साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मान्छेको भाग्य र दोनका कथाहरू भाग १५

week 15

उसका ब्लाउज चयातिएको हुन्थ्यो र गहभरि आँसु भरिएको हुन्थ्यो। म उसको छातीमा टोकेको र चिथोरेको आलो घाउ देख्थे… । एक दिन साँझपख मालिकले मलाई डाक्टर बोलाउन पठाए । डाक्टरको कुनै आवश्यकता नभएको कुरा मलाई थाहा थियो र डाक्टर बोलाउन मलाई नै पठाउनुको कारण के हो भन्ने पनि मैले अनुमान लगाइहालें । त्यसैले म स्तपीमैदानमा रात पर्खेर बसे र सरासर फर्केर आएँ। गल्छडोबाट मौजामा पसेँ, घोडाहरूलाई बगैंचामा नै छोडिदिएँ र हातमा कोर्रा लिएर नोकर-चाकरहरू बस्ने खण्डको आफ्नो सानो कोठातिर लम्किएँ। ढोका खोलेर म भित्न पसेँ। जानाजानी झरो पनि बालिनेँ। खाटमा कुस्ताकुस्ती परिरहेको सुनिहालेँ …। मेरा मालिक झटपट खाटबाट उठ्ने बित्तिकै मैले कोर्रा चखाएँ उनलाई ! कोर्राको दुप्पोमा शीशाको सानो डल्लो झुण्ड्याइएको थियो …। उनी घिस्रँदै झ्यालतर्फ गए । मैले अँध्यारोमा फेरि उनको पुर्पुरोमा दिएँ अरू दुई दनक ! झ्यालबाट हामफालेर उनी कुलेलम भए। मैले स्वास्नीलाई पनि एक दुई चपेटा चखाएर, सुत्न गएँ । त्यसको पाँच दिन जतिपछि हामी गाउँमा सफर गर्न निस्कियौं। म बग्गीमा कम्बल मिलाउँदै थिएँ, मालिक चाहिँ मेरो कोर्रा हातमा लिएर त्यसको टुप्पो निहारेर हेर्न थाले। उनले कोर्रालाई निर्के बेर हातमा खेलाए, अनि शीशाको डल्लो औंलाले छाम्दै उनले सोधे –

“ए -तँ, कुक्कुरको छाउरो ! किन तैँले कोर्राको टुप्पोमा शीशाको डल्लो बाँधेको हँ ?”

“हजुरले नै त मर्जी भएको हौँ !” मैले जवाफ दिएँ।
उनले त्यसपछि कुनै सवालजवाफ गरेनन्‌ । बाटोभरि उनी चूप लागिरहे । पहिलो पानीपनेरोनेर पुगेपछि उनी दाँत टम्म जोर्दै सुसेल्न लागे ! मैले पछिल्तिर फर्केर उनमाथि छड्के नजर दिएँ। उनले कपालको बुल्बुली निधारसम्म ,झारेर कोरेका थिए र टोपी पनि निकै तलसम्म ढल्काइएको थियो ….।

दुई वर्ष जति पछि पक्षाघातले उनी थला परे। हामीले उनलाई उस्त-मेदभेदिच्चा पुर्यायौं । डाक्टरहरूलाई बोलायौं । डाक्टरहरू आइपुग्दासम्म उनी भुइँमा पल्टिरहे। उनको अनुहार कालोनीलो भैसकेको थियो । उनले खल्तीबाट सय सय रूब्‌लका नोटहरूको एक क्याँट नै झिकेर हामीतर्फ फ्याँक्तै गुनगुनाउँदै भनेका थिए-

“ए,, सुंगुरका पाठा हो ! राम्ररी औषधि गर ! भए भरको सम्पत्ति दिउँला ! ”

तर धनसम्पत्तिले केही लछानै सकेन। उनी आखिर मरेरै गए। उनको आत्मालाई भगवानले शान्ति देऊन्‌ ! उनको सारा मौजा उनका छोराले पाए जो अफिसर थिए। सानै छँदा ऊ कुक्कुरका छाउराहरूलाई जिउँदै छाला काढेर आगनमा छोडिदिने गर्थ्यो। हूबहु आफ्नै बाबु जस्तो थियो। उमेरदार भएपछि उसको उपद्रव गर्ने बानी छुट्यो । उ ज्यादै अग्लो र दुब्लो थियो र आँखा वरिपरि जहिले पनि आइमाईको जस्तै कालो घेरा देखिन्थ्यो …। नाकमाथि जहिले पनि सुनौला चश्मा लगाइराखेको हुन्थ्यो र चश्मा एउटा छोटो डोरीमा बाँधिएको हुन्थ्यो । जर्मेनविरुद्ध युद्धढो समयमा उ साइबेरियामा युद्धबन्दीहरूको तैनाथवाला थियो र क्रान्तिपछि चाहिँ ऊ फेरि हाम्रै, इलाकामा फर्केर आएको थियो । त्यस बेलासम्म मेरा नातिनातिनीहरू हुर्किसकेका थिए र मेरो छोरो चाहिँ मरिसकेको थियो। जेठो नाति सेम्योनको बिहे गरिदिइसकेको थिएँ र कान्छो आनिकेइ चाहिं अझै कुमारकेटो नै थियो। म पनि हनीहखूसंगै बसेको थिएँ र जीवनको फुस्केको पुछारलाई बलियो गाँठो पारेर बाँध्दै थिएँ…। वसन्तमा गर्को क्रान्ति भयो । हाम्रा गाउँले किसानहरूले तन्नेरी मालिकलाई उनको मौजाबाट धपाइदिए । त्यसै दिन सेम्योनले मालिकको जग्गाजमीन बाँडेर लिन र धनसम्पत्ति पनि उठाएर आफ्नो, घरमा लैजान किसानहरूलाई प्रेरित गर्यो। यस्तै गरियो पनि धनसम्पत्ति सबैले बाँडचुँड गरेर लिए , जग्गाजमीन चाहिं भागबण्डा गरेर खनजोत गर्ने थाले। एक हप्ता जतिपछि वा त्यसभन्दा पनि छिटो मालिक काजाक फौजको साथमा आउँदै छन्‌ र हाम्रो गाउँका सबै किसानहरूको कल्लेआम गरिने छ भन्ने हल्ला गाउँभरि फैलियो । तुरून्त गाउँमा सभा बोलाइयो र तुरून्त हातहतियार ल्याउन दुई गाडा पनि स्टेशनतर्फ पठाइयो । इस्टरको सातामा नै हामीले लाल सैनिकबाट हातहतियार पायौं र तोपोलेभ्कावरिपरि ट्रेन्च पनि खनियो । मालिकको पोखरीसम्म नै ट्रेन्चको खाई खनिएको थियो ।

देख्यौ , ऊ त्यहाँ बनतुलसीका बोटहरू उम्रिरहेका ! ऊ त्यो खोल्सोपारि नै तोपोलेभ्कावासीहरू ट्रेस्चमा पल्टिएका थिए। मेरा नातिहरू – सेम्योन र आनिकेइ पनि त्यहीँ नै थिए आइमाईहरूले बिहानै उनीहरूको लागि केही खाने कुरा ट्रेन्चमै पुर्याएका थिए, तर मध्यान्हतिर डाँडामा घोडचढीहरू देखिए तिनीहरूले तत्कालै धावा गरिदिए। तिनीहरुले उजाएको तरवार जगमग चम्किएर नीलो देखियो । हाम्रो आगनबाटै मैले सेतो घोडामा सवार भएको तिनीहरूको नाइकेलाई देखेको थिएँ। उसले तरवार उजाएर घोडा दौडाउनासाथ घोडचढीहरू बोराबाट केराउँका गेडाहरू गुडे झैं गरी डाँडाबाट तलतिर हुरिए । चालढालबाट मैले मालिकको सेतो घोडालाई चिन्हिहालें र त्यसमा को सवार छ भन्ने पनि चाल पाइहाले …..। दुई पल्ट हाम्रा मान्छेहरूले उनीहरूको धावा रोकेका थिए, तर तेस्रो पल्ट काजाकहरूले पछिल्तिरबाट हमला गरे, छलकपट गरेर जिते । अनि साँच्चीकै मारकाट शुरू भयो…। घाम पनि डुब्यो , लडाइँ पनि सिद्धियो। म घरबाट बाहिर सडकमा निक्लिएँ । घोडचढीहरू एक बथान हाम्रा मान्छेहरूलाई पाटा कसेर मालिकको घरतिर धपाउँदै लगिरहेका थिए। म पनि लौरो हातमा लिएर त्यतैतिर लागें ।

आगनमा हाम्रो तोपोलेभ्कावासीहरू भेडाका बथान झैँ एकै ठाउँमा राखिएका थिए। चारैतिर काजाकहरूले घेरा दिएका थिए… । मैले उनीहरूनेर गएर भने-

“ठीटा हो ! मेरा नातिहरू कहाँ छन्‌ ? बताइदिनसक्छौ कि ?”

बथानको बीचबाट दुबै जनाले एकै स्वरमा उत्तर दिए । यसरी मैले उनीहरूसंग कुराकानी गर्न पाएँ। त्यसपछि मैले मालिकलाई घरबाहिर निस्किरहेको देखेँ ।

“ए, बूढाबा जाखार पो? ”-उनले मलाई देख्नासाथ कराएर भने ।

“हो, हजूर ! ”-मैले जवाफ दिएँ।

“के गर्दै छौ नि यहाँ ?”

म सिंढी चढेर माथि उक्लिएँ र घुँडा टेकेर निहुरिएँ।

“नातिहरूको ज्यान बचोस्‌ , मालिक ! माफ गरिबक्सियोस्‌ हजूर ! मैले जीवनभर हजूरको बुवाको चाकरी गरेको थिएँ ! ईश्वरले उनको आत्मालाई शान्ति देऊन्‌ ! मैले निमकको सोझो चिताएर चाकरी गरेको नबिर्सिबक्सियोस्‌ , हजूर ! यो बुढेस कालमा दया रहोस्‌, प्रभु ! ”

मेरो यस्तो बिन्तीभाउको उत्तरमा उनले भनेका थिए-

“सुन, बुढाबा जाखार ! तिमीले मेरो बुवाको जुन सेवा गर्यौ त्यसको लागि म तिम्रो कदर गर्छु। तर तिम्रा नातिहरूलाई म माफी दिन सक्तिनँ । तिनीहरू एक नम्बरका विद्रोही हुन्‌ । त्यसैले , बूढाबा , चित्त नदुखाऊ ! ”

मैले सिंढी चढेर मालिकको गोडामै चुमें ।

 

लेखक परिचय

कृष्णप्रकाश श्रेष्ठ नेपालीमाझ रूसी साहित्य परिचित गराउने प्रख्यात अनुवादक हुनुहुन्छ । उहाँले कयौँ वर्ष रूसमा नेपाली भाषाको रेडियो कार्यक्रम प्रस्तोताका रूपमा कार्य गर्नुभयो ।

प्रतिक्रिया
Loading...