२८
“अनौठो कुरा ! म कोठाबाट बाहिर निस्के र चिर-परिचित चोटाकोठा चहार्दै अगाडि लम्किएँ । त्यतिखेर पनि केही भएको छैन भन्ने आशा मेरो मनमा संचार भैरहेको थियो । परन्तु डाक्टरी औँषधिहरूको तिक्खर गन्ध मेरो नाकमा पस्यो यडोफार्म, कार्बोलिक एसिड इत्यादि । हैन, घटना त ङटेके हो । केटाकेटीहरूको कोठानजिकैबाट दलानमा जाँदाजाँदै मैले लीजालार्इ देखेँ ऊ काँतर आँखालेे मतर्फ हेर्दैथिर्इ । पाँचैजना केटाकेटीहरू त्यहाँ लहरै उभिएर मलाई भान परिरहेको थियो । म दैलोनेर पुगें । सुसारेले भित्रबाट दैलो खोलिदिर्इ र आफचाहि फुत्त बाहिर निस्की । मेरो नजरमा परेको पहिलो कुरा थियो – मेचमा राखिएको फिका बदामी रङ्गको जम्फर । त्यो रगतको दागले एकदमै कालो देखिन्थ्यो । हाम्रो पलङमा, अझ मेरै बिछ्यौनामा मेरी पत्नी घुँडा खुम्च्याएर पल्टिराखेकी थिई । हुन पनि मेरो बिछ्यौनामा सजिलैसँग पुगन सकिन्थ्यो । ऊ एउटै मात्र तकिया हालेर लतमन्न पल्टिराखेकी थिई र उसले तनो खोलिएको चोलो मात्र लगाइराखेकी थिई । घाउमाथि कुन्नि के हो राखिएको थियो । कोठामा आयडोफार्मको तिक्खर गन्ध फैलिरहेको थियो । खासगरी र सबभन्दा बढी त मलार्इ उसको सुनिएको र रगत निखेर नीलो भैसकेको अनुहार देखेर उदेक लाग्यो । नाकको डँडाल्नी र आँखामुन्तिर चाहिँ नीलडाम परेको थियो । मलार्इ उसले रोक्न खोज्दा त्यो चोट लागेको थियो ।
उसको अनुहारमा सौन्दर्य भन्ने कुरा एक फुट्टी पनि थिएन, बरु मलाई त त्यो ज्यादै कुरुप पो लागेको थियो । म दैलोको संघारनेरै टक्क अडिएँ ।
“हिड्नोस् ! उसनेर जानोस् !” – सालीले मलाई भनी ।
‘अँ, सके उसले पश्चात्ताप गर्न चाहेकी होली ।’ – के क्षमा गरिदिने त ? भैगो ऊ मर्नै आँटिसकेकी छे र उसलाई क्षमा पनि गर्न सकिन्छ ।’ – मैले क्षमाशील हुने प्रयास गर्दै बिचार गरें । म उसको छेवैमा पुगे । उसले बडो मुश्किलसित मतर्फ पुलुक्क हेरी । एउटो आँखो त चोट लागेर जखमी नै भैसकेको थियो । अनि सकी नसकी बीच बीचमा अडिँदै उसले भनी –
“तपाईंको मनोकांक्षा पूरा भयो । … आखिर मारेरै छोड्नुभो । …” उसको अनुहारमा शारीरिक पीडा र अझ आसन्न मृत्युको आभास टड्कारै देखिनुको साथसाथै मेरो नि सुपरिचित त्यही पुरानै पाशविक घृणाभाव पनि झल्कन्थ्यो । – “केटाकेटीहरू चाहिं… तपाईंले पाउनुहुनेछैन । … अहँ, म … तपाईंलाई किमार्थ दिन्नँ । … मेरी बहिनीकै जिम्मा लगाइदिन्छु ।….”
मेरो निम्ति जुन कुराको विशेष महत्व थियो त्यसको, अर्थात् आफ्नो अपराधको र छलकपटको चाहिँ उसले चर्चासम्म गर्नु पनि आवश्यक ठानिन ।
“लौ, तपाईंले जुन काम गर्नुभो त्यसलाई हेरेर रमाउनोस् ।” – उसले दैलोतिर दृष्टि दिएर यत्ति भनी र हिक्क हिक्क गरी । दैलोनेर चाहिँ मेरा लालाबालाहरूको साथमा मेरी साली उभिइरहेकी थिई । – “छ, त्यही हो तपाईंको करामत !”
मैले केटाकेटीहरूतर्फ पुलुक्क हेरेँ । अनि आफ्नी पत्नीको सुनिएको र नीलडाम परेको अनुहारतर्फ दृष्टि दिएँ । पहिलोपल्ट मैले आफूलाई बिर्से, आफ्नो हक पनि बिसेँ, आफ्नो गर्वको पनि हेक्का रहेन र पहिलोपल्ट उसमा मैले एक मनुष्यको आभास पाएँ । जुन कुराले मलाई अपमानित गरेको थियो त्यो त बिल्कुलै नगण्य पो प्रतीत भयो मलाई । मेरो सारा ईरष्याको कुनै महत्व रहेन । मबाट जुन कुरा हुन गएको थियो त्यो चाहिँ कता हो कता महत्वपूर्ण थियो । आफ्नी राखिदिएर म भन्न चाहन्थें : माफ गर !’ परन्त यस्तो हयाउ ममा थिएन ।
मेरी पत्नी मौन थिई र उसले आँखा पनि चिम्लिराखेकी थिई । सके उसमा बढी बोल्न सक्ने तागत पनि थिएन । केही बेरपछि उसको क्षतविक्षत अनुहार थर काम्यो र चाउरी परेको देखियो । उसले मलाई बिस्तारै धकेलिदिई ।
“किन यो सब भयो ? किन ?”
“माफ गर-मलाई !” – मैले भनेँ ।
“माफ ? यो सब बकबास हो ! …. मर्न मात्रै नपरोस् ! ….” टाउको उचालेर उ कराई । उसका ज्यादै चम्किला आँखाहरू मलाई नै एकटक लगाएर हेर्दैथिए । “हो, तपार्इले आफ्नो इरादा पूरा गुर्नभयो । … म तपाईंलाई घृणा गर्छु ।… ऐय्या ! ओह ।” कुनै कुराबाट भय उत्पन्न भएको झै गरेर सके अचेतावस्थामा ऊ कराउँदैथिई ।- “लौ मार्नोस ! मारि नै दिनोस् ! … मलाई कत्ति डर छैन !… साराका सारालाई नै मारिदिनोस् । उसलार्इ पनि बाँकी नराख्नोस् ! एहे ! ऊ त भागिहाल्यो !”
ऊ इन्तु न चिन्तु भैहाली । उसले मान्छे चिन्न पनि छोडिसकेकी थिर्इ । त्यसै दिन अपरान्हतिर उसको प्राण गइहाल्यो । मलाई चाहिं त्यसभन्दा पहिले नै आठ बजेतिर ठानामा पुर्याइयो र त्यहाँबाट झ्यालखानातर्फ चलान गरियो । त्यहाँ अदालतको कार्यबाही पर्खेर एघार महीना बिताएँ । मैले आफ्नो वर्तमान र अतीतबारे खूब सोचविचार गरेँ र त्यसको राम्रो बोध पनि भयो । तेस्रो दिन नै मलाई यसको बोध हुन थालेको थियो । तेस्रो दिन मलाई त्यहाँ हाजिर गराइयो । …”
उसले अझै केही भन्न खोजेको थियो, तर हिक्का रोक्ने तागत नै नभएकोले ऊ टक्क अडियो । अनि अलिकति तागत बटुलेर उसले फेरि भन्न शुरु गर्यो-
“त्यतिखेर मात्र मैले बुझ्न थालेको थिएँ जुन बेला आफ्नी पत्नीलाई मैले शवपेटिकामा पल्टिरहेकी देखेको थिएँ । …” – उसलाई हिक्का छुट्यो, तर उत्निखेरै हतार-हतारमा अगाडि भन्न थाल्यो । – “जुन बेला मैले उसको प्राणशून्य अनुहार देखें त्यतिखेर मात्र मलाई आफ्नो सारा करतूतको बोध भयो । मैले उसलाई ठहरै मारिदिएँ भन्ने मलाई अवगत भयो । अनि उसलाई ज्यूँदो, गतिशील र न्यानो नै राखिछाड्न मबाट केही काम पनि गरिएको थियो । तर अब त ऊ निश्चल, निर्जीव र शीताम्य भैसकेकी थिई र यसलाई कहिल्यै पनि, कतै पनि र कुनै कुराले पनि सच्याउन सक्दिनथ्यो । जसले यो सबकुरा भोगेको हुँदैन उसले त यो कुरा बुझ्न समेत सक्तैन । … ऊ! ऊ! ऊ! …” कैयौंपल्ट ऊ यसरी करायो र त्यसपछि चूप लागिहाल्यो ।
हामी निकै बेरसम्म चुप्पी साँधेर बसिरह्यौं । उसले हिक्क हिक्क गर्यो र चुपचाप मेरो अगिल्तिर आङ कमायो ।
“लौ, माफ गर्नुहोला ! …”
उसले मबाट मुख फर्कायो र कम्बल ओढेर पल्टिहाल्यो । बिहानको आठ बजेतिर त्यस स्टेशनमा, जहाँ मैले उत्रिनुपर्नेथियो, म बिदाबारी हुन भनेर उसको बगलमा पुगें । कुन्नि, उ निदाइरहेको थियो वा निदाएको बहाना गर्दैथियो ? जे होस्, ऊ हलचल नै नगरीकन पल्टिरहेको थियो । मैले हातले उसलाई छोएँ । उसले कम्बल सार्यो । ऊ निदाएको थिएन भन्ने छर्लङ्ग भैहाल्यो ।
“बिदा !” – मैले उसतर्फ हात पसार्दै भनें ।
उसले पनि मतर्फ आफ्नो हात पसार्यो र मुसुक्क हाँस्यो पनि । परन्तु उसका मुस्कान कतिसम्म दयनीय थियो भने मलाई रुने मन लाग्यो ।
“लौ, माफ गर्नुहोला !” – उसले त्यही शब्द फेरि दोहोर्यायो जुन शब्दद्वारा उसले आफ्नो सारा कथा समाप्त गरेको थियो ।
सन् १८८९



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरूः खोल्स्तोमेर- एक घोडाको कथा ७
