जिल्लाको सदरमुकामतर्फ गइरहेको एक जना मिलिसिया प्रहरीमार्फत्‌ पार्टी एकाईका सेक्रेटरी पोलितोभले ग्रिगोरीलाई गाउँमा आउने खबर पठाए ।

मिर्मिरेमा नै ग्रिगोरी बाटो लाग्यो र्‌ उसले मध्यान्हको खाजा खाने बेलातिर एउटा अग्लो डाँडाबाट गाउँको घण्टाघर र त्यसको वरिपरि खर वा टीनको छाना हालिएका सा-साना घरहरु पनि देख्यो ।

जुत्ताले पोलेर फोका उठेकोले खोच्याउँदै उ गाउँको चोक- सम्म पुग्यो ।

पादरीको घरमा नै क्लब पनि थियो। घाँसको बास्ना आउने नयाँ गुन्द्रीमाथि हिंड्दै ग्रिगोरी एउटा फराकिलो कोठाभित्र पस्यो।

झ्यालका खापाहरू बन्द हुनाले कोठामा केही अँध्यारो थियो । झ्यालनेरै पोलितोभ रण्डाले झ्यालको चौकोस बनाउन फल्याक चिल्लो पार्दै थिए।

“हो, हो, मैले यो सबै सुनिसकेको छु, भाइ…।” उनले मुस्कुराउँदै भने र ग्रिगोरीतिर हात बढाए। “ठीक छ! केही फिक्री नगर ! मैले जिल्लाको सदरमुकाममा सोधपूछ गरिसकेको छु। त्यहाँ तेल पेल्ने कारखानालाई केही ठिटाहरूको जरूरत थियो, तर चाहिनेभन्दा एक दर्जन बढीलाई छानिसके छन्‌ । शरदसम्म त तिमीले गाईवस्तु चराउनु नै पर्ने भयो। त्यसपछि पढ्न पठाऔँला ! ”

यहाँ त यही काममा पनि अड्न मुश्किल छ। हाम्रा गाउँका धनी किसानहरू मैले गोठालोको काम सम्हालेको देख्नै चाहँदैनन्‌ । यो त यंग-कम्युनिष्ट हो, धर्म नै नमान्ने नास्तिक हो र यसले गाईवस्तु चराउँदा समेत ईश्वरको प्राथना गर्दैन भनी उनीहरू भन्ने गर्छन्‌ …।” यति भनेर ग्रिगोरी क्लान्त हाँसो हाँस्यो ।

पोलितोभ बाहुलाले छ्याकन सफा गरेर झ्यालको ठेलोमा बसे । अनि पसीनाले भिजेको आखीभौँ ठाडो पार्दै ग्रिगोरीतर्फ उनले कर्क नजर दिए।

“ग्रीशा, तिमी ज्यादै दुब्लाएछौ क्यारे . . .। रसदपानीको हालत कस्तो छ तिम्रो ? ”

“भोको परिएको छैन ।”

केही बेरसम्म दुबै जना चूप लागेर बसिरहे ।
“हिँड, मकहाँ जाऔं ! केही ताजा साहित्य तिमीलाई दिउँला । जिल्लाको सदरमुकामबाट भर्खरै किताब र अखबारहरूको पुलिन्दा आइपुगेको छ।”

“उनीहरू चिहान भएर जाने सडकमा हिँड्न थाले । कुखुराहरू खरानीको रासमा फटफट गर्दै पखेटा साफ गर्दै थिए। कतै इनारको पानी तान्ने चक्की कुइँकुईँ गर्दै थियो र कानमा नियास्रोलाग्दो सन्ताटा गुन्जिरहेको थियो ।

“आज यतैतिर बसे पनि त हुन्छ होला नि? मिटिंग पनि बोलाइएको छ। केटाहरू तिम्रो बारेमा पनि सोध्दै थिए । कहाँ छ ग्रीशा? कस्तो छ आजकल उसको हाल ? भन्दै प्रश्न गर्छन्‌ उनीहरू। तिमीले पनि “उनीहरूलाई भेट्न पाउने छौ। मैले चाहिं मिटिंगमा अन्तर्राष्ट्रिय अवस्थाबारे रिपोर्ट दिनु छ…। मकहाँ नै सूते पनि भैहाल्छ! भोलि, फर्कौला, हुन्न र ? ”

म यहाँ रात बिताउन सक्दिनँ ! त्यहाँ दुन्या एकलै गाईवस्तुको हेरचाह कसरी गर्ली ? म मिटिंगसम्म त बसुँला, तर मिटिंग सिद्धिनासाथै राति नै फर्कनु पर्ला ! ”

पोलितोभकहाँ दलानमा जाडो जाडो थियो ।
सुकाइएको स्याउको मीठो बास्ना आइरहेको थियो । भित्तामा झुण्डयाइएका लगाम र साजहरूबाट घोडाको पसीनाको ह्वास्स गन्ध पनि आउँथ्यो ।

एक कुनामा क्वासको ( क्वास गहुँ वा उवाको पाउरोटी अमिल्याएर बनाइएको मदरहित पेय पदार्थ ।- अनु०) पीपा खडा थियो। त्यसैको छेउमा एउटा खाट पडिरहेको थियो ।
“यही हो मेरो सुत्ने कुना। घरभित्र त मलाई असाध्यै गर्मी लाग्छ ! ”

“पोलितोभ केही निहुरिए र तन्ना मुनिबाट हिफाजतपू्र्वक ‘प्राभदा ‘ अखबारका केही पुराना अंक र दुईवटा – किताब झिके ।

ग्रिगोरीको हातमा यी, सबै सुम्पेर उनले एउटा भरिएको सानो थैली उठाए र त्यसको मुख खोले।
“समाऊ त !”
धोक्रोको मुख समातिरहँदा समेत ग्रिगोरीका आँखाले छापामा नै एकोहोरिएर ताकिरहेका थिए। उसले अखबार पढ्न रोकेको थिएन ।

पोलितोभ अंजुलीले धोक्रोमा पीठो भर्न थाले । धोक्रो आधा भरिएपछि उनले त्यसलाई हल्लाए र घरको बैठक कोठामा पसे ।

उनी हातमा बंगुरको दुई टुक्रा बाथ लिएर आए। त्यसलाई बन्दाको पहेँलिएको पातमा बेरेर त्यसै धोक्रोमा हालिदिए । “फर्कदाखेरि -यसलाई पनि आफ्नो साथमा लिएर जानू है ! “-रूखो स्वरमा उनले भने ।

“म यो सबै लान सक्दिनँ. . ! ”-ग्रिगोरीले ठुस्किंदै जवाफ दियो ।
“किन लान सक्दैनौ ? ”
“लान चाहन्न …।”
“धत्‌, बेइमान ! ” – मुर्ख निदाउरो पार्दै ग्रीशामाथि आँखा तर्कदै पोलितोभले झपार्दै भने । -“यही हो त साथीको चाला ! कसैलाई केही नभनेर भोकभोकै मर्ने सुर छ कि कसो ? लिएर जा, नत्र म तिमीलाई आफ्नो साथी नै ठान्ने छैन…।”

“म तिम्रो अन्तिम गाँस खोसेर खान चाहन्न ! ”
“अन्तिम गाँस त यमराजको पाहुना बन्न जाँदा मात्नै खाइन्छ। ” – पोलितोभले अलि नरम हुँदै भन्यो। ग्रिगोरी चाहिं फन्कँदै धोक्रोको मुख बाँध्न लागिरहेको थियो ।

साँझ पर्ने लाग्दाखेरि मात्रै मिटिंग सकियो ।
ग्रिगोरी स्तपीमैदान हुँदै हिँडिरहेको थियो। उसले पिठ्युँमा पीठोको धोक्रो बोकेको थियो । जुत्ताले फोका पारेको ठाउँबाट अब त रगत पनि चुहिन लागिसकेको थियो। तर उ फूर्तिसाथ रमाउँदै देदीप्यमान्‌ मिर्मिरेतर्फ फटाफट लम्किरहेको थियो।

बिहान सबेरै झिसमिसमा नै दुन्या अगेनामा बाल्ने गुझँठा बटुल्न छाप्रोबाट बाहिर निस्की । ग्रीगोरी चहुरमा दगुर्दै आइरहेको थियो। कुनै अप्रत्याशित घटना घटेको उसले अनुमान
लगाइहाली ।

“केही नराम्रो कुरा त भएन ? ”
“ग्रीशाकाको बाछो त मर्यो…। अरू तीनवटा बाछाबाछी पनि बिरामी छन्‌ । ” – ग्रिगोरीले लामो सास फेर्यो र अगाडि थप्यो– दुन्या, जा, एक फेरा गाउँ पुगेर आइज ! ग्रीशाका र अरूहरूलाई पनि यहाँ आउने खबर गर्‌ ! बाछाहरू बिरामी परेका छन्‌ भन्नू ! ”

दुन्याले पछेउराले आफूलाई बेरबार -पारी र डाँडापारि झुल्कन लागेको घामलाई पछिल्तिर छोडेर ,भिरालो हुँदै गाउंतर्फ लागी ।

ग्रिगोरीले बहिनीलाई केही परसम्म पुर्यायो र बिस्तार गाईगोठतर्फ फर्कियो ।

गाईवस्तुको बथान खोचतर्फ लाग्यो। तीनवटा बिरामी बाछाहरू गोठबाहिर बारनेरै पल्टिरहेका थिए । मध्यान्हतिर तिनीहरूको प्राणपखेरू उडेर गयो ।

त्यसपछि ग्रिगोरी कहिले गाईगोठ त कहिले खोँचको चरनतर्फ ओहोरदोहोर गर्दै रह्यो। अरू दुईवटा बाछाहरू थला परेका थिए।

एउटा बिरामी बाछो चाहिं पोखरीनेरँ, हिलोमा थचारियो । त्यो, ग्रिगोरीतर्फ टाउको बटारेर ठूलो स्वरले बाँ बाँ गर्दै थियो र आँसुले भरिएका उसका आँखाहरू एेना जस्तै टल्किरहेका थिए । अनि ग्रिगोरीको घामले डढेर तामा जस्तै देखिने गहुँगोरो गालामा चाहिँ उसैका आँखाबाट आँसुका नुनिला थोपाहरू बग्दै गइरहेका थिए।

घाम डुब्न डुब्न लाग्दाखेरि बाछाका मालिकहरूको साथमा दुन्या पनि आइपुगी ।

मरिसकेको बाछाको सिनुलाई आफ्नो लौरोले घोच्दै बूढा आर्तेम भन्न थाले-

“ए, पक्कै पनि यो खोरेत नै हो है ! अब पुरै बथान खोरेत लागेर सखाप नै हुने भो ! ”

उनीहरूले मरेका बाछाहरूको छाला काढेर सिनु चाहिँ पोखरीनजीकै गाडिदिए। अनि सुकेको कालो माटो थुपारेर एउटा नयाँ ढिस्को नै बनाइदिए

अर्को दिन पनि दुन्याले फेरि गाउंतफ जानु पर्यो। एक बाजि सातवटा वाछाहरू थला परे।

विकट दिनहरू एकपछि अर्को गर्दै बित्न थाले। गाईगोठ रित्तिँदै गयो। यसको साथसाथै ग्रिगोरीको मन पनि खोक्रो हुँदै गयो। डेढ सय गाईवस्तुमध्ये अब जम्मा पचास माल बाँकी रहन गएका थिए। मालिकहरू गाडा लिएर आाउँथे मरेका, बाछाहरूको छाला काढ्थे, खोल्सोमा केही गहिरो खाल्डो खनेर त्यसैमा आलो रगत चुहाइरहेको सिनु फालिदिन्थे माथिबाट माटोले पुरिदिन्थे र गाउँ फर्कन्थे । गाईवस्तुहरूको बथान गोठभित्र पस्न अनकनाउँथ्यो । बाछाहरू आफ्नो माझमा नदेखिने गरेर घिस्रँदै आइरहेको काल र रगतको गन्ध सुघेँर डरले कोलाहल मच्चाउँथे ।

मिर्मिरेमा, जब रगत सुकेर पहेँलै देखिने ग्रिगोरी गाईगोठको ढोका किटकिट गर्दै उघार्दथ्यो र गाईवस्तुहरूलाई चरनतर्फ धपाउँथ्यो, उसले बाछाका आला चिहानहरूमाथि सुकेको माटोका ढिस्काहरू पार गर्दै अगाडि लम्कनु पर्दथ्यो ।

दिनभरि -फ्यात्त गलेर कुहिन लागेको सिनुको गन्ध, छाडा गाईवस्तुँहरू उफ्री उफ्री दौडेर उछिट्टिएको धूलोको कुइरीमण्डली , गाईवस्तुहरूको असहाय र अविरल चित्कार, अनि बिस्तार बिस्तार स्तपीमैदान पार गर्दै गइरहेको प्रचण्ड तातो सूर्यको राप !

गाउँबाट शिकारीहरू पनि आएका थिएँ र भयावह खोरेँतलाई गाईगोठबाट तर्साएर धपाउन गोठ बारेको कठबारवरिपरि भरूवा बन्दूक पनि पडकाएका थिए । तैपनि बाछाहरू भकाभक मर्दै थिए र दिनहुँ गाईवस्तुको बथान पातलिँदै गैरहेको थियो ।

ग्रिगौरीले कतै कतै बाछाहरूको चिहान खोस्रिएको भेट्टायो । मासु चपाइएको सिनुका अस्थिपंजर पत्ति यत्रतत्र छरिएका देखिए । साथै गाईवस्तुको बथान रातभरि आराम गर्दैनथ्यो र सारै भयभीत समेत देखिन्थ्यो । रातको सुनसानमा एक्कासि भयानक कोलाहल सुनिन्थ्यो र गाईवस्तुहरू दाम्लो चुँडालेर गोठमा यताउति भौतारिन थाल्थे । कहिलेकाहीँ त कठबार समेत भत्काएर ,उनीहरू हुल बाँदै छाप्रोतिर आउँथे र अगेनोको वरिपरि पल्ट्न्थे । उनीहरू यस्तो बेलामा लामो लामो सास तान्दथे र पागुर उग्राउन थाल्दथे ।

ग्रिगोरीले यसको कुनै भेउ नै बुझ्न सकिरहेको थिएन । तर एक पल्ट राति कुकुरहरूको तीखो भुकाइले गर्दा उ झसंग निद्राबाट ब्यूँझियो । झटपट ज्याकेट लगाएर उ छाप्रोबाट बाहिर निस्कियो । उसको – वरिपरि बाछाबाछीहरू झुम्मिन आइपुगे र शीतले भिजेको चिसो पीठले उसको आङ रगड्न थाले ।

उ, एक छिनसम्म छाप्रोको ढोकैनेर उभिइरह्यो, अनि सुसेलेर कुकुरहरूलाई चुप लाग्न लगायो र यसको उत्तरमा सर्पको गुँड भनिने नजीकैको खोचतर्फबाट ब्वाँसोको तीखो हुँकार सुनियो। डाँडामा उम्रिरहेका काँढाको झाडीबाट पनि फेरि अर्को हुँकार आयो

उ फेरि छाप्रोभित्र नै पस्यो र उसले मट्टीतेलको टकी बाल्यो।
“सुनिस्‌, दुन्या ? ”
ब्वाँसाहरूको हुँकार बिहानका ताराहरूसंगै बिलाएर गयो ।