“घोडा तयार गर !”- जिप्सीहरू र अन्य पाहुनाहरूको साथमा होटलको हलमा पस्नेबित्तिकै ग्राफले कराएर भने । – “साश्का ! जिप्सी साश्का होइन, मेरो साश्का ! जा, घोडा-चौकीको रेखदेखकर्तालाई भन्‌ कि उसले जस्तो पायो उस्तो घोडा दियो भने उसको छाला काढ्नेछु । अनि हाम्रो निम्ति चिया पनि लिएर आइज ! जाभालशेभ्स्की ! तिमी चिया-चिनीको बन्दोबस्त मिलाउँदै गर ! म यसो गएर हेर्छु- इल्यीनको कामको कस्तो चल्दैछ ?” यति भनेर तुर्बीन बाहिर बरण्डामा निस्किहाले र उल्हनको कोठातर्फ फटाफट लम्किए ।

इल्यीनले भर्खरै मात्र तास खेलिसिध्याएको थियो । आखिरी चुनदामसम्म नै आफ्नो सारा रकम उसले हारिसकेको थियो र घोप्टिएर सोफामा पल्टिरहेको थियो । ठाउँ-ठाउँमा फाटिसकेको सोफामा घोडाका रौंहरू प्रशस्त देखिन्ये । इल्यीन एक एक गर्दै घोडाको रौं सोफाबाट टिप्थ्यो र मुखमा हाल्थ्यो, अनि दाँतले टोकेर थुक्ने गर्थ्यो । एउटा टेबुलमा तासका चक्कीहरू छ्याल्लब्याल्ल छरिएका थिए । त्यसै टेबुलमा दुइटा मैनबत्तीहरू बलिरहेका थिए । एउटा मैनबत्ती चाहि तलको कागजसम्म नै बलेर सिद्धिनै आँटेको थियो । मैनबत्तीको मधुरो धिपधिप प्रकाशले झ्यालबाट भित्र पसिरहेको बिहानको उज्यालोसँग संघर्ष गरिरहेको थियो । त्यतिखेर उल्हनको मथिंगल कुनै पनि प्रकारको विचारले शून्य थियो । जुवाको जोशको कारणले गर्दा उसका सम्पूर्ण मानसिक शक्तिहरू धुमिल भैसकेका थिए । उसलाई पश्चात्तापसम्म पनि भइरहेको थिएन । एकपल्ट उसले यस्तो सोच्ने जमर्को चाहिँ अवश्य नगरेको होइन : ‘अब मैले के गर्ने ? आफूसँग त एक कोपेक दाम पनि बाँकी रहेन ! अब यस ठाउँबाट कसरी जाने ? सरकारी पन्ध्र हजार रुबल पनि के गरी तिर्ने ? फौजका कमाण्डरले के भन्लान्‌ ? आमाले के भन्नुहुने हो ? साथीभाइहरूले के भन्ने हुन्‌ ?” अनि आफूप्रति घुणा र भय अनुभव गर्यो उसले । यस्ता कुराहरू आफ्नो मनबाट हटाउन ऊ सोफाबाट जुरुक्क उठ्यो र कोठामा ओहोरदोहोर गर्न लाग्यो । यसरी टहल्दा ऊ कोठाको भुइँमा ठोकिएका फल्याकका जोर्नीहरूमा नै गोडाले टेक्ने प्रयत्न गर्दै थियो । मनमनै उसले एकफेरा ती सबै दाउहरू एक-एक गरेर फेरि सम्झ्यो जुन उसले तासको खेलमा चालेको थियो । सानोतिनो चालको समेत उसलाई सम्झना भएर आयो । एकपल्ट कसरी जित्नै आँटिसकेको थियो भन्ने पनि उसलाई सम्झना भयो । उसले एउटा नहलको पत्ती टिपेको थियो र हुकुमको बादशाहउपर दुई हजार रुबलको दाउ थापेको थियो : दायाँतिर छक्का र बायाँतिर ईटको बादशाह हुँदो हो त उसले आफ्नो साराको सारा रकम फेरि जितिहाल्ने थियो र त्यो रकम दाउमा थापेर अरु पन्ध्र हजार रुबल हात पार्ने थियो । अनि त उसले फौजका कमाण्डरसँग एउटा सवारी घोडा किनिहाल्ने थियो र त्यसमा थप एउटा फिटन-गाडी र एक जोर घोडा पनि किन्ने थियो । अँअरु के नि ? निकै मजा गर्न पाइने थियो ! हो, निकै रमाइलो हुनेथियो !

उ फेरि सोफामा पल्टियो र घोडाको रौं दाँतले चुँड्न थाल्यो । ‘सात नम्बरको कोठामा गाना-बजाना किन हुँदैछ ?’- उसले सोच्यो । – सके तुर्बीन रमझम गर्दै होला ! बरु मैले पनि त्यहीं नै जानुपर्ला र टन्न लाएर घुटक्याउनुपर्ला !’

ठीक त्यसै बेला ग्राफ उसको कोठामा पसे ।

“के त, खल्ती रित्तिएन र ?”- ग्राफले सोधे ।

सुतिरहेको जस्तो बहाना गर्नुपर्यो क्या रे ।’- इल्यीनले सोच्यो । -“नत्र भने मैले उससँग कुरा गर्नुपर्नेछ, तर म भने सापै थाकिसकेको छु ।’

परन्तु तुर्बीन उसको बगलमै आइपुगे र उसको टाउको मुसार्न थाले ।

“के त, खल्ती सबै खाली नै भैहाल्यो र ? एक चुनदाम पनि बाँकी रहेन त ? सबै हारियो कि कसो ? बताऊ, के भयो ?”

इल्यीन चूप लागिरहयो ।

ग्राफले उसको हात ताने ।

“हो, हारेँ ! तिमीलाई यसको के चासो नि ?”- इल्यीनले मसिनो स्वरमा जवाफ दियो । उसको स्वरबाट क्रोध र उपेक्षाको भाव झल्किरहेको थियो । उसले कोल्टे फेर्न समेत चाहेन ।

“के त, सारा रकम हारियो ?”

हो, सर्वस्व नै हारेँ । तर तिमीलाई यस्तो चासो किन नि ?”

“सुन त ! मलाई एक हितैषी मित्र ठानेर सबका सब कुरा बताऊ !”- ग्राफले भने । रक्सीको मातले गर्दा उनको मनमा कोमल भावना जागिरहेको थियो । उनी अझै पनि इल्यीनको कपाल मुसार्दै थिए । “धरोधर्म ! तिमीलाई मैले मन पराउन थालिसकेको छु । मलाई साँचो कुरा बताऊ ! सरकारी पैसा पनि हारिसकेको भए म तिम्रो मद्दत गर्नेछु । हेर है, पछि त “ढीलो भैसक्नेछ ! मौका गुम्न नदेऊ ! लौ, भन ! सरकारी पैसा थियो कि थिएन ?”

इल्यीन सोफाबाट उफ्रेर जुरुक्क उठिहाल्यो ।

“मबाट सब कुरा खुलस्त सुन्न चाहन्छौं भने मसँग यस छाँटले कुरै नगर, किनकि … जस्तो कि … कृपया तिमी मसँग कुरै नगर । … मेरो अगाडि त अब एउटै मात्र बाटो बाँकी छ । आफ्नो कन्चटमा गोली ! बस्‌ !”- ज्यादै निराश भएर उसले भन्यो । अनि दुवै हातले टाउको समातेर बस्यो र सुँक्क-सुँक्क गरेर रुन लाग्यो , यद्यपि केही छिन अघिसम्म चाहिँ एउटा सवारी घोडा किन्ने समेत कल्पना गर्दैथियो ऊ ।

“एहे, तिमी त कुमारी केटीभन्दा पनि पिलन्धरे रहेछौ । खैर, यो सब हामी सबैले भोगिसकेकै कुरा न हो ! अझै पनि मौका बितिसकेको छैन । केही न केही अवश्य सुधार्न सकिन्छ । तिमी यहीं बसेर मेरो प्रतीक्षा गरिरहूँ !”

ग्राफ कोठाबाट बाहिर निस्किए ।
“बिर्तावाल लुखनोभ कुन कोठामा बस्नुहुन्छ हँ !”- होटलको टहलुवासँग उनले सोधे ।

टहलुवा ग्राफलाई कोठामा देखाउन तैयार भैहाल्यो । लुखनोभको नोकरले ऊ भखरै मात्र कोठामा पसेका छन्‌ र लुगा फुकाल्दैछन्‌ भनेर रोक्न खोज्यो । परन्तु ग्राफ सरासर कोठामा पसिहाले । लुखनोभ उपर्ना मात्र लगाएर टेबुलको सामुन्ने बसिरहेको थियो र गँट गन्दै थियो । अगिल्तिर नोटको चाङ नै थियो । टेबुलमा राइन रक्सीको एक बोतल पनि थियो । यो रक्सी बिर्तावाललाई खुबै मन पर्थ्यो । यति ठूलो रकम जितेको खुशियालीमा उसले त्यस दिन अलि ऐशआराम गर्ने अनुमति आफूलाई दिएको थियो । लुखनोभले चश्माभित्रबाट ग्राफतर्फ यस्तो तीखो र उपेक्षापूर्ण नजरले हेर्यो, मानौं उसले ग्राफलाई चिन्दै पनि नचिनेको होस्‌ ।

“सके तपाईंले मलाई चिन्नुभएन क्या रे ?” – ग्राफले दुढतापूर्वक सोझै टेबुलतर्फ लम्केर भने ।

लुखनोभले ग्राफलाई चिनिहाल्यो ।

“के कामले पाल्नुभो ?” – उसले सोध्यो ।

“म तपाईसँग खेल्न -चाहन्छु !”- सोफामा बस्दै तुर्बीनले भने ।

“यस बेला ?”

“हो ।”

“कुनै अर्कोपटक म तपाईंसँग खुशीसाथ खेलुँला, ग्राफ ! तर अहिले चाहिँ म साह्रै थाकेको छु र अलि आराम लिन चाहन्छु । अँ, अलिकत्ति रक्सी ! असल रक्सी !”

“म अहिले नै अलिकत्ति खेल्न चाहन्छु ।”

“आज त खेलबाडको उति इच्छा छैन । हुन सक्छ, अरु कोही खेल्न चाहनेहरू अवश्यै होलान्‌ । म चाहिं खेल्न सक्तिनँ हुँला, ग्राफ ! आशा छ, तपाईं मलाई माफ गरिदिनुहुनेछ !”

“के त खेल्नै चाहनुहुन्न र ?”
लुखनोभले आफ्नो कुम बिस्तारै हल्लायो, मानौं ग्राफको इच्छा पूरा गर्न नसकिएकोमा खेद प्रकट गरिएको होस्‌ ।

“के खेल्दै नखेल्ने त ?”

“म तपाईसँग विशेष अनुरोध गर्दैछु । … कसो ? खेल्नुहुन्छ, हैन त ?”

लुखनोभ चूप लागिरहयो ।

“खेल्ने कि नखेल्ने ?”- ग्राफले फेरि सोधे ।- “हेर्नुस्‌ ! राम्ररी विचार गरेर जवाफ दिनुहोस्‌ !”

लुखनोभ फेरि पनि चूप लागिरह्यो र चश्माको माथिबाट ग्राफको अनुहारतर्फ पल्याकपुलुक हेर्न लाग्यो । ग्राफको अनुहार मलिन हुँदै गइरहेको थियो ।

“खेल्ने कि नखेल्ने ?”- ग्राफले ठूलो स्वर निकालेर सोधे र टेबुलमा यति जोडसित मुड्कीले हाने कि रक्सीको बोतल ढल्यो र रक्सी पनि पोखियो ।- “तपाईंले छलकपट गरेर जित्नुभएको हैन र ? लौ, भन्नोस्‌ ! खेल्ने कि नखेल्ने ? म अन्तिमपल्ट सोध्दैछु ।”

“खेल्दिनँ भनेर त मैले भनिहालें नि ! तपाईंको छाँटकाँट निकै अनौठो छ, ग्राफ ! भलादमीहरू यसरी भित्र घुस्दैनन्‌ र घाँटीमा तरवारको टुप्पोले थिचेर धम्की पनि दिंदैनन्‌ !” ग्राफतर्फ हेर्दा पनि नहेरेर लुखनोभले भन्यो ।

त्यसपछि केही बेर दुबै मौन रहे । त्यसबेला ग्राफको अनुहार झन झन्‌ धुस्रोफुम्रो हुँदै गइरहेको थियो । एकाएक लुखनोभको टाउकोमा जोडले एक घुस्सा बज्रियो र ऊ रन्थनिएर सोफामा बुङ्ग ढल्यो । उसले नोटको बीटा समात्ने प्रयत्न गर्यो र निकै जोडले करायो पनि । उ जस्तो शान्तर गम्भीर मान्छे पनि यति जोडले कराउन सक्छ होला भन्ने त कल्पना समेत हुँदैनथ्यो । तुर्बीनले टेबुलबाट नोटको बीटा उठाए र आफ्नो मालिकको चित्कार सुनेर दगुर्दै भित्र पसेको नोकरलाई एकातिर धकेल्दै ढोकाबाट फुत्त बाहिर निस्के ।

“यदि द्वन्द्वयुद्ध नै चाहनुहुन्छ क्षने म तपाईंको सेवामा तत्पर रहनेछु । अझै आधा घण्टा त म कोठैमा हुनेछु ।” – फेरि लुखनोभको कोठाको दैलोतिर फर्केर ग्राफले भने ।

“चोर ! लुटेरा !” -कोठाभित्रबाट आवाज आयो । -“म तँलाई झ्यालखानामा जाक्न लगाउनेछु !”

इल्यीन अझै पनि निराश भएर सोफामै पल्टिरहेको थियो । हिक्क हिक्क गरेर रोइरहेको थियो ऊ ! कामकुरो मिलिहाल्नेछ भन्ने ग्राफको कुरामा उसलाई पटक्कै विश्वास थिएन । पहिले उसको मनमा एक प्रकारको अन्यौल छाएको थियो र नाना थरीको तर्क-वितर्क गर्दै थियो । परन्तु ग्राफको सहानुभूतिपूर्ण कुराले उसको मनमा गहिरो असर पारेको हुँदा उसलाई आफ्नो वास्तविक स्थितिको स्पष्ट बोध हुन थालेको थियो । उ के सोच्दै थियो भने जीवनमा के के न गरिने आशा राखिएको उसको यौवन, उसप्रति साथीभाइहरूको आदरभाव, आत्मसम्मान, प्रेम र मित्रताको सारा सपना सदाको लागि माटोमा मिलिसकेको थियो । आँसुको बलिन्द्रधारा अब सुकिसेको थियो । झन्‌- झन्‌ गहिरो निराशा छाउँदै गइरहेको उसको मनमानसमा आत्महत्याको विचारले गहिरो जरा गाड्दै लगिरहेको थियो । आत्मघातप्रति घुणा र भयको भाव अब उसको मनमा उठ्न छोडिसकेको थियो । ठीक त्यसै बेला ग्राफको दरिलो पदचापको आवाज सुनियो ।

तुर्बीनको अनुहारमा क्रोधको चिन्ह अझै पनि देखिन्थ्यो । उनका हातहरू अझसम्म पनि कामिनै रहेका थिए । परन्तु उनका आँखा चाहिं प्रसन्नता र आत्मसन्तोषको भावनाले चम्किरहेका थिए ।

लौ, मैले जितेर ल्याएँ !”- टेबुलमा नोटको बीटा फ्याँकेर ग्राफले भने गनि हेर ! सबै रकम छ कि छैन ? अनि तुरुन्त हलमा आइहाल ! म अहिले नै गइरहेको छु । – उनले थपे । अनि उल्हनको अनुहारमा अपार कृतज्ञता र खुशीको भाव आफूले देखिसकेको भान नपर्ने किसिमबाट अरु केही पनि नभनेर उनी कुनै एउटा जिप्सी धून गुनगुनाउँदै कोठाबाट निस्किहाले ।