वास्तवमा त्यो ग्राफ नै थियो । युवतीको चित्कार सुनेर पाले पनि खोक्दै कठबारनेर आइपग्यो । यो देखेर ग्राफ तुरुन्तै त्यहाँबाट भाग्यो र शीतले भिजेको घाँसमा टेक्दै सरासर बशैंचाभित्र पस्यो । चोरी गर्दागर्दै पक्राउमा परेको जस्तो अनुभव भइरहेको थियो उसलाई । “कस्तो मूर्ख रहेछु म पनि !’- उसले मनमनै विचार गर्यो ।-‘मैले त बित्थामा उसलाई तर्साइ पो दिएछु ! मैले ज्यादै सतर्क हुनुपर्ने थियो । आवाज दिएर उसलाई व्यूँझाउनुपर्ने थियो । अरे, म कस्तो गधा रहेछु !’ क एक ठाउँमा अडियो र कान ठाडो पारेर आवाज सुन्न थाल्यो । पाले ढोका खोलेर बगैंचामा पसिसकेको थियो । बलौटे गोरेटोमा घोचा लतार्दै हिडिरहेको थियो । ग्राफले लुक्नु जरुरी थियो । ऊ तलाउतर्फ झर्यो । भ्यागुताहरू तर्सिएर उसका गोडामुन्तिरबाट तलाउतर्फ उफ्रन लागेका थिए । ऊ झस्किरहेको थियो । उसका गोडा पनि निथ्रुक्कै भिजिसकेका थिए । जे भए पनि ऊ त्यहीनेर भुईमा टुक्रुक्क बस्यो र मनमनै सारा घटनाहरूको सम्झना गर्न लाग्यो: ‘म कठबार नाघेर भित्र पसेको थिएँ, अनि लीजाको झ्याल पत्ता लगाएँ र आखिर मैले उसको सेतो आकृति पनि देखिहालें । म चाल मारेर त्यसको नजीक पुगें । अलिकति पनि आवाज सुन्नेबित्तिकै म फर्किहाल्थेँ । यसरी धेरैपल्ट ओहोर-दोहोर गरियो । झ्यालनेर पुग्थे र फेरि फर्कन्थें । लीजा मेरै प्रतीक्षा गर्दैछै भन्ने कहिले मलाई पक्का विश्वास हुन्थ्यो त कहिले चाहिं उसलाई निकै बेरसम्म कुराइराखेकोले ऊ मसित रीसले चूरचूर भैसकेकी होली भन्ने पनि लाग्थ्यो । परन्तु छिटै नै यो असम्भव लाग्न थाल्थ्यो र मेरो विचार बदलिन्थ्यो । त्यो जस्ती ठिटी यति चाँडै प्रेममिलनको लागि तैयार भैहाल्ली भन्ने पत्यार हुँदैनथ्यो । यो गाउँले केटी लज्जाइरहेकी छे र निदाएको बहाना गर्दैछे भन्ने आखिर मैले ठानें र यसको छेउमा पुगें । तर ऊ वास्तवमा नै मस्तसँग निदाइरहेकी थिई । किन हो कुन्नि, म त्यहाँबाट तुरुन्तै फर्किहालें, तर आफ्नो काँतरपनामा आफैँलाई लाज लाग्न थाल्यो । म तुरुन्तै झ्यालनेर फर्के र च्याप्प उसको हात अँठ्याउन पुगें ।’ पालेले फेरि एकपल्ट खोक्यो र ढोका थुनेर बगैंचाबाट बाहिर निस्कियो । लीजाको कोठाको झ्याल पनि ढ्याम्म थुनियो र भित्रबाट त्यसमा चुकुल पनि हालियो । ग्राफ मनमनै असाध्यै कुढियो । यस्तो मौका फेरि पाइयो भने त यस किसिमको मूर्खता कदापि पनि गरिने थिएन भन्ने उसले सोच्यो ।…’कति हिसी परेकी छे ! भर्खरकी तरुनी ! षोड्षी हो षोड्षी ! हातमा परिसकेको मौका पनि गुमाएँ ! कस्तो गधा रहेछु म ?’-ऊ सोच्दै थियो । उसको निद्रा पनि हराइसकेको थियो । रीसले चूर भएर टकटक पाइला सार्दै ऊ लाइमका रुखहरू रोपिएको उद्यानपथमा लम्किरहेको थियो ।

परन्तु त्यस शान्त र निस्तब्ध रातबाट र जस्तो मान्छेले पनि शान्तिको उपहार पायो । उसको हृदयमा सान्त्वनापूर्ण उदासीनता र प्रेमको लालसाले भरिपूर्ण थियो । कच्ची बाटोमा ठाउँठाउँमा घाँस र सुकेका डाँठहरू देखिन्थे । बाटो टाटेपाङरे देखिन्थ्यो । लाइमका रुखहरूका घना पातहरू छिचोलेर जूनको धमिलो प्रकाश त्यहाँ परिरहेको थियो । कुनै बाङ्गोटिङ्गो हाँगामा एकातिर छड्के टक परेर सेतो झ्याउले ढाकिएको जस्तो प्रतीत हुन्थ्यो । ज्योत्स्नामा लुटपुटिएका पातहरू कहिलेकाहीँ एक अर्कासँग खासखुस गर्न थाल्थे । घरका सबै बत्ती निभिसकेका थिए । जताजतै मौनता छाएको थियो । त्यस असीमित, निस्तब्ध र झकमक वातावरणमा फगत्‌ बुलबुल चराको स्वरमा धुरी मात्रै गुञ्जिरहेको सुनिन्थ्यो । ‘आहा ! कस्तो मनोरम रात ! कस्तो चकमन्न रात !’ -बगैंचाको मगमग वास्नादार ताजा हावामा सास फेर्दै ग्राफ विचार गर्दै थियो । -‘तर केही नपुगेको जस्तो लाग्छ ! मानौं म आफूसित, अरुसित र जीवनसित नै असन्तुष्ट होऊँ ! ठिटी त सापै मायालु र सूधी छे । सके साँच्ची नै रिसाएकी होली !…’ यहाँनेर पुग्दा उसको कल्पनाले पखेटा हालिहाल्यो । यस ग्रामीण युवतीको साथमा आफूलाई ऊ बगैंचामा विचित्र-विचित्रका विभिन्न स्थितिहरूमा देख्न लाग्यो । पछि त्यस युवतीको स्थान मिनाले लिई । “म पनि कस्तो मूर्ख त ! सोझै उसको बारुले कमर अँगालेर ओंठमै म्वाइँ खानुपर्थ्यो मैले !-यसरी पछुताउँदै ग्राफ आफ्नो कोठामा फर्क्यो ।

कोरनेट अझै सुतेको थिएन । उसले तुरुन्तै कोल्टे फेर्यो र ग्राफतर्फ मुख पार्यो ।

“के तिमी अझै सुतेका छैनौ ?”-ग्राफले सोध्यो ।

“छैन ।”

“के भयो, बताउँ तिमीलाई ?”

“बताऊ !”

“हैन मैले नबताउनु नै ठीक होला ।…तर बताइदिन्छु ! अलि पल्तिर सर न !” ग्राफ कोरनेटको खाटमा बस्यो । उसका ओठमा मुस्कानको रेखा देखिन्थ्यो । आफ्नो हातबाट गुमेको मौकाको बारेमा समेत अब उसलाई कत्ति पनि दुःख लागिरहेको थिएन ।

“तिमीलाई पत्यार नलाग्ला, तर मैयाँ त मसँग प्रिय मिलनको लागि राजी भैसकेकी थिई ।”

“के गफ हाँक्छौ हँ !”- पोलोजोभले कराएर भन्यो र पलङबाट जुरुक्क उठ्यो ।

“लौ, सुन !”

“कसरी ? कहिले ? हुनै सक्तैन !”

“जतिखेर तिमीहरू हार-जीतको हिसाब लगाउँदै थियौ त्यसै बखत उसले मलाइ राति झ्यालमा बसेर मेरो प्रतीक्षा गर्ने संकेत दिएकी थिई । झ्याल चढेर भित्र पस्न सकिने कुरा पनि उसले बताएकी थिई । व्यवहारकुशलताले मान्छेलाई यस्तै लाभ हुन्छ । यता तिमी बुढियासँग बसेर हिसाब जोड्दै थियौ, उता म चाहिँ त्यो कामकुरो मिलाउँदै थिएँ । तिमी आफैले त सुनेका थियौ नि उसले भनेको कुरा ! आज राति झ्यालनेर बसेर तलाउतिर हेरिरहनेछु भनेर उसले भनेकी थिइन र ?”

“हो, यो त उसले भनेकी थिई !”

“गाँठी कुरो यही त हो ! मलाई थाहा छैन, उसले जानीबुझी यो कुरा भनेकी थिई वा अनजानमा नै भनेकी थिई ! सके उसले एकैपल्टमा यो नचाहेको होस्‌, तर उसको आशय त यस्तै हुन आउँछ । सारा कुराको अन्त्य चाहिँ अनौठो हुन गयो । मबाट बडो मूर्खता हुन गयो ।”- उसले थप्यो । उसका ओठमा पश्चात्तापको भाव झल्कने खालको मुस्कान देखियो ।

“अनि के भयो ? यतिका बेरसम्म तिमी कहाँ थियौ नि ?”

ग्राफले सारा घटना जस्ताको तस्तै बतायो । खालि झ्यालसम्म पुग्नुभन्दा पहिले आफ्नो दुविधा र अनेकपल्टको ओहोर-दोहोरको चाहिं उल्लेख गरेन उसले ।

“मैले आफैँ सबै काम बिगारेँ । मैले अलि आंटिलो हुनुपर्थ्यो । ऊ जोडले कराई र झ्यालबाट उठेर भागिहाली ।”

“कराएर भागिहाली !”- कोरनेटले दोहोर्याएर भन्यो । ग्राफ मुसुमुसु हाँसिरहेको देखेर ऊ पनि अप्ठ्यारो मान्दै मुस्कुरायो । ग्राफको मुस्कानबाट ऊ ज्यादै गहिरोसित प्रभावित भैहाल्थ्यो ।

“हो ! लौ, अब सुत्नु पनि पर्ला !”

कोरनेटले फेरि कोल्टे फेर्यो । ढोकातिर पीठ फर्काएर ऊ दस मिनेट जति चूपचाप पल्टिरहयो । उसको अन्तरात्मामा त्यतिखेर कस्तो आँधीबेरी चलिरहेको हँदो हो त्यो त दैव नै जानोस्‌ ! तर जब उसले अर्कोपल्ट कोल्टे फेर्यो त्यतिखेर उसको मुखमा गहिरो बेदना र दृढ सङ्कल्पको छाप देखिन्थ्यो ।

“ग्राफ तुर्बिन !” उसले कर्केर बोलायो ।

“के भो? होशमा छौ कि छैनौ ?”- ग्राफले शान्त स्वरमा सोध्यो । – “किन हँ, कोरनेट पोलोजोभ ?”

“ग्राफ तुर्बीन ! तिमी अधम मान्छे रहेछौ !”- पोलोजोभले कराएर भन्यो र पलङबाट जुरुक्क उठ्यो ।