रुसमा बसेर नेपाली साहित्य र अनुवाद वाङ्मयमा दीर्घकालीन सेवा पुर्याउनुभएका स्वर्गीय स्रष्टा कृष्णप्रकाश श्रेष्ठको सम्झनामा स्मृति ग्रन्थ प्रकाशनमा आएको छ । सुरेन उप्रेती, हिक्मत थापा र डा. मनुमूर्ति भुर्तेलको सम्पादन तथा प्राडा. हेमनाथ पौडेल र जीवा लामिछानेको अतिथि–सम्पादनमा स्मृति ग्रन्थलाई गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले प्रकाशनमा ल्याएको हो ।
स्मृति ग्रन्थमा श्रेष्ठसँग सङ्गत गर्नुभएका केदार वाशिष्ठ, कृष्ण धरावासी, गोविन्द गिरी प्रेरणा, प्राडा. गोविन्दराज भट्टराई, चन्द्रकान्त आचार्य, प्रा. जगत् उपाध्याय प्रेक्षित, जीवा लामिछाने, तात्याना चे (चेग्लोभा), तेजप्रकाश श्रेष्ठ, दिनेश अधिकारी, धनराज गिरी, डा. नाज सिंह, डा. नेत्र एटम, नेल्ली पन्तिलेइभ्ना स्तेपानोभा, प्रकाश पौडेल माइला, डा. मधु माधुर्य, डा. मनमूर्ति भुर्तेल, मारिना श्रेष्ठ, डा. मुकुन्द पथिक, राजेन्द्रबहादुर अधिकारी, डा. श्याम उपाध्याय, सुरेन उप्रेती, सूर्यकिरण गुरुङ, डा. सूर्यप्रकाश पौड्याल, हिक्मत थापा, हिरण्यलाल श्रेष्ठ र प्राडा. हेमनाथ पौडेलका श्रेष्ठमाथि लेखिएका निबन्धहरु सङ्ग्रहित छन् ।
माघ ८ गते शनिबार जुममार्फत् एक कार्यक्रमको आयोजना गरी कृतिको लोकार्पण गरिदैछ ।
काठमाडौँको थानकोटमा रामबहादुर र तेजकुमारीको कोखबाट १९९४ मा जन्मिनुभएका कृष्णप्रकाश श्रेष्ठले नेपाल र रूस जोड्ने महाअभियान चलाउनुभएको थियो, साहित्य अनुवादमार्फत । उहाँले नेपाली साहित्यका चर्चित कृतिहरू (मुनामदनदेखि अन्य चर्चित रचनाहरू) पनि रूसी भाषामा अनुवाद गर्नुभएकाे छ ।
भारतको पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्य र अर्थशास्त्रमा स्नातक उहाँ नेपाल फर्किएलगत्तै त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्ने तयारी हुनुहुन्थ्याे । फुर्सदको समयमा अमेरिकन लाइब्रेरीमा गएर पढ्ने उहाँमा त्यसबेला त्यहाँ आएका पत्रपत्रिकामा रूसी अन्तरिक्ष विज्ञानको प्रगति पढेर रूसप्रति ठूलो प्रभाव पर्न गयो ।
सन् १९६० जनवरी १३ मा रूसमा अध्ययन गर्न मस्को पुग्नुभएका उहाँले एक वर्ष त्यहाँको भाषा शिक्षा लिनुभएकाे थियो । उहाँ रूस जानुअघि नै नेपाली, नेपालभाषा, हिन्दी, अंग्रेजी, संस्कृतजस्ता भाषा लेख्नपढ्न जान्ने हुनुहुन्थ्याे । रूस पुगेपछि उहाँको भाषामा रूसी ज्ञान पनि थपियो ।
केही समयमै उहाँले भाषा र पत्रकारिताको पारंगतताका कारण रेडियो मस्कोमा आधा घण्टे नेपाली कार्यक्रम बनाउने जिम्मेवारी पाउनुभयो । सन् १९६३ ताका रेडियो कार्यक्रम शुरू गर्दा नीलाम्बर आचार्यसमेत शुरूवाती कार्यक्रम सञ्चालक हुनुहुन्थ्याे । रेडियोमा उहाँले ४० वर्षसम्म काम गरेर अवकाश लिनुभएकाे थियो ।
सन् २००५ मा उहाँको योगदान महसुस गर्दै जगदम्बा सम्मान पनि प्रदान गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।