दुई हुस्सार

उन्नाइसौं शताब्दीको शुरुका वर्षहरूको कुरा हो । ती दिनहरूमा न रेल चल्थे, न त ठूल्ठूला सडकहरू नै थिए, न ग्यास बत्ती बालिन्थे, न त स्टेयरिन बत्ती नै । त्यतिखेर लचिला कमानीदार कौचहरू पनि थिएनन्‌, न त बार्निश नलगाइएका फर्निचर नै थिए । चश्मा लगाएर हिंड्ने जुन किसिमका निराश युवकहरू अचेल देखिन्छन्‌, त्यस्ता त्यतिखेर हुँदैनथे । त्यस बखत उदारवादी महिला दार्शनिकहरू र हिसी परेका नखरमाउलीहरू पनि थिएनन्‌, जो आजकल कुन्नि कताबाट हो यतिविधि देखा परेका छन्‌ । त्यो यस्तो सरल जमाना थियो जतिखेर कसैलाई मास्कोबाट पिटर्सबर्गसम्म जानु परेको छ भने रासका रास खाने क्राहरू गाडामा वा बग्गीमा थुपारेर आफ्नै साथमा लिएर जानु पर्थ्यो र पूरै आठ दिनसम्म हिलोमैलो वा धूलोले भरिएको बाटोमा हण्डर खानु पर्थ्यौ । मन लोभ्याउने कुनै चीज थियो भने कि त त्यो तात्तातो चप हुन्थ्यो, कि त सेलरोटी हुन्थ्यो अथवा भाल्दाइ गाडीको घण्टीको छनछन नै हुनसक्थ्यो । त्यसताका शरदका लामा साँझहरूमा घरघरमा बोसोको मैनबत्ती बालिन्थ्यो र त्यसैको प्रकाशमा बीसतीस मानिसको कुटुम्ब मिलिजुलीकन बस्थ्यो । नाचघरका पानसहरूमा मैन बत्ती र स्पर्मासेटका बत्तीहरू बालिन्थे र फर्निचर पनि लङ मलाएर सजाइन्थे । त्यसताका हाम्रा बाबुबाजेहरूको जवानीको लख काद्दा मुखमा चाउरी परेको छ कि छैन वा फुलेको केश देखिन्छ कि देखिदैन भन्ने मात्र विचार गरिदैनथ्यो , बरु आइमाईहरूको खातिर कतिवटा द्वन्द्वयुद्ध लडिएको छ भन्ने कुराको पनि लेखाजोखा गरिन्थ्यो । जानाजानी होस्‌ या अनजानमा नै किन नहोस्‌, यदि कुनै युवतीको रुमाल भुइँमा खस्न गयो भने कोठाको अर्को कुनाबाट तुरुन्त नै युवकहरू दगुरेर आइपुग्थे र रुमाल भुइँबाट टिपेर दिन्थे । हाम्रा आमाहरू हवालाङ्गि बाहुला भएका छोटो चोलो लाउँथे र घरगृहस्थीका सबै मामिलाहरू चिठ्ठा हालेर सुल्झाउँथे । हिसी परेका रखौटीहरू दिउँसोको उज्यालोमा घरभित्र नै लुकेर बसिरहन्थे । त्यो सरल जमाना थियो – गृढ सम्प्रदायका आगमहरूको, मार्तिनवादीहरू र तुगेन्द्बुन्दको, मिलोरादोभिच, दाभिदोभ र पुश्किनको । तिनै दिनहरूमा ‘क’ नामक नगरमा भूमिपतिहरूको एउटा सभा बसेको थियो । त्यो नगर गुबेर्नियाको (गबेनिथा-प्रान्त ।-अनु) केन्द्र थियो र त्यहाँ हालसालै कूलीन बर्गका प्रतिनिधिहरूको चुनाव भएको थियो ।

     १

“भैगो, ठाउँ नभए पनि केही चिन्ता छैन । आफ्नो झिटिमिटी हलमा नै राखुँला !” – एक जना अफिसरले “क’ नगरको सवभन्दा उत्कृष्ट होटलमा पस्तै भन्यो, । त्यस अफिसरले भुवादार ओभरकोट लगाइराखेको थियो र शिरमा चाहिं रिसल्ला टोपी थियो । ऊ भर्खरै मात्र स्लेजगाडीबाट उत्रेको थियो ।

ज्यादै नै ठूलो सभा हुँदैछ, गरीप्रवर ! यत्रो ठूलो सभा त पहिले कहिल्यै पनि देखिएकै थिएन ।’ होटलको पालेले भन्यो । त्यो अफिसर ग्राफ (भारदार ।-अन्‌) तुर्बिन हो भन्ने कुरा त पहिलेबाटै अफिसरको अर्दलीबाट उसले थाहापत्ता लगाइसकेको थियो । यसै कारण उसले ‘गरीप्रवर’ भनेर उसलाई सम्बोधन गरेको थियो ।-‘अफ्रेमोभा मौजाकी मालिक्नीले पनि आजै साँझसम्ममा आफ्नी छोरीमैंयाहरूसँगै रमाना भैहाल्ने वचन बक्स्या छ, हजूर! चाहिबक्सिन्छ भने त्यो खाली हुने एघार नम्बरकै कोठा लिइबक्से पनि हुन्छ ।’- पालेले भन्यो र बरण्डामा ग्राफको अगिल्तिर अदबका साथ चाल मार्दै पाइला सार्न थाल्यो । ऊ घरीघरी रोकिएर पछिल्तिर पनि पल्याकपुलुक हेर्दै गइरहेको थियो ।

हलको भित्तामा जार अलेक्सान्द्वरको एउटा पुरानो आदमकद तस्बीर टाँगिएको थियो । त्यसको रङ्ग उडेर फिका भैसकेको थियो । त्यसै तस्बीरको मुनि एउटा सानो टेबुलको वरिपरि केही मानिसहरू बसेर शैम्पेन (फीजबार मदिरा ।-अनु:) पिउँदै थिए । ती यसै शहरका कुलीनहरूमध्येकै थिए । त्यसैको नजिकै अर्को एउटा टेबुलवरिपरि व्यापारीहरूको एक टोली जम्मा भएको थियो । सबैले गाढा निलो रङ्गको भोटो लगाइराखेका थिए ।

ग्राफले हलमा पस्नेबित्तिकै आफ्नो शिकारी कुकुरलाई डाके । कुकुर ठूलो आकारको र कैलो रङ्गको थियो जसको नाम ब्ल्यूहर राखिएको थियो । त्यसपछि ग्राफले झट्का दिएर आफ्नो ओभरकोट फुकाले । ओभरकोटको कलरमा अझै पनि हिउँ जमेकै थियो । उनले साटिनको निलो कुर्ता लगाइराखेका थिए । उनले भोद्काको (भोद्का-रक्सी ।-अनु:) अडर गरेर कुर्सीमा बस्नासाथै त्यहाँ बसेका मानिसहरूसँग गफ गर्न लागिहाले । उनको सुन्दर जिउडाल र खुलेको अनुहार देखेर उनीहरू मोहित भैहाले र शैम्पेन एक गिलास उनको अघिल्तिर राखिदिए । ग्राफले शुरुमा एक गिलास भोद्का घुटक्याए, अनि आफ्ना नवपरिचित मित्रहरूको लागि एक बोतल शैम्पेन पनि मगाए । ठीक त्यसै बेला स्लेजगाडीको कोचवान रक्सीको लागि बक्सीस माग्न भनेर भित्र आयो ।

“साश्का !”- ग्राफले कराएर डाके ।-“दिएर पठा ल यसलाई केही पैसा !

कोचवान साश्काको सँगसँगै बाहिर निस्कियो, तर तुरुन्त नै फर्केर आयो र आफ्नो हातको पैसा देखाउन थाल्यो ।

“यी हेरिबक्स्योस्‌, गरीप्रवर! मैले हजूरको लागि कति जोखिम उठाएँ । हजूरले पचास कोपेक बक्सिने मर्जी भएको थियो । अहिले आएर मेरो हातमा त खालि पच्चीस कोपेक मात्रै पो पस्यो । ”

“साश्का ! यसलाई एक रुबल नै दे ल !”

साश्काको टाउको निहुरियो र कोचवानको बूटतर्फ हेर्न लाग्यो ।

यसको निम्ति यत्ति नै काफी छ ।” -उसले धोत्रो स्वरमा भन्यो । मसँग अरू पैसा नै छैन त !”

ग्राफले आफूनो थैलीबाट पाँच पाँच रुबलका दुई नोट झिके र एउटा नोट कोचवानको हातमा राखिदिए । कोचवानले ग्राफको हातमा म्वाई खायो र नोट लिएर बाहिर हिडिहाल्यो ।

एउटा झंझट सकियो ! ग्राफले भने । बस्, अब मसित यही पाँच रूबल बाँकी रह्यो ।

“त्यही त हो सक्कली हुस्सारको छाँट ।”- एकजना भदाद्मीले भन्यो । उसको जुँगा, उसको स्वर र उसको लचकदार मजबूत गोडाबाट के झल्किरहेको थियो भने ऊ अश्वारोही सेनाको एक अवकाशप्राप्त अफिसर हो । -“निकै लामो समयसम्म यहाँ बस्ने सुर छ कि क्या, ग्राफ?”

“मैले चाहेको जस्तो हुने भए त एक दिन पनि यहाँ बस्ने थिइनँ । तर के गर्ने र ? पैसो अलिकति जोरजाम गर्नुछ र पो ! यहाँ भने यस थोत्रो होटलमा बस्न पनि एउटा कोठा पाउनु मुश्किल छ । भर्सेलो नै परोस्‌ यस होटलमा !”

“चाहनुहुन्छ भने मेरै कोठामा पनि डेरा गर्न सक्नुहुन्छ, ग्राफ !”- अश्वारोही सेनाको भूतपूर्व अफिसरले भन्यो ।- “म सात नम्बरको कोठामा बसेको छु । मेरो साथमा बस्न तपाईंलाई आपत्ति छैन भने कम्तीमा पनि तीन दिन त यहाँ अवश्य रोकिनुस्‌ । आज राति जसहिबकहाँ नाच-समारोहको आयोजना छ । उहाँ तपाईलाई पनि देख्न पाउँदा निकै खुशी हुनुहुनेछ ।”

“हो, ग्राफा जरुर नै त्यहाँ पुग्नोस्‌ ।”-एक निकै सुन्दर युवकले सही थाप्यो ।-“चाँडै त्यहाँबाट गैहाल्नु पर्ने के हतारो र तपाईलाई ? फेरि यस्तो चुनाव पनि त तीन सालपछि एकपल्ट मात्रै पो हुन्छ । यहाँका रुपसीहरूमा पनि त नजर दिनोस्‌ एक फेरा !”

“साश्का ! खै,लुगा ल्या त ! शुरूमा स्नानागार एकपल्ट पुगिहालूँ !” ग्राफले उठ्दै भने । – “त्यसपछि देखाजाला ! सके जसहिबकहाँ नै पनि पुगिएला ।”

अनि उनले एक टहलुवालाई बोलाए र उसको कानैमा कानेखुसी गर्दै केही भने । टहलुवा खितिखिति हाँस्न लाग्यो ।

“जहाँ इच्छा उहाँ उपाय, हजूर !” – टहलुवाले भन्यो र बाहिर निस्कियो ।

“मेरो झिटीमिटी तपाईकै कोठामा राख्न लगाउँ है त, साथी ?”- ग्राफले दैलोबाट बाहिर निस्कँदै जोडले भने ।

“खुशीसाथ ! स्वागत छ !”- अश्वारोही सेनाको भूतपूर्व अफिसरले जवाफ दियो । अनि लम्केर दैलोसम्म नै पुगेर थप्यो- “हेर्नोस्‌ है, कोठा नम्बर सात हो ! नबिर्सनुस्‌ !”

ग्राफको पदचाप बिस्तारै बिलाउँदै गयो । अश्वारोही सेनाक्रो भूतपूर्व अफिसर आफ्नै ठाउँमा फर्कियो । अनि उसले आफ्नो कुर्सी एक माथिल्लो तहको पदाधिकारीको छेवैमा सारेर उसको आँखामा आँखा गाडदै मुसुमुसु हाँस्दै भन्यो-

“यो त्यही नै मान्छे हो !”

“साँच्चै ?”

“त्यही हो भनेर म भन्दैछु त ! यो हुस्सार आफ्ना द्वन्द्वयुद्धको लागि प्रख्यात छ ! जसले पनि यसलाई चिनेको छ । यसको थरनाम तुर्बिन हो । म बाजी ठोकेर भन्न सक्छु कि उसले मलाई चिनिसक्यो । नचिन्नु पनि किन र ? हामी दुवै जनाले एकपल्ट पूरै तीन दिनसम्म लेबेद्यानमा रसरङ्ग गरेका थियौं । त्यसताका म त्यहाँ मर्मतको कामले गएको थिएँ । त्यहाँ हामी दुवैको कारणले गर्दा एउटा घटना समेत घटेको थियो, तर उसलाई भने केही न केही ! मान्छे त फुर्तिलै छ । हैन त ?” ।

“जरूर ! बोलिबचन पनि राम्रो रहेछ । यसो हेर्दा त त्यस खालको मान्छे होला भन्ने कसैले सोच्नै पनि सक्दैन ।” सुन्दर युवकले जवाफ दियो ” कति छिटो हेलमेल भैहाल्यो !… उसको उमेर पनि त पच्चिस नाघेको छैन होला ! कि कसो ?”

“हैन, उमेर त यसभन्दा बढी नै छ, तर कम उमेरको देखिन्छ । जे होस्‌, राम्रोसँग चिनेपछि मात्र नै उसको गुण पनि थाहा पाइन्छ । मैडम मिगुनोभालाई कसले भगाएर लगेको थियो, थाहा छ ? त्यो मान्छे यही नै हो । साब्लीनको हत्या गर्ने को हो ? मात्नेभलाई दुई गोडामा समातेर झ्यालबाट बाहिर हुर्याउने को हो नि ? राजासाहेब नेस्तेरोभबाट तीन लाख रूबल कसले जितेको थियो ? यो कस्तो जंगी मिजासको मान्छे हो भन्ने त तिमी अन्दाज समेत गर्न सक्तैनौं । जुवा खेल्नमा पास, ट्वन्द्वयुद्वमा पोख्त र आइमाईलाई फकाउनमा पनि खप्पीस ! सच्च हुस्सारको दिल पाएको छ यसले सच्चा हुस्सार हो यो । मान्छेहरू हाम्रो निन्दा गर्दछन्‌, तर एक सच्चा हुस्सारको गुण चाहिं देख्न सक्तैनन्‌ । अहो, कुनै समय यस्तो पनि थियो !”

अनि अश्वारोही सेनाको भूतपूर्व अफिसरले नाना थरीका रसरङ्गहरूका कहानी सुनाउन शुरु गर्यो । यी सबै रसरङ्गहरूमा त्यतिखेर लेबेद्यानमा क ग्राफको साथमा थियो । तर साँच्ची भन्ने हो भने यस्तो रसरङ्ग न कहिल्यै भएको थियो, न त हुन नै सक्थ्यो, । पहिलो कारण त के भने अघि कहिल्यै पनि उसले ग्राफलाई देखेकै थिएन । ग्राफ फौजमा भर्ना हुनुभन्दा दुई वर्ष पहिले नै फौजबाट उसले अवकाश पाइसकेको थियो । अनि दोस्रो कारण के त भने यो भूतपूर्व अफिसर कहिल्यै पनि अश्वारोही सेनामा रहेकै थिएन । ऊ त बेलेभ्स्की पल्टनमा चार वर्षसम्म एउटा मामूली हुँदा मात्रै थियो र हवल्दारको पदमा बढुवा हुने बित्तिकै राजीनामा दिएर हिंडिसकेको थियो । हो, दश वर्ष जति पहिले अपुतालीमा श्रीसम्पत्ति पाइएको हुँदा वास्तवमा नै एकपल्ट लेबेद्यान पुगेको थियो । त्यहाँ अश्वारोही सेनाका केही अफिसरहरूको साथमा यसले सात सय रुबल पनि उडाएको थियो । अश्वारोही सेनामा भर्ती हुन चाहन्थ्यो । त्यसैकारण आफ्नो लागि यसले सुन्तला रङ्गको भित्री हालिएको एक उल्हन (उल्हन- एक विशेष अश्वारोही सेना ।- अनु.) वर्दी पनि सिलाएको थियो । अश्वारोही सेनामा भर्ती हुने यसको ठूलो इच्छा थियो । रिसल्ला अफिसरहरूको
साथमा यसले लेबेद्यानमा तीन हप्ता बिताएको थियो । तिनै दिनहरूलाई यसले आफ्नो जिन्दगीको सबभन्दा सुखमय समय मान्दै आएको छ । कल्पनामा नै यसले आफ्नो इच्छालाई साकार तुल्यायो र यसको दिमागमा त्यसको स्मृति पनि अमिट बन्यो । कहाँसम्म भने आफूले अश्वारोही सेनामा काम गरेको पूरा विश्वास समेत उसलाई हुन थाल्यो । यस्तो विश्वास हुँदाहँदै पनि उसको शिष्टता र इमान्दारीमा कुनै बाधा पुगेन र ऊ वास्तवमा नै एक असल मान्छे बनिरहयो ।

हो, हामी जस्तो मान्छेलाई त्यसै व्यक्तिले मात्र राम्ररी बुझ्न सक्छ जसले एकपल्ट रिसल्ला सेनामा काम गरिसकेको हुन्छ ।”- ऊ कुर्सीमा चढेर बस्यो र चिउँडोलाई अगिल्तिर तानेर धोत्रो स्वरमा फेरि भन्न लाग्यो- “कुनै जमानामा म पनि घोडा चढेर आफ्नो दलको नेतृत्व गर्दथें । त्यो घोडा मात्र कहाँ थियो र ? वास्तवमा नै भूत थियो भूत ! त्यसमाथि सवार हुनेबित्तिकै मेरो अन्तरात्मामा अपार स्फूर्ति जागेर आउँथ्यो । सेनाको कम्याण्डर निरीक्षण गर्न आउँथै र भन्थे : ‘लप्टनसाप, यो काम त तपाईबाहेक अरु कसैले गर्नै पनि सक्तैन । लौ न, कृपया यत्ति काम गर्नोस्‌ । परेडमा आफ्नो रिसल्ला दलको कमान सम्हाल्नोस्‌ ल ।’ म जवाफ दिन्थेँ: “हस्‌, हजुर !’ मुखबाट बोलियो कि त गरियो भन्ठान्नुस्‌ तपाईँ ! म घोडालाई घोडचढीहरूलाई आदेश दिन्थेँ । बस्‌, के बताउँ ! अहो, त्यस्तो पनि कुनै समय थियो नाइँ ।

ग्राफ स्नानागारबाट फर्केर आए । उनको अनुहार रातो पिर देखिन्थ्यो र कपाल अझै भिजेको थियो । उनी सरासर सात नंम्बरको केठामा पसे । त्यहाँ अश्वारोही सेनाको भूतपूर्व अफिसर उपर्ना मात्र लगाएर बसिरहेको थियो । उसले मुखमा पाइप च्यापिराखेको थियो । र आफ्नो यस आकस्मिक सौभाग्यउपर मनमनै खुसी थियो, किनभने विख्यात तुर्विनसँग एउटै कोठामा बस्ने मौका उसले पाएको थियो । तर उसको खुशीमा किञ्चित्‌ डरको भावना पनि थियो । ऊ मनमनै सोच्दैथियो : ‘यदि यसको मगजमा एक्कासि कनै सनक चढोस्‌ र मेरो लुगा-सुगा सबै फुकाल्न लगाएर मलाई नाङ्गेझार पारीकन शहरबाहिर लगेर कतै हिउँमा गाडिदेओस्‌ त के होला ? … अथवा आङभरी अलकत्रा पोतिदेओस्‌ या खालि … अहँ, यसले आफ्नै साथीभाइसँग यस्तो ब्यबहार कदापि पनि गर्नेछैन !’ यस्तो विचार गर्दै उसले आफ्नो मनलाई सान्त्वना दियो ।

“साश्का ! कुकुरलाई क्यै खान दे न !” – ग्राफले कराएर भने ।

साश्का दैलोमा देखापर्यो । उसले एक गिलास भोड्का पहिले नै घुट्क्याइसकेको थियो र नशाले चूर भैसकेको देखिन्थ्यो ।

“धत्, पाजी ! बेला न कुबेला अहिलेदेखि नै रक्सी धोकिसकिस्‌ त ! … जा, ब्ल्यूहरलाई खाना ख्वा !”

“खान नपाएर मरिहाल्नेछैन है ! देख्नुभा’छैन र कति चिल्लो छ?” साश्काले कुकुरलाई मुसार्दै भन्यो ।

“हेर् ज्यादा बकबक नगर्‌ ! जा, यसलाई खान दे !”

“हजूर त आफ्नै कुकुरको मात्रै हेरचा’ गरिसिन्छ ! ह्याँ नोकर-चाकरले एक गिलास कतै भेट्टाइहाल्यो भने पनि हजूर त उसलाई मारसित झाँटिसिन्छ !”

“हेर्‌ है, प्याच्च नबोल्‌ ! बङ्गरा झारिदिउँला !” – ग्राफले यति ठूलो स्वरमा कड्केर भने कि झ्यालका ऐनाहरू समेत थर्कन लागे । अश्वारोही सेनाको अफिसर पनि केही हच्कियो ।

साश्का, तैँले क्यै खाइस्‌ कि भनेर मसँग पनि सोधिबक्स्या’भे हुन्थेन र ? ल, हजूरलाई मान्छेभन्दा कुकुर नै बढ्ता प्यारो छ भने झारिस्योस्‌ न मेरो बङ्गारा !” – साश्का , फतफतायो । तर उसको मुखबाट यति कुरा झर्नु मात्र के झरेको हुँदो हो, उसको मुखमा एक घुस्सा परिहाल्यो र रन्थनिएर ऊ ढल्यो । उसको टाउको पनि भित्तामा ठोकिन पुग्यो । त्यसको एक छिनपछि नै हातले नाक थुनेर दगुर्दै ऊ कोठाबाट बाहिर निस्कियो र बरण्डामा पुगेर एउटा सन्दूसमाथि लमतन्न पल्टियो ।

“मालिकले मेरो बङ्गारा झारिबक्स्यो !” – एक हातले आफ्नो नाकबाट बगिरहेको रगत पुछ्दै अर्को हातले ब्ल्यूहरको ढाडमा कन्याइदिँदै साश्का बड्बडाइरहेको थियो । ब्ल्यूहर आफ्नो आङ चाटिरहेको थियो । – “देखिस्‌, ब्ल्यूहर ! मालिकले मेरो बङ्गारा झारिबक्स्यो । तर क्यै छैन, भाइ ! जे भए पनि उहाँ मेरा ग्राफ होइसिन्छ । म उहाँको खातिर ज्यानको बाजी ‘लगाउन तयार हुनेछु । साँच्चै हो है, ब्ल्यूहर ! उहाँ मेरा मालिक होइसिन्छ ! बुझिस्‌ ? के तँलाई भोक लाग्यो र ?”

केही बेर ऊ त्यहाँ चूपचाप पल्टिरहयो, अनि उठ्यो, कुकुरलाई खान दियो र मात लागेको केही कम भएपछि आफ्नो ग्राहकलाई रिझाउन उनको लागि चिया तयार पारेर लग्यो ।

यसलाई त आफ्नो अपमान सम्झनेछु !” दयनीय स्वरमा अश्वारोही सेनाको भूतपूर्व अफिसर ग्राफलाई भन्दैथियो । ग्राफ चाहिं आफ्नो गोडा पलङको अडेसोमा फैलाएर अफिसर्को विछ्यौनामा मजासित लेटिरहेका थिए । – “आखिर म पनि त एक पुरानो सिपाही हुँ र तपाइँको साथी पनि हुँ । अरूसित किन पैसा माग्नुपर्यो र ? म स्वयं खुशीसाथ दुई सय रूबल तपाइँलाई नजराना चढाउँन सक्छु । हुन त अहिले मसित ठूलो रकम छैन्‌- मात्र एक सय रूबल छ । तर म आजै बाँकी रकमको पनि बन्दोबस्त गरिहालुँला । अरुसित क्रण लिनुभयो भने म आफ्नो अपमान सम्झनेछु है, ग्राफ !”

“धन्यवाद मित्र !”- उसको पीठ्युँमा धाप मार्दै ग्राफले भने । भविष्यमा दुवैजनाको बीचमा कुनै प्रकारको सम्बन्ध अवश्य नै कायम हुनेछ भन्ने उनले तत्कालै बुझिहाले । धन्यवाद ! कुरा यस्तै हो भने हामी नाच-समारोहमा पनि अवश्य नै जाऔंला । अँ, अहिले चाहिं के गर्ने नि? यस शहरकै बारेमा केही बताउनोस्‌ न ! सुन्दरी ? रण्डीबाज ? तासबाज ?”

अश्वारोही सेनाको भूतपूर्व अफिसरले के बतायो भने एकसेएक सुन्दरी नाच समारोहमा भेला हुनेछन्‌ । शहरको सबभन्दा नाउँ चलेको रण्डीबाज चाहिं पुलिस-इन्स्पेक्टर कोल्कोभ नै हो । हालसालै ऊ पुन: निर्वाचित भएको छ, तर उसमा त्यस्तो जाँगर भने छैन जस्तो एक सच्चा हुस्सारमा हुन्छ । जे भए पनि मान्छे चाहिं ऊ बेसै छ । चुनाव शुरु भएदेखि नै यहाँ खूब नाचगान हुन थालेको छ । इल्यूश्काको जिप्सी संगीतमण्डलीको सहगान हुन्छ, स्तेश्का चाहिं एक्लै गाउने गर्छे । आज सबै नै जर्साहेबकहाँ नाच सकिएपछि जिप्सीहरूको गानाबजाना सुन्न चाहन्छन्‌ ।

“जुवाको खाल पनि निकै जम्छ ।” ऊ बताउँदै थियो । “लुखनोभ यहाँ आइरहेको छ । ऊ निकै धनी छ र रातोदिन जुवा खेल्दैरहन्छ । यहाँ आठ नम्बरको कोठामा इल्यीन भन्ने एक जना बस्छ । ऊ उल्हन अश्वारोही दलको ध्वजाबाहक हो । त्यो चाहिँ हारेको हार्यै छ । अहिले पनि उनीहरू खेल्दैहोलान्‌ ! हरेक साँझ उनीहरू खेल्छन्‌ । ग्राफ, तपाईलाई पत्यार नलाग्ला, तर इल्यीन मजाको मान्छे छ । ऊ कन्जुसी त रत्तिभर पनि गर्दैन । आफूले लगाइराखेको कमीज समेत फुकालेर दिन सक्छ ऊ !”

“हिन्नोस्‌ न त, उसलाई भेटिहालौं ! यहाँ के कस्ता मान्छेहरू बस्दा रहेछन् हेरिहालौं न !”- ग्राफले भने ।

“हिन्नोस्‌ ! गइहालौं ! तपाईलाई भेट्न पाउँदा उनीहरू औधि नै खुशी हुनेछन्‌ ।