२७

“पहिलो काम मैले के गरेँ भने मैले आफ्नो बूट फुकाले र मोजा मात्र लगाइछाडेर भित्तातिर गएँ । त्यहाँ सोफामाथि केही बन्दूक र छुरीहरू झुण्डाइएका थिए । मैले एउटा घुमाउरो आकारको छूरी झिके । त्यसको उपयोग पहिले कहिल्यै पनि गरिएको थिएन र त्यसको धार ज्यादै नै तेज थियो । मैले त्यसलाई दापबाट बाहिर निकालें । दाप चाहिँ सोफाको पछिल्तिर खस्यो । मलाई सम्झना छ, त्यतिखेर मैले मनमनै भनेको थिएँ : ‘पछि आएर त्यसलाई खोज्नुपर्ला, नत्र हराउन पनि बेर छैन !’ त्यसपछि मैले आफ्नो ओभरकोट फुकाले जुन त्यसबेलासम्म मेरो जिउमा नै थियो । अनि बिस्तारै मोजा मात्र लगाइएको पाइला सार्दै म कोठाबाट निस्कें ।

चालमादैँ दैलोसम्म पुगेर मैले झटपट ढोका उघारेँ । उनीहरूको अनुहारमा जुन भाव भैरहनुको कारण के किलो मलाई अझैसम्म पनि ज्यूँका त्यूँ नै छ । यसरी त्यसको सम्झना भैरहनुको कारण के हो भने त्यतिखेर मेरो मनमा एउटा पीडा उत्पन्न भएको थियो र त्यस पीडामा पनि मलाई आनन्दको अनुभव भएको थियो । उनीहरूको अनुहारमा अपार डरको भाव देखिन्थ्यो । मैले चाहेको कुरा पनि यही नै थियो । मलाई देख्नेबित्तिकै उनीहरूको अनुहारमा भय र निराशाको जुन भाव देखा परेको थियो त्यसलाई म कहिल्यै पनि बिर्सनेछ्लैन । लाग्छ, त्यो मान्छे टेबुलनेरै मेचमा बसेको थियो, तर मेरो पदचाप सुन्नेबित्तिकै वा मलाई एकाएक देख्नेबित्तिकै बुर्लुक्क उफ्रेर दराजपट्टि पीठ फर्काएर उभिन पुगेको थियो । उसको अनुहारमा डरको छाप परेको थियो भन्ने कुरामा कुनै शङ्का छैन । मेरी पत्नीको अनुहारमा पनि डरको भाव देखिन्थ्यो, तर त्यसमा एउटा अर्को भाव पनि झल्कन्थ्यो । कथंकदाचित्‌ त्यसमा डरको भाव मात्र हुँदो हो त त्यो घटना घट्ने नै थिएन जुन पछि घट्यो । उसको अनुहारमा त्यतिखेर मैले निराशाको भाव पनि देखेँ । हुनसक्छ, त्यस बेला पहिला क्षणहरूमा मलाई यस्तो प्रतीत मात्रै भएको होस ! उसको अनुहारमा एक किसिमको यस्तो असन्तोषको भाव झल्केको थियो, मानौं उसको प्रेमलीला र मिलनसुखमा अप्रत्यासित बाधा पुग्न गएको होस्‌ ! यस्तो भान पर्न गएको थियो, मानौं उसलाई त्यतिखेर सुखको अतिरिक्त अरु कुनै कुराको चाहना नै थिएन । उनीहरू दुवैको अनुहारमा यस्ता भावहरू एक छिन मत्र झूल्किएका थिए । त्यस मान्छेको अनुहारमा भयको स्थानमा तुरुन्त नै जिज्ञासा देखा पर्यो : “यस बेला झूठो बोल्न सकिएला कि नसकिएला ? सकिन्छ भने मैले तत्कालै केही न केही भनिहाल्नुपर्छ । सकिँदैन भने त अहिले नै कुनै अर्कै काण्ड मच्चिहाल्नेछ ! के हुने हो ?’ त्यस मान्छेले मेरी पत्नीतर्फ प्रश्नसूचक दृष्टि फ्याँक्यो । मलाई के लाग्यो भने त्यस मान्छेको आँखासित आफ्नो आँखा जुध्नेबित्तिकै मेरी पत्नीको अनुहारबाट निराशा र झर्कोको भाव मेटिइहाल्यो र त्यसको ठाउँमा त्यस मान्छेप्रति चिन्ताको भाव देखा पर्यो ।
एक छिन म दैलोनेर नै उभिइरहेँ । छूरी चाहिं मैले पछिल्तर लुकाइराखेको थिएँ । त्यतिखेर नै त्यो मान्छे मुसुक्क हाँस्यो र भन्न लाग्यो –

“हामी थोरबहुत रियाज गर्दैथियौं ।…”
“एहे ! तपाईं पो…”
उसैको भाकामा भाका मिलाउँदै मेरी पत्नी पनि बोली ।

परन्तु ती दुवैमध्ये कसैले पनि आफ्नो वाक्य पूरा गर्नै पाएन । एक हप्ता अघि जसरी मैले आफूलाई काबूमा राख्न सकेको थिइनँ त्यसै गरी त्यस दिन पनि मैले आफ्नो भावनालाइ वशमा राख्न सकिनँ। फेरि मलाई त्यसै गरी जे हात पर्यो त्यो सबै हुर्याइदिने,फुटालिदिने, मिल्काइदिने, भाँचिदिने इच्छा जाग्यो । रीसले चूर भएर म बहुलाइसकेको थिएँ र त्यसलाई दबाउने पनि मैले प्रयत्न गरिनँ ।

दुवै जनाले आफ्नो कुरा टुंग्याउन पाएनन्‌ ।…त्यही कुरा हुन थालिसकेको थियो जुन हुनेछ भन्ने त्यस मान्छेलाई असाध्य डर लागेको थियो । यसैले गर्दा नै उनीहरू दुवै बोल्दाबोल्दै बीचैमा रोकिएका थिए । म लम्केर आफ्नी पत्नीनेर पुगें । छूरी चाहिं मैले आफ्नो पछिल्तिर नै लुकाइराखेको थिएँ र यसले गर्दा त्यस मान्छेले मलाई बीचैमा रोक्न सक्तैनथ्यो । आफ्नी पत्नीको छातीमा वायाँतर्फ कोखामा नै छुरी प्रहार गर्ने मेरो सुर थियो । मैले धेरै पहिलेदेखि नै त्यसै ठाउँलार्इ लक्ष्य बनाइराखेको थिएँ । मैले आफ्नी पत्नीलाई झम्टन लाग्नेबित्तिकै त्यस मान्छेले मेरो आसय बुझिहाल्यो र झटपट मेरो हात समात्यो । यस्तो हुनेछ भन्ने त मैले पटक्कै सोचेको थिइनँ ।

“के गर्नुभएको हो ? अलि सोचविचार त गर्नोस्‌ ! गुहार गुहार !”-त्यो मान्छे कराउन लाग्यो ।

मैले झट्का दिएर आफ्नो हात मुक्त गरेँ र चूपचाप उसैमाथि नै हमला गरेँ । उसका आँखासित उसको नै अनुहार ओठसम्म रगत सुकेर धुस्रोफुस्रो भयो । उसका आँखा अनौठो किसिमले चम्किए र ऊ झटपट दैलोतिर लम्केर कलेलम भइहाल्यो । यस्तो होला भन्ने पनि मैले ठानेको थिइनँ । म उसलाई लखेट्न चाहन्थेँ, तर मेरो देब्रे पाखुरामा कुनै गह्रौं कुरा झुण्डिएको थियो । त्यो मेरी पत्नी रहिछन । मैले हात फुक्का गर्न खोजेँ । परन्तु उसले मलाई झन्‌ बल गरेर समाती र मलाई छोड्दै छोडिन । यस्तो अप्रत्यासित बाधा, पाखुरामा थपिएको बोझ र पत्नीको घिनलाग्दो स्पर्श त मेरो मनमा दन्किरहेको रीसका आगोमा घिउ थपे जस्तै हुन गयो । म एकदमै बहुलाइसकेको थिएँ ।मेरो मुखाकृति भयङ्कर देखिंदो होला भन्ने पनि मलाई बोध भइरहेको थियो र यसले गर्दा मलाई खुशी समेत लागिरहेको थियो । म बेसरी झट्का दिएर आफ्नो देव्रे पाखुरा फुक्का गर्न लागें । यसो गर्दा मेरो कुहिनाले उसको मुखमा चोट पर्न गयो । ऊ चिच्याई र उसले तुरुन्त मेरो पाखुरा पनि छोडिदिई । म लम्केर त्यस मान्छेको पीछा गर्न चाहन्थें, परन्तु मोजा मात्र लगाएर आफ्नी: स्वास्नीको नाठोको पछि पछि दगुर्नु नै मलाई हाँसउठ्दो लाग्न थाल्यो । म हास्यास्पद देखिन चाहँदैनथें,बरु भयंकर पो त देखिन चाहन्थे । म त्यतिखेर रीसले बहुलाइसकेको भए तापनि अरुहरूमा मेरो कस्तो असर परिरहेको छ भन्ने कुरामा मेरो ध्यान केन्द्रित थियो । अझ साँच्चै भन्ने हो भने कुनै न कुनै हदसम्म यस्तो प्रभावले मेरो क्रियाकलाप समेत निर्धारित गर्नेगरेको थियो । म आफ्नी पत्नीतर्फ फनक्क फर्किएँ । ऊ बालिष्टमा थचारिन पुगेकी थिई र एकटक लगाएर मतर्फ हेरिरहेकी थिई । आफ्नो हातले उसले एउटा आँखो छोपिराखेकी थिई जहाँ मेरो कुहिनोले चोट पर्न गएको थियो । उसको अनुहारमा मप्रति अर्थात आफ्नो शत्रुप्रति भयंकर घृणाको भाव झल्कन्थ्यो । त्यो भाव त्यस्तै किसीमको थियो जस्तो खोरमा परेको मूसाको मुखमा त्यस बेला देखिन्छ जब कसैले त्यो खोर उठाइदिन्छ । कम्तीमा पनि मैले चाहिं उसको अनुहारमा भयंकर घृणासिवाय अरु केही पनि देखिनँ । अर्कै व्यक्तिलाई प्रेम गर्न पुगेकी हुनाले उसको अनुहारमा मप्रति यस्तो भयंकर घृणाको भाव त हुने नै भयो । कथंकदाचित्‌ ऊ चूप लागेर बसेकी हुँदो हो त म सचेत झैहाल्नेथिएँ र त्यो काम मबाट हुनेथिएन जुन मैले गरेँ । परन्तु ऊ एकाएक फतफताउन लागी र मेरो त्यो हात पनि अँठ्याउन खोजी जसमा छुरी थियो ।

“सोचविचार त गर्नोस्‌ ! तपाईं के गर्दैहुनुहुन्छ ? हरे ! तपाईंलाई के भयो ? हाम्रो बीचमा कुनै कुरा भएको छैन ! सत्ते ! धरोधर्म ! केही हुँदै भएको छैन ! तपाईंको कसम !…”।

सके म अझै पनि रोकिइहाल्नेथिएँ हुँला ! परन्तु यो पछिल्लो वाक्यको तात्पर्य त मेरो निम्ति एकदमै उल्टो पो थियो अर्थात्‌ उनीहरूको बीचमा केही न केही त अवश्य नै भएको
थियो । यसको उत्तर त म आफ्नो मनोभावनाको अनुकूल नै दिन सक्थें । मेरो झोंक चाहिँ cresecendo बढ्दैगइरहेको थियो र त्यो अवश्य पनि चरमसीमासम्म नपुगुञ्जेल नै बढ्ने छाँट देखिन्थ्यो । त्रोधोन्मादको पनि त आफ्नै नियम हुन्छ ।

“नढाँट् , पातनी ।” – म कराएँ र देब्रे हातले उसको पाखुरा समातेँ । तर ऊ फुत्किहाली । त्यसपछि मैले हातको छूरी हातैमा राखिछाडेर आफ्नो देब्रे हातले उसको घाँटी
र बालिष्टमा पछारेर घाँटी थिच्न लागें । उसको गर्दन पनि ज्यादै कडा थियो । …आफ्नो घाँटीबाट मेरो हात छुटाउने प्रयत्न गर्दै उसले जोडले अँठयाई । मानौ यसैको प्रतीक्षामा रहे झै गरेर मैले उसलाई देब्रे कोखामा करङमुनि छूरीले प्रहार गरेँ ।

क्रोधोन्मादको बखत के गरिन्छ के गरिदैन थाहा नै हुँदैन भनेर मानिसहरू जो भन्छन्‌ सो साँचो होइन । यो बिल्कुलै गलत कुरा हो, बकबास मात्रै हो । मलाई सारा कुराको सम्झना थियो र एक छिनको लागि पनि मेरो चेतना शिथिल भएको थिएन । मभित्र जुन क्रोधको आगो दन्किरहेको थियो त्यसले गर्दा मानौं मेरो चेतनाशक्ति झन्‌ चम्किरहेको थियो । प्रतिक्षण म आफ्नो हरेक कामकुरा छर्लङ्ग नदेख्न सक्तैनथें । भविष्यमा म के गर्न गइरहेको छु भन्ने कुराको स्पष्ट ज्ञान ममा थियो कि थिएन त्यो त म भन्न सक्तिनँ । परन्तु जतिखेर म कुनै काम गर्थें त्यस बेला चाहिं म के गर्दैछु भन्ने मलाई स्पष्ट ज्ञान रहन्थ्यो र त्यो काम गर्नुभन्दा पहिले नै त्यसको थोरबहुत आभास निसन्देह नै पाइन्थ्यो । म पछि पश्चाताप गर्न सकूँ र आफूलाई रोक्न सक्नेथिएँ भनेर आफूलाई नै भन्न सकूँ भनेर नै सके यस्तो हुन्थ्यो होला । म करडमुन्तिर छुरीले प्रहार गर्दैछु र त्यस ठाउँबाट छुरी भित्र रोपिन सक्छ भन्ने मलाई त्यस बेला थाहा थियो । म एउटा यस्तो भयानक काम गर्दैछु जस्तो पहिले कहिल्यै पनि मबाट भएको थिएन र यसको बडो भयङ्कर परिणाम पनि निस्कनेछ भन्ने समेत मलाई त्यसबखत राम्रो ज्ञान थियो । परन्तु बिजुली चम्के झैँ गरेर यो विचार मेरोःमनमा उब्जेको थियो र यसको बोध हुनेबित्तिकै मैले त्यो काम पनि पूरा गरिदिएको थिएँ । जुन काम मबाट भयो त्यो पनि एकदमै स्पष्टसँग मेरो चेतनामा प्रतिबिम्बित भएको थियो । मलाई सम्झना छ, एक छिनको निम्ति उसको चोलो वा अरु नै कुनै कुराले गर्दा छूरीको धारमुनि मैले कुनै अल्झन महसूस गरेको थिएँ, तर त्यसपछि छूरी नरम मासुमा ग्वाप्प रोपिइहाल्यो । उसले दुवै हातले छूरी समात्ने चेष्टा गरेकी थिई जसले गर्दा उसका दुवै हात जखमी हुन गए, तर छूरीको मारलाई उसले छेक्न सकिन । पछि जब म जेल परें र मेरो नैतिक कायाकल्प पनि हन गयो त्यसबखत पनि म यस क्षणको बारेमा नै सोचविचार गर्नेगर्थे । बेला बेलामा मलाई …. क्षणको सम्झना भएर आउँथ्यो र मबाट त्यो कृत्य हुन सक्थ्यो र मलाई त्यसको बोध पनि थियो भन्ने निष्कर्षमा पुग्नेगर्थे । मलाई सम्झना छ, त्यस कृत्यको एक्कैछिन मात्र पहिले त्यो पनि एक क्षणको निम्ति मात्र मलाई यस्तो भयानक कुराको बोध हुन गएको थियो- म एउटी अबलाको हत्या गर्न तम्सेको छु, उसलाई मारिसकेको छु,’त्यो मेरै स्वास्नी हो र एकदमै असहाय पनि छे । यस्तो बोध; हुँदा मलाई कस्तो डर लागेको थियो त्यसको मलाई सम्झना छ । म यस निष्कर्षमा पुगेको छु र कुन कुराको पनि धमिलो सम्झना आउँछ भने यसै डरको कारणले नै त म पछि रोपिसक्नेबित्तिकै तुरुन्त नै त्यसलाई मैले तानेर झिकेको थिएँ र आफूबाट हुन गएको कामलाई सपार्ने चाहना राख्दै टक्क अडिएको थिएँ। एक छिनसम्म म अकमक्क परेर ठिङ्ग उभिइरहेँ । अब के हुने हो र काम सपार्न सकिने हो कि होइन भन्ने नै सके म प्रतीक्षा गर्दैथिएँ । मेरी पत्नी जुरुक्क उठी र चिच्याउन लागी-

“धाई ! उनले मलाई मारिदिए !”

चिच्याहट सुनेर धाई ब्युँझिई र दैलोनेर उभिन पुगी । म पनि आफ्नै ठाउँमा उभिएर प्रतीक्षा गर्दैथिएँ । आफूबाट हुन गएको कार्यमा अझै पनि मलाई विश्वास भइरहेको थिएन पारन्तु उसले लगाइरालेको ‘चोलोमुन्त्तिरबाट भलभल रगत बगिरहेको थियो । जे गरि, त्यो अब सपार्न सकिँदैन भन्ने अनि मात्रै मलाई बोध भयो । सपार्नुपर्ने कुनै खास जरुरत पनि छैन र जुन कुरा म चाहन्थेँ सो पूरा गरिएको छ भन्ने तत्कालै मैले निश्चय गरिहाले । मेरी पत्नी बुङ्ग भुईमा नढलुञ्जेल म पर्खेर नै उभिइरहेँ । हे नितल मि उसको छेउमा पुगिहाली अनि मात्र मैले हातको छुरी मिल्काइदिएँ र दैलोतर्फ पाइला सारे ।
आत्तिनुपर्ने आवश्यकता छैन, बरू म के गर्दैछु भन्ने नै धैर्यपूर्वक विचार गर्नुपर्छ !’-आफ्नी पत्नी र धाईतर्फ हेर्दै नहेरेर मैले मनमनै भनें । धाई डाँको छोडेर रुदैथिई र नोकनीलाई डाक्दैथिई । मटान पार गरेर बाहिर पुगेर मैले नौकर्नीलाई भित्र पठाइदिएँ। त्यसपछि म आफ्नो कोठाभित्र पसे । ‘अब के गर्नुपर्ला ?’-मैले आफैँसित प्रश्न गरेँ । के गर्नुपर्ने हो भन्ने मलाइ थाहा भैहाल्यो । म अध्ययनकक्षमा पसे र सोझै गएर भित्तामा झुण्डाइराखेको एउटा पिस्तोल झिकेँ । मैले त्यसलाई वल्टाई-पल्टाई हेरे- त्यसमा गोली भरिएको थियो । त्यसलाई मैले टेबुलमाथि थपक्क राखिदिएँ । त्यसपछि मैले सोफाको पछिल्तिर खसेको छूरीको दाप टिपें र सोफामा थचक्क बसेँ ।

म निकैबेरसम्म यसरी बसिरहेँ । म कुनै कुरा सोचिरहेको थिइनँ, न त कुनै कुराको सम्झना नै भइरहेको थियो । त्यत्तिकैमा कुनै आवाज आयो । घोडागाडी आएको सुनियो । त्यो घरनेरै रोकियो । त्यसबाट कोही उत्रियो र घरभित्र पस्यो । त्यसपछि फेरि कोही भित्र आयो । मैले इगोरको स्वर सुनेँ र ऊ मेरो झिटीमिटी लिएर कोठामा पसेको देखियो । त्यो मालमत्ताको अब के प्रयोजन रह्यो र ?

“सुनिस्‌, के भयो ?”-मैले भनें ।-“जा, पुलिसकहाँ रिपोट गर्न पालेलाई अह्रा !”
केही पनि नबोलेर ऊ बाहिर निस्कियो । म उठें, दैलो थुनेँ, चुरोट र सलाई झिकेर चुरोट सल्काएँ। मैले एउटा चुरोट पनि खाइसिध्याउन नपाउँदै मलाई झम्म निद्रा परिहाल्यो । निश्चय पनि म दुईघण्टा सम्म सुतेँ हुँला ! मलाई सम्झना छ, मैले सपना देखेको थिएँ – हामी दुवैबीच मैत्रीपूर्ण सम्बन्ध कायम थियो, अलिकति खटपट नभएको होइन, तर अब मेलमिलाप भैसकेको थियो, थोरबहुत मनोमालिन्य अझै पनि मौजूद छ, तर हाम्रो सम्बन्ध मैत्रीपूर्ण नै छ । कसैले ढोकामा खट्पट्‌ गर्यो र मेरो नीद टुटिहाल्यो । (पुलिस होला ! सके मैले उसलाई मारिदिएँ क्यारे !’ – ब्युँझेर मैले बिचार गरेँ । – “पत्नीले ढोका घच्घच्याएको पनि त हुन सक्छ ! सके उसलाई केही पनि नभएको होस्‌ !’ ढोकामा फेरि खट्पट्‌ आवाज सुनियो । मैले कुनै उत्तर दिइनँ । होइन भन्ने प्रश्नको गाँठो फुकाउनमा नै मेरो मगज तल्लीन थियो । हो, घटेकै हो ! मलाई सम्झना भइहाल्यो – उसको आङको चोलोले गर्दा केही बाधा खडा भएको थियो, तर पछि छूरी उसको आइभित्र घुसेको थियो । अनि मेरो पिठयूँमा सिरिङ्ग भयो ।

(हो, भएकै हो ! अब मेरो पालो हो !’ – मैले आफैंलाई भनें । तर जतिखेर मैले यस्तो भनेको थिएँ त्यसैबेला नै म आत्महत्या गर्नेछैन भन्ने मलाई पक्का भ्रैसकेको थियो । तैपनि म उठेँ र पिस्तोल हातमा लिएँ । तर अनौठो कुरा-पहिले पनि कैयौंपल्ट आत्महत्या गर्ने विचार गरिसकेको करा मलाई सम्झना भएर आयो । त्यसै दिन पनि रेलगाडीमा फर्किरहेको समयमा यस्तो विचार उठेको थियो । त्यतिखेर आत्महत्या गर्नु कुनै गाह्रो काम होइन भन्ने मलाई लागेको थियो । मेरो आत्महत्या नै मेरी पत्नीको लागि सबभन्दा भयङ्कर सजाय हुनेछ भन्ने मलाई थाहा थियो । त्यसैले यो ज्यादै सजिलो लागेको थियो । तर अब चाहिं आत्महत्या गर्नु त परै रहोस्‌, यसबारे विचार समेत गर्न असमर्थ थिएँ । मैले किन आत्महत्या गर्ने र ?’ – मैले पिस्तोल थपक्क राखिदिएँ र माथिबाट त्यसलाई अखबारले समेत छोपिदिएँ । त्यसपछि दैलोनेर गएँ र आग्लो सारिदिएँ । मेरी साली त्यहाँ उभिइरहेकी थिई – ऊ विधुवा भैसकेकी छै र केही मूर्ख जस्ती देखिए तापनि ज्यादै दयालु छे ।

“भास्या ! के भयो ?” – उसले भनी र उसका आँखाबाट बरबर आँसु झर्न लागिहाल्यो । आँसु त उसको परेलामा जहिले पनि तम्तयार नै हुन्यो।

“के चाहियो ?” – मैले रूखो स्वरमा सोध्ने । उससित रुखो व्यवहार गर्नु व्यर्थ थियो र त्यसको कूनै आवश्यकता पनि थिएन । तर मैले झर्को स्वर निकाल्नै सकिरहेको थिइनँ ।

“भास्या ! ऊ त मर्नै आँटेकी छे । इभान फ्योदोरोभिच यस्तै भन्नुहुन्छ !”

इभान फ्योदोरोभिच डाक्टर थिए । उनी मेरी पत्नीको उपचार गर्थे र उसलाई परामर्श पनि दिनेगर्थे ।

” के उनी यहीं छन्‌ र?” – मैले सोधेँ र आफ्नी पत्नीउपर जडङ्ग रीस उठिहाल्यो । – “त के भयो फेरि ?”

“भास्या ! भित्र उसकहाँ जानुस्‌ ! हरे, कस्तो भयानक कुरा हुन गयो !”- मेरी सालीले भनी ।

“उसकहाँ जाने ?’ – मैले आफैसित प्रश्न गरेँ । अनि तुरुन्तै आफैलाई जवाफ पनि दिएँ । – जरूर, मैले उसकहाँ जानै त पर्ला ! सके सधैँ यस्तै नै गरिन्छ । मैले पनि यस्तै गर्नुपर्ला ! कूनै मान्छेले मैले झैँ आफ्नी स्वास्नीलाई मारिदिन्छ भने उसले यस्तै गर्नुपर्छ र उसकहाँ अवश्य जानैपर्छ । यदि यस्तो गरिन्छ भने मैले अवश्य जानैपर्छ ।’ – मैले मनमनै भनें । – “मैले अर्को कुनै काम गर्नुछ भने त्यो पछि गर्न सकिन्छ ।’ आत्महत्याको बारेमा मैले यस्तो विचार गरेँ र उसकहाँ गएँ । “उसले थरी थरीका कुराहरू गर्ली, मुख बिगार्ली, तर अब यसले ममाथि कुनै असर पार्न सक्नेछैन ।’ – मैले मनमनै आफूलाई भनें ।

“पर्ख !” – मैले आफ्नी सालीलाई भनें । – “कमसेकम चप्पल त लगाउनैपर्ला ! मोजा मात्र लगाएर नाङ्गो गोडाले हिंड्नु अलि मूर्खता होला