छिमेकी थिए र हाम्रा स्वर्गीय बुबाज्यूका मित्र पनि थिए । हुन त उनी बबाभन्दा निकै कम उमेरका थिए । यस बाहेक उनको आगमनले हाम्रा योजनाहरूमा फेरबदल _ल्याइदिन्थ्यो र गाउँबाट कतै जाने पनि सम्भावना पाइन्थ्यो। बाल्यकालदेखि नै उनलाई माया गर्ने र कदर गर्ने मेरो बानी नै बसिसकेको थियो । हाम्रा परिचितहरूमध्ये सेर्गेइ मिखाइलिचको सामु आफ्नो पहिरनको कत्ति ख्याल नराखेर जथाभावी देखा पर्नु मेरो निम्ति असहनीय हुनेछ भन्ने कुरा कात्याले पनि राम्रैसित ठम्याएकी थिई र त मलाई सिँगारपटार गर्ने सल्लाह दिएकी थिई । यसको साथसाथै पछिल्लो समयसम्म नै म पनि बानीअनुसार नै सेर्गेइ मिखाइलिचलाई त्यसरी नै माया गर्थे जसरी कात्या र उनकी धर्मपुत्री सोन्या लगायत घरका अरु सबैले उनलाई माया गरेका थिए । मेरै अगिल्तिर आमाले भन्नुभएको एउटा वचनले गर्दा मेरो निमित्त चाहिँ उनको विशेष महत्व पनि थियो । मेरो निम्ति यस्तै लोग्नेको चाहना राख्नु भनी आमाले भन्नुभएथ्यो । त्यसबेला मलाई यो कथन अनौठो र अझ खल्लो समेत लागेको थियो । मेरो आराध्यदेव त एकदमै अर्कै खालको पो थियो । ऊ दुब्लो, सिकुटे, मलिन र शोकाकूल हुन सक्थ्यो । तर सेर्गेइ मिखाइलिच भने उमेर ढल्किसकेका अँधबैंसे थिए, अग्ला, हट्ठाकट्ठा र जहाँसम्म मलाई लाग्छ, सदा हँसमुख मान्छे प्रतीत हुन्थे । तर यति हुँदाहुँदै पनि आमाको त्यस कथनले मेरो कल्पनामा घर जमाइसकेको थियो र त्यसभन्दा छ वर्ष अगावै जुन बेला मेरो उमेर एघार वर्षको थियो त्यतिखेर नै उनले मलाई तिमी भनेर सम्बोधन गर्ने गरेका थिए र मसँग खेल्ने समेत गरेका थिए । साथै उनी मलाई हिमसुमन मैयाँ भनेर बोलाउने गर्थे । कहिलेकाही म आफूसँग नै के भनेर सोध्ने गर्थे भने क्थंकदाचित् उनले मसित नै बिहे गर्ने विचार गरे भने मैले के गर्ने हो ?
दिउँसोको खानामा कात्याले क्रिम-केक र पालुंगोको अचार पनि थपेकी थिई । ठीक त्यतिखेर नै सेर्गेइ मिखाइलिच पनि आइपुगिहाले । एउटा सानो स्लेजगाडीमा उनी घरनजिकै आइपुगेको मैले झ्यालबाटै देखिसकेकी थिएँ । तर उनी देउडीमा पुग्नेबित्तिकै म हतरपतर बैठक कोठामा पुगें र उनको प्रतीक्षामा हुँदै नभएको जस्तो बहाना गर्ने प्रयासमा जुटे । परन्तु आगन्तुककक्षमा पदचापको ध्वनि, उनको ध्वाँके स्वर र कात्याको हिँडाइको चाल कानमा पर्नेबित्तिकै मैले आफूलाई रोक्नै सकिनँ र आफैँ उनको स्वागत गर्न पुगिहालेँ । कात्याको हात समातेर उनी जोड जोडले बोलिरहेका थिए र मुस्कुराइरहेका थिए । मलाई अप्ठेरो लागेर गालामा लाली चढेको समेत मलाई आभास भयो ।
क्रमश…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।