भागः १३

भोलिपल्ट अश्वारोही दल त्यहाँबाट रमाना भयो । अफिसरहरू आफ्ना आतिथेयहरूसित बिदाबारी नै नभएर उठेर हिंडे । आपसमा पनि उनीहरू एक दोस्रोसँग कुराकानी गरिरहेका थिएनन्‌ । पहिलो बासमा नै आपसमा द्वन्द्वयुद्ध लड्ने उनीहरूले निश्चय गरिसकेका थिए । ग्राफले कप्तान शुल्जलाई आफ्नो सेकुन्दान्त (सेकुन्दान्त-सन्देशवाहक वारेस ।- अन्‌.) रोजेको थियो त्यो कप्तान नामूद घोडचढी मानिन्थ्यो र पल्टनका सबै हुस्सारहरूको प्रिय पात्र थियो । उसले बडो चतुरतापूर्वक सब कुराको प्रबन्ध गर्यो र द्वन्द्धयुद्धको कुरा त्यसै टरेर गयो । यतिमात्र होइन, सारा पल्टनमा कसैलाई पनि यस कुराको सुइँकोसम्म पनि हुन सकेन । हुन त तुर्बीन र पोलोजोभ अब पहिलेका जस्ता खूब मिल्ने साथी त रहन गएका थिएनन्‌, तर एक अर्कालाई पहिले झै ‘तिमी’ भनेर नै सम्बोधन गर्नेगर्थे र भोजभतेर तथा तासका खेलहरूमा कहिलेकाही उनीहरूको भेटघाट पनि हुन्थ्यो ।

सन्‌ १८६५